पर्यटन तथा हस्पिटालिटी क्षेत्रलाई प्राथमिकता दिएका छौं : रविभक्त श्रेष्ठ[अन्तरवार्ता]

नेपालको उद्योग व्यवसायको क्षेत्रमा आईजे ग्रूप प्रतिष्ठित व्यावसायिक घराना हो । स्व. इन्द्रभक्त श्रेष्ठले ८ दशकअघि मनी एक्सचेञ्ज र कपडा व्यवसायबाट शुरू गरेको व्यावसायिक यात्रा चिया, औषधि लगायत वस्तुको आयात व्यापार हुँदै बहुराष्ट्रिय उत्पादनमूलक कम्पनी, बीमा र पर्यटन तथा होटल व्यवसायसम्म आइपुगेको छ । हाल यस समूहको अध्यक्षका रूपमा रविभक्त श्रेष्ठले बुबा इन्द्रभक्तको व्यावसायिक विरासत धानेका मात्र छैनन्, नयाँ नयाँ क्षेत्रमा लगानी विस्तारलाई समेत जोड दिएका छन् । आईजे ग्रूपमा हाल तेस्रो पुस्ता समेत व्यावसायिक नेतृत्व लिन तयार भइसकेको छ । प्रस्तुत छ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठसँग उनको पारिवारिक एवं व्यावसायिक पृष्ठभूमि, व्यवसाय विस्तार लगायत विषयमा आर्थिक अभियानले गरेको कुराकानीको सार : तपाईंको पारिवारिक तथा व्यावसायिक पृष्ठभूमिबारे बताइदिनुस् न । हाम्रो परिवार भक्तपुरको वज्रयोगिनीबाट बसाइ सरेर काठमाडौं आएको हो । मैले त्रिचन्द्र क्याम्पसबाट बीकम पास गरेको छु । हामी शुरूदेखि नै इन्द्रचोकमा संयुक्त परिवारमार्फत व्यापार व्यवसायमा संलग्न थियौं । त्यो बेलामा नेपालमा कुनै उद्योगधन्दा थिएनन् । शुरूमा हाम्रो कपडाको व्यापार थियो । बाजे हरिभक्त व्यापारमा लागेको खासै सुनिएन, तर बुवा इन्द्रभक्तलाई बज्यैले व्यापारमा अगाडि बढाउनु भएको हो । बुवाले समयक्रमसँगै आकाश भैरवनाथ मन्दिर नजिक मनी एक्सचेञ्ज खोल्नुभएको थियो । त्यसपछि बम्बईबाट सुती कपडा होलसेल मूल्यमा आयात गरेर नेपालभर विक्री शुरू गर्नुभएको हो । त्यसबेला बुवाले शाखा कार्यालयको रूपमा बम्बईमा पनि पसल खोल्नुभएको थियो । वर्षको ६ महीना व्यापारकै लागि बुवा उतै बस्नुहुन्थ्यो । त्यहाँ पनि कपडाकै व्यापार थियो । विसं २००७ सालतिर इन्द्रचोकमा नेपाल ड्रग हाउस पनि शुरू गर्‍यौं । तर केही वर्षमात्र चल्यो । त्यसपछि बुवासँग बम्बईमा चिनजान भएको आधारमा भारतको ठूलै औषधि कम्पनी नेपाल आउन चाहेको थियो । तर उनीहरूले विविध कारणले गर्दा नेपालमा फर्मास्युटिकल उद्योग स्थापना गर्न सकेनन् । पञ्चायतको अन्त्य भएर मुलुकमा आर्थिक उदारीकरण शुरू भएपछि उत्पादन क्षेत्रमा अगाडि बढेका हौं । सानातिना व्यापारसँगै तपाईंहरूले बेलायतको ब्रुकबन्ड चियाको आयात गर्न शुरू गर्नुभएको रहेछ, होइन ? औषधि पसल पनि बन्द भएपछि चियाको आयात शुरू गर्‍यौं । त्यो बेलायतको कम्पनी थियो । तर भारतबाट उसले उत्पादन तथा विक्री वितरण गरिरहेको थियो । त्यो पहिला अलग कम्पनी थियो, पछि गएर ब्रुकबन्ड कम्पनीलाई हिन्दुस्तान लिभरले खरीद गरेको हो । चियासँगै हामीले साबुनलगायत सामग्री ल्याएर विक्री शुरू गरेका हौं । ब्रुकबन्डसँग बुवाको कारोबारलाई आधार मानेर बहुराष्ट्रिय कम्पनी हिन्दुस्तान लिभरसँग पनि सम्बन्ध बढ्दै गयो । केही समयपछि बुवाको अनुरोध स्वीकार गरेर हिन्दुस्तान लिभर नेपाल प्रवेश गरेको हो । त्यो कम्पनीले हालसम्म पनि युनिलिभर नेपालको रूपमा यहाँ राम्रो व्यापार गरिरहेको छ । बहुराष्ट्रिय कम्पनी हिन्दुस्तान लिभरलाई नेपाल भित्र्याउन तपाईंहरूको प्रमुख भूमिका रहेछ । नेपाल जस्तो मुलुकमा यो कम्पनी आउन राजी हुनुको कारण के थियो होला ? नेपालमा त्यतिखेर हाम्रो ठूलो व्यापार त थिएन । तर व्यापार विस्तार गर्ने सोच चाहिँ थियो । त्यही सोच अनुरूप बुवाले भारतबाट चिया, साबुनलगायत सामान नेपाल ल्याएर होलसेल तथा खुद्रा विक्री गर्ने गर्नुहुन्थ्यो । बुवा लामो समयसम्म बम्बईमा बस्नुभयो । उहाँसँग धेरै व्यापारीको चिनजान थियो । ब्रुकबन चियाको कारोबारकै क्रममा हिन्दुस्तान लिभरसँग उहाँको सम्बन्ध विस्तार भएको हो । त्यतिखेर उनीहरू पनि नेपालमा केही गर्न सकिन्छ कि भनेर सोचविचार गरिरहेका थिए । त्यही बेला बुवाले नेपाल आउने भए म सहयोग गर्न तयार छु भनेपछि नेपाल आउन मानेको हो । त्यसपछि उद्योग विभागमा कम्पनी दर्ता गर्न गयौं । डाबर इन्डिया र हिन्दुस्तान लिभर नेपालमा आउने पहिलो र दोस्रो उत्पादनमूलक कम्पनी हुन् । डाबर त भारतको मात्र कम्पनी थियो । हिन्दुस्तान लिभर बहुराष्ट्रिय कम्पनी थियो । तर तत्कालीन सरकारले यति ठूलो बहुराष्ट्रिय कम्पनी नेपाल आउन इच्छुक हुँदा पनि दर्ता गर्न नै मानेन । लाइसेन्सराजको त्यो बेलामा पनि बुवाले विभिन्न स्थानमा भनसुन र ताकेता गरेपछि दर्ता हुन सक्यो । दर्ता भएपछि ठूलै विजय हासिल गरेजस्तो भयो । अनि उद्योग स्थापना भयो । त्यसकै परिणामस्वरूप नेपालमा आजसम्म पनि युनिलिभर नेपालले धेरै राम्रो व्यवसाय गरिरहेको छ । अहिले नेपालको शेयर बजारमा यसको मूल्य कति छ मैले भन्नै परेन । भारतपछि दक्षिण कोरियाबाट पनि तपाईंहरूले आयात कारोबार शुरू गर्नुभएको हो ? त्यहाँबाट हामीले टेक्सटाइलको कारोबार गर्‍यौं । त्यसबेला हामी नेपाल कप्र्स सप्लायर्स कम्पनीमार्फत मालसामान आयात गरेर नेपाल ल्याउँथ्यौं । यसको राम्रो व्यापार थियो । कोरियाको डाइउ कम्पनीबाट कपडा ल्याउँथ्यौं । व्यापार पनि बढ्दै गयो । त्यो कपडा नेपालमा मात्र नभई भारततर्फ पनि जान थाल्यो । जति ल्याए पनि विक्री हुन थाल्यो । त्यसपछि बुवाले कोरियन पाटर्नरलाई नेपालमा यसको उत्पादनका लागि उद्योग खोल्न आग्रह गर्नुभयो । यो गर्न उनीहरू राजी त थिए । तर नेपालमा वैदेशिक लगानीका लागि कानूनी झन्झट रहेछ । यो देखेपछि उनीहरू पन्छिए । काम सफल हुन सकेन । नेपालको चेम्बर मुभमेन्टमा तपाईंंहरू कसरी जोडिनुभयो ? चेम्बर मुभमेन्टको बारेमा मलाई अलिअलि याद छ । एक दिन तत्कालीन राजा त्रिभुवनले देशको अर्थ व्यवस्थाको बारेमा बुझ्न व्यापारीहरूलाई बोलाउनुभएको थियो । त्यहाँ बुवा पनि सहभागी हुनुहुन्थ्यो । त्यस अवसरमा संगठित बनेर अगाडि बढ, हाम्रो साथ र सहयोग छ भन्ने हुकुम भएछ । त्यो बेला लण्डन चेम्बर अफ कमर्सको विधान ल्याएपछि त्यही हेरेर नेपाल चेम्बर अफ कमर्सको विधिवत् स्थापना भएको हो । इन्द्रचोकस्थित हाम्रो घरमा यसको अफिस थियो । यसको उद्घाटन भने राजा महेन्द्रबाटै भएको हो । बुवा चेम्बर अफ कमर्सको संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँ लगातार पाँच कार्यकाल अध्यक्ष हुनुभयो । २०३४ सालमा उहाँ नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पनि हुनुभयो । तत्कालीन समयमा तपाईंको बुवा उद्यमी तथा व्यवसायी हुनुहुन्थ्यो । उहाँको योगदानलाई कसरी स्मरण गर्नुहुन्छ ? उहाँको अध्ययन