नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२ हुँदै

होटल संघ नेपालले ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ गर्ने भएको छ ।कोभिड–१९ का कारण तय गरेको ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ आगामी ८ असोजमा आयोजना गर्ने भएको हो । संघको अर्धवार्षिक साधारणसभाका बखत उक्त सम्मेलनको समेत समुद्घाटन गरिने संघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।लामो समयदेखि तयारी गरिएको नेपालकै पहिलो आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ दिवसीय सम्मेलनमार्फत […]

सम्बन्धित सामग्री

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : 'विकासमा गैरआवासीय नेपालीको भूमिका'

गैरआवासीय नेपाली (एनआरएन) हरूले नेपालको जलविद्युत्, बैंकिङ, शिक्षाजस्ता महत्र्वपूर्ण क्षेत्रमा लगानी गरिरहेका छन् । विदेश गएका नेपाली पलायन हुन्छन्, फर्किंदैनन् भनिन्छ । त्यसो होइन, विदेश जानु र नफर्कनु अलग कुरा हुन् । पहिलेको र अहिलेको ‘ट्रेन्ड’ फरक छ । आजभन्दा १० वर्ष अगाडिसम्म पनि नेपालीहरू विदेश गएर उतै पलायन हुन्छन्, उतै बस्छन्, स्वदेश फर्किंदैनन् भन्ने भाष्य थियो । अहिले त्यो अवस्था धेरै परिवर्तन भइसकेको छ । त्यो परिवर्तनको शुरुआत पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नै गरेको हो । सरकारले नेपालको विकासमा गैरआवासीय नेपालीबाट गर्ने अपेक्षा लगानी भित्र्याउनु नै हो । आज विश्वका ८२ देशमा नेपालीहरू संगठित भएका छन् । ५० भन्दा बढी देशमा सक्रिय रूपमै संघमा सहभागी छन् । हाल अनलाइन रजिस्ट्रेशनमार्फत जोडिएका सदस्यलाई मात्रै हेर्ने हो भने पनि डेढ लाखभन्दा बढी छन् । यसबाहेक पनि धेरै रहेका छन् । यो ठूलो जमातलाई राज्यले कसरी सदुपयोग गर्छ वा आकर्षित गर्छ, त्यसमा भर पर्छ । आज कुनै गैरआवासीय नेपालीले बेलायत बसेर अमेरिकी कम्पनीको आईटीको काम गरिरहेको छ भने भोलि नेपालमै बसेर पनि त्यो काम गर्न सक्छन् । यसका लागि सरकारले उपयुक्त नीति ल्याउनुपर्‍यो ।  संघका साथीहरू मिलेर लगानी र यससम्बन्धी विभिन्न सेमिनार चलाएका छौं । गैरआवासीय नेपालीहरूको सबैभन्दा ठूलो लगानी नेपालको जलविद्युत्मा आएको छ । ठ्याक्कै यतिको लगानी नेपालमा आएको छ भन्न नसकिए पनि सामूहिक तथा व्यावसायिक रूपमा र सहयोगस्वरूप आएको लगानी खर्बौं रुपैयाँ बराबरको छ । हामीले विदेशी लगानी भित्र्याउने त भनेका छौं, तर लगानी ल्याउने कसले भन्ने मूल प्रश्न हो । कुनै पनि विदेशी संस्थाले नेपालको मायाले मात्रै लगानी गर्दैनन् । उनीहरूले नाफाघाटा राम्ररी हेरेका हुन्छन् । तर, देशका लागि लगानी गर्ने भनेका गैरआवासीय नेपाली नै हुन् । विदेशीहरू नेपालमा आएर लगानी गर्न यहाँको अवस्था र राजनीतिक वातावरण हेरेर मात्र आउँछन् । राजनीतिक स्थायित्व नभएसम्म देशमा विदेशी लगानी आउन सक्दैन । किनकि उनीहरू लगानीको सुरक्षा र उचित प्रतिफलको प्रत्याभूति खोज्छन्, जुन स्वाभाविक पनि हो । एनआरएनकै लागानीमा ठूलाठूला पाँचतारे होटेल सञ्चालनमा आएका छन् । जलविद्युत्, बैंक, स्कूल/कलेज, इलेक्ट्रोनिक, आईटी, हस्पिटालिटी, स्वास्थ्यलगायत क्षेत्रमा उनीहरूको धेरै लगानी छ । नेपालमा एनआरएनहरूले लगानी गर्न सक्ने ठाउँ धेरै छन् । त्यहाँ उनीहरूले प्रत्यक्ष लगानी गर्न सक्छन् । हाल एनआरएनएसँग रू. १० अर्बको फन्ड पनि छ । त्यसलाई परिचालन गर्ने क्रममा छौं । त्यसलाई एनआरएन फाउन्डेशनमार्फत विभिन्न क्षेत्रमा खर्च तथा लगानी गर्दै आएका छौं । त्यसबाहेक गैरआवासीय नेपालीहरूले नेपालमा सानोसानो व्यवसाय धेरै सञ्चालन  गरेका छन् । सरकारले हाल विदेशमा बसेका नेपालीलाई आईपीओ खरीद गर्न पाउने व्यवस्था छ । डलर खाता सञ्चालनदेखि केही निर्णय भएका छन् । ठूला आयोजनामा पनि लगानी गर्न सक्ने अवस्था छ । तर, यत्तिले देश विकासमा टेवा पुग्नेगरी यो ठूलो समुदायको लगानी कसरी आउँछ भन्नेतर्फ राज्यले सोच्नुपर्छ । विदेशबाट पैसा ल्याउनु मात्र लगानी होइन  विदेशबाट लगानी ल्याउनु भनेको पैसा मात्र हो भन्ने आम बुझाइ छ । वास्तवमा त्यस्तो होइन । ज्ञान, शीप, प्रविधि र बौद्धिकता नेपाल आउनु पनि लगानी नै आउनु हो । त्यस्तो प्रतिभा क्षमता पनि नेपालमा धेरैभन्दा धेरै ल्याउनु जरुरी छ । त्यसमा गैरआवासीय नेपालीले हिजो पनि सहयोग गर्दै आएको थियो, भोलि पनि गर्न तयार छ । त्यसका लागि राज्यले स्पष्ट नीतिसहित सहजीकरण गर्नुपर्छ । सरकारले विप्रेषण मात्र नेपाल ल्याउने होइन । हामीले विश्वमा भएका नेपालीको ज्ञान, शीपलाई नेपाल भित्र्याउनुपर्छ । नेपालको जुन क्षेत्रमा काम गर्ने दक्षता उहाँहरूसँग छ, त्यस क्षेत्रका लागि अघि सार्नुपर्छ । यसका लागि हामीले एउटा ‘टास्कफोर्स’ नै खडा गरेर काम गरिरहेका छौं । त्यसलाई कुनकुन क्षेत्रमा ल्याउने भन्ने विषयमा सरकारी तहबाटै स्पष्ट हुनु जरुरी छ । नेपालबाट पढ्न