काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि भोलि (शुक्रवार) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । सोही कारण आजसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
गत असार २२ गते कम्पनीलाई सेबोनले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब ५९ करोड छ । कम्पनीले सोही पूँजीको आधारमा शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर जारीपश्चात कम्पनीको चुक्ता पूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ ।
कम्पनीले हकप्रद शेयर विक्रीबाट प्राप्त रकम कम्पनीका जलविद्युत् आयोजनाहरू रोल्वालिङ खोला जलविद्युत् र तामाकोशी ९५ जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने जानकारी दिएको छ ।