सामान्य थियो । उहाँ सानैदेखि मेहनती हुनुहुन्थ्यो । उहाँमाथि बाल्यकालदेखि नै ठूलो जिम्मेवारी आएको रहेछ । त्यही भएर सानै उमेरदेखि उहाँ व्यापारमा लाग्नुभएको हो । हाम्रो पछिसम्म सगोलको परिवार थियो । उहाँ जहिले पनि ‘जे गर्ने हो समयमै गर’ भन्ने गर्नुहुन्थ्यो । मलाई त्यो कुराको सधैं याद आइरहन्छ । सन् १९९२ मा नेपालमा बहुराष्ट्रिय कम्पनी युनिलिभर आएपछि आईजे ग्रूप उत्पादनतर्फ मोडिएको हो ? नेपालमा युनिलिभर भित्र्याउन बुवाको प्रमुख योगदान थियो । यो कुरा मैले बताइरहनै पर्दैन । जब पञ्चायतको अन्त्य भएर मुलुकमा आर्थिक उदारीकरण शुरू भयो, तब हामी उत्पादन क्षेत्रमा अगाडि बढेका हौं । हाम्रो प्रमुख व्यवसायको पहिलो खुड्किलो पनि युनिलिभर नेपालबाटै भएको हो । यसलगत्तै हेटौंडामा कपडा फ्याक्ट्री स्थापना गर्‍यौं । त्यसपछि नेशनल सोप इन्डस्ट्री पनि सञ्चालन गर्‍यौंं । यो उद्योग युनिलिभरको सब–कन्ट्र्याक्टमा सञ्चालनमा थियो । तर पछि बन्द भयो । बुवाले शुरू गरेको व्यापारिक विरासतमा तपाईं कसरी प्रवेश गर्नुभयो ? व्यापार व्यवसायको बारेमा बुझ्ने मौका कसरी पाउनुभयो ? त्रिचन्द्र क्याम्पसमा बीकम अध्ययन गर्नुभन्दा अघि नै म व्यापारमा संलग्न भइसकेको थिएँ । स्कुलमा पढ्दादेखि नै बुवाको पछिपछि लागेर व्यापार व्यवसायबारे बुझ्ने मौका पाएको थिएँ । त्यतिखेर उहाँले कसरी काम गर्नुहुन्छ, हिसाबकिताब कसरी राख्नुहुन्छ भन्ने ज्ञान मैले हासिल गरिसकेको थिएँ । जब मेरो दाजु अध्ययनका लागि अमेरिका जानुभयो, मलाई अब चाहिँ केही गर्नुपर्छ भन्ने हुटहुटी जागेको थियो । तर आमाको करबलले म पनि अमेरिका गएँ । तर त्यहाँ एक/डेढ वर्षभन्दा बढी बसिनँ । अनि नेपालमै केही गर्नुपर्छ भनेर फरक खालका अरू व्यवसायमा हात हालेका हौं । तपाईं आफैंले चाहिँ कुन कुन व्यवसाय शुरू गर्नुभयो ? बुवाले शुरू गरेको व्यवसाय सञ्चालनमै रहेको समयमा फरक खालको व्यवसाय पनि सञ्चालन गर्नुपर्छ भन्ने सोच आएको हो । त्यसपछि व्यवसायलाई विविधीकरण गर्दै लैजानुपर्छ भन्ने सोच अनुरूप शुरूमा युनाइटेड इन्स्योरेन्समा केही लगानी गरेँ । यसको सञ्चालक समितिको अध्यक्षमा अहिले म नै छु । त्यसपछि भनेजस्तो गरी अन्य उद्योग व्यवसायमा अगाडि बढ्न सकेनौं । हामीले शुरू गरेका व्यवसायमध्ये सबैभन्दा बढी आत्मसन्तुष्टि दिने खालको उद्योग युनिलिभर नेपाल नै हो । महासंघमा निर्वाचन हुनुलाई अन्यथा लिनु पनि हुँदैन । व्यवसाय विस्तारको क्रममा तपाईंहरू वित्तीय क्षेत्रमा अगाडि आएको देखिन्छ । यसबारे बताइदिनुस् न । व्यवसायलाई विविधीकरण गर्ने क्रममा सन् १९९२ मा हामी हिमालयन बैंकमार्फत वित्तीय क्षेत्रमा प्रवेश गरेका हौं । यसमा पनि रोचक प्रसंग छ । त्यो बेला मेरो ससुराबुबा नरसिंहबहादुर श्रेष्ठ, हिमालय शमशेर राणा, भीमबहादुर पाण्डे र खेतान ग्रूपको संयुक्त लगानीमा हिमालयन बैंक शुरू भएको हो । त्यो बेलामा बैंक खोल्न चुक्तापूँजी तीन करोड रुपैयाँ भए पुग्थ्यो । एन ट्रेडिङमार्फत हामी बैंकमा साझेदार भएर प्रवेश गरेका हौं । युनाइटेड इन्स्योरेन्समा चाहिँ चौधरी ग्रूप र आईजे ग्रूपको बराबर शेयर स्वामित्व छ भने बाँकी शेयर स्वामित्व सर्वसाधारणको रहेको छ । सन् १९९८ मा तपाईंहरू पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा पनि प्रवेश गर्नुभयो । त्यसअन्तर्गत सोल्टी होटलमा कसरी प्रवेश गर्नुभयो ? त्यो बेला नेपालकै प्रतिष्ठित मानिने सोल्टी होटल ओबराय ग्रूपले सञ्चालन गरिरहेको थियो । त्यसमा लगानी गर्नुपर्ने अवस्था अकस्मात् आइलाग्यो । यसमा हाम्रो गूडविल (प्रतिष्ठा)ले काम गरेको हो जस्तो लाग्छ । जब सोल्टी होटलको म्यानेजमेन्ट सञ्चालन सम्झौता सकियो, उनीहरू (ओबराय) यसबाट बाहिरिएर जाने भए । शेयर विक्री हुने खबर आएपछि ओबरायले नै मलाई शेयर खरीद गर्न प्रस्ताव गरेको हो । त्यसपछि त्यहाँ शुरूमा हाम्रो ८ प्रतिशत शेयर लगानी भयो । अहिले त सोल्टी होटलको ब्रान्ड यति बलियो भएको छ कि यो नेपालमा मात्र होइन, भारतमा पनि उत्तिकै प्रख्यात छ । सोल्टी होटलको ब्राण्ड बलियो हुँदै जाँदा हामीले काठमाडौं बाहिर होटल विस्तारको योजना अघि बढायौं । नेपालगञ्जमा सोल्टी होटल पुग्यो । आन्तरिक पर्यटन पनि विस्तार हुँदै जाँदा हामी पोखरामा पनि जाने योजनामा पुग्यौं । अहिले त जहाँ जहाँ सम्भावना छ, त्यहाँ होटल स्थापना गर्दै जाने योजना बनाइरहेका छौं । अन्य स्थानमा पनि होटल शुरू गर्ने लक्ष्य छ । चौधरी ग्रूपसँग मिलेर पनि अन्य दुई भेञ्चरमा व्यवसाय सञ्चालन गरिरहनुभएको छ । त्यसबारे थप बताइदिनुस् न । यसमा पनि रोचक प्रसंग छ । चौधरी ग्रूपका विनोद चौधरी त मेरा स्कुले साथी पनि हुन् । पहिला भिवोर विकास बैंक रहेको भवन मैले बिड गरेर खरीद गरेको हुँ । त्यहाँ शुरूमा मैले अपार्टमेन्ट बनाउने विचार गरेको थिएँ । तर एक दिन कुराकानीको क्रममा विनोद चौधरीले होटल बनाउने प्रस्ताव गरेपछि गरौं न त भन्ने सोच आयो । त्यसपछि हामीले भिवान्ता ताज होटल शुरू गरेका हौं । अपार्टमेन्टबाट होटल बनाउन एक/डेढ वर्ष लाग्यो तर पनि हामीले शुरू गरिछाड्यौं । समिट होटलको हकमा पनि अर्को प्रसंग छ । यसको शुरुआत त पहिला डचहरूले गरेका हुन् । त्यो पछि गएर मेरा साढुभाइसहित अन्यले खरीद गरेका थिए । तर सोचे जस्तो व्यवसाय हुन सकेको रहेनछ । उनीहरूले चलाउन नसक्ने स्थिति आएपछि साझेदार बन्न मलाई पटक पटक अनुरोध गरे । त्यसपछि यसमा पनि हामीले लगानी थप गरेका हौं । तर यसको काम भने हुन बाँकी छ । आईजे ग्रूपको पारिवारिक व्यवसायमा तपाईंको छोरा रवीन्द्रभक्त श्रेष्ठको पनि प्रवेश भइसकेको छ, होइन ? ऊ न्यूयोर्कमा ग्राजुयट गरेपछि नेपाल आएको हो । नेपाल आइसकेपछि उसले पारिवारिक व्यवसायमै प्रवेश गरेको हो । उसले थप अध्ययनका लागि अमेरिका गएर एमबीए गरेको छ । एमबीए सकेपछि नेपाल फर्किएर उसले व्यवसाय सम्हालिरहेको छ । उनीहरूको काम गर्ने प्रकृति पनि फरक छ । उसले गरेको प्रगति हेर्दा राम्रो गरेको छ जस्तो लाग्छ । ऊ बाहिरबाट आएपछि शुरू गरेको व्यापार अन्तर्गत नेशनल आइसक्रिमलगायत हुन् । अरू पनि छन् । यी क्षेत्रमै उसको ध्यान केन्द्रित छ । आईजे ग्रूपले अहिले कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ? अहिले हाम्रो प्रमुख प्राथमिकता हस्पिटालिटी क्षेत्र नै हो । यस अन्तर्गत तीन/चारओटा मेगा प्रोजेक्ट सञ्चालनमा छन् । यसमै हामी केन्द्रित छौं । यो पूरा भएपछि मात्र हामी अन्य क्षेत्रमा अगाडि बढ्छौं । यसमा छोरा रवीन्द्रको पनि यही विचार छ । शुरूदेखि