विश्व भूराजनीतिक विवादका कारण खाद्यान्न आपूर्ति प्रभावित हुने देखिएपछि र स्वदेशी चामलको उत्पादन घट्ने भएपछि मूल्यवृद्धि रोक्न भारत सरकारले चामल निर्यातमा रोक लगाएको घोषणा गरेको छ । यस्तो निर्णयले तत्काल नेपाललाई असर पार्ने वा नपार्ने भन्नेबारे चाहिँ यकीन छैन, किनकि भारतले अन्य मुलुकका लागि सामूहिक निर्णय गरे पनि नेपालको हकमा खुकुलो हुने गरेको छ । गहुँमा प्रतिबन्ध लगाउँदा नेपालको आग्रहअनुसार भारतले निर्यातको अनुमति दिएको थियो । तर, यस्ता निर्णयबाट नेपालले भने सिक्नैपर्छ । नेपाल–भारत सम्बन्ध सधैं एकनास नहुन सक्छ । सरकारी नेतृत्वले चाहँदा चाहँदै कुनै बेला परिस्थितिजन्य कारणले भारत नेपालप्रति कडा बन्नुपर्ने अवस्था आउन सक्छ । विदेशी मुलुकहरूले जुनसुकै बेला आफूअनुकूल निर्णय गर्ने भएकाले नेपालले अहिले भइरहेको उत्पादन वृद्धिमा लाग्नुपर्छ ।
नेपाल कृषि प्रधान देश भए पनि खाद्यान्नमा परनिर्भरता बढ्दो छ । सरकारले कृषिमा आत्मनिर्भर हुने भन्ने जति नै नारा लगाए पनि एकातिर सही नीति निर्माण गरी कार्यान्वयन गर्न सकेको छैन भने अर्कातिर मल, बीउ, सिँचाइमा युद्धस्तरमा काम गर्न सकेको छैन । विप्रेषण आयले गर्दा जनताले आयातित चामल खरीद गर्न सक्ने भएकाले सरकारले यसलाई कहिल्यै समस्याका रूपमा लिएन । भारतले बारम्बार खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ तर सरकारले यसलाई कहिल्यै पनि गम्भीर समस्याका रूपमा लिएको पाइँदैन । यस्तो समस्या बारम्बार आइरहेकाले नेपालले अब कृषि उत्पादन वृद्धिका लागि मरिमेटेर लाग्नुपर्छ र यस्ता अवरोधबाट पाठ सिक्दै काम गर्ने अवसरका रूपमा लिनुपर्छ ।
विगतमा धानचामल निर्यात गर्ने सक्ने मुलुक अहिले उल्टो यात्रामा गयो भनेर टिप्पणी गरेको पनि पाइन्छ । तर, त्यति बेला सडक असुविधाका कारण पहाडी क्षेत्रमा तराईमा उत्पादित चामल पुग्न सक्दैनथ्यो । नेपालीहरूले भात खाने चलन पनि कमै थियो । केही प्रमुख बजारबाहेक अन्यत्र चामल किन्नसमेत सहज थिएन । त्यसैले नेपाल चामलमा कहिल्यै आत्मनिर्भर छैन भन्न सकिन्छ । यसलाई पहिला आत्मनिर्भर थिएन त अब पनि हुन सक्दैन भन्ने अर्थका रूपमा भने बुझ्नु हुँदैन । संसारका धेरैजसो मुलुक मेहनत गरेरै बनेका हुन् । ८० को दशकसम्म नेपालकै हाराहारी मानिने सिंगापुर ‘एशियन टाइगर’ को रूपबाट परिचित हुन थालिसकेको छ । दोस्रो विश्वयुद्धमा युद्धले थिलथिलो भएको जापान अथक मेहनतका कारण सम्पन्न हुन सकेको हो । त्यसैले नेपालले अब केही गर्न सक्दैन भन्ने होइन । आवधिक योजना बनाउन थालेदेखि नै कृषिलाई उच्च प्राथमिकतामा राखे पनि सरकारले गम्भीरतापूर्वक काम गर्न नसकेका कारण नेपालले प्रगति गर्न नसकेको हो । कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान अझै धेरै छ यद्यपि यसको अंश घट्दै गएको छ । विश्वभरि नै कृषिक्षेत्रको योगदान घटी उद्योगको योगदान बढ्ने प्रवृत्ति रहेकामा नेपालमा कृषिले प्रगति गर्न नसक्दा सेवा क्षेत्रले अर्थतन्त्रको विस्तारमा सर्वाधिक योगदान दिइरहेको छ ।
विगतमा चामल निर्यात गर्न सक्नुको कारण विश्लेषण गरी चामलको विकल्पका खाद्य वस्तु उपभोगको संस्कृति निर्माणका लागि सरकारले पहल शुरू गरिहाल्नुपर्छ । त्यस्तै महँगो चामलभन्दा अन्य कृषि उपज प्रयोग गर्ने बानी बढाउन सकियो भने पनि चामल आयात कम हुन सक्छ । नेपालको सबै माटोमा धान खेती हुँदैन । त्यसैले धानखेती नहुने ठाउँमा अन्य खेती गर्न सहयोग र प्रोत्साहनको आवश्यकता छ । यसले ती वस्तुको उपभोग बढाउन मद्दत गर्न सक्छ र चामल आयात हुन नसके पनि खाद्य सुरक्षामा बलियो बन्न सकिन्छ । यी सबै काम गर्न सरकारसँग एकातिर स्पष्ट योजना हुनुपर्छ र अर्कोतर्फ इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ, जुन अहिलेसम्म नेपाली जनताले अनुभूति गर्न पाएका छैनन् ।