गत असार १ मा मेलम्ची नदीमा लेदोसहित आएको बाढीका कारण यस क्षेत्रमा पुल, सडक, झोलुङ्गे पुल, बसपार्कलगायतका धेरै पूर्वाधार क्षतिग्रस्त बनेका छन् । सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकारअन्तर्गतका विभिन्न संरचना क्षतिग्रस्त बनेका छन् । मेलम्ची नगरपालिका–११ स्थित चन्द्र शम्शेरको समयमा बनेको पुल बाढीले बगाएको छ । विसं १८८६ मा बनेको सो पुल अहिले बगाएको हो । सङ्घीय सडकअन्तर्गत सिपाघाट नजिकै पहिरोका कारण सडक क्षतिग्रस्त बनेको छ । झण्डै १५० मिटर सडकमा तलबाट नदीले र माथिबाट पहिरोले असर पु¥याएको देख्न सकिन्छ ।
त्यसलाई मर्मत गरिने र पहिरो नियन्त्रण गरिने सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि सडक सुचारु छ पहिरो हटाएर मर्मत गरेपछि ठूलो समस्या छैन ।” मेलम्ची–११ मा रहेको मेलम्ची बजारदेखि नवलपुर चौतारा र पाँचपोखरी थानपाल जोड्ने पक्की पुल पूर्णरुपमा क्षति भएको छ । यो पुल छोटो समयमा नै निर्माण गर्न सकिने देखिएको महानिर्देशक थापाले बताउनुभयो । उहाँका अनुसार पुलको जग नबिग्रिएकाले र पिलरमा क्षति नदेखिएकाले छोटो समयमा बनाउन सकिने देखिएको छ । पुलको बीचको भाग मात्र भत्काएर लगेको पाइएको छ । सो पुल आठ नौ महिनामा निर्माण गर्न सकिने देखिएको छ । उहाँले भन्नुभयो, “त्योभन्दा अघि तत्कालका लागि झोलुङ्गे पुल वा अरु अस्थायी क्रसिङ सकिन्छ ।”