गएकाहरू फर्केर नेपालमै आउने वातावरण बनाउन गैरआवासीय नेपालीहरूले सहयोग गर्नुपर्छ । यसमा नेपाल सरकारको उल्लेख्य साथ र सहयोग हुनुपर्छ । पढ्नकै लागि विदेश पुगेका विद्यार्थीलाई कम्तीमा इन्टर्नशिप नेपालमा गर्ने वातावरण बनाउन सके उनीहरूको सिकाइ देशका लागि उपयोगी बन्न सक्छ । साथै विदेशमै जन्मे हुर्केका विद्यार्थीलाई नेपालमा इन्टर्नशिप गराउने वातावरण बनाउन सके उनीहरूले देश बुझ्ने मौका पाउने थिए । देशप्रतिको अपनत्व पनि बढ्दै जान्छ । यसले गर्दा विदिशिने बौद्धिक सम्पत्ति नेपालमै उपयोग हुन्छ । नेपालमा सूचनाप्रविधिको क्षेत्रमा निकै अवसर छ । सूचना प्रविधिको शीपयुक्त जनशक्तिले नेपालमै बसेर विदेशका काम गर्न सक्छन् । त्यसबाट उल्लेख्य कमाइ गर्न सक्छन् । नेपालमा सञ्चालित सूचना प्रविधि उद्योगमा गैरआवासीय नेपालीहरूको पनि ठूलो लगानी छ । उनीहरूले विदेशमा पनि सूचनाप्रविधिका ठूला कम्पनी स्थापना गरेका छन् । त्यसलाई नेपालमा विस्तार गर्न सकिन्छ । आज कुनै गैरआवासीय नेपालीले बेलायत बसेर अमेरिकी कम्पनीको आईटीको काम गरिरहेको छ भने भोलि नेपालमै बसेर पनि त्यो काम गर्न सक्छन् । यसका लागि सरकारले उपयुक्त नीति ल्याउनुपर्‍यो । तर, अहिलेसम्म गैरआवासीय नेपालीलाई स्वदेशमै फर्केर उद्यम व्यवसाय गर्न सहज हुने खालका नीति छैनन् । भिसालगायत प्रक्रिया झन्झटिलो छन् ।  विदेशमा सबैजसो काम अनलाइनबाटै हुन्छ । पासपोर्ट घरमै डेलिभरी हुन्छ । नेपालमा पनि सम्भव भएसम्मका काम अनलाइनमार्फत गर्न सकिने व्यवस्था भए श्रम, समय र पैसाको समेत बचत हुन्छ । विश्व समुदाय नै प्रविधिमैत्री हुँदै गएकोमा नेपालले पनि सूचनाप्रविधिको भरपूर लाभ लिन सक्नुपर्छ । सरकारले नागरिक मान्दैन भने लगानी किन गर्ने ? अहिले नागरिकताको मुद्दा चर्को रूपमा उठेको छ । नेपालमा लगानी ल्याउन होइन, नेपालको पैतृक सम्पत्ति लैजान नागरिकता मागे भन्ने भाष्य बनेको छ । त्यो गलत हो । गैरआवासीय नेपालीलाई नागरिकताका बारेमा पहिलो बहस बेलायतमा चलाएका थियौं । नागरिकता, लगानी र भूपू गोर्खाका बारेमा छलफल चलाएका छौं । लामो इतिहास भएका गोर्खाहरू कतिपय अवस्थामा अप्ठ्यारोमा छन् । उनीहरूलाई नेपालमा लगानी गर्ने सहज वातावरण बनाइदिन सके नेपालसँगको सामीप्य र लगानी प्रवद्र्धनसमेत हुने थियो । आर्थिक विकासका क्षेत्रमा धेरै गैरआवासीय नेपालीहरू नेपालमा लगानी गर्न चाहन्छन् । सरकारले पनि लगानी गर्न ‘आऊ’ भनिरहेको छ । तर, नागरिकता नपाएकै कारण पनि उनीहरू समस्यामा छन् । सानो लगानी ल्याएर सानो कम्पनी खोल्नुपर्‍यो भने अरूको सहयोग लिनुपर्ने अवस्था छ । यसमा हामीलाई भन्दा पनि हामीपछिको पुस्तालाई झनै कठिन हुने देखिन्छ । अब आउने पुस्ता, जसले जन्मजात विदेशको नागरिकता पाएको छ, त्यो पुस्ताले नेपाल फर्किन्छु, यहाँ आएर केही व्यवसाय गर्छु भन्दा ठूलो समस्यामा पर्ने देखिन्छ । नेपालको विद्यमान नीतिले लगानी आकर्षण गर्दैन । नेपालीलाई विदेशी नागरिकता लिनु रहर होइन, बाध्यता हो । त्यहाँका आवश्यकता पूर्तिका लागि पनि विदेशी नागरिक बन्नुपरेको हुन्छ । आफू गएपछि परिवार लैजानैपर्‍यो । परिवार लगेपछि बच्चा हुन्छ । उनीहरू जन्मजात नै त्यहाँका नागरिक हुन्छन् । उनीहरूको भविष्यकै लागि पनि बस्नुपर्‍यो । तर, हामी एकपटकको नेपाली सधैंको नेपाली हौं ।  लगानीका लागि स्थिर सरकार आवश्यक गैरआवासीय नेपालीको लगानी सुरक्षा प्रमुख विषय हो । यसका लागि सरकारको स्थिरताले पनि ठूलो महत्र्व राख्छ । लगानी आकर्षित हुन प्रतिफल दर पनि राम्रो हुनुपर्छ । यहाँ लगानी गर्नुभन्दा अन्य देशमा लगानी गर्दा फाइदा बढी छ भने मानिसले उतै लगानी बढाउँछन् । नेपालमा सरकार निर्धारित समयसम्म नटिक्ने समस्या छ । साथै मन्त्रीहरू छिटोछिटो फेरबदल भइरहन्छन् । एउटा मन्त्रीले गरेको निर्णय कार्यान्वयनमा जान नपाउँदै मन्त्री फेरिँदा काम प्रभावित हुने गरेको छ । राम्रै निर्णय भए पनि अर्को मन्त्री आउँदा त्यसले निरन्तरता नपाउने समस्या छ । यसले गर्दा लगानीकर्ताको अपेक्षा निराशामा परिणत हुने गरेको छ । किनकि सम्बद्ध मन्त्रालयमा मन्त्री फेरिँदा कतिपय काम पुनः शून्यबाटै थाल्नुपर्ने हुन्छ । लगानीका लागि एकद्वार नीति ल्याइए पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । अभैm पनि लगानीकर्ताले एउटै कामका लागि दशओटा निकायमा धाउनुपर्ने बाध्यता छ । सरकारका नीति तथा कार्यक्रम, घोषणा र नीतिहरू प्रभावकारी ढंगले कार्यान्वयन नहुँदा लगानीकर्ताले दुःख पाएका छन्, जसले गर्दा बा≈य लगानी घट्दै गएको सरकारी तथ्यांकले नै देखाएका छन् । सरकारले यी र यस्ता विषयमा सुधार गर्ने हो भने नेपाल लगानीको आकर्षक गन्तव्य बन्न सक्छ । यसमा गैरआवासीय नेपाली मात्र होइन, विदेशीहरू समेत उल्लेख्य परिमाणमा लगानी गर्न तयार हुन्छन् । (अधिकारी गैरआवासीय नेपाली संघका  केन्द्रिय उपमहासचिव हुन्)

