एनआईसी एशिया ग्रोथ फण्ड–२ का लगानीकर्ताले उच्च प्रतिफल पाउन सक्छन् [अन्तर्वार्ता]

१ अर्ब रुपैयाँको आकार रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको छैटौं योजना ‘एनआईसी एशिया ग्रोथ फण्ड–२’ को इकाई आज (सोमवार)देखि निष्कासनमा आएको छ । बन्दमुखी प्रकृतिको यस योजनाको १५ प्रतिशत इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणमा निष्कासन गरिएको हो । एनआईसी एशिया ग्रोथ फण्ड–२ र यसको सञ्चालनबाट लगानीकर्ताले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा एनआईसी एशिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीसँग आर्थिक अभियानकी प्रजिता बुढाथोकीले गरेको कुराकानीको सार : एनआईसी एशिया क्यापिटलले ‘अहिले लगानी नगरे, कहिले गर्ने ? नारासहित न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सकिने अवसर एनआईसी एशिया ग्रोथ फण्ड–२ मार्फत सर्वसाधारणलाई जुटाइदिएको छ । यो कस्तो प्रकारको योजना हो र यसको विशेषता के हो ? धितोपत्रको दोस्रो बजार निरन्तर घटेर निकै तल्लो बिन्दुमा आइसकेको हाम्रो बुझाइ छ । त्यसैले योजनामा संकलित अधिकांश रकम इक्विटीमा लगानी गर्ने गरी यो फण्ड सञ्चालन गर्न लागिएको हो । यो समयमा हामीले ग्रोथ प्रकृतिको फण्ड ल्याउनुको मुख्य उद्देश्य इक्विटीमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त गर्न सकिने देखिएकाले हो । एनआईसी एशिया ग्रोथ फण्ड–२ को प्रमुख विशेषता जोखिम न्यूनीकरण गर्दै योजनाको कुल आकारको ७५ प्रतिशत रकम सार्वजनिक निष्कासन गर्ने कम्पनी तथा सूचीकृत कम्पनीको शेयरमा लगानी गर्नु हो । त्यस्तै १५ प्रतिशत रकम स्थिर आम्दानी हुने उपकरण र बाँकी १० प्रतिशत रकम मुद्रा बजार उपकरणमा लगानी गर्ने योजना छ । यो योजनामा किन लगानी गर्ने ? यसबाट लगानीकर्ताले पाउने प्रतिफललाई कसरी प्रक्षेपण गरिएको छ ? समग्र आर्थिक गतिविधि सुस्ताइरहेको अहिलेको समयमा लगानी गरेर प्रतिफल निकाल्न निकै गाह्रो भइरहेको छ । त्यसो हुँदा निकै सोचविचार गरेर उपयुक्त योजनामा लगानी गर्दा आफ्नो लगानीको सुरक्षा हुन्छ र उच्च प्रतिफल पनि प्राप्त गर्न सकिन्छ । नेपालको शेयर बजार पछिल्लो अढाई वर्षदेखि घट्दो अर्थात् बियरिस अवस्थामा छ, जसले गर्दा राम्रोसँग अध्ययन अनुसन्धान गरेर लगानी नगरेमा प्रतिफल पाउन एकदमै कठिन हुन सक्छ । तर हामीसँग लामो व्यावसायिक अनुभव हासिल गरेका विज्ञहरू हुनुहुन्छ । उहाँहरूको समूहबाट बजारको समग्र अवस्थाको विस्तृत अध्ययन अनुसन्धान गरिन्छ । त्यसपछि लगानी सम्बन्धी निर्णय लिइन्छ । त्यसकारण सामूहिक लगानी कोषमार्फत गरिएको लगानी बढी सुरक्षित हुनुका साथै उच्च प्रतिफल प्राप्त गर्न सकिन्छ । हामीले