स्टार्टअपहरूले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएका छन् : लम्साल

काठमाडौं । न्यू बिजनेश एजका अध्यक्ष मदन लम्सालले स्टार्टअपहरूले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको बताएका छन् । न्यूबिज स्टार्टअप समिट एण्ड अवार्ड्स २०२३ को कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष लम्सालले नेपालमा पनि स्टार्टअपले जरा गाड्दै गइरहेको बताए । 'केही स्टार्टअपहरू सर्वसाधारणमा शेयर जारी गर्ने हैसियतमा पुग्दै छन् । यसले देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको छ ।' उनले भने । दैनिक ३३ सय युवा विदेशी रहेको अवस्थामा तिनलाई रोक्नको लागि पनि यो अवार्ड कार्यक्रम आयोजना गरिएको लम्सालले बताए । डोल्म इम्प्याक्ट फण्ड लगायतका संस्थाले पनि स्टार्टअपलाई सहयोग गरिरहेको भन्दै स्वतन्त्र निर्णायक मण्डलबाट छानिएर पुरस्कृत गरिएको जानकारी दिए ।  'कतिपय राम्रा स्टार्टअपहरू हाम्रो सम्पर्कमै आउन सकेनन् । आएका मध्येबाट उत्कृष्ट स्टार्टअपहरूलाई सम्मान गरिँदै छ ।' उनले भने । २०१७ देखि हामिले यसरी स्टार्टअपलाई सम्मान गरिरहेका छौ । यो कार्यक्रमभन्दा अघि हामिले स्टार्टअपका लागि तालिम पनि दिएका थियौ । सबैको उत्साहजनक सहभागित रहेको थियो । राजधानीमा एक विशेष समारोहकाबीच भइरहेको कार्यक्रमलाई सांसद् तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ भने ‘टुवार्डस स्टार्ट अप नेशन’  विषयमा छलफल भइरहेको छ । कार्यक्रममा सातै प्रदेशबाट आवेदन माग गरिएको थियो । देशभरका २ हजारभन्दा बढी स्टार्टअप उद्यमीले अवार्ड्स कार्यक्रममा सहभागिताका लागि आवेदन दिएका थिए । यस वर्षको अवार्ड्स तथा सम्मानको थिम ‘टुवार्डस स्टार्ट अप नेशन’ रहेको छ । यसवर्ष आठ स्टार्ट अप कम्पनीलाई अवार्ड प्रदान गरिँदै छ । अवाड्र्स कार्यक्रमलाई सस्तोडिल डट कम, लक्ष्मी बैंक, शिखर इन्स्योरेन्स, रिगो, नेक्सन ईभी, म्याक्स र सिटी एक्सप्रेसले सघाएका छन् । त्यस्तै नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बीमा प्राधिकरण, सिटिजन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाली पात्रो र डिसहोम फाइबर नेटले पनि अवार्ड्स तथा सम्मान कार्यक्रमलाई सहयोग गरेका छन् । न्यू बिजनेश एजले विगतमा पनि विभिन्न अवार्ड कार्यक्रम गर्दै आएको छ । कम्पनीले सन २०१३ देखि उत्कृष्ट व्यवस्थापन कलेज तथा कम्पनी छनोट गरी पुरस्कृत गर्दै आएको छ । सन २०१९ देखि कम्पनीले महिला उद्यमीलाई सम्मान गर्दै आएको छ । कम्पनीले पछिल्लोपटक गत मङ्सिरमा न्यू बिज बिजनेश कनक्लेभ एन्ड अवार्ड्स कार्यक्रम आयोजना गरेको थियो ।