माघ ९, काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले कोभिडको खोप लगाईसकेका नेपाली नागरिकलाई निःशुल्क लगानी व्यवस्थापन सेवा दिने भएको छ ।
क्यापिटलले कोभिडको खोपको डोज पूरा गरिसकेका नेपाली नागरिकहरुलाई माघ ७ गतेदेखि फागुन मसान्तसम्म निःशुल्क लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको हो ।
क्यापिटलले एक सूचना जारी गर्दै कोभिडको खोप लगाउन प्रेरित गर्ने उद्देश्यका साथ यस्तो योजना सञ्चालन गर्न लागेको जानकारी दिएको छ । यस योजनामा सहभागी हुन चाहनेहरुले पहिलो वर्ष निःशुल्क रुपमा सेवा पाउने जानकारी क्यापिटलले दिएको छ ।
योजना व्यवस्थापनको जिम्मा लिने क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र लगानी सम्बन्धी निर्णय लिनेछ ।
कोभिड जोखिमको बेला घरमै बसि अनलाईन मार्फत सहजै लगानी व्यवस्थापन सेवा लिन सकिने जानकारी क्यापिटलले दिएको छ । यो सेवा लिन चाहनेहरुले क्यापिटलको वेबसाइटमा गई भर्चुअल मिटिङका लागि समय लिनुपर्ने समेत क्यापिटलको भनाइ छ ।
क्यापिटलले आफ्नो वेबसाइट मार्फत यो सेवा लिनका लागि आवश्यक कागजात अपलोडका लागि समेत लिंक उपलब्ध गराएको छ । धितोपत्र बजारमा लगानी गर्ने इच्छा भएका तर अनुभव नभएका लगानीकर्ताका लागि क्यापिटलले सुनौलो अवसर प्रदान गर्न लागेको हो । क्यापिटलले दक्ष एवम् अनुभवी व्यक्तिहरुद्वारा योजना व्यवस्थापन गर्ने हुँदा उक्त लगानीमा जोखिम कम हुने बताएको छ ।