पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुरमा शुक्रवार दिउँसो टिफरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएपछि स्थानीयले अवरुद्ध पारेको राजमार्ग ४ घण्टापछि खुलेको छ ।
सुक्रवार दिउँसो साढे २ बजेतिर नवलपुरस्थित मुख्य बजारमा राम जानकी मन्दिर अगाडि पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ८२९३ नम्वरको टिफरले ठक्कर दिँदा साइकलमा घाँस लिएर हिँडिरहनु भएका लालबन्दी नगरपालिका–२, जुटपानीका ३५ वर्षीय रामनरेश महतोको घटनास्थलमै मृत्यु भएको थियो । महतोको मृत्युपछि स्थानीयवासीले अवरुद्ध पारेको राजमार्ग साँझ साँढे ६ बजेपछि सूचारु भएको हो ।
४ घण्टाको चक्काजामका कारण ठूलाखाले सवारी साधनको पश्चिम चन्द्रनिगाहपुर र पूर्व बर्दिवाससम्म नै जाम लागेको थियो । लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काको उपस्थितिमा पीडित पक्षसँग छलफल गरी मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिलाउने सहमतिमा राजमार्ग खोलिएको हो ।