विदेश जान्छु भन्ने सपना प्रत्येक युवाको छ । मनग्गे पैसा कमाएर सहरमा सुविधा सम्पन्न घर र आधुनिक शैलीको जीवनयापनको लालसा छ । देशमा गरी खाने वातावरण छैन भनिन्छ । सुशासन, विकास र निष्पक्षताका कुरा कुरामै सीमित छन् । स्वाभिमानी भएर बाँच्न अवस्था न्यून छ । पेसा व्यवसाय चौपट छन् । जहाँ गयो उतै ‘पसल बिक्रीमा’ विज्ञापन देखिन्छ । अकासिँदो मूल्यवृद्धिले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिक जीवन निर्वाह गर्न हम्मे हम्मेमा छन् । बिदेसिएका युवालाई स्वदेश फर्काउने नीति/रणनीति राजनीतिक दलसँग छैन । देशमा आर्थिक गतिविधि र उत्पादन घट्दै छ । रुखोसुखो गरी जरजाम गरेका ग्रामीण बस्तीका अभिभावक बालबालिका विदेश पठाउन बाध्य छन् । देशमा व्यापारी, ठेकेदार, नेता र कर्मचारीतन्त्रको शासन छ ।