काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्तालाई मनकामना दरौदी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको शेयर खरीद नगर्न अनुरोध गरेको छ ।
कम्पनीले स्वीकृति नलिई सर्वसाधारणलाई शेयर विक्री खुला गरेपछि नियामक निकाय सेबोनले सूचना जारी गर्दै उक्त कम्पनीको शेयर खरीद नगर्न अनुरोध गरेको हो ।
कम्पनीले यही जेठ २४ गते कम्पनीले एक सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई शेयर खरीद गर्नका लागि आह्वान गरेको थियो ।
नियामकीय प्रावधान अनुसार शेयर जारी गर्नुअघि बोर्डबाट स्वीकृति लिनु पर्छ । एक पटकमा ५० भन्दा बढी व्यक्तिलाई शेयर विक्री गर्ने भएमा नियामकको स्वीकृति आवश्यक पर्छ ।
स्वीकृतिबिना नेपालमा शेयर निष्कासन तथा विक्री गर्नु गैरकानुनी हुने बोर्डले जनाएको छ ।
कम्पनीले कम्तिमा ५०० कित्ता शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिन भनेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ५०० कित्ता शेयर विक्रीमा राखेको हो ।
कम्पनीले गोरखाको दरौदी नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना ९.८४ मेगावाट क्षमताको छ ।
आयोजनाको चुक्ता पूँजी वृद्धिका लागि कम्पनीले शेयर विक्रीमा राखेको सूचनामा उल्लेख गरेको छ ।