भदौ २३, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल ब्यालेन्सड् फण्ड - ३ ले शुक्रवारदेखि १० करोड इकाई विक्री खुला गर्ने भएको छ ।
फण्डले प्रतिइकाई रू. १० का दरले रू. १ अर्ब बराबरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो । निष्कासन गरिने इकाईमध्ये कुल विक्री भएको इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई मध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकलाई सुरक्षित गरेको छ ।
त्यसैगरी, १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङलाई सुरक्षित गरेको र बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । आवेदकले भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सो अवधिमा सम्पूर्ण इकाई विक्री नभएमा असोज ८ गतेसम्म आवेदन गर्न पाउनेछन् । आवेदकले न्यूनतम १०० इकाईको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १ करोड इकाईको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
यो एक बन्दमुखी योजना हो । १० वर्ष अवधिको यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।