कोरोना महाव्याधि (कोभिड १९) ले विगत २ वर्षदेखि विश्व आतंकित र त्रस्त मात्र होइन, भयभीत पनि छ । विश्वभर यसले करोडौंको ज्यान लिइसकेको छ भने हाम्रै देश नेपालमा पनि विगत १५ महीनाकै अवधिमा १० हजार ५८८ (भदौ ७, २०७८ सम्म) नागरिकले यो व्याधिबाट ज्यान गुमाउन पुगे । अहिले पुनः तेस्रो लहर आउन थालेको संकेत देखिएका छन् भने अक्टोबरतिर यसको तेस्रो लहरले भारतीय क्षेत्रमा सताउने प्रक्षेपण भइरहेका बेला नेपालमा पनि त्यसको असर नपर्ला भन्न सकिँदैन । किनभने विगत दुईओटा लहरबाट नेपालमा त्यसको असर देखिएकै हो । हाल निषेधाज्ञा एकदमै खुकुलिएको अवस्था छ भने अर्कातिर जनमानसले कोरोना व्याधिलाई खासै टेरेको पनि देखिएन । बन्दाबन्दी लामो समयसम्म रहिरहँदा अर्ततन्त्रमा पर्ने बहुआयामिक प्रभाव त हामीले कोरोनाकालीन समयमा भोगैकै हो । अझै त्यसको असर अर्थतन्त्रमा परिरहेकै छ र त्यो आगामी कति समयसम्म जान्छ यसै भन्न सकिएको छैन । पहिले बन्दाबन्दी नगर्ने देशहरूले अहिले बन्दाबन्दी गर्न थालेका छन् । खोपको दोस्रो मात्रा लगाइसकेकालाई पनि कोरोनाका नयाँनयाँ व्युत्पत्तिले सताउन थालेकाले विकसित देशहरूले अब तेस्रो खोप (बुस्टर डोज) लगाउने तयारी गर्दै छन् । नेपाल पनि अहिले खोपकै तयारीमा जुटेको छ । हाल करीब १८ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन् भने गठबन्धनको सरकारले आगामी चैतसम्ममा सबै नागरिकलाई खोप लगाउने कार्यक्रम सार्वजनिक गरिसकेको छ । यो राम्रो कुरा हो ।
विगतमा सरकारी क्षेत्र र विभिन्न संस्थानले आफ्ना अधिकारीहरूलाई विदेशका सभा, सम्मेलन, तालीम, भ्रमण र अवलोकनमा पठाउँदा हुने खर्चचाहिँ गजबैले बचत हुँदोरहेछ वा गर्न सकिन्छ भन्ने पाठ कोरोनाले सिकाएको छ ।
त्यसो त मानिसले यस्तै व्याधिहरूबाट हो । जीवनलाई कसरी चलायमान बनाएर लैजान सकिन्छ भन्ने कुराको ज्ञान लिने वा पाठ सिक्ने । पहिले बन्दाबन्दी नै एक मात्र उपाय ठानिन्थ्यो । तर, लामो समयसम्म गरिएको बन्दाबन्दीले अर्थतन्त्र नै धराशयी बनेकाले अहिले त्यस मोडालिटीलाई केही परिवर्तन गरिएको देखिन्छ । यसलाई सभ्य भाषामा ‘स्मार्ट लकडाउन’ भनेर चिनाउन थालिएको छ । अहिले मानिसले कोरोना संकटबाट नयाँनयाँ पाठ पनि सिकेका छन् भने प्रविधिको प्रयोग गरेर हाम्रो जीवनयापन र बसउठलाई नै परिवर्तन गरेका पनि छन् । खासमा कोरोना बढी भीडभाड र मानिसहरूको बसउठ र जीवनयापनका शैलीहरूबाटै फैलिँदो रहेछ भन्ने कुराको पुष्टि भएको हुँदा अब यसका साथसाथै हाम्रो अर्थतन्त्रलाई कसरी चलायमान बनाउने र हाम्रो जीवनयापनका मोडालिटीलाई कसरी परिवर्तन गरेर यो व्याधिसितै बाँच्ने कलाहरू सिक्ने मात्र यसको विकल्प देखिएको छ ।