नै तपाईंहरूको बिजनेश संयुक्त साझेदारी मोडलमा केन्द्रित रहेको पाइन्छ । यसको प्रमुख कारण के होला ? मेरो पहिलादेखिकै स्वभाव साधारण छ । मलाई जहिले पनि सामान्य हैसियतमा बस्न रुचि लाग्छ । त्यसकारण मसँग काम गर्न सबै जना इच्छुक र लालायित हुन्छन् । यसमा त बुवाको छवि पनि एउटा प्रमुख कारण हुन सक्छ । शुरूमा कोरियाबाट माल मगाएर व्यापार गर्ने क्रममा पनि हाम्रो साझेदारी व्यवसाय थियो । त्यो बेला इन्द्रचोकको माडवारी वृजलाल अग्रवालसँग हामीले साझेदारीमा व्यापार शुरू गरेका हौं । वास्तवमा भन्ने हो भने यो त नेपालकै नमूना साझेदारी व्यापार थियो । तर उनको निधनपछि हामी अलग अलग भयौं । सोल्टी होटलमा पनि साझेदारीमै व्यापार थियो । त्यसैगरी चौधरी ग्रूपसँग पनि हाम्रो साझेदारीमै व्यापार भएको हो । साझेदारीमा भएका हाम्रा व्यापार व्यवसाय राम्रोसँग चलिरहेका छन् । तपाईं त प्रदीपकुमार श्रेष्ठपछि निजीक्षेत्रको अगुवा संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित पनि हुनुभयो । यो कसरी सम्भव भयो ? यसको कहानी अलि लामै छ तर पनि छोटकरीमा बताउँछु । यसको सम्पूर्ण श्रेय बुवालाई नै दिन्छु । किनभने सबैको बुवाले छोरा नै अगाडि बढोस् भन्ने चाहन्छन् । त्यो स्वाभाविक पनि हो । व्यापार व्यवसायमा कार्यकुशलता छ, तर उद्योग वाणिज्य महासंघमा म फिट हुन्छु होला जस्तो लाग्दैनथ्यो । तर चेम्बर मुभमेन्टमा लाग्न जहिले पनि बुवाले मलाई दबाब दिइरहनुभयो । उहाँले जहिल्यै ‘तिमी महासंघमा अध्यक्ष भएको हेर्न चाहन्छु’ भनिरहनुहुन्थ्यो । त्यसपछि लौ न त भनेर जाँदा पहिलोपटक नै महासंघको कार्यकारी समितिमा निर्विरोध निर्वाचित भएँ । त्यसपछि महासंघको विभिन्न पदमा निर्वाचित भएर काम गरेँ । महासंघमा जति पनि निर्वाचन भए तिनमा म कहिल्यै पराजित हुनुपरेन । जब म तेस्रो उपाध्यक्षमा निर्वाचित भएँ, त्यसपछि त अध्यक्ष बन्न उत्साह जाग्यो । अनि निरन्तर साथीभाइको सल्लाहमा अगाडि बढिरहेँ । बुवाको उद्देश्य र चाहना पनि छोरो अध्यक्ष बनोस् भन्ने नै थियो । महासंघको अध्यक्षमा उम्मेदवारी दिने सोच बनाइरहेको बेला प्रदीपकुमार श्रेष्ठले पनि उम्मेदवारी दिए । जे पर्ला त भनेर मैले पनि उम्मेदवारी दिएँ । तर देशभरका साथीहरूलाई दुवै जनाबीच प्रतिस्पर्धा नहोस् भन्ने लागेको रहेछ । अध्यक्षका लागि मनोनयन गर्ने मिति पनि नजिकिँदै थियो । धरै प्रयास गर्दा पनि सहमति हुन नसकेपछि सोल्टी होटलमा आयोजित कार्यक्रममार्फत त्यहाँका प्रभाकर शमशेर र आनन्दराज मुल्मीले यसमा धेरै मध्यस्थता गर्नुभयो । उहाँको निर्णय दुवैले मान्ने सहमति भएपछि मैले पनि समर्थन गर्नैपर्‍यो । त्यसपछि मात्र निजीक्षेत्रको अगुवा संस्था उद्योग वााणिज्य महासंघको अध्यक्षमा प्रदीपकुमार श्रेष्ठ चयन भएका हुन् । सोही निर्णय अनुसार प्रदीपकुमार श्रेष्ठपछि म महासंघको निर्विरोध अध्यक्ष भएको हुँ । चेम्बर मुभमेन्टमा लागेको आठ वर्षपछि महासंघको अध्यक्ष बन्न सफल भएँ । साझेदारीमा भएका हाम्रा व्यापार व्यवसाय राम्रोसँग चलिरहेका छन् । त्यसपछि महासंघको चुनाव व्यवसायीबीच तीव्र प्रतिस्पर्धा र इगोमा आधारित भएर अगाडि बढिरहेको जस्तो देखिन्छ । यसलाई तपाईंंले कसरी हेरिरहनुभएको छ ? वास्तवमा पहिला सहमति र सल्लाह अनुसार नै महासंघको नेतृत्व चयन हुन्थ्यो । अहिले त त्यस्तो देखिँदैन । हुन त महासंघमा निर्वाचन हुनुलाई अन्यथा लिनु पनि हुँदैन । निर्वाचनकै कारण व्यवसायी व्यवसायीबीच भएको सम्बन्ध बिग्रने र नभएको सम्बन्ध जोडिने काम पनि भएको छ । यो आफैमा रोचक छ । महासंघकै विषयमा विनोद चौधरीसँग मेरो ६ महीनासम्म बोलचाल नै बन्द भयो । बुवाको पनि लुनकरणदाससँग बोलचाल भएन । म एउटा रोचक प्रसंग बताउँछु । म महासंघको अध्यक्ष भएको समयमा विनोद चौधरीले नेपाल उद्योग परिसंघ (सीएनआई) स्थापना गरे । यो त सीधै महासंघलाई कमजोर बनाउने उद्देश्यले खोलिएको संस्था थियो । यो कुरा बुझ्न गाह्रो थिएन । मैले विनोद चौधरीसँग यसो नगरौं भनेँ, तर उनले मान्दै मानेनन् । त्यो बेला प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री पूर्णबहादुर खड्का हुनुहुन्थ्यो । मैले यसबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि कुरा गरेँ । सीएनआईलाई कुनै हालतमा दर्ताको अनुमति नदिने कुरा भयो । यो एक वर्षसम्म पनि रोकियो । तर एकदिन अखबार पढ्दा पो सीएनआई दर्ता भएको थाहा भयो । सीएनआईको दर्ता काठमाडौंमा नभएपछि ललितपुरमा गरिएको रहेछ । यो थाहा पाएलगत्तै मैले महासंघको पदाधिकारी बैठक बोलाएँ । हिजोको लडाइँ दर्ता गर्न नदिने भन्ने थियो । तर अब दर्ता भइसकेकाले सीएनआईसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने सल्लाह भएपछि सोही अनुसार अगाडि बढेका हौं । यो क्रम अहिले पनि त्यही नै छ । तपाईं राजा ज्ञानेन्द्र शाहको शासनकालमा राज्यमन्त्री पनि बन्नुभयो । तर तपाईंं मन्त्री बनेकोमा धेरैले आलोचना पनि गरेका थिए नि । मन्त्री बनेकोमा आलोचना भए पनि मलाई कुनै पश्चात्ताप भने छैन । राजा ज्ञानेन्द्र सरकारले शासन सत्ता हातमा लिएपछिको कुरा हो । एक दिन राजदरबारका सचिव पशुपतिभक्त महर्जनले फोन गरेर राजाले मलाई सहायक मन्त्री बनाउन चाहेको बताए । तर मलाई यो सुन्दा त चिसो पनि लाग्यो । किनभने त्यतिखेर म उद्योग वाणिज्य महासंघको बहालवाला अध्यक्ष पनि थिएँ । तर तत्कालै मैले मन्त्री बन्ने प्रस्तावप्रति अलि चित्त नबुझेको कुरा उनलाई सुनाएँ । तर उनले मलाई राजनीतिक दलबाट नभई श्री ५ बाट मन्त्री बन्न प्रस्ताव आएकाले मन्त्री बन्न पछि नहट्नुस भनेर दबाब दिए । त्यसो भए मैले परिवारसँग सल्लाह गर्न त दिनुहोस् भनेँ । यसबारे मैले उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग छलफल गर्न पनि पाइनँ । म निकै ठूलो फसादमा परेँ । तर बुवालाई सोध्दा उहाँले मन्त्री बन्न स्वीकृति दिनुभयो । आधा घण्टापछि फेरि दरबारबाट शपथ ग्रहणका लागि फोन आयो । मन्त्री भएको एक वर्षपछि त सरकार नै ढल्यो । नेपालमा मारवाडी समुदाय व्यापार व्यवसायमा जसरी अगाडि बढ्दै गएका छन्, त्यसरी नेवार समुदायको सहभागिता रहेका एकाध व्यापारिक घरानाबाहेक अरू अपेक्षाकृत अगाडि बढ्न सकेको देखिएन । यसलाई कसरी मूल्यांकन गर्नुभएको छ ? पहिला त काठमाडौंमा व्यापार व्यवसायमा नेवार समुदायकै आधिपत्य थियो । तर समयक्रमसँगै नेवार समूहका व्यापारिक घरानाहरू सिद्धान्तभन्दा बाहिर जान सकेनन् । राजनीतिक परिवर्तन अघि त व्यापारमा नेवार समूहको नै पकड थियो । गणतन्त्र आएपछि व्यापार व्यवसायमा नयाँ आयाम पनि थपियो । अनि नयाँ नयाँ घरानाले व्यापारमा हात हालेर उनीहरू अगाडि बढेका हुन् । अर्को कुरा के हो भने नेवार समुदाय अलि पुरानो सोच भएका पनि छन् । सोचमा पनि परिवर्तन हुन सकेन । राजनीतिक परिवर्तनपछि देखिएका व्यावसायिक सम्भावना र अवसरमा नेवार समुदाय पस्न सकेनन्, जसकारण पनि पछि पर्नुपर्ने अवस्था आयो ।