निष्कासन गरेको फण्डबाट संकलित रकमको ७५ प्रतिशत धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीमा लगानी गरिनेछ । भविष्यमा सूचीकृत कम्पनीमा गरिएको लगानीमा उच्च प्रतिफल पाउने सम्भावना बढी हुन्छ । यस्तै १५ प्रतिशत रकम स्थिर आय हुने उपकरण तथा १० प्रतिशत रकम मुद्रा बजार उपकरणमा लगानी गरिने भएकाले योजनाले नियमित आम्दानी दिन्छ । न्यून जोखिममा अधिकतम प्रतिफल प्राप्त गर्न सकिने सम्भावना धेरै हुन्छ । त्यसैले एनआईसी एशिया ग्रोथ फण्ड–२ का लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गर्न सक्छन् । हाम्रो पहिलो योजना ‘एनआईसी एशिया ग्रोथ फण्ड’ हो । उक्त योजनाको समयावधि आउने वर्ष सकिन्छ । लगानीकर्तालाई हाम्रो पहिलो फण्डले वितरण गरेको प्रतिफल पनि राम्रो रहेकाले सोही प्रकृतिको फण्ड सञ्चालन गर्न लागिएको हो । पहिलो फण्डको प्रतिफलको अवस्था, आउँदा दिनमा शेयर बजारमा सृजना हुने अवसर लगायत पक्षको अध्ययन गरेर एनआईसी एशिया ग्रोथ फण्ड–२ ल्याएका हौं । यसमा लगानीको निर्णय लिन लगानीकर्तालाई सहज हुने अपेक्षा गरेका छौं । एनआईसी एशिया ग्रोथ फण्ड–२ मा लगानी गर्ने लगानीकर्तालाई स्वीकृत विवरणपत्र अनुसार क्रमश: पहिलो वर्ष ११ प्रतिशत, दोस्रो वर्ष १३ प्रतिशत, तेस्रो वर्ष १६ प्रतिशत, चौथो वर्ष १८ प्रतिशत, पाँचौं वर्ष २० प्रतिशत, छैटौं वर्ष २२ प्रतिशत र सातौं वर्ष अर्थात् योजना समाप्त हुँदा ६८ प्रतिशतभन्दा बढी थप गरी योजनामा लगानी गरेको रकम फिर्ता गर्ने प्रक्षेपण गरेका छौं, जसअनुसार योजनामा लगानी गर्ने लगानीकर्तालाई वार्षिक औसत २४ दशमलव शून्य ४५ प्रतिफल वितरण गर्ने प्रक्षेपण छ । यस्तै कुल अनुमानित प्रतिफल १६८ दशमलव २५ प्रतिशत रहेको छ । सेवा सुविधाको आधारमा लगानीकर्ताको पहिलो रोजाइको क्यापिटलको रूपमा स्थापित गर्ने रणनीति छ ।  एनआईसी एशिया क्यापिटल अन्तर्गत हाल कतिओटा म्युचुअल फण्ड सञ्चालनमा छन् ? ती फण्डको अवस्था कस्तो छ ? हामीले आर्थिक वर्ष (आव) २०७९/८० अन्त्यसम्ममा पाँचओटा सामूहिक कोष योजनामार्फत रू. ४ अर्ब ७२ करोडभन्दा बढी रकम परिचालन गरेका छौं, जसमध्ये चारओटा बन्दमुखी र एउटा खुलामुखी योजना सञ्चालन गरिरहेका छौं । सञ्चालनमा आएको पहिलो वर्षदेखि नै नगद प्रतिफल वितरण गर्न सफल ‘एनआईसी एशिया ग्रोथ फण्ड’ले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत, तेस्रो वर्ष ३० प्रतिशत र चौथो वर्ष १३ प्रतिशत वितरण गरेको थियो भने ‘एनआईसी एशिया ब्यालेन्सड् फण्ड’ सञ्चालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत र तेस्रो वर्ष १३ प्रतिशत वितरण गर्न सफल भएको थियो । पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेब्ट फण्ड’ सञ्चालनमा आएको पहिलो वर्षमा १० प्रतिशत र दोस्रो वर्ष ६ प्रतिशत गरी हालसम्म १६ प्रतिशत नगद प्रतिफल वितरण गरिसकेको छ । उक्त लाभांश वितरणपश्चात् तथा धितोपत्रको दोस्रो बजार तल्लो बिन्दुमा हुँदा समेत २०८० असार मसान्तमा क्यापिटलबाट सञ्चालित योजना ‘एनआईसी एशिया ग्रोथ फण्ड’को खुद सम्पत्ति मूल्य (न्याभ) रू. ११.