कोरोना महामारीले थलिएको अर्थतन्त्र र त्यसको अध्ययन गर्न तत्काल कठिन हुने भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनालाई लक्षित गरेर कामचलाउ बजेटमात्र ल्याउन सुझाव दिएका छन् । जटिल परिस्थितिमा बजेटको आकार बढाउन नहुने तर्क गर्दै तत्काल कामचलाउ बजेट ल्याएर कारोना महामारीपछि आवश्यकताका आधारमा पूरक बजेट ल्याउन उनीहरूले सरकारलाई सुझाएका हुन् । संसदमा आइतबारदेखि सुरु भएको प्रि–बजेट छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अहिले बजेटको आकार बढाएर ल्याउनुको अर्थ नहुने तर्क गरे ।