सम्बन्धित सामग्री

तालीम, लगानी गरी तयार पारिएका जनशक्ति नेपालमा बस्दैनन्

होटेल एशोसिएशन नेपाल (हान) को ४८ औं साधारणसभाबाट एयरपोर्ट होटेलका प्रबन्ध निर्देशक विनायक शाह दुईवर्षे कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चुनिएका छन् । पर्यटन व्यवसाय कोरोनाका कारण साढे २ वर्ष सुस्त रह्यो । यद्यपि सन् २०२३ को शुरुआतदेखि बढेको पर्यटक आगमनले व्यवसायी उत्साहित छन् । केही महीनाअघि मात्रै सरकारले पर्यटन दशकको घोषणा समेत गरेको छ । आतिथ्य सेवामा अन्तरराष्ट्रिय 'चेन ब्राण्ड' भित्रिरहेका छन् । यसरी पर्यटन व्यवसाय लयमा फर्किन थालेको अवस्थामा अब सरकार र निजीक्षेत्रका प्राथमिकता के के हुनुपर्छ त ? प्रस्तुत छ, होटेललगायत समग्र पर्यटन व्यवसायका समसामयिक विषयमा हानका नवनिर्वाचित अध्यक्ष विनायक शाहसँग आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार : हस्पिटालिटी क्षेत्रमा लामो समय व्यतीत गरेपछि अहिले हानको नेतृत्वमा आउनु भएको छ । यो क्षेत्र अहिले कस्तो अवस्थामा छ ?  आतिथ्य व्यवसाय औपचारिक रूपमा २००७ सालदेखि शुरू भएको हो । पर्यटन मुलुकको सबैभन्दा व्यावसायिक रूपमा सञ्चालित उद्योग समेत हो । ठूलो क्षेत्र भएकाले समस्या पनि छन् । कोरोना भाइरसले यो उद्योग नराम्ररी प्रभावित भयो । अहिले विस्तारै अघि बढ्दै छ । केही मात्रामा व्यवसाय बढेको छ । २/३ वर्ष आम्दानी शून्यको अवस्थामा झ¥यो । सरकारले बन्दाबन्दी लागू गर्दा व्यवसाय हुन सकेन, जसले गर्दा आयआर्जन सुक्यो । पर्यटन व्यवसायको अहिलेको मुख्य समस्या बैंक तथा वित्तीय संस्थाको सावा/ब्याज तिर्न नसक्नु हो । गत आर्थिक वर्षमा समयमा सावा/ब्याज तिर्न नसक्नेलाई नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले केही राहत दिएको थियो । तर, चालू आर्थिक वर्षदेखि भने सामान्य अवस्थाको जस्तै व्यवहार गरिएको छ । समयमा सावा/ब्याज तिर्न नसक्नेलाई अहिले धरपकड, दण्ड सजायका कुरा आइरहेका छन् । हाम्रो साधारणसभामा सदस्य होटेलहरूले यही विषय उठाएका छन् । आउँदो बजेट र मौद्रिक नीतिको समीक्षाले होटेल क्षेत्रका समस्या सम्बोधन हुने आशा छ । पर्यटक आगमन बढ्दो छ । अन्तरराष्ट्रिय चेन ब्राण्ड र नयाँ होटेल पनि आउँदै छन् । पर्यटन क्षेत्र लयमा फर्किएको हो ? हेर्दा त्यस्तो देखिन्छ । पाँचतारे होटेल आएका छन् र भीडभाड पनि देखिन्छ । तर, समस्या कहाँ रह्यो भने जसरी आपूर्ति बढ्यो, त्यसअनुसार माग बढेको छैन । अहिले भएका होटेलहरूबाट ३५ लाख ग्राहकलाई सेवा दिन सक्छौं । तर, यथार्थमा सन् २०२२ मा ६ लाख पर्यटक आएका छन् । अहिले होटेलहरू २५ प्रतिशत क्षमतामा मात्र चलेका छन् । मागभन्दा आपूर्ति बढी छ । तर, हाम्रो विश्वास छ, माग पनि बढ्नेछ । किनभने हामी चीन र भारतको बीचमा छौं । कोभिडपछि करोडौं संख्यामा चिनिया“ र भारतीय पर्यटक बाहिर निस्किन्छन् । तर मुख्य समस्या कनेक्टिभिटीमा छ । यसले ठूलो मर्का परेको छ । त्रिभुवन विमानस्थलले मात्र धान्दैन । अन्तरराष्ट्रिय विमानस्थल भनिए पनि पोखरा र गौतमबुद्धबाट आन्तरिक उडान मात्र भएका छन् । यहाँ भारतीय र चिनियाँ पर्यटक ल्याउन सकिन्थ्यो । चीन र भारत जोड्ने सडक पनि स्तरीय छैनन् । नेपाली होटेल क्षेत्र सेवासुविधा दिन तयार छ । काठमाडौंका पाँचतारे चेन होटेलको मार्केटिङ आक्रामक हुन्छ । यसले नयाँ होटेल चल्न समस्या भएन । तर, यहाँ ५०–५५ वर्षदेखि सञ्चालन भइरहेका होटेल पनि धेरै छन् । यस्ता होटेल राम्रोसँग सञ्चालनमा आउन सकेका छैनन् । आन्तरिक पर्यटक बढेका छन् । नेपालको परिवेश हेर्दा ३८ देखि ४० प्रतिशत अकुपेन्सी भएमा होटेल सञ्चालन राम्रो मानिन्छ । गतवर्ष नेपाल राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिएको थियो । यस्तो सुविधा सबै व्यवसायीले पाएका थिए ?  सरकारले दिएको सहुलियतपूर्ण कर्जा राम्रो पहुँच भएकाले मात्र पाए । सबै व्यवसायीले पाउन सकेनन् । सहुलियतपूर्ण कर्जातर्फ ५० अर्ब रुपैयाँ छुट्ट्याइएको थियो । यसमध्ये ५ प्रतिशतजति उपयोग भयो होला, दुरुपयोग पनि भयो होला । हस्पिटालिटी क्षेत्रमा अर्बाैं लगानी छ । भएका होटेल तथा रिसोर्ट नै पूर्ण क्षमतामा सञ्चालन नहुँदा पनि यो क्षेत्रमा नयाँ लगानी थपिएको र थपिँदै छ । बहुराष्ट्रिय चेन ब्राण्ड भित्रिने क्रम जारी छ । यो क्षेत्रमा यस्तो आकर्षण किन ? कोभिडअघि सन् २०१९ मा झन्डै २० करोड चिनिया“ बाहिर निस्किए । त्यस्तै करीब १० करोड भारतीय बिदामा बाहिर निस्किए । यसरी हामी वार्षिक करोडौं पर्यटक घुमफिरका लागि निस्कने दुई देशको बीचमा छौं । ३० करोडमध्ये २ प्रतिशत मात्र पर्यटक नेपाल ल्याउन सके जति होटेल खुले पनि समस्या हुँदैन । यसका लागि बलियो कनेक्टिभिटी हुनुपर्‍यो । नेपालमा हवाई दुर्घटना पनि भइरहेको छ । यसले हाम्रो हवाई सेवाप्रतिको विश्वसनीयता घटाउँछ । खर्च गर्न सक्ने पर्यटक पनि हवाई सेवा लिने कि नलिने द्विविधामा हुन्छन् । समस्या र यसको समाधान पनि सम्बन्धित निकायलाई थाहा छ । नियामक र सेवाप्रदायक एकै निकाय हुँदा समस्या भयो भन्ने छ । यसमा सुधार गरौं । व्यवसायी पनि प्रभावशाली नै देखिन्छन् । जोखिम लिएर करोडौं लगानी गर्नुभएको छ । कनेक्टिभिटीलगायतको सुधारका लागि तपाईंहरू किन सामूहिक रूपमा पहल गर्नुहुन्न ? संघसंस्थामा लागेको, संस्थाहरू बनाएको नै यसैका लागि हो । हाम्रो काम पनि यसमा भइरहेकै छ । तर, एउटा निकायले मात्र गरेर हु“दैन । दशकौंदेखि चलिरहेको पर्यटन क्षेत्रलाई सेवा व्यवसायको रूपमा मात्र परिभाषित गरिएको छ । व्यवसाय भनेको सानो पसलदेखि मोटरसाइकल बनाउने कारखाना पनि हो । खर्बाैं लगानी भएको यो क्षेत्रले उद्योगको मान्यता पाउन सकेको छैन । पर्यटन क्षेत्र उद्योगको रूपमा किन समावेश भएन ? यसमा समावेश हुँदा के फाइदा हुन्छ ? तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईदेखि विष्णु पौडेल अर्थमन्त्री हुँदासम्म पर्यटन तथा होटेललाई उद्योगसरह मान्यता दिने भनियो । तर, सरकार गएपछि फाइल जहाँको त्यहीँ थन्किएको छ । उद्योगको मान्यता पाउँदा यस क्षेत्रलाई सरकार र नीति निर्माताले हेर्ने दृष्टिकोण नै फरक हुन्छ । कुनै घरपरिवारले जुन दररेटमा विद्युत् महशुल तिर्छन्, होटेलले पनि त्यति नै तिरे पुग्छ । वैदेशिक मुद्राको आधारमा मात्रै गाडीलगायत सामानमा भन्सार छूट दिइन्छ । यो पटके निर्णय हो । होटेलहरू उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुन्छन्, व्यवहार चाहिँ उद्योगसरह गरिँदैन । बहुराष्ट्रिय चेन ब्राण्ड भित्रि“दा मुलुकका स्थापित होटेललाई के कस्तो दबाब छ ?  