९८, ‘एनआईसी एशिया ब्यालेन्सड् फण्ड’को न्याभ रू. ११.२८, पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेब्ट फण्ड’को न्याभ रू. ११.१०, तेस्रो बन्दमुखी योजना ‘एनआईसी एशिया सेलेक्ट ३० इन्डेक्स फण्ड’को न्याभ रू. १०.७४ तथा चौथो बन्दमुखी योजना ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’को न्याभ रू. १०.६७ कायम गर्न सफल भएका छौं । शेयर बजार निरन्तर घट्दो क्रममा हुँदा समेत हामीले आव २०७९/८० मा पनि प्रतिफल वितरण गर्न सकेका छौं, जसअनुसार एनआईसी एशिया ग्रोथ फण्ड (पाँचौं वर्ष) १० दशमलव ५० प्रतिशत गरी हालसम्म ७५ दशमलव ५० प्रतिशत अर्थात् औसतमा १५ दशमलव १० प्रतिशत प्रतिफल वितरण गर्न सफल छ । यस्तै एनआईसी एशिया ब्यालेन्सड् फण्डले (चौथो वर्ष) १० प्रतिशत गरी हालसम्म ६१ प्रतिशत अर्थात् औसतमा १५ दशमलव २५ प्रतिशत प्रतिफल वितरण गर्न सकेको छ । एनआईसी एशिया डाईनामिक डेब्ट फण्ड तेस्रो वर्ष १० प्रतिशत गरी हालसम्म २६ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको छ । एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) र एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले प्रतिफल वितरण गर्न सक्ने क्षमता भए तापनि पूर्ण लगानीको अवसर रहेकाले आगामी वर्षमा वितरण गर्नेगरी अहिले वितरण नगर्ने निर्णय गरिएको हो । समग्रमा हामीले सञ्चालन गरिरहेका पाँचओटै फण्डको ‘पर्फर्मेन्स’ राम्रो छ । धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित म्युचुअल फण्डका योजनाको भविष्य कस्तो देख्नुहुन्छ ? संस्थागत लगानीकर्ता नभएको हाम्रो शेयर बजारका लागि म्युचुअल फण्ड निकै आवश्यक छ । नेपालमा सामूहिक लगानी कोष सञ्चालन गर्ने कोष व्यवस्थापकहरू १४ ओटा मात्र छन् । उक्त कोष व्यवस्थापकले ४४ ओटा सामूहिक लगानी कोष योजनामार्फत रू. ४४ अर्बभन्दा बढी रकम शेयर बजार तथा मुद्रा बजार उपकरणमा परिचालन गरेका छन् । म्युचुअल फण्डमार्फत शेयर बजारमा गरिएको लगानीको हिस्सा न्यून छ । त्यसकारण बजारमा ठूलो उतारचढाव हुँदा प्रभावकारी भूमिका निर्वाह हुन सकेको छैन । यो अवस्थामा म्युचुअल फण्ड तथा अन्य संस्थागत लगानीकर्तामार्फत बढी रकम संकलन गरी लगानी गर्नुपर्ने आवश्यकता देखिन्छ, जसले गर्दा बजारमा स्थिरता कायम राख्न महत्त्वपूर्ण टेवा पुग्छ । म्युचुअल फण्डहरूको संख्या तथा लगानी बढाउन म्युचुअल फण्डप्रति आम सर्वसाधारण आकर्षित हुनेगरी नीतिगत व्यवस्था गर्नुपर्छ ।  