हिजो आज बैंक तथा वित्तीय संस्थाहरूले मिस्री मिसाएको स्वरमा भन्न थालेका छन्– आउनुस् आण्टी, आउनुुस् अंकल, आउनुस् दाइ, आउनुस् विद्यार्थी भाइ, आउनुस् बुबा, आउनुस् साहुजी । हामी कहाँ आएर ऋण लिनोस् । जागिरे हो भने आम्दानीको प्रमाण अर्थात् ‘स्यालरीको सर्टिफिकेट’ लिएर आउनुस् । उद्योगी व्यापारी हो भने आयकर तिरेको प्रमाणपत्र लिएर आउनुुस् । गृहिणी हो भने पतिदेवको मायाले तपाईंको नाममा किनेको घर वा जग्गाको कागजात लिएर आउनुुस् । ए दाजै, जे जे लिएर आए पनि आउनुस्, तर ऋण चैं लिएर जानोस् है । ऋण तिर्ने चिन्ता किन गर्नुहुन्छ ? त्यो त हामी पछि असुल गरिनै हाल्छौं नि, ब्याज र स्याजसहित । आखिर धन्दाको कुरो जो छ ।
जसरी अमृत मन्थनपछि विष्णुले मोहिनी रूप धारण गरेर असुरहरूलाई मोहित पार्न सफल भएका थिए, त्यसैगरी अहिले बैंक तथा वित्तीय संस्थाहरू पनि कहिले ‘सपनाको घर’, त कहिले ‘विद्युतीय कार सरर’ भनेर ग्राहकहरूलाई आफूतिर तान्ने प्रयासमा छन् । सामान्य व्यक्ति जो मुश्किलसँग एउटा स्कुटर किन्ने हैसियतमा पुगेका छैनन्, तिनलाई उनीहरूको आफ्नै बंगलाको सपनालाई विपनामा बदलिदिने आश ऋणदाताहरूले दिने नै भए, लिने नलिने त आफ्नो कुरो हो । फेरि एकातिर आवश्यकता छ, अर्कोतिर समाजका अगाडि इज्जतको सवाल पनि जो छ ।
तपाईं भन्नुहोला हैन, यी बैंकहरूलाई के भएको हो हँ ? विगत केही अघिसम्म त ऋण पाउन बैंकहरूको चक्कर लाउँदा लाउँदा जुत्ता नै खिइन्थ्यो । तर अहिले अचानक हामी गरीबहरूमाथि यी बैंकहरूको यत्रो कृपादृष्टि कसरी पर्न गयो हँ भनेर ।
जसरी अमृत मन्थनपछि विष्णुले मोहिनी रूप धारण गरेर असुरहरूलाई मोहित पार्न सफल भएका थिए, त्यसैगरी अहिले बैंक तथा वित्तीय संस्थाहरू पनि कहिले ‘सपनाको घर’, त कहिले ‘विद्युतीय कार सरर’ भनेर ग्राहकहरूलाई आफूतिर तान्ने प्रयासमा छन् ।
हेर्नुुस्, अर्थशास्त्रको यो सामान्य नियम हो कि बजारमा जुन कुराको अभाव हुन्छ, त्यो कुराको भाउ बढ्छ । त्यसैगरी जुन कुराको आपूर्ति बढी हुन्छ, त्यसको भाउ घट्छ । विगतमा बैंकहरूसँग लगानीयोग्य पूँजी अर्थात् ऋण दिन मिल्ने रकम कम थियो । अहिले देशमा आर्थिक सुस्ती चलिरहेको छ । यस्तोमा मानिसहरूले ऋण लिएर उद्योग व्यापार गर्न डराइरहेका छन् । अनि बैंकमा पैसा थुपिँ्रदै गएको छ । त्यसैले बैंैकले पनि तपाईंहरूलाई नरम र मिस्री मिस्रित स्वरमा ऋण लिनुस् र आफ्नो व्यापार व्यवसाय बढाउनुहोस्, पैसा कमाउनुहोस्, अनि अलि अलि हामीलाई पनि दिनुस् भनिराछन् । बजार अर्थतन्त्र भनैको यै त हो । यसमा खराबी के नै छ र ?
हो, एकाथरीलाई लाग्छ विश्व बैंकको लहैलहैमा कांग्रेस सरकारले उडाएको उदारीकरणको बेलुनसँगै देशका मानिसहरूको महत्त्वाकांक्षा पनि उड्न थालेको छ । घर, कार, टिभी, फ्रिज, मोटरसाइकल, मोबाइल, वासिङ मेसिन, कम्प्युटर... के के हो, के के । मानिसहरूको महत्त्वाकांक्षासँगै बैंक तथा वित्तीय संस्थाहरूको संख्या पनि अस्वाभाविक रूपमा बढ्न थाल्यो । अहिले बैंकलाई पनि चल्नु छ, आफ्नो कमाउने लक्ष्य पूरा गर्नु छ । त्यो लक्ष्य पूरा गर्दिने भनेको तपाईं हामीजस्तै ग्राहकले नै हो । अर्थात् बैंकका लागि ग्राहक भनेका हरेक महीनामा सुनको फुल दिने कुखुरी हुन् । भनेसी यसरी सुन दिने कुखुरीलाई माया नगरे, तिनीहरूसँग मिस्री मिसाएर नबोले कोसँग बोल्ने त हो ? एक्काइसौं शताब्दीको आधुनिक नागरिक भएर पनि यत्ति कुरा नबुझ्ने अनि बैंकलाई गाली गरेर बस्ने ? अब विदेशमा जस्तो तपाईंको कमाइ मात्र हेरेर लोन दिएनन् भनेर गनगन चाहिँ नगर्नुस् है । किनकि तपाईं कति बेला फुत्त विदेश उड्नुहुन्छ कि खरानी धसेर जंगल पस्नुहुन्छ, पत्तै हुन्न । अनि बैंकले तपाईंका घरजग्गामा आँखा नलगाई भो त ?
त्यसैले लिनोस् ऋण र जिन्दगीको गाडी किस्ताको सडकमा कुदाउन थाल्नोस् । घर, कार, जग्गा, शेयर, के के सपना छन्, देख्न थाल्नुस् । सपना देख्न पाउनु तपाईंको नैसर्गिक अधिकार हो । तपाईंको सपनालाई विपनामा बदलिदिने काम बैंकको हो । पुर्खाले ‘यावत् जिवेत्, सुखम् जिवेत्, ऋणं कृत्वा, घृतम् पिबेत्’ अर्थात् ‘सुखसँग बाँच्नुस्, ऋण लिएर भए पनि घिउ पिउनुस्’ भनेर भनेकै छन् क्यार ! तर ऋण लिनुअघि यो कुरामा चैं विशेष ध्यान दिनुहोला नि । ‘घाँटी हेरेर मात्र हाड निल्नुहोला’ । अर्थात् तपाईंको सपनाको गाडीको गति तपाईंले नियन्त्रण गर्न सक्ने हदसम्म मात्र सीमित हुनुपर्छ है ! भनाइको मतलव लोन भनेको लैनो गाई होे, जसले दुहुन जान्योे, उसले आफ्नो दुनो सोझ्यायो । जानेन भने लोन थारो गाई हो, यसलाई पालिरहन मात्र पर्छ नि । बुझ्नु भो ?