नेपालमा सम्भावना देखेरै चेन ब्राण्ड आएका हुन् । खुला बजार अर्थतन्त्रमा व्यवसाय आउन नसक्ने वा नपाउने भन्ने हुँदैन । त्यस्ता होटेल व्यवस्थापन नयाँ तौरतरीका, नवप्रवर्तन र नयाँ प्रविधिसहित आएका हुन्छन् । त्यसले सञ्चालन खर्च कम हुन्छ । नेपालमा पनि ‘यो चेन ब्रान्ड छ’ भन्ने सन्देश जाँदा स्वतः यहाँको प्रचारप्रसार हुने भएकाले फाइदा नै हुन्छ । अब ‘केकको साइज’ बढाउनुपर्छ । सरकारले घोषणा गरेको ‘पर्यटन दशक २०२३–२०३३’ मार्फत वार्षिक ३५ लाख पर्यटक भित्र्याउन कत्तिको सम्भव देख्नुहुन्छ ?  होटेल व्यवसायबाट प्रवाह हुने सेवा र क्षमताले अहिले नै हामी सक्षम छौं । निजीक्षेत्र धेरै अघि बढेको छ । तर, सरकार भने धेरै पछि छ । आउ“दो पर्यटन सिजनमा नेपालमा आउन चाहनेको सोधखोज निकै उत्साहजनक छ । नेपालप्रति चाख बढेको छ । आउँदो जुन महीनामा ठूलो कार्यक्रम आयोजना गर्दै छौं । ट्राभल एसेन्सीहरूले पनि नेपाल प्याकेज विक्री शुरू गरेका छन् ।  त्यसोभए सरकारले के कस्ता काम गर्दा यो लक्ष्य हासिल हुन्छ ? सबैभन्दा पहिले थपिएका दुईओटा अन्तरराष्ट्रिय विमानस्थल पोखरा र गौतमबुद्धबाट प्रभावकारी रूपमा अन्तरराष्ट्रिय उडान हुनुपर्छ । सरकारी निकायहरूबाट मार्केटिङ हुनुपर्छ । यसका लागि निजीक्षेत्र वा अनुभवप्राप्त अन्तरराष्ट्रिय संस्थाबाट भए पनि यी विमानस्थल सञ्चालन गरौं । यसको सफल उदाहरण भारतको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल छ । अर्बाैं लगानी भएका विमानस्थल खाली राख्नु भएन । सातओटै प्रदेशलाई पर्यटन चाहिएको छ । तर, करका कुरा मिलाउनुपर्छ । प्रदेशमा गएर पर्यटन र होटेलमा लगानी गर्न लगानीकर्ता लालायित छन् । गर्ने निजीक्षेत्रले नै हो । त्यसका लागि सरकारले वातावरण बनाइदिनुपर्छ । त्यसमा कुरा र भाषणले टार्नु भएन । तीनओटै तहलाई जोडेर काम गर्दा उल्लेख्य परिणाम हासिल गर्न सकिन्छ । नेपालभन्दा पछि पर्यटन व्यवसाय शुरू गरेका मुलुकले वार्षिक करोडौं पर्यटक भित्र्याउँटन् । तर, हामी १०–१५ लाख पर्यटकमा अल्झिएका छौं । यसमा निजीक्षेत्र पनि चुकेको भन्न सकिन्छ ? निजीक्षेत्र कहाँ चुक्यो भन्नुस् । होटेल क्षेत्रमा खर्बाैं लगानी भएकै छ । ११ लाखलाई रोजगारी दिएका छौं । थप लगानी गर्न लगानीकर्ता इच्छुक छन् । कनेक्टिभिटी जस्ता पूर्वाधार विस्तारमा सरकार र प्रचारप्रसारमा नेपाल पर्यटन बोर्ड प्रखर हुनुपर्छ । निजीक्षेत्रकै पहलमा पर्यटन गन्तव्य चर्चित भएका छन् । यो त प्रमाणित छ । सबै स्तरीय होटेल रेस्टुरेन्टको मेनुमा नेपाली खाना पनि समावेश गर्ने अभियान चलाउने कुरा पनि थियो । त्यसमा के भइरहेको छ ?  यसअन्तर्गत हालसम्म २२० ओटा नेपाली रैथाने खानाको रेसिपी तयार गरिएको छ । यसमा नेपालका सेफहरू पनि लागिरहनुभएको छ । रेसिपी तयार गरेर अनलाइनमा राखिएको छ । ९० देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले सञ्चालन गरेका रेस्टुराँमा अहिले यही रेसिपीअनुसार बनाइएको नेपाली परिकारको स्वाद विदेशीलाई चखाइएको छ । खासगरी युरोपेली शहरमा रहेका नेपाली रेस्टुरा“मा यो रेसिपीको बढी प्रयोग भएको छ । यसलाई थप विस्तार गर्ने योजनामा छौं । विश्वका पर्यटन मेलामा नेपाली परिकार राख्ने तयारी छ ।  नेपालमा बढी खर्च गर्ने पर्यटक ल्याउन के के गरिनुपर्छ ? बढी खर्च गर्ने पर्यटकलाई विमानस्थलदेखि नै विशेष सुविधा दिनुपर्छ । व्यवसायीले धेरै प्याकेज विकास गरेका छन् । त्यसमा बढी खर्च गर्नेमा युरोपेली, अमेरिकी, जापानीहरू पर्छन् । चार्टर्ड उडानमा आउनेका लागि विमानस्थलबाट उडान अनुमति लिन ढिलाइ तथा समस्या हुन्छ, जसले गर्दा उनीहरू नेपालको विकल्प खोजेर अन्यत्र जान्छन् ।  अहिले भइरहेका गन्तव्यभन्दा केही पृथक् प्रडक्ट पहिचान भएको छ त ? सातओटै प्रदेशमा १०० गन्तव्य पहिचान भएका छन् । अहिलेको प्रचलन गन्तव्यका साथै पर्यापर्यटन, ग्यास्ट्रोनोमी (सांस्कृतिक, जातजातिमा प्रचलित खाना), स्वास्थ्य, खेल, अध्यात्म, सांस्कृतिक पर्यटनलगायतका गतिविधि बढाउनुपर्छ । हस्पिटालिटी क्षेत्रका जनशक्ति विदेशिने गरेका छन् । यो क्षेत्रमा जनशक्ति पाउन कत्तिको कठिन छ ? यो क्षेत्रमा रोजगारी पाउनेमध्ये ३० प्रतिशत महिला छन् । यो क्षेत्रमा स्थायी, अस्थायी, सिजनअनुसार जनशक्ति राखिएको हुन्छ । सिजनमा होटेलहरूमा थप जनशक्ति आवश्यक हुँदा पार्टी प्यालेसहरूबाट ल्याइन्छ । होटेल व्यवस्थापन कलेज पनि जनशक्ति आपूर्तिका स्रोत हुन् । क्याटरिङ, पार्टी प्यालेस र यस्तै खालका शीप सिकेका कामदार पनि हुन्छन् । शीपयुक्त जनशक्ति पाउन समस्या छ । सरकारले ३५ अर्ब रुपैयाँ शीपमूलक शिक्षा तथा तालीममा खर्च गर्छ । होटेल क्षेत्रमा तालीम दिने धेरै संस्था छन् । त्यहाँबाट सैद्धान्तिक शिक्षा लिएकाहरूलाई होटेलले ५/६ महीना काम गर्ने अवसर दिन्छन् । तर, त्यसरी तालीम दिएर, लगानी गरेका जनशक्ति बढीमा १ वर्षमै विदेशिन्छन् । यसलाई यहीँ व्यवस्थापन गर्ने सरकारको नीति छैन । हामीले समय, लगानी गरेर तालीम दिन्छौं, यो हामीलाई उपयोगसिद्ध भएन । अर्काेतर्फ, नेपालमा भएका कलेजले सैद्धान्तिक ज्ञानमात्र दिए ।  दुईवर्षे कार्यकालमा के के गर्नुहुन्छ ? प्राथमिकता के हुन् ? हानको विधान र मिसनअनुसार काम गर्ने हो । यो व्यवसाय टिकाउन विभिन्न आयाममा समयसीमा तोकेर काम गर्नेछौं । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित समस्या समाधान, सदस्य विस्तार, राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रूपमा समावेश गर्ने लगायत काम प्राथमिकतामा छन् । यो क्षेत्रलाई बढीभन्दा बढी काम चाहिएको छ । प्रचारप्रसारमा नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर काम गरिनेछ । यी काम गर्न सकिए पनि आजको भन्दा फरक परिवेश बन्छ । अर्काेतर्फ सरकारले गर्ने निर्णयहरू मिडियामार्फत जानकारी हुनुभएन । होटेल व्यवसायीसँग पनि सहकार्य र छलफल गर्नुपर्छ ।

पर्यटन क्षेत्रमा ‘सिल्भर लाइन’