सञ्चालित फण्डमध्ये अधिकांश बन्दमुखी प्रकृतिका छन् । निश्चित समयपश्चात् उक्त योजनाको अवधि समाप्त हुने भएकाले आगामी दिनमा फण्डको संख्या तथा फण्डमार्फत परिचालन हुने रकममा गुणात्मक वृद्धि गर्नुपर्ने छ । त्यसैले म्युचुअल फण्डको भविष्य निकै राम्रो देखिन्छ । आगामी दिनमा बन्दमुखी योजनाभन्दा खुलामुखी योजना सञ्चालनमा ल्याउनुपर्छ । हामीले म्युचुअल फण्डमार्फत गरिएको लगानीले न्यून जोखिममै उचित लाभ लिन सकिन्छ । म्युचुअल फण्डको उपस्थितिले बजारमा तीव्र उतारचढाव हुनबाट रोक्न सघाउ पुग्छ । यसबारे आम लगानीकर्तामा जनचेतना जगाउन नसक्दा म्युचुअल फण्डप्रति आकर्षण कम देखिएको छ । त्यसैले आउँदा दिनमा फण्ड व्यवस्थापक र नियमनकारी निकाय एउटै ठाउँमा आएर म्युचुअल फण्डको सम्बन्धमा जनचेतना जगाउनुपर्छ । भर्खरै नियामक निकायले म्युचुअल फण्डको आरक्षित धितोपत्रमा ‘लकइन’को व्यवस्था गरेको छ । यसबाट म्युचुअल फण्डहरूमा पर्न सक्ने असरलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?  नेपाल धितोपत्र बोर्डले पछिल्लो समय म्युचुअल फण्डहरूको आरक्षित धितोपत्रमा लकइनको व्यवस्था गरे पनि फण्डको आयमा कुनै असर गर्दैन । तर यस व्यवस्थाले सर्वसाधारण शेयर (आइपिओ) बाँडफाँट गर्दा १० कित्ताको दरले बाँडफाँट हुँदा जस्तोसुकै कम्पनीको पनि शेयर सूचीकरण हुनासाथ ‘सप्लाई’मा समस्या हुन्छ । त्यसबाट कम आइपिओ जारी गरेका कम्पनीको उच्च मूल्य कायम हुन सक्छ । उक्त व्यवस्था हुनुभन्दा पहिला म्युचुअल फण्डहरूले कम्पनीको वित्तीय अवस्थाको अध्ययन गरी उचित मूल्य आउनासाथ बजारमा सप्लाई गराई शेयरमूल्य सन्तुलनमा राख्ने गरेका थिए । फण्डबाट बाँडफाँट भएको शेयर ६ महीना लकइन हुँदा बजारमा कम सप्लाईका कारण उच्च मूल्य कायम हुँदा न्याभ भ्यालू बढ्ने देखिन्छ । हाल धितोपत्र बजारमा संस्थागत लगानीकर्ताको रूपमा म्युचुअल फण्डको संख्या बढी छ । संस्थागत लगानीकर्ताले बजारलाई सकारात्मक गतिमा अघि बढाउने विश्वास बोर्डले गरिरहँदा म्युचुअल फण्डहरूले आफ्नो भूमिका बढाउनुपर्ने देखिएको हो ? अवश्य पनि हो । अन्य संस्थागत लगानीकर्ता कम भएको हाम्रो पूँजी बजारमा म्युचुअल फण्डको भूमिका बढाउन अत्यन्त आवश्यक छ । पछिल्लो शेयर बजारको पूँजीकरणको आधारमा हेर्दा म्युचुअल फण्डको हिस्सा १ दशमलव ५ प्रतिशत हाराहारी मात्र छ, जसले गर्दा बजारमा लगानीकर्ताले भनेजस्तो बजार घटेको समयमा म्युचुअल फण्डले शेयर खरीद गरिदिई घट्नबाट रोक्नुपर्छ भन्ने बुझाइ छ । यद्यपि म्युचुअल फण्डमार्फत परिचालित रकम निकै कम भएकाले त्यो सम्भव