विश्व पर्यटन संगठनले व्याख्या गरेअनुसार आफ्नो वासस्थानबाट सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलाप, व्यापार/व्यवसाय निजी प्रयोजनका लागि गरिने अस्थायी स्थानान्तरण पर्यटन हो । त्यसैले व्यापार र व्यावसायका लागि गरिने यात्रा पनि पर्यटनको अभिन्न अङ्ग हो ।
‘व्यापार पर्यटन’ परापूर्वकालदेखि नै प्रचलनमा रहेको पाइन्छ । पूर्वीय समाज र पश्चिमा राष्ट्रहरूलाई जोड्ने ‘रेशमी मार्ग’लाई व्यापार पर्यटनको शुरुआत विन्दुका लिइन्छ । व्यापार पर्यटनले अर्थतन्त्रमा योगदान दिन्छ । हाल आएर मिटिङ, इन्सेन्टिभ्स, कन्फरेन्स, इभेन्ट्स (माइस) पर्यटनको अवधारणामा व्यापार पर्यटनलाई परिष्कृत गरिएको छ । सन् ८० को उत्तरार्ध र ९०को दशकदेखि व्यापार पर्यटनलाई माइसको विधाबाट अध्ययन–अनुसन्धान र सेवाप्रदायकहरू पश्चिमी यूरोप र उत्तर अमेरिकी राष्ट्रहरूबाट विस्तारित हुँदै बजारमा आउन थालेका हुन् । नेपालको पर्यटन सम्बद्ध नीति तथा कानूनमा भने व्यापार पर्यटनबारे कतै उल्लेख भएको पाइँदैन । तर, व्यापार पर्यटकलाई लक्षित गरी विभिन्न संरचनाहरूमा लगानी भने भइरहेको छ । साथै, कर्पोरेट हस्पिटालिटी, कन्फरेन्स अर्गनाइजर र मिडिया एन्ड पीआरजस्ता सेवाप्रदायक कम्पनीहरू कानूनी अस्पष्टताका बीच पनि चलिरहेका छन् ।
व्यापार पर्यटनको बजार तथा सम्भावना
व्यापार पर्यटन औद्योगिक विकास भएका राष्ट्र तथा भौगोलिक र रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिएका केन्द्रविन्दुहरूलाई मात्र लिएर लक्षित गरिने अन्तरराष्ट्रिय मान्यता रहँदै आएको छ । विश्वव्यापीकरणले नेपालजस्तो आर्थिक र औद्योगिक विकासले पछाडि परेका राष्ट्रमा समेत विस्तारै व्यापार पर्यटनको सम्भावना उजागर गरेको छ । नेपाली प्रवासीहरू (डासपोरा) र वैदेशिक लगानीमा नेपालको संघीय राजधानी र अन्य आर्थिक केन्द्रहरूमा व्यापार पर्यटनलक्षित परियोजनाहरूमा मोटो लगानी हुँदै आइरहेको पनि छ । नेपालमा व्यापार पर्यटन फस्टाउन निम्नअनुसारका सम्भावना छन् ।
दक्षिण एशियाली राष्ट्रमध्येका महानगर र राजधानीहरूमा काठमाडौं उपत्यका निक्कै सदावहार मौसम भएको गन्तव्य हो । अन्तरराष्ट्रिय/क्षेत्रीय स्तरका कार्यक्रहरू गर्नका निम्ति काठमाडौं र पोखराजस्ता पहाडी शहरहरू उपयुक्त मानिन्छन् ।
नेपाल सरकार विभिन्न अन्तरराष्ट्रिय/आर्थिक तथा क्षेत्रीय गुटको आबद्धताका कारण नेपाललाई माइस पर्यटन गर्न सकिने गन्तव्यका रूपमा बजारीकरण गर्न सकिन्छ । विगत केही वर्षयता बिम्स्टेक, इन्टरपोल र हालै विश्व स्वस्थ्य सगंठनको क्षेत्रीयस्तरका भेलाका निम्ति नेपाललाई नै चुनियो । यसले विश्व जगत्मा के सन्देश दिन्छ भने नेपाल व्यापार पर्यटनका लागि तयार भइसकेको छ । नेपाल भ्रमण गर्ने प्रतिनिधिहरूलाई नेपालको ‘खास’ पर्यटकीय गतिविधि भनिने पदयात्रामा आकर्षित गर्न र बजारीकरण गर्न सकेमा व्यापार पर्यटनको विस्तारित लाभ लिन सकिन्छ ।