सन् २०१९ मा पर्यटकको संख्या र आम्दानी राम्रो भएको थियो । करीब १२ लाख पर्यटक नेपाल आएका थिए र राम्रो आम्दानी पनि भएको थियो । नजिकिँदो नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर लगानी पनि बढेको थियो । तर, भ्रमण वर्षको शुरुआतमै कोरोना भाइरस (कोभिड–१९)ले नेपाललाई मात्रै नभई विश्वलाई नै समस्यामा पार्‍यो जुन अहिले पनि छ । आफू पनि बाँच्न र व्यवसायलाई पनि बचाउन अहिले व्यवसायीदेखि सामान्य मानिसहरू संघर्षरत छन् । हामी डेढ वर्षदेखि कोरोनासँगसँगै हिँडिरहेका छौं । शुरूमा यसले निकै त्रस्त पारेको थियो, तर अहिले योसँगै हिँड्ने र बच्दै अघि बढ्नुको विकल्प हामीसँग छैन । कालो बादलमा चाँदीको घेराजस्तै अहिले संकटका बीच अवसर खोज्ने र बाँच्ने बचाउने अवस्था हो । पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको मुख्य टेको नै हो । यसले गर्दा यो क्षेत्रमा सुधार देखिनासाथ केन्द्रदेखि स्थानीय तहसम्म सकारात्मक प्रवाह जान्छ । नेपाल साहसिक पर्यटनका लागि प्रख्यात छ, यसका लागि पर्यटकहरू कोरोना विपद्कै बीच आएका पनि छन् । यसरी आएका पर्यटक र आन्तरिक पर्यटकका कारण पर्यटन क्षेत्रमा ‘सिल्भर लाइन’ देखिन्छ ।  सन् २०२० मा २ लाख ३० हजार मात्रै पर्यटक आए भने सन् २०२१ म पनि यही अंक हुने आकलन गरिएको छ । यद्यपि पर्यटकीय सिजन अक्टोबर, नोभेम्बरमा कति पर्यटक आउँछन् त्यसमा यो कुरा भर पर्छ । २०१९ मा आएका पर्यटकको तुलनामा यो वर्ष २५ प्रतिशत पनि पर्यटक ल्याउन सकिने अवस्था छैन । यसबाट अहिले पर्यटन उद्योग कहाँ छ र कत्तिको समस्यामा छ भन्ने चित्रण गर्छ । पर्यटन उद्योगमा काम गर्ने र लगानी गर्नेको अवस्था पनि यसैबाट स्पष्ट हुन्छ । पर्यटन व्यवसायीहरू १२ लाख पर्यटक आउँदा पनि २०१९ मै डगमगाएका थिए किनभने ‘पर्यटन वर्ष २०११’ ले पर्यटनमा फड्को मारेको थियो । २५ वर्षसम्म ५ लाख पर्यटक आएको मुलुकमा त्यस वर्ष ८ लाख पुगेको थियो ।  पर्यटक आगमनको संख्यामा वृद्धि भएको देखेपछि बैंकहरूदेखि लिएर लगानीकर्ता र नेतृत्वसम्मले पर्यटनलाई समृद्धिको मानक मान्न थालेका हुन् । त्यसमा लगानी बढाउन थालेका हुन् । कहिले पनि पर्यटन र पर्यटकतर्पm हेर्न नचाहनेहरूको दृष्टिमा पर्यटन क्षेत्र पर्न थालेको हो । नबुझेर नै लगानी गर्नेको लर्काे पनि लागेको थियो । त्यो लगानी भने व्यक्तिगत नभई बंैक तथा फाइनान्सबाट ऋण लिएर गरिएको थियो । भ्रमण वर्षको ८ वर्षमै नेपालमा पर्यटक आगमन संख्यामा उल्लेख्य वृद्धि भए पनि हामीहरू २०१९ मै डराएका थियौं । किनभने हस्पिटालिटी क्षेत्रमा मागभन्दा आपूर्ति बढी हुने देखियो ।  यही बेला कोरोना भाइरस (कोभिड–१९) ले पर्यटनलाई थला पार्‍यो । अब सन् २०१९ को अवस्थामा पुग्न हामीलाई ५ वर्ष कुर्नुपर्ने हुन्छ । अर्थात् पर्यटन क्षेत्र बाउन्स ब्याक हुन अझै ५ वर्ष कुर्नुपर्छ । सरोकारवाला क्षेत्रलाई लाग्यो होला, व्यवसायीहरूले सरकारसँग राहत लिन, सुविधा पाउन नराम्रो कुरा गरे । तर, अहिले पर्यटन व्यवसायको अवस्था ज्यादै नराम्रो छ र केही वर्ष कुनै पनि हालत उठ्न सक्ने देखिनन । सन् २०२५ मा पनि पर्यटन क्षेत्र लयमा फर्कन सक्छ, वा सक्दैन भन्ने स्पष्ट देखिएको छैन ।  हामीलाई थाहा थिएन, कोभिडले यसरी व्यापक र लामो समय प्रभाव पार्नेछ । यो अवस्था सरकार र व्यवसायी कसैले ल्याएको होइन । त्यसो भए अब के गर्ने भन्ने प्रश्न आउँछ । सरकार र व्यवसायी दुवै मिलेर समाधान खोज्नुपर्छ । २ वर्षदेखि हामी यही भाइरससँगै बाँचिरहेका छौं । यसको समाधान गर्ने पहिलो दायित्व त सरकारको नै हो । हामीले सधैं सही समयमा सरकारलाई प्रत्यक्ष रूपमा २५ प्रतिशत आयकर बुझाउने गरेका छौं । साबिकको समयमा मूल्यअभिवृद्धि कर (भ्याट), टीडीएस, स्थानीय करहरू बुझाउने गरेको छौं । अहिले हामी उठ्नै नसक्ने गरी अप्ठ्यारामा परेका छौं । त्यसैले सरकारबाट सहयोगको अपेक्षा राख्नु हाम्रो अधिकार हो । हामीले लगानी गरेका हुन्छौं । सरकारले कर लिन्छ र कमाउँछ । कर भनेको भनेको त हाम्रो इस्योरेन्स जस्तै हुनुपर्ने हो । खराब समयमा त सरकारले हेर्नुपर्छ । कमाउँदा हामीले सरकारलाई कर तिरेकै छांै । सरकारले हामीसँग आम्दानी छैन, व्यवसायीहरूलाई कसरी सहयोग गर्ने भन्दै आएको छ । यो समयमा हामी लगानीकर्ताले सरकारको भाषालाई कसरी बुझ्ने त ⁄ अहिलेको प्राथमिकता मानिसको दैनिकी सहज बनाउनु हो । एक गाँस जोहो गर्न नसक्नेलाई सहयोग गर्नु हो । अहिले अधिकारको कुराभन्दा पनि मानवीय व्यवहार देखाउनुपर्छ । अर्काेतर्पm राज्यसँग अहिले सहयोग गर्ने अवस्था कमजोर छ भन्दैमा सरकार हात बाँधेर बस्न पक्कै मिल्दैन । राज्यले केही नदिने, पर्यटकहरू पनि नआउने हो भने त पर्यटन व्यवसाय ध्वस्तै नहोला भन्न सकिँदैन । आम्दानी घटेपछि खर्च घटाउनेबाहेक विकल्प हामीसँग अरू छैन । त्यसकारण अहिले सरकारबाट एउटा सहयोग हामीलाई चाहिन्छ । यो निकै सरल पनि छ । सरकारले खर्च घटाउने बाटो दिनुपर्छ । होटेलहरूको अधिक खर्च श्रमिकहरूका लागि तलबभत्तामा हुन्छ । यसलाई कटौती गर्न सरकारले स्वीकृति दिनुपर्छ । दोस्रो भनेको बैंकको ऋण, विद्युत् महसुल, सम्पत्ति करजस्तै अन्य करहरू घटाउन सरकारले मद्दत गर्नुपर्छ । आम्दानी नभए पनि यी कर तथा राजस्वहरू तिर्न दबाब आएको हुन्छ । यसकारण यस्ता विषयहरू घटाउन सरकारले सहयोग गर्नुपर्छ ।  पर्यटनको पुनरुत्थान कसरी गर्ने त ? अहिलेको अहम् प्रश्न हो । यो नेपालले चाहेर मात्रै हुँदैन । अहिले पर्यटकलाई लागिरहेको छ नेपाल ‘रेड जोन’मा छ । कोरोनाको अवस्थाका आधारमा देशहरूलाई ४ जोनमा राखिएको छ । रेड, यल्लो, एम्बर र ग्रीन जोनमा हेरिएको छ । ग्रीन सीधै स्वागत गर्ने, एम्बर क्वारेन्टाइन बसेर भए पनि आउने, यल्लो र रेड भनेपछि नेपाल आउन नै बन्द गर्ने खालका पर्यटक छन् । बेलायती पर्यटक नेपाल आयो भने नेपाल रेड जोनमा भएका कारण घर फर्किंदा पनि उसले क्वारेन्टाइनमा बस्नुपर्छ । त्यसैले नेपालले ग्रीन जोनमा जानका लागि प्रयास गर्नुपर्छ । सबैले कोभिडविरुद्धको खोप लगाएपछि नेपाल ग्रीन जोनमा जान सक्ने अवस्था आउन सक्ला ।  पुनरुत्थानका लागि सबैभन्दा पहिला ग्रीन जोनमा जाने नै हो । हामीलाई हिजोसम्म पनि थाहा थिएन, अहिले त थाहा भयो नि । त्यसका लागि सबैले खोप लगाउनुप¥यो । त्यसको जिम्मा सरकारले लिनुपर्छ । तर, नेपालका लागि सिल्भर लाइन के छ, भने यहाँ आउने पर्यटकहरूको राम्रै हिस्सा साहसी पर्यटकहरूको छ । उनीहरू नडराउने खालका हुन्छन् । हाम्रो मुख्य पर्यटन बजार पनि त्यही हो । द्वन्द्वको समयमा नेपालीहरू डराएको अवस्थामा पनि पर्यटकहरू नडराई आएका थिए । बन्द हडतालको त्यस समयमा पनि २ लाख पर्यटकहरू नेपाल आएका थिए । नेपालमा आउने पर्यटकहरू साहसिक हुन्छन्, जोखिमसँग नडराउने खालका हुन्छन् । हामी रेड जोनमा पर्दापर्दै पनि कुनै मतलबै नगरी नेपाल आउनेछन् ।  