रोल्पा (अस) । रोल्पा अस्पतालको भवन निर्माणमा ढिलाइ भएको छ । २०७७ असोजमै निर्माण सम्पन्न हुनुपर्ने अस्पताल भवन हालसम्म पनि सम्पन्न हुन सकेको छैन । भवन निर्माण पूरा नहुँदा १५ शय्याको रोल्पा अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गर्न समस्या भएको छ ।
भवन निर्माणका लागि पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले विभिन्न बहाना देखाउँदै काममा ढिलाइ गरेको पाइएको छ । भवन अभावका कारण पार्किङ स्थललाई समेत वार्डको रूपमा प्रयोग गर्नुपर्ने बाध्यता रहेको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. प्रतिभा सुवेदीले बताइन् । अहिलेकै गतिमा निर्माण भए अझै दुई वर्षसम्म पनि सम्पन्न हुने अवस्था नभएको भन्दै ठेकेदारलाई दबाब दिन सरोकारवालासँग अस्पतालले आग्रह गरेको छ ।
कुल २९ करोड ५१ लाख २२ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माणको जिम्मा २०७५ असोजमा श्री जयन्ती निर्माण कम्पनीले पाएको थियो । भवन निर्माण विभागले उक्त ठेक्काको म्याद पटक–पटक थप गर्दै आएको छ ।