चाडबाड होस् या कुन राजनीतिक परिवर्तन, निहुँ पायो कि बजार भाउ तातिहाल्छ । कृत्रिम मूल्यवृद्धि गर्न खोज्ने व्यापारी सलबलाइहाल्छन् । यही बेला सरकारी संयन्त्रले बजार अनुगमनलाई महत्त्वसाथ ध्यान दिनुपर्ने हो । तर सरकारी ध्यान बजारतर्फ पुगेको छैन । त्यसको फाइदा व्यवसायीले उठाइरहेका छन् । यसैको पछिल्लो उदाहरण हो, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन । निर्वाचनको मौका छोपी व्यापारीहरूले चामल, खाने तेल, दाल, आँटा, ड्राई फ्रुटलगायतको मूल्य बढाएका छन् ।