पहिला नेपालमा धेरै पर्यटक एड्भेन्चर्सका लागि आउँथे । तर, अहिले तिनको हिस्सा ३५ प्रतिशत जति मात्रै छ । यी पर्यटकलाई लक्षित गरेर काम गर्नुपर्छ । नेपालमा कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डहरू कागजमा मात्रै सीमित छन् । अहिले भएका स्वास्थ्य मापदण्डहरूमा केही लचिलो बन्न सके केही सजिलो हुन्छ । यद्यपि सतर्क भने हुनैपर्छ । जोखिम लिन रुचाउने विदेशी पर्यटकहरू नै अहिलेको मार्केट हो । अब नेपालले उनीहरूलाई आउन दिने कि नदिने भन्ने विषयमा निर्णय गर्नुपर्छ ।  तत्कालीन ओली सरकारले रू. ५० अर्ब र रू. १ खर्बको सस्तो कर्जाको प्याकेज ल्याएको थियो । रू. ५० अर्बको प्याकेज पर्यटन व्यवसायीलाई आवश्यक छैन भनिएको थियो । सहयोग व्यवसायीलाई नदिई जागीरमा भएकालाई दिनुपर्छ भन्ने थियो । यही समय हो, असललाई प्र्रोत्साहित गर्ने । पहिलो सामाजिक सुरक्षा कोषमा भएकालाई राहत दिनुपर्छ भनियो र कोषमा पठाउनुपर्ने रकम सरकारले ब्यहोर्‍यो । यो राम्रो हो तर नेपालमा भएकामध्ये १० प्रतिशत होटेलमात्र कोषमा आबद्ध छन् । यो सहयोग ९० प्रतिशत होटेलले पाएनन् । त्यसैले सरकारले ल्याएको राहत प्याकेजले पर्यटन व्यवसायलाई खासै राहत दिएको छैन । अब पर्यटन व्यवसाय बचाउने हो भने साहसी पर्यटकहरू आउने वातावरण बनाउन आवश्यक छ । साथै, मुलुकको पर्यटन क्षेत्र बचाउन आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्नुपर्छ । आन्तरिक पर्यटन बढाउन सरकारले पनि १० दिनको ‘पेड होलिडे’ कार्यान्वयन गर्ने भनेको छ । यो सकारात्मक छ । संसारका धेरै देशमा यस्तो व्यवस्था छ । काम गर्नेलाई पुनः ऊर्जा प्रदान गर्न र सम्पत्ति वितरणमा योगदान गर्न यस्तो अवधारणा कार्यान्वयनमा ल्याइन्छ । पर्यटनको राम्रो पक्ष भनेकै सम्पत्तिको वितरण हो । १ जना पर्यटक आउँदा धेरै पाटोमा रोजगारी सृजना गर्छ । पर्यटकले आर्थिक पाटोलाई नै चलायमान बनाउँछ र मुद्रालाई वितरण गर्न टेवा दिन्छ । पर्यटन बिदाका शीघ्र कार्यान्वयन भए यस व्यवसायलई थोरै भए पनि राहत मिल्छ । सरकारले जे कार्यक्रम ल्याए पनि कार्यान्वयनमा आशंका गर्नुपर्ने अवस्था छ । अहिले १० दिनको भ्रमण बिदामा पनि यस्तो आशंका देखिएको छ । सरकारले सम्बद्ध कार्यालयहरूबाट सिधै १० दिनेका काज बिदा नदिइ निश्चित प्रक्रिया पुर्‍याएर मात्रै दिनुपर्छ । सरकारले ‘पेड होलिडे’ नीति लिएको नै पर्यटन बचाउनका लागि हो । त्यसैले उक्त रकम दुरुपयोग भयो भने यो कार्यक्रम नै गलत साबित हुन्छ । बिदा दिएर मात्रै हुँदैन, यसका लागि प्रक्रिया पनि हुनुपर्छ । कर्मचारी पर्यटनलाई नै योगदान दिने गरी ‘पेड होलिडे’ मा जाओस् भन्ने खालले कार्यविधि बनाउनुपर्छ । सन् २०२५ सम्म नेपालको पर्यटन क्षेत्र ‘बाउन्स ब्याक’ हुँदैन । सन् २०१९ को अवस्था अर्थात् १२ लाख पर्यटक ल्याउन केही वर्ष लाग्छ । त्योभन्दा बढी पर्यटकलाई सेवा दिने गरी पूर्वाधार बनेको छ । यसलाई बचाउन आवश्यक छ । अहिले हामी बाँच्न र व्यवसाय बचाइराख्न संघर्षरत अवस्थामा छौं । तत्कालका लागि पर्यटन पुनरुत्थान गर्न आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्नुको विकल्प छैन । २०२५ सम्म पर्ख र हेरको अवस्था छ । कोरोना कहिलेसम्म रहन्छ भन्ने विषय यकिन छैन । यसैले आर्थिक पुनरुत्थानमा पर्यटन क्षेत्रको योगदान बढाउने हो भने अहिले भएका मापदण्डहरूलाई लचिलो बनाउँदै एड्भेन्चरका लागि नेपाल आउने पर्यटकलाई खुला गर्नुपर्छ । आन्तरिक पर्यटक बढाउन र १० दिने काज बिदालाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउनुपर्छ । (कुराकानीमा आधारित)

सरकार तथा नीति निर्माणको तहबाट उद्योग प्रवर्द्धनमुखी कार्यक्रम आएका छन्

नेपाल उद्योग परिसंघ (सीएनआई)का नवनिर्वाचित अध्यक्ष विष्णु अग्रवालसँग उनका आगामी कार्ययोजना, नीतिगत तहमा देखिएका समस्या समाधानका लागि भइरहेका प्रयास, नयाँ उद्योग स्थापना तथा तिनको प्रवद्र्धनमा भइरहेका काम, यसअघिको सरकारले गरेका प्रतिबद्धता पूरा गर्न भइरहेका प्रयास, कोभिड–१९ ले थलिएका उद्योग व्यवसाय पुनरुत्थानका लागि लिनुपर्ने पहल कदमी लगायत विषयमा आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सार : परिसंघको नेतृत्व सम्हालिसकेपछि तपाईंका आगामी कार्ययोजना के कस्ता छन् ? परिसंघको सबैभन्दा ठूलो पहिलो प्राथमिकता मुलुकमा औद्योगिक वातावरण बनाउने प्रयास हो । यस्तो खालको वातावरण जहाँ नयाँ उद्योग सहज आउन सकून् र तिनले रोजगारीको वातावरण सृजना गर्न सकून् । उपभोक्तामा नेपाली उत्पादनप्रति आकर्षण होस्, सरकारले तिनलाई प्राथमिकतामा राखोस् । त्यसैले उद्योग स्थापना तथा सञ्चालनमा देखिएका नीतिगत समस्या समाधानका लागि हामी सरकारसँग मिलेर काम गर्ने हाम्रो प्रयास हुनेछ । मेरा प्राथमिकता पनि यिनै हुन् । सरकारले निजीक्षेत्रलाई वाचा गरेअनुसार काम गर्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? एकै रातमा केही पनि गर्न सकिन्न । किनभने हामीले गरिरहेको काम पनि ठूलो उद्देश्यसहित दीर्घकालीन समयका लागि नै हो । मुलुकमा औद्योगिक वातावरण सृजना गर्नु ठूलै उद्देश्य हो । एकचोटि वा एकपटकमा केही हुने सम्भावना कम छ । पहिले जति पनि कार्यक्रम तथा नीतिहरू बन्थे, ती सबै राजस्वमुखी हुन्थे । तर विगत केही वर्षयता सरकार तथा नीति निर्माणको तहबाट उद्योग प्रवर्द्धनमुखी कार्यक्रम आएका देखिन्छन् । उद्योग प्रवर्द्धन अर्थतन्त्रका लागि महत्त्वपूर्ण हो भन्ने पनि सबैले बुझेका छन् । उद्योगीले लगानी गर्दा देशकै पूँजी सृजना हुन्छ र यो छोटो समयका लागि नभई दीर्घकालीन हुन्छ । दीर्घकालका लागि लगानी भइसकेपछि रोजगारी सृजना हुन्छ, राष्ट्रिय अर्थतन्त्र बलियो भएर जान्छ । त्यसकारण उद्योग क्षेत्रको प्रवर्द्धन, रोजगारी सृजना हाम्रा प्राथमिकता हुन् । यसमा सरकार सकारात्मक देखिन्छ । नीतिगत तहमा दृष्टिकोण परिवर्तन भएकाले सरकार–निजीक्षेत्र सहकार्य सजिलो भएको छ । जुनसुकै सरकार भए पनि सहकार्यमा औद्योगिक वातावरण निर्माण गर्ने हाम्रो प्रयास हुन्छ । अहिले निजीक्षेत्रका लागि मुख्य नीतिगत समस्या के हुन् ? यिनलाई समाधान गर्न परिसंघले के गरिरहेको छ ? ‘मेक इन नेपाल–स्वदेशी’ अभियान लिएर आइरहेका छौं । यो अभियानमा मुख्य दुई एजेण्डा रहेका छन् । पहिलो मुलुकमा उद्योग वृद्धिको वातावरण