देखिँदैन । आगामी दिनमा म्युचुअल फण्डको संख्या तथा फण्डमार्फत शेयर बजारमा परिचालन हुने रकम बढाउन सकिए शेयर बजार बिस्तारै सकारात्मक बाटोमा जान्छ । हाम्रो शेयर बजारमा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको अवस्थामा म्युचुअल फण्डमार्फत ठूलो रकम संकलन गरी बजारमा लगानी गर्न सकेमा शेयर बजारमा आउने अल्पकालीन तीव्र उतारचढाव केही हदसम्म रोक्न सकिन्छ । साथै बजार सकारात्मक दिशामा अगाडि बढ्न महत्त्वपूर्ण सघाउ पुग्छ ।  आगामी दिनमा बन्दमुखी योजनाभन्दा खुलामुखी योजना सञ्चालनमा ल्याउनुपर्छ ।  धितोपत्र कारोबारका लागि मुख्य प्राथमिकतामा रहेको हितग्राही खाता खोल्नेमा अग्र स्थानमै रहेको एनआईसी एशिया क्यापिटलका आगामी योजना के के छन् ?  गत असार मसान्तसम्ममा ७ लाखभन्दा बढी डिम्याट खाता खोलेर समग्र डिम्याट खातामा ११ दशमलव ७२ प्रतिशत हिस्सा ओगट्न सफल भएका छौं । क्यापिटलले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरिरहेको छ । आगामी दिनमा उक्त अभियानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्छौं । देशको दूरदराजमा बसोवास गर्ने आम नेपालीमा धितोपत्र बजारको पहुँच पुर्‍याई समग्र धितोपत्र बजारको विस्तारमा यस क्यापिटलमार्फत ठूलो योगदान दिने लक्ष्य छ । साथै आगामी आर्थिक वर्ष २०८०/८१ भित्र क्यापिटलबाट प्रदान गरिने निक्षेप सदस्य लक्षित सम्पूर्ण सेवा अनलाइन तथा डिजिटल माध्यमबाट सहज र सरल रूपमा उपलब्ध गराउने योजना छ । यससँगै एनआईसी एशिया क्यापिटललाई डिम्याट खाता संख्याको आधारमा ‘नम्बर वान’ कम्पनी बनाउने लक्ष्य छ । सेवा सुविधाको आधारमा पनि ग्राहकको पहिलो रोजाइको क्यापिटलको रूपमा स्थापित गर्ने रणनीति छ । म्युचुअल फण्ड सेवा अन्तर्गत संकलित रकम धितोपत्र बजारका अतिरिक्त लगानीका अन्य क्षेत्र पहिचान गरी लगानी गर्न सकिन्छ । लगानीमा उच्च प्रतिफल प्राप्त हुने अवस्थामा प्रचलित कानूनको अधीनमा रही विदेशमा समेत लगानी गर्न मिल्ने विशेषतायुक्त नयाँ फण्ड सञ्चालनको रणनीति लिएका छौं ।  संस्थागत परामर्श सेवा अन्तर्गत एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलोपटक मर्चेण्ट बैंकिङ सेवा अन्तर्गत ‘आइडिया टु आइपिओ’ नामक नयाँ सेवा सञ्चालन गरेको छ । यसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको ‘आइडियसन’देखि कम्पनी स्थापना, ‘स्केलअफ एक्पान्सन’, ‘ग्रोथ’ र ‘फर्दर एक्सपान्सन’ हुँदै आइपिओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्‍याउन आवश्यक पर्ने लगानीको स्रोत व्यवस्थापन तथा सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा ‘आइडिया टु आइपिओ’ सेवाअन्तर्गत जुनसुकै क्षेत्रका प्रचलित कानून