हजारबाट शुरू, २४ वर्षमा ७ अर्ब

काठमाडौं । २४ वर्षअघि प्लाष्टिकको त्रिपालमुनि चाउमिन, मम बेच्ने लक्ष्मण न्यौपाने अहिले झण्डै ७ अर्ब रुपैयाँ लगानीको व्यावसायिक घराना सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी हाँकिरहेका छन् । नेपालको सफल हस्पिटालिटी व्यवसायको रूपमा यसको पहिचान बनेको छ । ग्रुप अध्यक्षमा ५१ वर्षका लक्ष्मण छन् । शुरूको पारिवारिक व्यवसायमा अहिले ८० भन्दा बढी साझेदार छन् । वार्षिक २४ प्रतिशत ब्याजमा ५० हजार रुपैयाँ ऋण लिएर टीकापुरमा शुरू गरेका सिद्धार्थ गेष्ट हाउस न्यौपानेको पहिलो भेन्चर थियो । उनका बुबा कहिले भारतको मुम्बईमा सिल्क साडीको व्यापार गर्थे त कहिले आसामको गुवाहाटीमा गाईवस्तु पालेर दूध र खाद्यान्न विक्री गर्थे । बुबासँगै गुवाहाटी बसेका लक्ष्मणलाई त्यहाँ बस्न मन लागेन ।  नेपाल त आए, यहाँ टिक्ने उचित वातावरण देखेनन् । साथीहरूसँग पुनस् भारत फर्किए । यसपटक उनको गन्तव्य आसाम नभई दिल्ली र मुम्बई शहर बन्यो । गुल्मीमा जन्मिएका न्यौपानेको मनमा स्वदेशमा केही गर्नुपर्छ भन्ने हुटहुटी भने जहाँ पुगे पनि मरेन । मुम्बईमा साडी व्यापार गर्दा उनले सुदूरपश्चिममा राम्रो विकास हुँदै गरेको सुने । जनसंख्या कम भएको, कसैले नचिनेको र कसैको सम्पर्क नहुने गुल्मीमै व्यवसाय गर्ने सोच बनाएका उनलाई यो खबरले विकल्प दियो ।  पुन: नेपाल फर्किएका न्यौपानेले कैलालीको टीकापुरलाई कर्मथलो बनाउने निधो गरे । ‘आफ्नै गाउँठाउँमा काम गर्न सहज छैन,’ न्यौपाने भन्छन्, ‘अहिले युवाहरू नेपालमा काम नपाएर विदेश गएका होइनन् । कुल्ली काम गर्नेले पनि यहाँ २५–३० हजार रुपैयाँ कमाउँछ । तर, उनीहरूलाई आफ्नो ठाउँमा काम गर्न अप्ठेरो लाग्छ । काम गर्नेको सम्मान नहुने कारणले यस्तो भएको हो । मैले गुल्मी छाडेर टीकापुर रोज्नुको कारण पनि त्यही थियो ।’  ‘अहिले नेपालका व्यावसायिक घराना तथा ठूला बिजनेश हाउसको पृष्ठभूमि हेर्दा पनि उनीहरूले आफ्नो थातथलोमा नभई अन्यत्रै पुगेर प्रगति गरेको देखिन्छ,’ न्यौपाने भन्छन्, ‘नयाँ ठाउँमा जाँदा व्यक्तिको शीप, मेहनत र कामबाहेक अरू कुराको मतलब हुँदैन । जस्तो कि विदेशबाट आउँदा मान्छे र कमाइ हेरिन्छ, के काम गर्थ्यो हेरिँदैन ।’ आफ्नै गाउँठाउँमा व्यवसाय गर्दा धेरै कुराले प्रभाव पार्ने उनको अनुभव छ ।  उनले चर्को ब्याजको ऋण लिएर २०५४ सालमा टिकापुरमा त्रिपालको छाप्रोमा चाउमिन र मम पसल सुरु गर्दा नेपाल भ्रमण वर्ष–१९९८ चलिरहेको थियो । त्यसको दुई वर्षभित्रै, २०५६ सालमा टीकापुरमै नौ कोठे ‘हिमाल गेष्ट हाउस’ शुरू गरे । पछि उनले त्यसको नाम परिवर्तन गरी ‘सिद्धार्थ गेष्ट हाउस’ बनाए । त्यही नामबाट अहिले ‘सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी’ माउ संस्था बनेको छ ।  ‘बिजनेश गर्छु र यही क्षेत्रमा सफल बन्छु भन्ने भित्री मनमै थियो,’ उनी भन्छन्, ‘त्यो आत्मविश्वास नभएको भए आज म यहाँ आइपुग्ने थिइनँ, सफल हुन धैर्य र आत्मविश्वास जरुरी हुन्छ ।’  आज नभए, भोलि हुन्छ भन्ने सकारात्मक सोचले आफूलाई सधैं आशावादी बनाएको उनले सुनाए । यो ग्रुपले अहिले देशका विभिन्न भागमा होटल, रिसोर्ट, रेष्टुराँ, क्याफे र कटेज सञ्चालन गरिरहेको छ । पहिला बैंकसम्म पुग्न नसक्दा चर्को ब्याजमा ऋण लिएको अनुभव संगालेका लक्ष्मण पैसाभन्दा इमानदारी, काममा लगावलाई सफलताको सूत्र मान्छन् । आफ्नो व्यावसायिक समूहको नाम शान्तिदूत सिद्धार्थ गौतमसँग जोडिएकोले त्यसले खराब काम गरे बुद्धकै नाम कलंकित हुने डर उनलाई छ ।  आत्मविश्वास र धैर्यलाई सफलताको सूत्र मान्ने लक्ष्मण आफ्ना योजना साथीहरुलाई पनि सुनाउने गरेको बताउँछन् । उनको पछिल्लो परियोजना भैरहवामा निर्माणाधीन होटल सिद्धार्थ ६ महीनाभित्र सञ्चालनमा आउँदैछ । पाँचतारे स्तरको उक्त होटल १ अर्ब रुपैयाँभन्दा बढी लगानीमा तयार हुनेछ ।  ‘दुई वर्षभित्र सञ्चालन गरिसक्ने योजना साथ होटल निर्माण शुरू गरेकोमा कोभिड–१९ ले पछि धकेल्यो,’ उनले सुनाए । नुवाकोटमा पनि सिटी डिलक्स स्तरको होटल खोल्ने न्यौपानेको योजना छ । उक्त ग्रुपको सुर्खेत, नेपालगञ्ज र काठमाडौंको बौद्धमा गरी चारतारे स्तरका ३ होटल सञ्चालनमा छन् । पहिलोपटक भैरहवामा ५ तारे होटल सञ्चालन हुँदैछ ।  जुम्लामा जग्गा किनेको र केही वर्षमा व्यवसाय शुरू गर्ने योजना उनले सुनाए । रारा जाने योजना जग्गाका कारण अन्योलमा परेको उनको भनाइ छ । यसैगरी, कुरिनटारमा क्षमता विस्तार र इलामको कन्याममा काम भइरहेको छ । जुम्लामा खस आर्य उद्गमस्थलको पहिचान झल्किने गरी होटलको डिजाइन बनाउँदै गरेको उनले बताए । सिद्धार्थले अहिलेसम्म कसैलाई फ्रेन्चाइज दिएको छैन । यसलाई अन्तरराष्ट्रिय चेन ब्राण्ड बनाउने सपना उनको छ । सोही अनुसार काम भइरहेको अध्यक्ष न्यौपानेले सुनाए । सिद्धार्थ ग्रुपले १५ सयभन्दा बढीलाई रोजगारी दिएको छ, जसमा स्थायी कर्मचारी हजार हाराहारी छन् । निर्माणाधीन परियोजनाले पाँच सय हाराहारीलाई रोजागारी दिएको छ । सिद्धार्थ ग्रुपको लगानी कैलाली, नेपालगञ्ज, काठमाडौं (सुन्धारा, तीनकुने, पुरानो बानेश्वर, कोटेश्वर), ललितपुर, रूपन्देही, सुर्खेत, चितवन, झापासम्म विस्तार भएको छ ।