कोरोनाको विपद् कस्तोसम्म हुँदोरहेछ भन्ने कुरा संसारले भोगिसकेको छ, आँखैले देखिसकेको छ र त्यसको पीडालाई पनि आत्मसात् गरिसकेको छ । तर, धेरै आफन्त गुमाउनेहरूलाई र अस्पतालको महँगो खर्च भोगेका र भेन्टिलेटरमा बस्नेहरूलाई मात्र त्यसको वास्तविक पीडा थाहा होला नत्र सार्वजनिक यातायातहरूमा भीडभाड गरेर यात्रा गर्नेहरू र त्यहाँ सामान्य मास्कसमेत लगाएर यात्रा नगर्नेहरूलाई भने यसको पीडा पक्कै थाहा नहुनसक्छ । यो विपद्ले धेरै पीडा, त्रास र भय त दिएकै हो, दिइरहेकै छ तथापि यस विपद्बाट हामीले केही असल कुराहरू पनि सिकेका छांै, पाठस्वरूप । यस आलेखमा तिनै असल कुराहरूको संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ । आखिर हामीले सधैं नराम्रा कुरा मात्र लिएर, बोकेर पनि जीवनको गतिलाई अगाडि बढाउन सकिँदैन नै ।
कोराना विपद्ले सिकाएको पहिलो पाठ हो, साबुन पानीले हात धुने, साबुन पानी नभएमा स्यानिटाइजरको प्रयोग गर्ने र मास्क लगाउने बानीको विकास । हेर्दा सामान्यजस्तो लागे पनि यति मात्र गर्न सकिँदा विज्ञहरूका अनुसार कोरोना महामारीबाट करीब ७५ प्रतिशतको जोखिम कम हुन्छ । यसका साथै भीडभाडबाट स्वयम्लाई अलग राख्ने वा अति आवश्यक काम नपरी त्यस्तो भीडमा नजाने बानी बसाल्ने अर्थात् जानै पर्दा त्यस्तोमा भौतिक दूरीको पालन गर्ने । पहिलो पाठ त अहिले हाम्रो जीवनशैली नै बनेको देखिन्छ । दोस्रो पाठ भने हामीले अभैm लिन सकिरहेका छैनौं । खास गरेर, राजनीतिक दलहरूले नै यसको पालना गरेका छैनन् । सरकारी कार्यालयका सेवाप्रवाह (जस्तै यातायात कार्यालय, मालपोत, खोप प्रमाणीकरण केन्द्रहरू) होस् वा खोपकै परिचालनमा पनि खोप केन्द्रमा हुने भीडको व्यवस्थापन चुकिराखेकै देखिन्छ । सरकारबाट प्रदान गर्ने सेवाहरूलाई डिजिटल माध्यमबाट गर्नेतर्पm सरकार चुकिराखेकै छ ।
बैंक वित्तीय संस्थाहरूमा अहिले डिजिटल प्रविधिको रामै्र विकास भएको देखिन्छ भने कोरोना महामारीका पनि बैंक वित्तीय क्षेत्रले भुक्तानी प्रणालीलाई राम्रै गति दिए । तर, बजार सोहीअनुरूप डिजिटल प्रणालीमा गई नसकेकाले र सरकारी चासो पनि त्यतापट्टिको विकास गर्नमा खासै बढ्न नसकेकाले अझै पनि बजारमा भुक्तानीका लागि नगदकै वर्चस्व देखिन्छ । धेरै जनमानसका हातहातबाट गुज्रने बैंक नोटहरूबाट पनि भाइरस विस्तार हुनसक्छ भन्ने चेतना बढ्नु अर्को उपलब्धि हो । त्यसैगरी अर्को पाठ हो, सूचनाप्रविधिमा आधारित शिक्षण संस्थाहरूमा पठनपाठनको थालनी र विस्तार । तर, यसका लागि सरकारले उपलब्ध गर्ने इन्टरनेटको सुविधा, गुणस्तर र पहुँच भने स्तरीय र सबैका लागि भरपर्दो, सुलभ र सस्तो बनाउन सकेन । यसैगरी, कार्यालयको काममा वर्किङ फ्रम होमको अवधारणा आउनु र त्यसबाट पनि कार्यालयको काम फत्य गर्न सकिन्छ भन्ने उदाहरण पस्कनु अर्काे राम्रो पाठ हो, कोरोना विपद्को । खासगरेर बैंकहरूले यो अवधारणामा काम गरे । तर, जति बढी डिजिटल प्रणाली अवलम्बन गरिन्छ उति नै त्यसमा जोखिम पनि बढ्ने हुँदा राम्रो सूचनाप्रविधि, सफ्टवेर र साइबर