बमोजिम स्थापना भएका सम्पूर्ण कम्पनीलाई उक्त सेवा प्रदान गर्ने रणनीति लिएका छौं । लगानी व्यवस्थापन सेवा अन्तर्गत क्यापिटलले लामो समयदेखि ‘मेरो लगानी, मेरो भविष्य’ नाराका साथ ‘इन्कम ग्यारेन्टेड फण्ड, प्रायोरिटी सर्भिसेस’ जस्ता विशेष योजना सञ्चालन गरिरहेको छ । आगामी दिनमा लगानी व्यवस्थापन सेवा अन्तर्गतका विशेष योजनाहरूलाई विदेशमा रहेका नेपाली नागरिकको पहुँचमा पुर्‍याउँदै जानेछौं । हाल क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष सञ्चालन गर्न स्वीकृति प्राप्त गरिसकेको छ । विशिष्टीकृत लागनी कोष अन्तर्गतको योजना निकट भविष्यमा नेपाल धितोपत्र बोर्डमा योजना दर्ता गरी सञ्चालनमा ल्याउने योजना छ । यसैगरी क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवालाई ‘लाइनमा होइन, अब अनलाइनमा’ मूल नारासहित सम्भव भएसम्मका सम्पूर्ण सेवालाई ग्राहकमुखी बनाएका छौं । ग्राहकलाई सरल सहज रूपमा सेवा उपलब्ध गराउने रणनीतिका साथ अघि बढेका छौं । म्युचुअल फण्डका लागि केही नीतिगत सुधार आवश्यक छ कि ? आगामी दिनमा बन्दमुखी योजनाभन्दा खुलामुखी योजना सञ्चालनमा आउँछन्, आउनुपर्छ । खुलामुखी योजना सञ्चालनका लागि समय सापेक्ष सम्बन्धित नियमावली, निर्देशिकामा सुधार तथा संशोधन गर्नुपर्ने देखिन्छ । म्युचुअल फण्डहरूको संख्या तथा लगानी बढाउन आम सर्वसाधारण म्युचुअल फण्डप्रति आकर्षित हुनेगरी नीतिगत व्यवस्था गर्नुपर्नेछ । म्युचुअल फण्डमा लगानी गर्दा निश्चित रकममा आयकर छूटको व्यवस्था गर्नुपर्छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलाई म्युचुअल फण्डमा आफ्नो लगानी पोर्टफोलियोको केही प्रतिशत रकम अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरिएमा बजारमा म्युचुअल फण्डको संख्या तथा लगानी समेत बढ्न सहयोग पुग्छ । साथै आम सर्वसाधारणलाई म्युचुअल फण्ड र फण्डमार्फत गरिने लगानीमा हुने कम जोखिमका सम्बन्धमा सरकारी स्तरबाटै प्रचार प्रसार गर्नुपर्ने देखिन्छ । नेपालमा सञ्चालित अधिकांश फण्डहरू बन्दमुखी छन् । उक्त फण्डको समयावधि समाप्त हुँदा इकाईधनीले फिर्ता पाउने इकाई बराबरको रकम सोही योजना व्यवस्थापकबाट सञ्चालित अन्य खुलामुखी योजनामा परिणत गर्ने नीतिगत व्यवस्था गर्नुपर्छ । साथै हालको व्यवस्था अनुसार म्युचुअल फण्डमार्फत गरिने लगानीका क्षेत्र सीमित छन्, जसले गर्दा लगानी विविधीकरणमा समस्या भएको छ । लगानीको क्षेत्र थप गरिएमा लाभका अवसर हेरेर कम तथा सन्तुलित जोखिमयुक्त क्षेत्रमा लगानी गर्न सकिन्छ । यस्तोमा म्युचुअल फण्ड उपयुक्त विकल्प हुन सक्छ । राम्रो प्रतिफल आर्जन गरी लगानीकर्तालाई उचित प्रतिफल वितरण गर्न त्यस्ता फण्ड सफल हुन सक्छन् ।