नेपालमा व्यापार पर्यटनको सम्भावना

विश्व पर्यटन संगठनले व्याख्या गरेअनुसार आफ्नो वासस्थानबाट सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलाप, व्यापार/व्यवसाय निजी प्रयोजनका लागि गरिने अस्थायी स्थानान्तरण पर्यटन हो । त्यसैले व्यापार र व्यावसायका लागि गरिने यात्रा पनि पर्यटनको अभिन्न अङ्ग हो । ‘व्यापार पर्यटन’ परापूर्वकालदेखि नै प्रचलनमा रहेको पाइन्छ । पूर्वीय समाज र पश्चिमा राष्ट्रहरूलाई जोड्ने ‘रेशमी मार्ग’लाई व्यापार पर्यटनको शुरुआत विन्दुका लिइन्छ । व्यापार पर्यटनले अर्थतन्त्रमा योगदान दिन्छ । हाल आएर मिटिङ, इन्सेन्टिभ्स, कन्फरेन्स, इभेन्ट्स (माइस) पर्यटनको अवधारणामा व्यापार पर्यटनलाई परिष्कृत गरिएको छ । सन् ८० को उत्तरार्ध र ९०को दशकदेखि व्यापार पर्यटनलाई माइसको विधाबाट अध्ययन–अनुसन्धान र सेवाप्रदायकहरू पश्चिमी यूरोप र उत्तर अमेरिकी राष्ट्रहरूबाट विस्तारित हुँदै बजारमा आउन थालेका हुन् । नेपालको पर्यटन सम्बद्ध नीति तथा कानूनमा भने व्यापार पर्यटनबारे कतै उल्लेख भएको पाइँदैन । तर, व्यापार पर्यटकलाई लक्षित गरी विभिन्न संरचनाहरूमा लगानी भने भइरहेको छ । साथै, कर्पोरेट हस्पिटालिटी, कन्फरेन्स अर्गनाइजर र मिडिया एन्ड पीआरजस्ता सेवाप्रदायक कम्पनीहरू कानूनी अस्पष्टताका बीच पनि चलिरहेका छन् । व्यापार पर्यटनको बजार तथा सम्भावना व्यापार पर्यटन औद्योगिक विकास भएका राष्ट्र तथा भौगोलिक र रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिएका केन्द्रविन्दुहरूलाई मात्र लिएर लक्षित गरिने अन्तरराष्ट्रिय मान्यता रहँदै आएको छ । विश्वव्यापीकरणले नेपालजस्तो आर्थिक र औद्योगिक विकासले पछाडि परेका राष्ट्रमा समेत विस्तारै व्यापार पर्यटनको सम्भावना उजागर गरेको छ । नेपाली प्रवासीहरू (डासपोरा) र वैदेशिक लगानीमा नेपालको संघीय राजधानी र अन्य आर्थिक केन्द्रहरूमा व्यापार पर्यटनलक्षित परियोजनाहरूमा मोटो लगानी हुँदै आइरहेको पनि छ । नेपालमा व्यापार पर्यटन फस्टाउन निम्नअनुसारका सम्भावना छन् । दक्षिण एशियाली राष्ट्रमध्येका महानगर र राजधानीहरूमा काठमाडौं उपत्यका निक्कै सदावहार मौसम भएको गन्तव्य हो । अन्तरराष्ट्रिय/क्षेत्रीय स्तरका कार्यक्रहरू गर्नका निम्ति काठमाडौं र पोखराजस्ता पहाडी शहरहरू उपयुक्त मानिन्छन् । नेपाल सरकार विभिन्न अन्तरराष्ट्रिय/आर्थिक तथा क्षेत्रीय गुटको आबद्धताका कारण नेपाललाई माइस पर्यटन गर्न सकिने गन्तव्यका रूपमा बजारीकरण गर्न सकिन्छ । विगत केही वर्षयता बिम्स्टेक, इन्टरपोल र हालै विश्व स्वस्थ्य सगंठनको क्षेत्रीयस्तरका भेलाका निम्ति नेपाललाई नै चुनियो । यसले विश्व जगत्मा के सन्देश दिन्छ भने नेपाल व्यापार पर्यटनका लागि तयार भइसकेको छ । नेपाल भ्रमण गर्ने प्रतिनिधिहरूलाई नेपालको ‘खास’ पर्यटकीय गतिविधि भनिने पदयात्रामा आकर्षित गर्न र बजारीकरण गर्न सकेमा व्यापार पर्यटनको विस्तारित लाभ लिन सकिन्छ । नेपालभित्रकै व्यापारिक प्रतिष्ठानहरू यस प्रकारको विशिष्टीकृत पर्यटनको खास ग्राहक एवम् उपभोक्ता हुन् । तालीम/प्रशिक्षण, टिम आउटिङ, बैठक व्यवस्थापनजस्ता अनेक मानव व्यवस्थापन कार्यहरू व्यावसायिक ढंगबाट गनुपर्छ भन्ने सोच नेपालमा अझै आइनसकेको स्थिति छ । विकसित राष्ट्रहरूमा भने व्यापार पर्यटन सेवाप्रदायक कम्पनीहरू कुनै पनि प्रतिष्ठानको मानव विकास संसाधन तथा प्रशासन हेर्ने शाखासँग नजिक भएर व्यावसायिक सेवा दिने गर्छन् । कर्मचारी प्रोत्साहनको योजना र खाका निर्माण गर्न यस्ता व्यापार पर्यटन सेवाप्रदायक कम्पनीहरू नै संलग्न रहेका हुन्छन् । नेपालमा बीमा कम्पनीहरू तथा डिलरशिपहरूमा भने विक्रीका आधारमा प्रोत्साहन स्वरूप इन्सेन्टिभ भ्रमण कार्यक्रमहरूको अभ्यास भने भइरहेको छ । साथै, गैरसरकारी संस्थाहरूको विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रममा होटेलसँग सोझै खरीद गर्ने पनि पुरानो चलन रहँदै आएको छ । व्यापार पर्यटन सेवाप्रदायक कम्पनीले कर्पोरेट हस्पिटालिटीका नयाँनयाँ प्रयोगमार्फत आफ्नो सेवा दिलाउने यथेष्ट सम्भावना रहेको छ । अहिले देशैभरि राजनीतिक दलहरूको महाअधिवेशनको चटारो छ । यस परिस्थितिमा व्यापार पर्यटनको दायरा पनि धेरै रहन्छ । बेलायतमा सन् ८० को दशकमा भएको एक सर्वेक्षणले कुनै एक स्थान या शहरमा गरिने ठूला स्तरका राजनीतिक कार्यक्रमहरूले त्यस ठाउँको अर्थतन्त्रमा अतिरिक्त २५ मिलियन पाउन्ड भित्रिएको देखाएको थियो । नेपालमा यस प्रकारको कुनै मापन नभए तापनि, निर्वाचन आयोगबाटै राजनीतिक कार्यक्रमहरू : विशेषगरी निर्वाचन प्रचार खर्चका निम्ति सिलिङ नै तोकिएको विषय त जगजाहेर नै छ । यसैबाट बुझ्न सकिन्छ कि नेपालमा राजनीतिक संगठनहरू नै व्यापार पर्यटनको प्रमुख बजार बन्न सक्ने आधार रहेको छ । राजनीतिक पार्टीको मूल संगठनबाहेक विभिन्न किसिमका जनवर्गीय संगठनहरूको समयसमयमा सभा, समेलन, भेला, अन्तरक्रिया, प्रशिक्षण कार्यक्रम, चियापान, सम्पर्क–समारोह, गोष्ठीजस्ता विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम भइरहेको हुन्छ । यी सबै व्यापार पर्यटनका सम्भावना हुन् । मित्रराष्ट्र भारतको कुनै पनि राजनीतिक पार्टीको आमसभालाई व्यवस्थापन गर्न इभेन्ट म्यानेजमेन्ट कम्पनीहरू नै तोकिएका हुन्छन् । नेपालमा पनि यस प्रकारको अभ्यास गर्न सके व्यापार पर्यटनको बजार अन्य क्षेत्रमा समेत बढेर जानेछ । कुनै ठाउँ विशेषमा हुने ठूला स्तरका राजनीतिक कार्यक्रमले त्यस ठाउँमा हुने अन्य लोकप्रिय पर्यटन समेत फस्टाउने गर्छ । जस्तै चितवनमा कुनै राजनीतिक कार्यक्रम गरेमा स्वतः जंगल सफारीको व्यवसाय बढ्ने गर्छ । व्यापार पर्यटनका खास हितग्राही भने होटेल, स्थान प्रदान गर्ने संस्था र यातायात कम्पनीहरू हुनेगर्छ । यस किसिमको पर्यटन सेवाको परिपूर्ति गर्न चाहिने श्रमशक्ति र अन्य लोजिस्टिकहरू भने स्थानिय तवरबाटै उब्जेको हुन्छ । विलासिताको पर्यायवाचीका रूपमा पनि व्यापार पर्यटनलाई हेर्ने गरिएको पाइन्छ । व्यापार पर्यटक सौखिन हुने कारणले आम पर्यटकभन्दा २ दशमलव ५ गुणा बढी खर्च गर्छन् भन्ने अन्तरराष्ट्रिय मान्यता रहेको छ । व्यवसायमा आयोजक, प्रतिनिधि, अन्तिम ग्राहक, उपभोक्ता विभिन्न पात्र रहन सक्छन् । यसरी, व्यावसायिक रूपमा नेपालमा पर्यटनको यस विधालाई अगाडि बढाउन सर्वप्रथम नीतिगत स्पष्टता आवश्यक छ । विश्वकै व्यापारिक केन्द्र मानिने हङकङ, सिगांपुर, दुबईजस्ता राष्ट्रहरूले ९० को दशकदेखि नै यस विधामा बजारीकरण गरेको पाइन्छ । नेपालमा बढ्दो व्यापारिक गतिविधि र व्यापार पर्यटनलक्षित होटल पूर्वाधारहरूमा भइरहेको लगानीलाई सम्बोधन गर्न विनाविलम्ब यस प्रकारको विशिष्टीकृत पर्यटनको नीतिगत तथा कार्यगत मन्थनको जरुरी भइसकेको छ । लेखक नेपाल पर्यटन बोर्डका अधिकृत हुन् ।

