काठमाडौं । न्यूबिज स्टार्टअप समिट एण्ड अवार्ड्स कार्यक्रमअन्तर्गत प्यानल डिस्कसन शुरु भएको छ ।
‘टुवार्ड्स स्टार्टअप नेशन’ थिममा भइरहेको प्यानल डिस्कसनमा उद्योग विभागका महानिर्देशक बाबुराम गौतम, आर एण्ड डी इन्नोभेटिभ सोलुसन प्रालिकी फाउन्डर सुनिता न्हेमाफुकी, उपायका को–फाउन्डर राहुल मल्ल ठकुरी वक्ताका रूपमा छन् । यसको सहजीकरण भिकासा टेकका को–फाउन्डर एवं हेड अफ अपरेशन अस्मोद कार्कीले गरिरहेका छन् ।
न्यू बिजनेश एजको आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष मदन लम्साल र डोल्मा फण्ड म्यानेजमेन्टका फाउन्डर र सीईओ टिम गोचर ओबीईले गरेका थिए ।
कार्यक्रमअन्तर्गत चार विधामा ८ स्टार्टअप कम्पनीलाई अवार्ड पनि दिइँदैछ, जसअन्तर्गत पाँच कम्पनीले ‘बेस्ट स्टार्टअप्स अफ दि इयर–२०२३’ अवार्ड पाउनेछन् । यस्तै, एक–एक कम्पनीलाई ‘इन्सपाइरिङ वुमेन–लिड स्टार्टअप अफ दि इयर’, ‘इमर्जिङ स्टार्टअप अफ दि इयर’ र ‘स्टार्टअप स्केल अप अवार्ड’ दिइन लागिएको आयोजक न्यू बिजनेश एजले जानकारी दिएको छ ।
उक्त अवार्ड्स कार्यक्रममा सहभागिताका लागि सातै प्रदेशबाट आवेदन माग गरिएको थियो, जसमा देशभरका २ हजारभन्दा बढी स्टार्टअप उद्यमीले आवेदन दिएको आयोजक न्यू बिजनेश एजले जानकारी दिएको छ ।
अवार्ड्स कार्यक्रमलाई सस्तोडिल डट कम, लक्ष्मी बैंक, शिखर इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, रिगो, नेक्सन ईभी म्याक्स र सिटी एक्सप्रेसले सघाएका छन् । त्यस्तै नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बीमा प्राधिकरण, नेपाली पात्रो र डिसहोम फाइबर नेटले पनि कार्यक्रमलाई सहयोग गरेका छन् ।
न्यू बिजनेश एजले विगतमा पनि विभिन्न अवार्ड कार्यक्रम गर्दै आएको छ । कम्पनीले सन् २०१३ देखि उत्कृष्ट व्यवस्थापन कलेज तथा कम्पनी छनोट गरी पुरस्कृत गर्दै आएको छ । सन् २०१९ देखि कम्पनीले महिला उद्यमीलाई सम्मान गर्दै आएको छ । कम्पनीले पछिल्लोपटक गत मङ्सिरमा न्यूबिज बिजनेश कनक्लेभ एन्ड अवार्ड्स कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमको वत्ताहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्ले, नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमाल र डोल्मा फण्ड म्यानेजमेन्टका फाउन्डर र सीईओ टिम गोचर ओबीई छन् ।