जेठ ३०, सन फ्रान्सिस्को (अमेरिका) अमेरिकी खर्बपति व्यापारी जेफ बेजोसको अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिन कम्पनीले बनाएको पहिलो अन्तरिक्ष रकेटमा बेजोससँगै यात्रामा जान एक टिकटमा अज्ञात बोलकबोलकर्ताले २ लाख ८० हजार डलर तिरेका छन् ।
गत हप्ता बेजोसले आफू र आफ्नो भाई मार्क कम्पनीले बनाएको न्यु सेफर्ड स्पेस रकेट चढेर जुलाई २० मा अन्तरिक्षमा जाने अनि फर्किहाल्ने बताएका थिए ।
उक्त यात्रामा बेजोस दाजुभाईलाई शनिवार भएको च्यारिटी लिलामी बढाबढका विजेताले पनि साथ दिने बताइएको थियो । ती विजेताको नाम भने अहिलेसम्म गोप्य छ ।
लिलामी पूरै सकिएपछि विजेताको नाम आगामी हप्ता खुलाइने ब्लु ओरिजिनले एक ट्विटमा भनेको छ । त्यसपछि मात्रै यात्रामा जाने चौथो अनि अन्तिम क्रु मेम्बरको नाम सार्वजनिक गरिने बताइएको छ ।
उक्त स्वचालित फ्लाइटमा ६ जना यात्रु हुने बताइएको छ । पाँचौं र छैठौं यात्रुको नाम पनि खुलाइएको छैन । शनिवार भएको लिलामीमा २० जनाले उक्त टिकटका लागि बोलकबोल लगाएका थिए ।
४८ लाख डलरबाट शुरू भएको बोलकबोल १० मिनेट नबित्दै २ करोड ८० लाख पुगेको थियो । यसअघि ११ मिनेटको सो यात्राको उक्त टिकट किन्न विश्वका १५९ देशबाट ७ हजार ६०० मानिसले फारम भरेका थिए ।
लिलामीबाट आएको पैसा ब्लु ओर्जिनले कम्पनीको फाउन्डेसन क्लब फर द फ्युचरका लागि दिने घोषणा गरेको छ ।बेजोसले अहिले ब्लु ओर्जिनमा वार्षिक करीब १ अर्ब डलर खर्च गरिरहेका छन् । उनले जुलाई ५ मा अमेजनको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिंदै छन् । एजेन्सी