भदौ १५, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले भदौ २५ गतेदेखि नबिल ब्यालेन्सड् फण्ड ३ निष्कासन गर्ने भएको छ ।
नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो ।
निष्कासन गरिने इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाईमध्ये कोष प्रवर्द्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सुरक्षित गरिएको छ ।
बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
योजनाको इकाईमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएमा असोज ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
उक्त इकाईमा आवेदकले धितोपत्र बोर्डबाट आस्बा सोवा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो । योजनाले इकाई निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट साउन २९ गते स्वीकृति पाएको हो ।