वीरगञ्ज । वीरगञ्जका विभिन्न संघसंस्थाहरूले निषेधाज्ञाको समयमा वीरगञ्जका अस्पतालमा बिरामीका कुरुवालाई निःशुल्क खाना उपलब्ध गराएका छन् । समर्पण सेवा संस्था, साहिब दरबार सेवा संस्थान र स्टार मार्बल एण्ड सेनेटरी प्रालिले वीरगञ्जको नारायणी अस्पतालमा बिरामीका कुरुवालाई खाना उपलब्ध गराएका हुन् ।
निषेधाज्ञाका कारण बजार बन्द भएकाले बिरामीका कुरुवालाई खानपानमा समस्या भएकाले अस्पतालमा खाना उपलब्ध गराइएको समर्पण सेवा संस्थाका सस्थापक एवम् उद्योगी विनय शाहले जानकारी दिए । सहयोगी संस्थाहरूको सहकार्यमा ५ दिनदेखि निःशुल्क खाना वितरण गरेको शाहले बताए ।
वीरगञ्जमा कोरोना संक्रमण बढेसँगै यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण दैनिक कमाइ गरेर गुजारा चलाउनेहरू भोकै पर्न थालेपछि अन्य सामाजिक संस्थाले पनि वीरगञ्जका विभिन्न स्थानमा खाना वितरण गरेका छन् । रेल्वे कटेज, सानो पाइलालगायतका संस्थाले खाना वितरण गरेका हुन् ।
निषेधाज्ञामा काम गर्न नपाएर बिहान बेलुकाको छाक टार्न समस्या भोगिरहेका गरीब, विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूरलाई खाना बाँडिएको हो । सानो पाइला नामक सामाजिक संस्थाले होम आइसोलेशनमा रहेका संक्रमितलाई पौष्टिक आहार वितरण अभियान चलाएको छ ।