वैशाख ३०, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अपर तामाकोशी हाइड्रोपावर लिमिटेड रू. १ अर्ब ६५ करोड ६ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नोक्सानी रू. ३ करोड ५० लाखभन्दा बढी मात्र थियो । कम्पनीले यस वर्ष विद्युत् विक्रीबाट रू. ५ अर्ब १६ करोड ३३ लाखभन्दा बढी आम्दानी गरेको छ । गत वर्ष यस अवधिमा कम्पनीले विद्युत् विक्री गरेको थिएन ।
विद्युत् विक्रीबाट आम्दानी गरेपनि यस वर्ष कम्पनीको वित्तीय खर्च भएकाले नोक्सानीमा वृद्धि भएको हो । गत वर्ष वित्तीय खर्च नभएको कम्पनीले यस वर्ष यो शीर्षकमा रू. ३ अर्ब ५५ करोड ५९ लाखभन्दा बढी खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । जगेडा कोष रकम रू. २ अर्ब ७१ करोडभन्दा बढी ऋणात्मक छ । कम्पनीको दीर्घकालिन कर्जा रू. ४१ अर्ब र अल्पकालिन कर्जा रू. ५ अर्ब १० करोड रहेको छ ।
राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई गत भदौ २५ गतेदेखि पूर्ण रुपमा व्यापारिक उत्पादन गर्दै आएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७४ दशमलव ३७ रहेको छ ।
स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण