काठमाडौं । गत आर्थिक वर्ष ०७९/८० मा शिवम् सिमेन्टको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको जानकारी अनुसार कम्पनीको एक आर्थिक वर्षभित्र २० अर्ब ४४ करोड रूपैयाँभन्दा बढीको ३ करोड ५२ लाख ८० हजार कित्ता शेयर कारोबार भएको हो ।
यस वर्ष कम्पनीको शेयर कारोबार २३६ दिन भएको जानकारी समेत नेप्सेले दिएको छ । अघिल्लो आर्थिक वर्ष ०७८/७९ को तुलनामा कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता १०८ रूपैयाँ ५० पैसाले घटेको । आर्थिक वर्ष ०७८/७९ को अन्त्यसम्म प्रतिकित्ता ७६० रूपैयाँ रहेको कम्पनीको शेयरमूल्य आर्थिक वर्ष ०७९/८० सम्म भने प्रतिकित्ता ६५१ रूपैयाँ ५० पैसा कायम भएको हो । पछिल्लो कारोबार दिन भदौ २७ गते भने कम्पनीको अन्तिम शेयरमूल्य ५२३ रूपैयाँ ९० पैसा कायम भएको छ ।
गत आर्थिक वर्षको अन्तिम कारोबार दिन २ हजार ९७ दशमलव शून्य ९ विन्दुमा रहेको नेप्से परिसूचक पछिल्लो कारोबार दिन भने २ हजार ७ दशमलव शून्य ६ विन्दुमा रहेको छ । बजार घटेसँगै कम्पनीको शेयरमूल्यमा पनि कमि भएको हो । भदौ २७ गतेको कारोबारमा भने कम्पनीको शेयरमूल्य प्रतिकित्ता २३ रूपैयाँ ९० पैसाले बढेको हो ।
उत्पादन तथा प्रशोधन समूह अन्तर्गत धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीको शेयर खरीदप्रति लगानीकर्ताका आकर्षण बढीनै रहेको देखिन्छ । लाभांश वितरणमा नगद लाभांशमा मात्र जोड दिर्दै आएको कम्पनीको विगत पाँच आर्थिक वर्षको लाभांश इतिहासलाई हेर्दा अधिकतम २९ प्रतिशतसम्म नगद लाभांश दिएको देखिन्छ । कम्पनीले २०७४/७५ सालदेखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । पहिलो वर्ष कर समेत १५ दशमलव ७८ प्रतिशत नगद लाभांश दिएको कम्पनीले दोस्रो बर्ष पनि १५ दशमलव ७८ प्रतिशतनै नगद लाभांश वितरण गरेको थियो ।
तेस्रो वर्ष कर समेत २४ दशमलव २१ प्रतिशत र चौथो वर्ष हालसम्मकै सर्वाधिक २९ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको हो । पाँचौ आर्थिक वर्षमा भने कम्पनीले हालसम्मकै कम १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको हो । यस वर्षको लाभांश कम्पनीले घोषणा गर्न बाँकी छ । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोड रूपैयाँ रहेको छ ।
गत चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यस कम्पनीले ३० करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । सो अवधिसम्म कम्पनीको शेयर प्रिमियममा ९५ करोड ६२ लाख रूपैयाँभन्दा बढी र अन्य जगेडा कोषमा ३ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी रहेको छ ।