पर्यटनमा आशा : होटेलले माग्न थाले कर्मचारी

काठमाडौं । कोरोना भाइरसको संक्रमण कम हुँदै गएको र पर्यटन क्षेत्रमा झीनो सुधार देखिन थालेकाले काठमाडौं उपत्यकासँगै मोफसलका होटेल तथा रिसोर्टहरूले कर्मचारी माग गर्न शुरू गरेका छन् । खासगरी काठमाडौं उपत्यका बाहिरका होटेलहरूले कर्मचारी माग गर्न थालेका हुन् । बन्दाबन्दी तथा निषेधाज्ञाको अवस्थामा न्यूनतम कर्मचारीहरू राखेर र चक्रीय प्रणालीमा श्रमिक राखी काम गर्दै आएको होटेल क्षेत्रले अहिले कर्मचारीहरू माग्न थालेका हुन् । काठमाडौंको हायात रिजेन्सी होटेल, ¥याडिसन होटेल कालिमाटीजस्ता होटेलले कर्मचारी माग गरेका छन् । हायात रिजेन्सी काठमाडौंले इभेन्ट सर्भिस म्यानेजरदेखि इन्डियन सेफसम्मका कर्मचारी माग गरेको छ । सुनसान रहेको ठमेलका होटेलले पनि कर्मचारी माग गरेका छन् । काठमाडौंको ठमेलमा अवस्थित तीनतारे मस्र्याङ्दी होटेलले पनि कर्मचारीको विज्ञापन खुलाएको छ । काठमाडौंकै होटेल क्राउन इम्पेरियल, याक एन्ड यति होटेल पनि कर्मचारी माग गरेका छन् । यसरी कर्मचारीहरू माग गर्नेमा मोफसलका होटेलहरू बढी छन् । सिद्धार्थ हस्पिटालिटी ग्रूपले कर्मचारी माग गरेको छ । होटेल सिद्धार्थले नेपालगञ्जका लागि कर्मचारी माग गरेको हो । लामो समयसम्म हिँडडुल गर्न नपाएका मानिस घुमघामका लागि निक्लन थालेकाले अहिले आन्तरिक पर्यटन लयमा छ । यसले गर्दा पोखरा, चितवन, तराई भेगका होटेलहरूले कर्मचारी माग गरिरहेका छन् । बुटबलको ड्रिम इन्टरनेशनल होटेलले धेरै संख्यामा कर्मचारी माग गर्दै विज्ञापन खुलाएको छ । होटेलले ६५ जना कर्मचारी माग गरेकोे छ । उपत्यका नजिकको गन्तव्य धुलिखेलको आगन्तुक रिसोर्टले पनि कर्मचारी माग गर्दै विज्ञापन खुलाएको छ । नयाँ होटेलहरूले कर्मचारी माग गरिरहेको होटेल व्यवसायीहरू बताउँछन् । कोरोना भाइरस संक्रमणको घट्दो अवस्था छ र अनअराइभल भिसाका कारण पर्यटन क्षेत्रमा सुधार देखिएको छ । आन्तरिक पर्यटनका गतिविधि पनि बढेको छ । त्यसैले गर्दा मोफसलमा कर्मचारी माग गरिएको होटेल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । उनले बन्दाबन्दी र निषेधाज्ञापछि होटेलहरूमा कर्मचारी तथा श्रमिक कति फर्किए भन्ने विषयमा तिहारपछि अध्ययन गरिने जानकारी दिए । बन्दाबन्दी र नाकाबन्दीमा ५ देखि १० प्रतिशत मात्रै कर्मचारी राखेर होटेल खुला गरेका होटेलहरूले कर्मचारीहरू पुनः राख्न थालेका छन् । पर्यटकको वृद्धि देखिएको हुँदा व्यवसायमा हौसला बढेको उनी बताउँछन् । अहिले पुरानै नेटवर्क, एजेन्सीहरूमार्फत नेपाल घुम्ने पर्यटकका विषयमा जानकारी लिइएको भन्दै उनले अहिले विश्व पर्यटनमै प्रतिस्पर्धा देखिने बताए । ‘अन्य देशहरूलाई पनि पर्यटकहरू चाहिएको छ’, उनले भने, ‘प्रतिस्पर्धाका बीच पनि हामीले राम्रो प्रतिक्रिया पाइरहेका छौं । तयारी पनि सोहीअनुसार गरिएको छ ।’ नेपालमा आउने पर्यटकलाई कोभिडबाट कसरी सुरक्षा गर्ने नै मुख्य पक्ष रहेको भन्दै उनले अबको मार्केटिङ रणनीति फरक ल्याउने बताए । एकैपटक पर्यटक आउँछन् भन्ने अवस्था नभए पनि आन्तरिक पर्यटकलाई नै लक्षित गरेर तिहारपछि प्याकेज तथा अन्य कार्यक्रमहरूको तयारी गर्ने व्यवसायी बताउँछन् । २०२२ को शुरुआतीदेखि नै अहिलको अवस्थामा क्रमिक सुधार हुने पर्यटन व्यवसायीहरूको आशा छ ।

