वैशाख १४, काठमाडौं । ठूलोडटकम र व्यवस्थापन, अर्थिक सुधार र लैंगिक समानताका लागि उद्यम (इमर्ज) ले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी एउटा मोबाइल एप ल्याएको छ ।
निजी क्षेत्र नवप्रवर्तन चुनौतीको अन्तिम प्रतिस्पर्धामा म त छु तयार नामक सो एप सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा तयार नेपालका चीप अफ पार्टी तामी ह्यारिसले सो एपको औपचारिक उद्घाटन गरेका हुन् ।
एपलाई अन्तरराष्ट्रिय विकास सम्बन्धी अमेरिकी सहायता निकाय (यूएसएड) को तयार नेपाल–सुधारिएको विपद् जोखिम व्यवस्थापन परियोजनाले टेवा दिएको छ । यो उद्यमी उत्थान अभियानको हिस्सा हो । यो ठूलो डट कम र इमर्जको संयुक्त पहलमा सञ्चालित अभियान हो ।
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी सचेतना बढाउन यो एप ल्याइएको हो । यो एप विशेषगरी महिलाको नेतृत्वमा सञ्चालित व्यवसाय र उपभोक्ताका लागि ल्याइएको हो । यसको उद्देश्य विपद्को पूर्व तयारीमार्फत त्यस्ता व्यवसाय र उपभोक्ताहरुको विपद् उत्थानशीलता अभिवृद्धि गर्नु र विपद् आइपरेको समयमा मद्दत उपलब्ध गराउनु रहेको छ ।
यो एपले टेक्स्ट, लिंक, भिडियो, तस्वीर र अडियो आदिको स्वरुपमा विपद्सम्बन्धी जानकारी उपलब्ध गराउँछ । उपलब्ध गराइएको जानकारीलाई राम्ररी बुझ्ने खालको बनाउन विपद्को प्रकार र चरणअनुरुप यसको वर्गिकरण गरिएको हुन्छ ।
विपद्को समयमा यो एपले प्रयोगकर्तालाई अन्तरक्रियात्मक मञ्च उपलब्ध गराउने परिकल्पना गरेर यो एप बनाइएको एप सार्वजनिक गर्ने क्रममा जारी विज्ञप्तिमा भनिएको छ ।