सम्बन्धित सामग्री

एनआईसी एशिया ग्रोथ फण्ड २ का इकाईहरू सूचीकृत

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एशिया ग्रोथ फण्ड–२’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल र नेप्सेबीच यो म्युचुअल फण्डको सूचीकरण सम्झौता भएको छ । सम्झौताबमोजिम यो म्युचुअल फण्डको १० रुपैयाँ अंकित दरका कुल ९ करोड ५ लाख इकाई नेप्सेमा सूचीकृत भएको छ । यो योजनाको इकाईहरू भोलि (मंगलवार)बाट दोस्रो बजारमा कारोबारमा आउनेछ । यो योजनाको कोष प्रवर्द्धकमा एनआईसी एशिया बैंक छ ।

एनआईसी एशिया ग्रोथ फण्ड-२ को इकाई मङ्सिर १८ गतेसम्म मात्र विक्रीमा रहने

काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई मङ्सिर १८ गतेसम्म मात्र विक्रीमा रहने भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालन गर्ने गरी यस योजनाको इकाई मङ्सिर ४ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याएको हो । विक्री गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री खुला गरिएको हो । यो इकाई खरीदका लागि छिटोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहे पनि सो अवधिसम्म मागबमोजिम आवेदन नपरेपछि ढिलो अवधि मङ्सिर १८ गतेसम्म विक्री खुला गरिएको हो । मङ्सिर १७ गते बिहान १० बजेसम्म यस योजनाको इकाई खरीदका लागि ५४ हजार ७९७ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार यी आवेदकहरूबाट ८ करोड ३९ लाख ९० हजार १२० इकाई खरीद माग भएको हो । यो इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । इकाई विक्रीका लागि खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । सो अवधिसम्म न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने व्यवस्थासमेत छ । योजनाको इकाई खरीदका लागि हालसम्म परेको तथ्यांक रितपूर्वक भएमा करीब ९९ प्रतिशत इकाई विक्री भइसकेको अवस्था छ । यो इकाई निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ ।  साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ ।

एनआईसी एशिया ग्रोथ फण्ड-२ को इकाईमा आवेदन दिने समय अवधि थप

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले मंसिर ४ गतेदेखि विक्री खुला गरेको एनआईसी एशिया ग्रोथ फण्ड -२ को इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ । फण्डको इकाईका लागि अब मंसिर १८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभन्दा अगाडि पूर्ण आवेदन परेमा पूर्वसूचना दिई कुनै पनि दिन निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याएको हो । निष्कासन गरिएको कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गरेको हो । उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । विक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ । र, न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ । फण्डको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड छ । ७ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो ।

सोमवारदेखि एनआईसी एशिया ग्रोथ फण्ड-२ ले इकाई विक्री गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड-२ सञ्चालनका लागि मंसिर ४ गते सोमवारदेखि इकाई जारी गर्न लागेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । विक्री गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । यो इकाई खरीदका लागि छिटोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने मंसिर १८ गतेसम्म विक्री लम्बिनेछ । यो इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । इकाई बिक्रीका लागि खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । सो अवधिसम्म न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने व्यवस्था समेत रहेको छ । यो इकाई निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ ।  साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिनेछ ।

एनआईसी एशिया ग्रोथ फण्ड २ ले मंसिर ४ गतेदेखि इकाई जारी गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड जारी गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई मंसिर ४ गतेदेखि जारी गर्न लागेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो । विक्री गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागिएको हो । यो इकाई खरीदका लागि छिटोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने मंसिर १८ गतेसम्म विक्री लम्बिनेछ । यो इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ ।  इकाई विक्रीका लागि खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तिमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । सो अवधिसम्म न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने व्यवस्थासमेत छ । यो इकाई निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ ।  साथै मेरो शेयर अनलाईनमार्फत समेत आवेदन दिन सकिनेछ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

