आखिर, कहिल्यै नहुनुभन्दा त ढिलै भए पनि बेस । संवैधानिक राष्ट्रपतिमार्फतै सही, मुलुकले खोप कूटनीतिलाई अलि तीव्र बनाएको छनक मिलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले टेलिफोन गरी खोप उपलब्ध गराउन आग्रह गरेपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख खोप अनुदानमा दिने घोषणा गरेका छन् । खोप अभावमा ‘तिर्खाएको काकाकुल’ जस्तो भइसकेको मुलुकका निम्ति यो सहयोग आफैंमा सराहनीय छ ।