असार २९, हेटौंडा । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण शाखा हेटौंडाले शिवम् सिमेन्ट उद्योगबाट डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापतको २ अर्ब ३४ करोड रुपैयाँ विद्युत् महसुल नतिरेको बताएको छ ।
शिवम् सिमेन्टले विगत छ वर्षदेखि उद्योग सञ्चालनका लागि लिएको सो विद्युत् लाइनबापतको महसुल तिर्न बाँकी रहेको बताइएको छ । विसं २०७२ देखि २०७५ सम्मको डेडिकेटेड फिडर प्रयोग गरेको र त्यसको रकम नतिरेको वितरण शाखा प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए।
शिवम् सिमेन्टले विद्युत् महसुल तिर्न आलटाल गरेपछि सो शाखाले लाइन काटिने सूचना प्रकाशन गरेको थियो । त्यसपछि उक्त उद्योगले प्राधिकरणको विरुद्धमा अदालत पुगेको थियो ।
पाटन उच्च अदालत हेटौंडाले प्राधिकरणको पक्षमा फैसला गरेको थियो । तथापि शिवम् सिमेन्ट उद्योगले डेडिकेटेड फिडर प्रयोगबापतको महसुल बुझाउन आनाकानी गर्दैआएको प्रमुख ठाकुरको भनाइ छ ।
शिवमले प्राधिकरणलाई तिर्नुपर्ने रकम १ अर्ब २१ करोड रुपैयाँ रहेको भए पनि हालसम्म महसुल नतिरेको कारण अहिले जरिवानासहितको रकम २ अर्ब ३४ करोड रुपैयाँ पुगेको हेटौंडा वितरण शाखाको लेखा शाखाले बताएको छ । उता उद्योगको व्यवस्थापन पक्षमा उक्त महसुलको बक्यौता सम्बन्धमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । हेटौंडा विद्युत् शाखाअन्तर्गत करीब ६० हजार विद्युत् मिटर लिने ग्राहक रहेको छ ।
विद्युत् सेवा लिएबापत मासिक १८ करोड रुपैयाँ विद्युत् महसुल प्राप्त हुने गरेको बताइएको छ । अवैधरुपमा विद्युत् चोरी गर्ने र महसुल नतिर्नेमाथि कारवाही र निरन्तर अनुगमन भइरहेको ठाकुरले जानकरी दिएका छन् । साथै विद्युत् रकम नबुझाउनेको लाइन काट्ने कार्य पनि जारी रहेको उनले बताए । रासस