नयाँ पर्यटन प्रडक्टमा सहकार्यको आवश्यकता

कोरोनाबाट बन्दप्रायः पर्यटन उद्योगका लागि पछिल्ला समय केही आशाप्रद खबर आएका छन् । सरकारले त्रिभुवन विमानस्थलमा नै अनअराइभल भिसा दिन थाल्ने निर्णय गरेको छ भने भारतीयहरूलाई आफ्नो गाडी लिएर नेपाल आउन दिन थालेको छ । साथै बा≈य पर्यटकहरूका लागि क्वारेन्टाइनको अनिवार्य व्यवस्था पनि खारेज गरेको छ । कोरोनाविरुद्ध खोप लगाएका र कोरोना नेगेटिभ देखिएका पर्यटक अबै सीधै पर्यटकीय गन्तव्य जान पाउने भएका छन् । यसरी डेढ वर्षदेखि बन्द रहेको पर्यटन खुला गरिएको छ । तर, यसरी खुला गर्दैमा पर्यटकहरू आइहाल्ने अवस्था छैन । यसका लागि सरकार र व्यवसायीले गर्नुपर्ने काम धेरै छन् । नेपालमा तत्कालै पर्यटकको आगमन ठूलो संख्यामा हुने छैन । तर, अहिले खुला गरिएकाले बिस्तारै थोरै संख्यामा पर्यटक आउने र क्रमशः बढ्दै जाने अपेक्षा गर्न सकिन्छ । यसका लागि नेपाल पर्यटन बोर्डले प्रवद्र्धनात्मक कामहरू गर्नुपर्ने हुन्छ । नेपालका पर्यटनकर्मीहरूलाई ठूलो संख्यामा खोप लगाइसकिएको छ र कोरोना फैलन नदिने गरी विश्व स्वास्थ्य संगठनले दिएका निर्देशनहरू पालना गरिएको छ भन्ने सन्देश पर्यटन बजारमा पु¥याउनु आवश्यक छ । नेपालमा आउने धेरैजसो पर्यटक हिमाल आरोहण गर्न, पदयात्रा गर्न, दृश्यहरू अवलोकन गर्न तथा साहसिक क्रियाकलापका लागि आउने गर्छन् । यी सबैजसो क्षेत्रहरू भीडभाड ज्यादै कम हुने क्षेत्र हुन् । त्यसैले कोरोना संक्रमण फैलने सम्भावना कमै छ । यो सन्देश हामीले पर्यटकमाझ पुर्‍याउन आवश्यक छ । अहिले सबैजसो देशले पर्यटकीय गतिविधिहरू खुला गरिसकेको अवस्था छ । ती क्षेत्रमा पर्यटकको चहलपहल पनि राम्रै देखिएको छ । तर, ती क्षेत्रमा बाह्य पर्यटकको संख्या भने निकै कम छ । नेपालको पर्यटन बजार भनेको भारत, चीन, यूरोपेली मुलुकहरू हुन् । भारतमा कोरोनाविरुद्धका खोप अभियान जारी छ । त्यहाँ बिस्तारै कोरोना नियन्त्रणमा आइरहेको छ । त्यस्तै चीनमा पनि कोरोना नियन्त्रणमा नै छ । तर, ती देशबाट पर्यटक आगमन भइरहेको छैन । भारतबाट पर्यटक आगमनको संकेत देखापर्न थालेको छ । उनीहरूले आप्mनो गाडी लिएर सीधै नेपाल आउन पाउने भएकाले उनीहरूको संख्या बढ्ने देखिन्छ । यद्यपि उनीहरूले होटेल रिजर्भ गरेको वा कुनै पर्यटन प्याकेज अर्डर गरिसकेको जानकारी भने प्राप्त भएको छैन । चीनबाट भने पर्यटक आगमत हुने छाँटकाँट देखिएको छैन । उसले पर्यटनमा निक्लन जनतालाई प्रोत्साहन गरिरहेको छैन । यद्यपि उसको आन्तरिक पर्यटन भने अहिले पूर्ववत् अवस्थामा छ । यी सबै परिदृश्यले नेपालको पर्यटनलाई नयाँँ ढंगमा लैजानुपर्ने तथ्यलाई देखाएको छ । विगतमा भएका गल्तीलाई सच्याउन पनि अहिले अवसर प्राप्त भएको छ । यो भनेको झोले पर्यटकलाई विस्तारै कम प्रोत्साहित गर्ने र गुणस्तरीय पर्यटक लक्षित प्याकेज ल्याउने हो । विदेशी झोले पर्यटकका दाँजोमा त नेपाली पर्यटकले नै राम्रो खर्च गर्ने गरेको पाइन्छ । नेपालको मौलिक विशेषतालाई जोगाएर त्यसैको प्याकेज बनाउनेतिर अब लाग्नुपर्छ । साथै ठूलो लगानी गरेर नयाँ खालको प्रडक्ट पनि ल्याउन सकिन्छ । अहिले हस्पिटालिटी क्षेत्रमा ठूलो लगानी भएको छ । ठूला होटलहरू खुल्ने क्रममा छन् । ती होटेल धेरैजसो काठमाडौं वरपर बढी भए पनि राजधानीबाहिर पनि केही होटल खुल्ने क्रममा छन् । यी होटेल सञ्चालन गर्न पनि गुणस्तरीय पर्यटक आवश्यक पर्छ । होटेल एउटा ठूलो पूर्वाधार हो तर यो मात्र पर्याप्त छैन । मुख्य कुरा नेपाली पर्यटनले प्रविधिलाई पछ्याउन सकिरहेको छैन । पदयात्राका एपहरू बनाउन सकिन्छ । पर्यटकलाई एक्लै हिँड्न दिनु हुँदैन भन्ने माग पर्यटन व्यवसायीकै पाइन्छ । तर, उनीहरूसँग पदयात्राका शुल्क राम्रोसँग लिने र खर्च गर्नुपर्ने अन्य वातावरण तयार पारिदिने हो भने यस्ता पदयात्रीबाट पनि ठूलो कमाइ लिन सकिन्छ । तर, सुको खर्च नगर्ने र यहाँको प्राकृतिक सुन्दरताको लाभ लिने पर्यटकहरूलाई पनि निषेध नै गरे पनि फरक पर्दैन । यस्ता पर्यटकले पर्यावरण प्रदूषित पार्न सहयोग गरिररहेका हुन्छन् भने नेपालको पर्यटनबारे नकारात्मक सन्देश प्रवाह गर्ने सम्भावना पनि उत्तिकै हुन्छ । आशय के हो भने गुणस्तरीय पर्यटनका लागि अब पर्यटन व्यवसायी र सरकारले विशेष रणनीति बनाउन अहिले अवसर मिलेको छ । पर्यटन व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धाकै कारण नेपालको पर्यटन सस्तो हुँदै गएको हो । मुख्य कारण यही मात्र होइन तर एउटा कारण यो पनि भएकाले यस्तो अस्वस्थ प्रतिस्पर्धा रोक्न व्यवसायीहरूले आचार संहिता बनाउनु आवश्यक छ । पर्यटकले जहाँ दुई पैसा सस्तो हुन्छ त्यही सेवा लिने हो । प्रतिस्पर्धाको लाभ सेवाग्राहीले पाउनु अन्यथा पनि होइन । तर, सस्तो सेवा दिने बहानामा पर्यटक तानातान गर्दा नेपालले पर्यटनबाट पाउने लाभ भने घटेको छ । पर्यटनको लागत बढ्ने र मुनाफा घट्ने अवस्था आउँछ । खासगरी पर्यटन व्यवसायमा दीर्घकालीन सोचविना लगानी गर्नेहरूका कारण यस्तो भएको पाइन्छ । यस्तो सोचमा परिवर्तन आवश्यक छ । अब पर्यटनलाई कस्तो बनाउने र कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी निजीक्षेत्रमाथि आइपरेको छ । यसको नेतृत्व नेपाल पर्यटन बोर्डले लिनु उपयुक्त हुन्छ । पर्यटन व्यवसायीहरू विभिन्न संगठनमा विभक्त छन् । त्यस्तै फरकफरक सेवाका संस्थाहरूको फकरफरक विचार पाइन्छन् । व्यावसायिकभन्दा राजनीतिक आस्थाका आधारमा संगठित संस्था र तिनको नेतृत्वले समग्र पर्यटन रणनीतिका लागि आवाज उठाउने सम्भावना कमै देखिन्छ । पर्यटन व्यवसाय विभिन्न खालका सेवाका एकत्रित सेवा र नीतिबाट चल्न आवश्यक छ । पर्यटन व्यवसायी महासंघ बनेको भए यसमा समग्र पर्यटनबारे आधिकारिक धारणा ल्याउन सक्थ्यो त्यो नभएको अवस्थामा अबको पर्यटनलाई नयाँ दिशा र गति दिन सबै व्यवसायी मिलेर साझा नीति ल्याउन ढिला गर्नु हुँदैन । पर्यटन व्यवसायीको क्षेत्रगत संगठनहरूले आआफ्नो क्षेत्रका बारेमा मात्रै सोच्ने हुँदा समग्र पर्यटनलाई एकत्रित रूपमा कस्तो मोडालिटी र प्रडक्ट ल्याउनुपर्छ र सकिन्छ भन्नेमा गृहकार्य गर्न ढिला गर्नु हुँदैन । यसमा बोर्डले सहजीकरण गर्नु आवश्यक छ । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

