काठमाडौं । न्यू बिजनेश एज प्रालिद्वारा आयोजित ‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ मा सहभागी भएकामध्ये ५ कम्पनीलाई 'बेष्ट स्टार्ट अप अफ द इयर' अवार्ड्समार्फत सम्मान गरिएको छ ।
डक्टरस अन कल, अनामनगर, काठमाडौं, ईडिजिटल नेपाल, तीनकुने, काठमाडौं, फोकस वन (मोको) कालीमाटी काठमाडौं, सजिलो सेवा, झम्सिखेल, ललितपुर तथा इन्ग्रेल्स (वेद) धोवीघाट, ललितपुर बेस्ट स्टार्ट अप अफ द इयर २०२३ बाट सम्मानित भएका हुन् ।
त्यस्तै इमरजिङ स्टार्ट अप अफ द इयरबाट डेलिस डेरी (ग्रीक योगर्ट), भरतपुर, चितवन, इन्सपाइरिङ वुमन लिड अफ द इयरबाट डिजिटल एज नेपाल, ताहाचल, काठमाडौं र स्टार्टअप स्केल अवार्डबाट फूडमान्डू, नक्साल, काठमाडौं सम्मानित भएका छन् ।
उनीहरूलाई स्वतन्त्र निर्णायक मण्डलले कम्पनीको मिसन, भिजन, भ्यालू प्रोपोजिसन र बजार पहिचान, टिम कम्पोजिसन, क्यालिवर, इन्नोभेसन/यूएसपी/डिस्ट्रप्सन, ट्रयाक्सन टू डेट, स्केलएबिलिटी र प्रतिस्पर्धी रणनीति, सूचनाप्रविधिको प्रयोग तथा क्रियशनलगायतको मूल्यांकनको आधारमा छनोट गरेको हो ।
डक्टरस अन कल घरघरमा पुगेर बिरामीको उपचार गर्ने कम्पनी हो । त्यस्तै ई-डिजिटलले गुणस्तरीय शिक्षाका लागि डिजिटलाइजेशनको काम गर्छ । फोकस वन पेमेन्ट वालेट कम्पनी हो । जसले भुक्तानी सहजीकरणमा काम गर्छ । सजिलो सेवाले सेवाग्राहीलाई आवश्यक पर्ने सूचना, सेवा उपलब्ध गराउँछ । वेदले शैक्षिक संस्थालाई आवश्यक पर्ने प्रविधिको विकास गरेको छ ।
इमरजिङ स्टार्ट अप अफ द इयरबाट सम्मानित डेलिस डेरीले दही, मोही उत्पादन गरेर उपभोक्तासमक्ष पुर्याउने गर्छ । त्यस्तै इन्सपाइरिङ वुमन लिड अफ द इयरबाट सम्मानित डिजिटल एज नेपाल वित्तीय सेवा प्रदायक कम्पनी हो भने स्टार्ट अप स्केलअप अवार्डबाट सम्मानित फूडमान्डूले उपभोक्ताको घरघरमा अर्डर बमोजिमका खानेकुरा डेलिभरी गर्दै आएको छ ।