काठमाडौं (अस) । एनआईसी एशिया क्यापिटलले फागुन २२ गतेदेखि सञ्चालनको पाँचौं वर्ष पूरा गरेको छ । कम्पनीले वार्षिकोत्सव अवसरमा क्यापिटलबाट प्रदान गरिने लगानी व्यवस्थापन सेवाअन्तर्गत ५ मा ५ अफरसहित लगानी व्यवस्थापन सेवा लिने ग्राहकलाई चैत मसान्तसम्म लागू हुने गरी विशेष छुट योजना ल्याएको छ ।
लगानी व्यवस्थापन सेवा लिने ग्राहकलाई पहिलो वर्षको वार्षिक नवीकरण शुल्कमा ५० प्रतिशत छुट, इनकम ग्यारेन्टी फन्डअन्तर्गत हाल ११.३० प्रतिशत रहेकामा ०.१० प्रतिशत थप गरी वार्षिक ११.४० प्रतिशतको सुनिश्चित प्रतिफल, एक्जिट शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर खाता, एनआईसी एशिया म्युचुअल फण्ड सेवाअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना एनआईसी एशिया डायनामिक डेप्ट फण्डको इकाइ खरिद गर्दा खरिद गरिएको इकाइभन्दा २० प्रतिशत बढी इकाइ वा अधिकतम १,००० सम्मको इकाइ थप गरी खरिदकर्ताको डिम्याट खातामा जम्मा गरिदिनेछ ।
कम्पनीले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत आइडिया टू आईपीओ नामक नयाँ सेवा सञ्चालन गरिरहेको छ । यसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडिएसनदेखि कम्पनी स्थापना, स्केल अप एक्सपान्सन, ग्रोथ, फरदर एक्सपान्सन हुँदै आईपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानी स्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्नेछ ।
एक नेपाली, एक डिम्याट खाता अभियानअन्तर्गत ग्राहकलाई विभिन्न छुटसहित ग्राहकमुखी सेवा उपलब्ध गराउन कम्पनीले एनआईसी एशिया डिम्याट सेवा चैत मसान्तसम्म निःशुल्क उपलब्ध गराउनेछ । क्यापिटलले ५ वर्षसम्मका बालबालिका लक्षित डिम्याट खाता सेवा सञ्चालनमा ल्याएको छ । यसमा निःशुल्क डिम्याट खाता, २ वर्षसम्मको डिम्याट खाता नवीकरण शुल्कमा छुट दिनेछ । पाँचौं वार्षिकोत्सव अवसरमा काठमाडौं लायन्स क्लबसँगको सहकार्यमा कम्पनीमा कार्यरत कर्मचारीले रक्तदान गरेको क्यापिटलले बताएको छ ।