आन्तरिक पर्यटककै भरथेग

सन् २०२० मा २० लाख पर्यटक ल्याउने तयारीका साथ ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा जुटेको नेपालका लागि कोरोना भाइरस (कोभिड–१९) पर्यटन व्यवसायका लागि ठूलै समस्या बनेर आयो । कोरोना भाइरस संक्रमणका कारण बाह्य पर्यटक आगमन ठप्पप्रायः हुँदा पर्यटन क्षेत्र नराम्रोसँग पछाडि धकेलियो । नेपालमा पर्यटक आगमन ८० प्रतिशत र विदेशी मुद्रा आर्जनसमेत ७१ प्रतिशतले कमी आयो । पर्यटन क्षेत्र ‘बाउन्स ब्याक’ हुन सन् २०२५ सम्म पर्खनुपर्ने देखिन्छ । कोभिडविरुद्धको खोप, आन्तरिक पर्यटकको रुचि, छिटफुट रूपमा आएका विदेशी पर्यटक आशाका संकेत हुन् । हस्पिटालिटी क्षेत्र, एयरलाइन्स कम्पनीहरूले ल्याएका विशेष प्याकेज तथा छूटले नेपालमै भ्रमण संस्कृति स्थापित गर्दै छ भने प्रतिस्पर्धी पर्यटन बजारले आन्तरिक पर्यटकलाई सस्तो तथा सुलभमा सेवा दिएर यसलाई आकर्षित गर्दै छ ।  अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको पर्यटन क्षेत्रमा आर्थिक पुनरुत्थानमा सहयोगी हुने किसिमले सकारात्मक संकेतहरू देखिन थालेका छन् । कोभिडविरुद्धको खोप लगाए पनि कोरोना संक्रमण हुने त्रास कायमै रहेको छ । तैपनि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध भएको, व्यवसायीले पनि खोप लगाइसकेको र अन्य मुलुकहरूमा पनि खोप लगाउनेको संख्या बढ्दो क्रममा रहेको हुँदा अबको पर्यटकीय सिजनमा विदेशी पर्यटक आउन सक्ने सम्भावना भने नकार्न सकिँदैन । नेपालमा पर्यटकहरू पर्वतारोहण, दृश्यावलोकन, साहसिक खेल आदिका लागि बढी आउने गर्छन् । यसमध्ये बिदामा घुमफिर गर्ने र धार्मिक पर्यटकले जोखिम लिन नचाहने भएकाले उनीहरू आउने सम्भावना कम हुन्छ । तर, साहसिक पर्यटनका लागि भने पर्यटक आउने गरेका छन् । यो सम्भावना अझ सहज देखिन्छ । सन् २०२१ को वसन्त सिजनमा पनि नेपालमा बन्दाबन्दी थियो । तर, पनि पर्वतारोहणका लागि विभिन्न देशबाट पर्यटक आएका थिए । सन् २०२० मा पर्वतारोहणका लागि आउने पर्यटकको संख्या शून्य थियो । पर्यटन विभागको तथ्यांकअनुसार कोभिडकै बीचमा यो वर्षको सिजनमा ४५९ जना पर्यटकले सगरमाथा आरोहण गरेका थिए । त्यसमध्ये सबैभन्दा धेरै नेदरल्याण्ड्सबाट २८३ जनाले सगरमाथाको आरोहण गरेका थिए । अमेरिकाबाट ३२ जनाले सगरमाथा आरोहण गरेका थिए । यस्तै छिमेकी देश चीनबाट २४ र भारतबाट २० जना पर्वतारोही आएका थिए ।  नेपालको पर्यटन क्षेत्रको ठूलो पूँजी पर्वतारोहण हो, जसले केन्द्रदेखि ग्रामीण क्षेत्रसम्म आर्थिक गतिविधिहरू हुन पाउँछ । बहराइनका राजकुमारहरू विमान चार्टर्ड नै गरेर नेपालको हिमाल आरोहण गर्न आउँदा पर्वतारोहणमा आशा देखियो । यसले नेपाल घुम्न आउने कि नआउने भनी ‘पर्ख र हेर’को अवस्थामा रहेका विदेशी पर्यटकका लागि सकारात्मक सन्देश दिएको छ । ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार नेपालमा सन् २०२० मा २ लाख ३० हजार ८५ जना मात्रै विदेशी पर्यटक नेपाल घुम्न आएको देखिन्छ । सन् २०१९ को तुलनामा यो ८० प्रतिशतले कमी हो । पर्यटन क्षेत्रबाट उक्त वर्ष रू. २५ अर्ब आर्जन भएको देखिन्छ । पर्यटकको औसत बसाइ भने विगत वर्षभन्दा बढेको देखिन्छ । औसतमा १२÷१३ दिनको बसाइ हुने पर्यटकको अवधि १५ दिन पुगेको छ भने प्रतिपर्यटक खर्च पनि बढेर दैनिक ६५ अमेरिकी डलर पुगेको छ ।  कोरोनाकालमा पर्यटकको खर्च र बसाइ बढेको छ भने पर्वतारोहणका लागि आउने पर्यटकको संख्यामा पनि सुधार देखिएको छ । यसले थलिएको पर्यटन क्षेत्र विस्तारै लयमा आउने आशा पलाउन थालेको छ । खोप र कोरोना संक्रमण दरमा केही कमी आउँदा खुकुलो बनाउँदै लगिएको निषेधाज्ञाले आन्तरिक पर्यटनमा पनि सुधार ल्याएको छ । काठमाडौं उपत्यका वरपरका र देशका विभिन्न पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको आगमन बाक्लो हुन थालेको छ ।  साप्ताहिक बिदामा काठमाडौं नजिकका नगरकोट, धुलिखेलदेखि चितवनको सौरहा, कास्कीको पोखरा जस्ता प्रसिद्ध गन्तव्यहरू आन्तरिक पर्यटकले भरिन थालेका छन् । पाँचतारे होटेल, रेस्टुराँ सञ्चालन गरेर भए पनि व्यवसायी सञ्चालन खर्च जुटाउन लागिपरेका छन् । नेपालीको पहुँच पनि तारे होटेलसम्म पुग्न थालेको छ । आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिने पर्यटन क्षेत्र प्रभावित हुँदा विदेशी मुद्रा आर्जनमा समेत कमी आएको छ । विदेश भ्रमणमा  जाने नेपालीहरू पनि अहिले यहीँका पर्यटकीय गन्तव्यका राम्रो स्रोत भएका छन् । पहिलो आफ्नै देश घुम्नुपर्छ भन्ने मान्यता विस्तारै स्थापित हुँदै आएको छ । खासगरी आन्तरिक पर्यटकले पर्यटनलाई ठूलो भरथेग गरेको छ । बिदा हुनासाथ विदेशका पर्यटकीय क्षेत्रहरू रोज्ने र रोजाइमा पर्ने ग्राहकहरू माउन्टेन भ्यू तथा अन्य गन्तव्य खोजेर जान थालेका छन् । आन्तरिक भ्रमणको संस्कृति स्थापित गर्न निजीक्षेत्रका वायुसेवा कम्पनी तथा हेलिकोप्टर कम्पनीका साथै पर्र्यटकीय गन्तव्य मानिने क्षेत्रका होटेलले आकर्षक प्याकेज ल्याएर थप मलजल गरे ।  काठमाडौंमा रहेका पाँचतारे होटेलदेखि उपत्यका वरपर रहेका होटेल तथा रिसोर्टहरूले पनि विभिन्न छूट दिँदै आन्तरिक पर्यटकलाई आकर्षित गर्ने प्रयास जारी राखेका छन् । तैपनि सन् २०१९ कै अवस्थामा आउन नेपाललाई समय लाग्न सक्छ । विदेशी पर्यटकमाथि आश्रित रहेको पर्यटन क्षेत्र उनीहरूको कम उपस्थितिले अहिले शिथिल छ । कोरोना कहर नै चुनौती बन्दै आएका बेला पर्यटन क्षेत्र पुनः लयमा फर्काउन धैर्य र नेपालमै भएका आन्तरिक पर्यटकलाई घुम्नलाई प्रेरित गर्नुको विकल्प छैन । सरकारले चालू आर्थिक वर्ष २०७८÷७९ को बजेटमा ल्याएको कार्यक्रम कार्यान्वयन गर्न सके निजामती, संस्थान तथा सार्वजनिक निकायको ठूलो हिस्सा आन्तरिक पर्यटकको रूपमा देशभर घुम्न सक्छन् । सरकारले बजेट वक्तव्यमा ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान, प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने घोषणा गरेको छ । निजीक्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गर्ने कार्यक्रम छ । सरकारले घोषणा गरेका यस्ता कार्यक्रम छिटो कार्यान्वयनमा ल्याउन सके मात्रै पनि आर्थिक गतिविधि चलायमान बनाउन सकिने आधार तय हुन्छन् । तर, कागजमा मात्रै उल्लेख गरेर न त पर्यटकीय गतिविधि बढ्छन् न त, आर्थिक पुनरुत्थानमा पर्यटनले योगदान दिन सक्छ । त्यसैले सरकारले नै घोषणा गरेका कार्यक्रमहरू समयमै कार्यान्वयनमा ल्याई लय समात्न थालेको पर्यटन क्षेत्रलाई ऊर्जा दिन जरुरी छ ।

