काठमाडौं । यो महीनाको शुरुमा टर्कीको दक्षिण पूर्वी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको दुई ओटा भूकम्पमा ३४ अर्ब डलरभन्दा धेरै क्षति भएको अनुमान गरिएको छ । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले आफ्नो प्रारम्भिक अनुमानमा यस्तो बताएको हो ।
भूकम्पबाट ३४ अर्ब २० करोड डलर क्षति भएको अनुमान गरिएको छ । यो टर्कीको कुल गार्हस्थ्य उत्पादनको झन्डै ४ प्रतिशत हाराहारी हो । यो आकलनसँगै बैंकले २०२३ को लागि टर्कीको वृद्धि प्रक्षेपण आधा प्रतिशत अंकले घटाएको छ । बैंकले यसअघि यस वर्ष टर्कीको अर्थतन्त्र साढे ३ प्रतिशतदेखि ४ प्रतिशतबीचमा बढ्ने बताएको थियो ।
टर्की भूकम्पको क्षतिको प्रभावबारे फरकफरक अनुमान आएका छन् । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्ग इकोनोमिक्सको हिसाबले भूकम्पको क्षतिका कारण यो वर्ष जीडीपी वृद्धिदरको १ प्रतिशत गुम्ने बताएको थियो । जेपी मोर्गन चेज एन्ड कम्पनीले एउटा प्रतिवेदनमा भूकम्पको भौतिक संरचनामा २५ अर्ब डलर बराबर क्षति भएको हुन सक्ने बताएको थियो ।
यो त्यहाँको जीडीपीको साढे २ प्रतिशत भएको बताइएको थियो । कूलमध्ये आधा क्षति आवासीय भवनमा पुगेको विश्व बैंकको भनाइ छ । उक्त भूकम्प र त्यसपछिको शक्तिशाली पराकम्पमा परेर टर्की र सिरियामा ५० हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।
विश्व बैंकले टर्कीलाई राहत र पुनःबहालीको कामका लागि १ अर्ब ७८ करोड डलर सहायता दिने घोषणा गरेको छ । दुई ओटा विद्यमान परियोजनामार्फत बैंकले तत्कालीन सहायताअन्तर्गत ७८ करोड डलर दिएको छ । सोमवार मात्रै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले राहतका प्रयासहरूमा त्रुटि भएको स्वीकार गरेका थिए । एजेन्सी