सृजना गर्ने हो भने दोस्रो नेपाली उत्पादनको प्रयोगका साथै निर्यात बढाउनु हो । औद्योगिक वातावरण तयारका लागि आवश्यक विषय, आयात प्रतिस्थापनका लागि गर्नुपर्ने काम, पूर्वाधारमा कसरी लगानी गर्दा कम लागतमा उत्पादन हुन सक्छ र सेवा उद्योगमा गर्नुपर्ने कामको विषयमा केन्द्रित भएर सो अभियान लिएर आएका छौं । विश्वमै उद्योगको इन्डेक्समा नेपाल ९४औं स्थानमा छ । रणनीतिक रूपमा काम गर्‍यौं भने औद्योगिकीकरणमा धेरै सफलता हासिल गर्न सक्छौं । आगामी तीन देखि चार वर्षमा उक्त इन्डेक्सको ७४औं स्थानमा आउने योजनासहित हामीले काम गरिरहेका छौं । अहिले करीब २० ओटा ऐनले उद्योगलाई समेटेकोमा सहज औद्योगिक रणनीति बनाउन आवश्यक छ । नयाँ उद्योगका लागि जग्गा उपलब्ध हुन नसक्नु मुख्य समस्याको रूपमा देखिएको छ । उद्योग स्थापनाका लागि जग्गाको सहज उपलब्धता हुन आवश्यक छ । जग्गा धेरै महँगो हुँदा उद्योगीहरू लगानीका लागि निरुत्साहित भएको पाइन्छ । यसमा पनि हामीले राज्यसँग मिलेर कुन ठाउँमा उद्योगका लागि कसरी जग्गा उपलब्ध गराउने, कस्ता पूर्वाधार बनाउने लगायत विषयमा काम गरिरहेका छौं । यस्तै अन्य नीतिगत समस्या समाधानका लागि श्रमिकसँग उद्योगीको सम्बन्धको विषय, राजस्व, सरकार–निजीक्षेत्र सहकार्य लगायत विषयमा काम गरिरहेका छौं । मेक इन नेपाल अभियान अन्तर्गत उद्योग क्षेत्रमा नयाँ रोजगारी सृजना, उद्योग स्थापना लगायत लक्ष्यमा के कति काम भइरहेका छन् ? कोभिड महामारीका कारण निर्धारित योजनामा कत्तिको प्रभाव परेको छ ? कोभिडले सबै क्षेत्र प्रभावित भएका छन्, जसको प्रभाव निजीक्षेत्रमा पनि पर्ने नै भयो । तत्काल मेक इन नेपालको लक्ष्य तत्काल प्राप्ति गरिहाल्ने भन्दा पनि आगामी ४ वर्षको योजना हो । पहिलो वर्ष लक्ष्यअनुसार काम हुन नसके पनि उक्त अवधिभित्र हामीे लक्ष्यमा पुग्नेगरी कार्यक्रम अघि बढाउँदै छौं । उद्योगी व्यवसायीलाई खोपका लागि तथा यसअघिको सरकारले गरेका सहमति/प्रतिबद्धता पूरा गराउन के कस्तो पहल गर्दै हुनुहुन्छ ? नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो, दोस्रो र तेस्रो प्राथमिकता पनि खोप भएको बताउनुभएको छ । नेपाली जनतालाई खोप लगाउनु सबभन्दा दिगो उपाय पनि हो, अरू उपाय पनि छैन । राम्रो वातावरण तयार भयो भने काम गर्ने वातावरण पनि बन्छ । अर्थतन्त्र चलायमान पनि बन्छ । सरकारले खोप ल्याइरहेकाले हामी सकारात्मक छौं । त्यसपछि पर्यटन, हस्पिटालिटी लगायत सबै उद्योगका लागि राम्रो प्याकेज ल्याउन आवश्यक छ । हामीले यसका लागि सरकारलाई सुझाव दिएका छौं । विज्ञहरूले कोरोनाको तेस्रो लहरको चेतावनी दिइरहेका छन् । उद्योगलाई प्रभावित हुन नदिई निर्बाध सञ्चालनका लागि पूर्वतयारी कसरी भइरहेको छ ? उद्योगको कुरा गर्दा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड पूरा गरेर उद्योगीले काम गरिरहेका छन् । दोस्रो लहरमा उद्योग सञ्चालनमा त्यति नराम्रो प्रभाव परेन । यही अनुसार हामीले आगामी तयारी पनि गरिराखेका छौं । उद्योगीका साथै औद्योगिक कर्मचारी/मजदूरलाई जतिसक्दो चाँडो खोप उपलब्ध गराउन हामीले पहल पनि गरिरहेका छौं । कोभिडले थलिएका उद्योग व्यवसाय पुनरुत्थानका लागि राज्यसँग तपाईंहरूका माग के के छन् ? पहिलो त उद्योगमा काम गरिरहेका सबैलाई खोपको माग  गरेका छौं । दोस्रो, मौद्रिक नीति निजीक्षेत्रमैत्री आउनुपर्छ भन्ने हाम्रो माग छ । त्यसअनुसार हामीले राष्ट्र बैंकलाई सुझाव पनि दिएका छौं । गत आर्थिक वर्षको मौद्रिक नीतिले निजीक्षेत्रलाई सबैभन्दा ठूलो राहतको व्यवस्था गरेको थियो । ब्याजदरमा कमी ल्याइयो, बैंक र ग्राहकका लागि चुनौती कम गर्न रिफाइनान्सको व्यवस्था, थप कर्जा लगायत विविध सहज व्यवस्था भएका थिए । यस वर्ष पनि मौद्रिक नीतिबाट हाम्रो ठूलो अपेक्षा छ । ठूलो लगानीका उद्योग, हस्पिटालिटी, पर्यटन लगायतका उद्योग पनि ठूलो मारमा रहेका छन् । साना तथा घरेलुसँगै ठूला लगानीका उद्योगलाई पनि राहत हुनेगरी मौद्रिक नीति ल्याउनुपर्छ भन्ने हाम्रो माग छ । अहिले सबैभन्दा बढी प्रभावित पर्यटन उद्योग हो । ठूलो संख्यामा लगानी रहेको, अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याएको, सबैभन्दा बढी रोजगारीको क्षेत्र भएको र आगामी सम्भावना पनि उत्तिकै भएको यो क्षेत्र कोभिडले थलिएको छ । पर्यटन उद्योगलाई प्राथमिकतामा राखेर समग्र उद्योग पुनःस्थापनाका लागि कोभिड लक्षित राहत प्याकेज ल्याउन हामीले सरकारलाई अनुरोध गरेका छौं । निर्यात प्रवर्द्धन गर्ने भनिए पनि हाम्रो अर्थतन्त्र आयातमुखी नै देखिन्छ । निर्यातमा पनि विदेशी कच्चापदार्थ ल्याएर प्रशोधन गरी पठाउने हिस्सा नै धेरै छ । कसरी आयात प्रतिस्थापन गर्न सकिन्छ ? नीति निर्माणको तहमा मुलुकको अर्थतन्त्र उद्योगमुखी हुनुपर्छ र आयात प्रतिस्थापन गर्नुपर्छ भन्ने चेतना आइरहेको पाएका छौं । हामीले मेक इन नेपाल अभियानमार्फत पनि यसका लागि लबिङ गरिराखेका छौं । उद्योगको वातावरण बन्न, नयाँ लगानी आउन र उद्योगीलाई अघि बढाउन प्रेरित गर्न केही समय लाग्छ । अहिले औद्योगिक वातावरण बनेको छ । महामारी नियन्त्रणमा निजीक्षेत्रको सक्रियता देखिएन भन्ने आरोप लाग्ने गरेको छ । यसमा के भन्नुहुन्छ ? महामारीको समयमा निषेधाज्ञा तथा लकडाउन हुँदा पनि मागअनुसारको आपूर्तिमा कुनै समस्या देखिएन, मूल्यवृद्धि भएन, कालोबजारी भएन । आयातमुखी अर्थतन्त्र भएको बजारमा पनि समयमा निजीक्षेत्रको सक्रिय भूमिकाका कारण अभावको वातावरण सृजना हुन पाएन । त्यसकारण महामारीका बेला सबैभन्दा सक्रिय भूमिका निजीक्षेत्रको रहेको छ । कतिपय कारणले निजी क्षेत्रप्रति अझै पनि आम दृष्टिकोण नकारात्मक रहेको देखिन्छ । यो दृष्टिकोणमा कसरी परिवर्तन ल्याउन सकिन्छ ? यो सबैभन्दा चुनौतीपूर्ण छ । निजीक्षेत्रले राजस्वमा ७० देखि ८० प्रतिशत योगदान दिएको छ । यस्तो योगदान हुँदाहुँदै पनि केहीले गरेको बदमासीका कारण समग्र निजीक्षेत्रलाई नै बदनाम गर्न खोजिन्छ । मुलुकको अर्थतन्त्रमा ठूलो जोखिमका साथ ठूलो लगानी गरेर आपूर्ति सहजता, पूँजी वृद्धि तथा रोजगारी सृजनामा निजीक्षेत्रले गरेको कामलाई कम आकलन गर्न मिल्दैन । केहीले बदमासी गरेका छन् भने पनि ९८ प्रतिशतले राम्रो गरेका छन् भने त्यो धेरै ठूलो उपलब्धि हो । त्यसैले केही व्यक्तिले गरेका नराम्रा कामका कारण सिंगो निजीक्षेत्रलाई नै बदनाम गर्नुहुँदैन । यसमा दृष्टिकोण बदल्न आवश्यक छ, जुन वातावरण सृजना गर्ने दायित्व निजीक्षेत्र, सरकार र अन्य सबैको हो ।