सुरक्षा प्रणाली अवलम्बन गरेका बैंकहरू (जस्तै : नेपालमा स्ट्यान्डर्ड चार्टर्ड) ले त्यसमा लगानी पनि सोहीअनुरूप गरिरहेका देखिन्छन् । त्यस्तो प्रविधिले बैंकहरूको कारोबार सुरक्षित बनाएको देखिन्छ । बैंकहरू प्नि भीडभाड हुने स्थान नै भएकाले कोरोनाकालीन संकटले त्यस्तो भीड कम गर्न पक्कै पनि विभिन्न विकल्पको खोजीमा तिनलाई धकेलेकै हो । अहिले डिजिटल भुक्तानीमा निकै राम्रो प्रगति भएको छ । सरकारले यस्तो प्रणालीमा नागरिकलाई थप अभ्यस्त र प्रोत्साहित गरिराख्न उसले तिरेको भ्याट रकम र करको केही अंश उसैले फिर्ता पाउने गरी उसकै बैंक खातामा जम्मा हुने व्यवस्था गर्न सक्छ । प्रविधिकै विकासका कारण अहिले घरैबाट शेयरको कारोबार गर्न सकिन्छ, त्यो अर्को पाठ हो कोरोनाको । अर्थात् कोरोना सँगसँगै अघि बढ्ने हो भने सरकारले सूचना र प्रविधिको विकासमा धेरै ठूलो लगानी गर्नुपर्छ भने त्यसको सुलभताप्रति पनि ध्यान दिनुपर्छ भन्ने पाठ यसले सिकाएको छ ।
कोरोना विपद्ले सिकाएको अर्को मननीय पाठ भने अचम्मको छ । त्यो हो, अब हामीले हाम्रो संस्कार, चाडबाड, पर्व, उत्सव, बिहेबारी, जन्मोत्सव, पास्नी, व्रतबन्ध, कुल पूजा, देवाली, जात्रा संस्कार आदि मनाउँदा विशेष ध्यान दिएनाैं वा त्यसको मोडालिटीमा परिवर्तन खोजेनाैं भने त्यसले निकै ठूलो मानवीय क्षति गर्दोरहेछ भन्ने कुराको पाठ । त्यसबाहेक अहिले कोरोनाकै कारण आफन्त जनबीचको भेटघाटमा कमी त आएकै छ । यस्ता कुराहरूमा हुने अर्बाैंको धन राशीको पनि बचत भएकै हुनुपर्छ । भौतिक भेटघाटमा कमी आए पनि भच्र्युअल माध्यमबाट त्यस्ता भेटघाट बाक्लिएकाले त्यस्ता प्रविधि चलाएर बस्नेहरूको र सरकारकै आय पनि पक्कै बढेको देखिन्छ । गएको २ वर्षमा शेयर कारोबारबाट हुने करको माध्यमले सरकारले कहिल्यै नसोचेको आय गरेकै हो । हाम्रा धार्मिक मठमन्दिरहरूको आयमा कमी आएको होला । तर, भर्च्युअल विधिबाट पनि केही धार्मिक अनुष्ठानहरू ( जस्तै : श्राद्ध कर्म आदि) सम्पन्न भएकै छन् । यही विधिले निजी विद्यालयहरूले पनि आफ्नो आय बटुलेकै छन् । तर, सरकारी शिक्षण संस्थाहरूमा भने तिनका झैं पाठ सिक्न अझै समय लाग्ने हो कि ? भन्ने देखिएको छ ।
अन्त्यमा, कोरोना विपद्बाट यीबाहेक अरू पनि धेरै सकारात्मक पाठहरू मानव जगत्ले सिकिरहेको छ ( जस्तै : ईकमर्शको विकास) र सिक्ने पनि होला । त्यसमध्ये सबैभन्दा ठूलो पाठचाहिँ हाल विगतमा सरकारी क्षेत्र र विभिन्न संस्थानहरूले आफ्ना अधिकारीहरूलाई विदेशका सभा, सम्मेलन, तालीम, भ्रमण र अवलोकनमा पठाउँदा हुने खर्चचाहिँ गजबैले बचत हुँदोरहेछ वा गर्न सकिन्छ भन्ने पाठ नै हो । ती कार्य त जुमिनार र वेबिनारबाट पनि सम्पन्न गर्न सकिँदा रहेछन् भन्ने कुरा सरकारले र सरोकारवालाहरूले कोरोना काल गए पनि सिकिरहनु पर्ने पाठ हो ।
प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।