भदौ २६, काठमाडौं । पूँजीबजारमा अब सार्वजनिक संस्थानहरु पनि भित्रिने भएका छन् ।
शुक्रवार संसदमा प्रतिस्थापन बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले सार्वजनिक संस्थानहरुको पनि सर्वसाधारणमा शेयर जारी गर्ने बताएका हुन् । सार्वजनिक संस्थानहरुलाई पूँजीबजारमा भित्र्याउनका लागि सर्वसाधारणमा आईपीओ जारी गर्ने घोषणा अर्थमन्त्री शर्माले गरेका हुन् ।
सरकारको मातहतमा रहेका पूर्ण सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरुलाई आवश्यकता अनुसार कम्पनी मोडलमा रुपान्तरण गरी अर्थतन्त्रको ऐनाको रुपमा रहेको पूँजीबजारमा भित्र्याउने व्यवस्था मिलाइने अर्थमन्त्री शर्माले बताएका हुन् ।
सार्वजनिक संस्थानहरुलाई पूँजीबजारमा सूचीकृत गर्दै आत्मनिर्भर र लगानीको थप स्रोत जुटाउन सक्षम बनाउने नीति सरकारले लिएको अर्थमन्त्री शर्माको भनाइ छ । यसका लागि निरन्तर घाटामा गएका सार्वजनिक संस्थानहरुलाई संरचनागत र व्यवस्थापकीय सुधार गरी संचालन गर्ने, खारेज गर्ने वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन गर्ने नीति सरकारले लिने अर्थमन्त्री शर्माले जानकारी दिए ।
पूँजीबजारमा वित्तीय सुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गरिने समेत अर्थमन्त्री शर्माले प्रस्तुत गरेको प्रतिस्थापन बजेटमा उल्लेख छ ।