जेठ २५, वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण पोखरीया वितरण केन्द्रले समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिबाट रू. ३८ करोड ९३ लाख ७४ हजार ५८१ बक्यौता रकम उठाउन सकेको छैन ।
पर्सा जिल्लामा रहेका १४ ओटा स्थानीय तहमध्ये पोखरीया वितरण केन्द्रको मातहतमा रहेको १३ ओटा स्थानीय तहमा रहेको २९ ओटा विद्युत् उपभोक्ता समितिमध्ये २२ ओटा उपभोक्ता समितिसँग उक्त रकम बाँकी रहेको केन्द्रका प्रमुख इन्जिनियर उपेन्द्रनारायण यादवले बताए ।
कोरोना संक्रमणको कारण लामो समयदेखिको बन्दाबन्दीले गर्दा उपभोक्ता समितिसँग रकम उठाउन नसकिएको भन्दै केन्द्रका प्रमुख यादवले भने, ‘समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिहरुले आफ्ना ग्राहकहरुसँग रकम उठाएर प्राधिकरणलाई नतिर्ने परिपाटीको कारण सो रकम हालसम्म उठाउन नसकिएको भएपनि तिनीहरुलाई समयमै रकम भुक्तानी गर्न पत्राचार गरिएको छ ।’
दुई वर्षअघि सो क्षेत्रमा ४२ प्रतिशत चुहावट रहेकोमा कडाइ गरिएपछि २८ प्रतिशतमा झरेको केन्द्रले जानकारी दिएको छ । यस वितरण केन्द्रमा हाल ३६ हजार ग्राहक रहेका छन् ।
सामुदायिक विद्युत कार्यक्रमअन्तर्गत पर्सामा रहेका २९ ओटा सामुदायिक विद्युत् उपभोक्ता समितिमध्ये कतिपय समितिका पदाधिकारीहरुले विद्युत् खपतवापत ग्राहकसँग उठाएको रकम प्राधिकरणलाई नबुझाई आफूखुशी मनोमानी ढंगले खर्च गर्ने भएकाले बक्यौता रकम उठन नसकेको हो ।
पर्साको धोरेमा रहेको सामुदायिक विद्युत् उपभोक्ता समितिसँग रू. ८५ लाख बक्यौता रहेपनि सो रकम बुझाउन नसक्दा सो समितिलाई खारेज गर्न विभागमा पत्राचार गरिएको प्रमुख यादवले बताए ।
हालको बन्दाबन्दीको समयमा ग्राहकको सुविधालाई ध्यानमा राखी अनलाइनमार्फत विद्युत् महसुल बुझाउने प्रक्रिया अघि बढाएपछि अहिले अनलाइनमार्फत विद्युत् महसुल बुझाउने ग्राहकहरुको संख्या बढ्दै गएको छ । अनलाइनमार्फत वैशाख महीनामा चार हजार ८०७ ग्राहकले रू. २८ लाख ४५ हजार रकम बुझाएको जानकारी दिइएको छ ।
पर्साको १३ ओटा स्थानीय तहमा आफ्ना सेवा पुर्याउदै आएको विद्युत् प्राधिकरण पोखरीया वितरण केन्द्रसँग बक्यौता रकम उठाउन सबैभन्दा ठूलो चुनौतीकोरुपमा रहेको छ । रासस