नेपालभित्रकै व्यापारिक प्रतिष्ठानहरू यस प्रकारको विशिष्टीकृत पर्यटनको खास ग्राहक एवम् उपभोक्ता हुन् । तालीम/प्रशिक्षण, टिम आउटिङ, बैठक व्यवस्थापनजस्ता अनेक मानव व्यवस्थापन कार्यहरू व्यावसायिक ढंगबाट गनुपर्छ भन्ने सोच नेपालमा अझै आइनसकेको स्थिति छ । विकसित राष्ट्रहरूमा भने व्यापार पर्यटन सेवाप्रदायक कम्पनीहरू कुनै पनि प्रतिष्ठानको मानव विकास संसाधन तथा प्रशासन हेर्ने शाखासँग नजिक भएर व्यावसायिक सेवा दिने गर्छन् । कर्मचारी प्रोत्साहनको योजना र खाका निर्माण गर्न यस्ता व्यापार पर्यटन सेवाप्रदायक कम्पनीहरू नै संलग्न रहेका हुन्छन् । नेपालमा बीमा कम्पनीहरू तथा डिलरशिपहरूमा भने विक्रीका आधारमा प्रोत्साहन स्वरूप इन्सेन्टिभ भ्रमण कार्यक्रमहरूको अभ्यास भने भइरहेको छ । साथै, गैरसरकारी संस्थाहरूको विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रममा होटेलसँग सोझै खरीद गर्ने पनि पुरानो चलन रहँदै आएको छ । व्यापार पर्यटन सेवाप्रदायक कम्पनीले कर्पोरेट हस्पिटालिटीका नयाँनयाँ प्रयोगमार्फत आफ्नो सेवा दिलाउने यथेष्ट सम्भावना रहेको छ ।
अहिले देशैभरि राजनीतिक दलहरूको महाअधिवेशनको चटारो छ । यस परिस्थितिमा व्यापार पर्यटनको दायरा पनि धेरै रहन्छ । बेलायतमा सन् ८० को दशकमा भएको एक सर्वेक्षणले कुनै एक स्थान या शहरमा गरिने ठूला स्तरका राजनीतिक कार्यक्रमहरूले त्यस ठाउँको अर्थतन्त्रमा अतिरिक्त २५ मिलियन पाउन्ड भित्रिएको देखाएको थियो । नेपालमा यस प्रकारको कुनै मापन नभए तापनि, निर्वाचन आयोगबाटै राजनीतिक कार्यक्रमहरू : विशेषगरी निर्वाचन प्रचार खर्चका निम्ति सिलिङ नै तोकिएको विषय त जगजाहेर नै छ । यसैबाट बुझ्न सकिन्छ कि नेपालमा राजनीतिक संगठनहरू नै व्यापार पर्यटनको प्रमुख बजार बन्न सक्ने आधार रहेको छ । राजनीतिक पार्टीको मूल संगठनबाहेक विभिन्न किसिमका जनवर्गीय संगठनहरूको समयसमयमा सभा, समेलन, भेला, अन्तरक्रिया, प्रशिक्षण कार्यक्रम, चियापान, सम्पर्क–समारोह, गोष्ठीजस्ता विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम भइरहेको हुन्छ । यी सबै व्यापार पर्यटनका सम्भावना हुन् ।
मित्रराष्ट्र भारतको कुनै पनि राजनीतिक पार्टीको आमसभालाई व्यवस्थापन गर्न इभेन्ट म्यानेजमेन्ट कम्पनीहरू नै तोकिएका हुन्छन् । नेपालमा पनि यस प्रकारको अभ्यास गर्न सके व्यापार पर्यटनको बजार अन्य क्षेत्रमा समेत बढेर जानेछ । कुनै ठाउँ विशेषमा हुने ठूला स्तरका राजनीतिक कार्यक्रमले त्यस ठाउँमा हुने अन्य लोकप्रिय पर्यटन समेत फस्टाउने गर्छ । जस्तै चितवनमा कुनै राजनीतिक कार्यक्रम गरेमा स्वतः जंगल सफारीको व्यवसाय बढ्ने गर्छ । व्यापार पर्यटनका खास हितग्राही भने होटेल, स्थान प्रदान गर्ने संस्था र यातायात कम्पनीहरू हुनेगर्छ । यस किसिमको पर्यटन सेवाको परिपूर्ति गर्न चाहिने श्रमशक्ति र अन्य लोजिस्टिकहरू भने स्थानिय तवरबाटै उब्जेको हुन्छ ।
विलासिताको पर्यायवाचीका रूपमा पनि व्यापार पर्यटनलाई हेर्ने गरिएको पाइन्छ । व्यापार पर्यटक सौखिन हुने कारणले आम पर्यटकभन्दा २ दशमलव ५ गुणा बढी खर्च गर्छन् भन्ने अन्तरराष्ट्रिय मान्यता रहेको छ । व्यवसायमा आयोजक, प्रतिनिधि, अन्तिम ग्राहक, उपभोक्ता विभिन्न पात्र रहन सक्छन् । यसरी, व्यावसायिक रूपमा नेपालमा पर्यटनको यस विधालाई अगाडि बढाउन सर्वप्रथम नीतिगत स्पष्टता आवश्यक छ । विश्वकै व्यापारिक केन्द्र मानिने हङकङ, सिगांपुर, दुबईजस्ता राष्ट्रहरूले ९० को दशकदेखि नै यस विधामा बजारीकरण गरेको पाइन्छ । नेपालमा बढ्दो व्यापारिक गतिविधि र व्यापार पर्यटनलक्षित होटल पूर्वाधारहरूमा भइरहेको लगानीलाई सम्बोधन गर्न विनाविलम्ब यस प्रकारको विशिष्टीकृत पर्यटनको नीतिगत तथा कार्यगत मन्थनको जरुरी भइसकेको छ ।
लेखक नेपाल पर्यटन बोर्डका अधिकृत हुन् ।