एनआईसी एशिया ग्रोथ फण्डसहित पाँच धितोपत्र उच्च खरीद माग

जेठ १९, काठमाडौं । साताको चौथो कारोबार दिन बिहीवार बजार खुलेको तिन घण्टा अवधिमा कारोबारमा आएका २२६ ओटा धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  एनआईसी एशिया ग्रोथ फण्ड, बलेफी हाइड्रोपावर, नबिल ब्यालेन्स फण्ड २, सनराइज फर्स्ट म्युचुअल फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।  यी पाँच धितोपत्र मध्ये सबैभन्दा बढी एनआईसी एशिया ग्रोथ फण्डको १ लाख १७ हजार ६०० इकाई खरीद माग रहेको हो । त्यसैगरी बलेफी हाइड्रोपावरको १ लाख १५ हजार कित्ता, नबिल ब्यालेन्स फण्ड २ को १ लाख ९ हजार ५१७ इकाई, सनराइज फर्स्ट म्युचुअल फण्डको १ लाख ७१० इकाई र एनआईसी एशिया ब्यलोन्स फण्डको ९९ हजार ६५० इकाई खरीद माग रहेको छ ।  यो समचार तयार पार्दासम्म नेप्से परिसूचक १६ दशमलव ८९ अंक घटेर २ हजार ११३ दशमलव ८४ विन्दुमा झरेको हो भने कुल रू. ७६ करोड १८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

एनआईसी एशिया ब्यालेन्स फण्ड सहित पाँच धितोपत्रमा उच्च खरीद माग

जेठ १८, काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधवार बजार खुलेको तीन घण्टा अवधिमा कारोबारमा आएका २२३ ओाट धितोपत्रमध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  एनआईसी एशिया ब्यालेन्स फण्ड, एनएमबि फिप्टी, प्रभु सेलेक्ट फण्ड, नबिल ब्यालेन्स फण्ड २ र सिटीजन्स म्युचुअल फण्ड २ मा उच्च खरीद माग रहेको हो ।  यी पाँच धितोपत्रमध्ये एनआईसी एशिया ब्यालेन्स फण्डको सबैभन्दा बढी २ लाख ४२ हजार १५० इकाई खरीद माग रहेको छ । त्यसैगरी एनएमबि फिप्टीको २ लाख ४० हजार १७५ इकाई,प्रभु सेलेक्ट फण्डको १ लाख ९८ हजार ८९१ इकाई, नबिल ब्यालेन्स फण्ड २ को १ लाख ८६ हजार ५४५ इकाई र सिटीजन्स म्युचुअल फण्ड २ को १ लाख ७६ हजा ७०० इकाई खरीद माग रहेको हो ।  यो समचार तयार पार्दासम्म नेप्से परिसूचक १६ दशमलव ३७ अंक घटेर २ हजार १२१ दशमलव ५५ विन्दुमा झरेको छ भने कुल रू. ७३ करोड ८२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

नबिल ब्यालेन्स फण्ड - २ सहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

असोज १०, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको पौने दुई घण्टाको अवधिमा नबिल ब्यालेन्स फण्ड -२ सहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग  रहेको छ । उक्त अवधिसम्ममा कारोबारमा आएका २१९ ओटा धितोपत्र मध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको हो । नबिल ब्यालेन्स फण्ड २,मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था,सानिमा बैंक,एनआईसी एशिया ब्यालेन्स फण्ड र नबिल इक्विटी फण्डको इकाईमा उच्च खरीद माग रहेको छ ।  ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी नबिल ब्यालेन्स फण्ड - २ को इकाईमा १७ लाख ६० हजार ६८२ इकाई खरीद माग रहेको छ ।  उक्त फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार रहेकाले पनि खरीद माग उच्च रहेको हो । फण्डले गत आवको मुनाफाबाट इकाईधनीलाई ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्न का लागि भोलि असोज ११ गते बुक क्लोज गरेसँगै आइतवारसम्म इकाईधनीले लाभांश पाउनेछन् ।  त्यसैगरी मनकामना स्मार्ट लघुवित्तको शेयरमा २ लाख ८१ हजार ८२६ कित्ता,सानिमा बैंकको १ लाख ९६ हजार ८७४ कित्ता,एनआईसी एशिया ब्यालेन्स फण्डको १ लाख ८४ हजार १७३ इकाई र नबिल इक्विटी फण्डको इकाईमा १ लाख ७० हजार ५१९ इकाई खरीद माग रहेको छ ।