शंकर समूहले ८ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गर्दै

साउन २०, काठमाडौं । कोरोना महामारी बीच काठमाडौंको नक्सालमा ८ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौं महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौं’ निर्माण गर्न लागेको हो ।            आठ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त होटललाई चेन होटलका रुपमा निर्माण गर्न लागिएको जगदम्बा हस्पिटालीटी गुप्र प्रालिका उपाध्यक्ष नीतिन शर्माले जानकारी दिए । विश्वमा ६ हजारभन्दा बढी चेन होटल रहेको हिल्टन होटलको नेपालमा पहिलो पटक चेन होटल निर्माण गर्न लागिएको हो ।            सन् २०२० मा होटल निर्माण सम्पन्न गर्नेगरी सन् २०१६ बाट होटल निर्माण शुरु गरे पनि कोरोना महामारीका कारण होटल निर्माणमा ढिलाइ भएको हो । सन् २०२२ को अन्त्य सम्ममा होटल निर्माण सम्पन्न गरिसक्ने गरी काम तीव्रगतिमा भइरहेको उपाध्यक्ष शर्माको भनाइ छ ।                  पाँचतारे लक्जरी होटल हिल्टन काठमाडौंमा १७५  ओटा गेष्ट रुम रहनेछन् । हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उक्त होटलमा उपलब्ध हुने प्रालिले जनाएको छ । उक्त होटलले स्थानीय तथा अन्तरराष्ट्रिय स्वादका खाना उपलब्ध गराउने बताइएको छ ।            उक्त होटलमा विवाह तथा सभा समारोहका लागि छुट्टै सभाकक्ष निर्माण हुने भएको छ । दुई तला अण्डर ग्राउण्डसहित बन्न लागेको १८ तल्ले भवनको १६औं तलामाथि स्वीमिङ पुल रहनेछ । होटलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधासमेत हुनेछन् ।            अमेरिकाबाट आयात गरिएको सेस्मिक ड्याम्पर प्रविधिबाट निर्माण गरिएको होटल भूकम्प गएका बेलामा समेत सुरक्षित हुने शङ्कर गुप्रका प्रबन्ध निर्देशक शाहिल अग्रवाल बताउँछन् । विदेशी पर्यटकलाई पूर्ण रुपमा सुरक्षित बनाउने आफ्नो योजना रहेको उनको भनाइ छ ।            निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको सङ्ख्या नेपालमा १४३ पुगेको छ । यो मुलुकभर सञ्चालनमा आएका एकतारेदेखि पाँचतारे होटलको सङ्ख्या हो । पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपालमा पाँचतारे १६ ओटा, चारतारे १९ ओटा, तीनतारे ३३ ओटा, दुई तारे ४१ ओटा र एकतारे ३४ ओटा होटल सञ्चालनमा छन् । यस्तै पाँचतारे होटलस्तरका दुई बुटिकसमेत सञ्चालनमा छन् ।            सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोरोना महामारी विश्वभर फैलिंदा नेपालमा भ्रमण वर्षको कार्यक्रम स्थगित गरिएको थियो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको पहिलो तथा दोस्रो चरणको कोरोना सङ्क्रमण देखिँदा नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ । रासस