माघ १३, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि माघ २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
बुक क्लोजको आधारमा माघ २० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरेको छैन ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले माघ ६ गते कम्पनीलाई हकप्रद शेयर निष्कासनको अनुमति दिइसकेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बाँकी तयारी पूरा गरी जतिसक्दो छिटो कम्पनीको हकप्रद शेयर निष्कासनको मिति तय गरिने जानकारी दिएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोड ८५ लाख २४ हजारको आधारमा १० बराबर ३ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो । सो अनुपातको आधारमा कम्पनीले रू. ५२ करोड ७५ लाख ५७ हजार २०० बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गर्नेछ ।
२०६१ साल कात्तिक २६ गतेदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले दोस्रो पटक हकप्रद शेयर विक्री गर्न लागेको हो । यसअघि २०७६ साल चैतमा पनि कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।
सो अवधिमा कायम चुक्तापूँजी रू. १ अर्ब ५ करोड ७३ लाख १० हजारको आधारमा कम्पनीले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर विक्री गरेको थियो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म यस कम्पनीले रू. १३ करोड ३६ लाखभन्दा बढी खुद नाफा गरेको छ । सो अवधिमा कम्पनीले रू. १ अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको थियो भने रू. ४७ करोड २७ लाखभन्दा बढी दाबी भुक्तानी गरेको थियो ।
दोस्रो त्रैमाससम्मको वित्तीय विवरण हालसम्म सार्वजनिक नगरेको कम्पनीको पहिलो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू. ३० दशमलव ४० र प्रतिशेयर नेटवर्थ रू. २२६ दशमलव ७६ रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ९३६ रहेको छ ।
बुधवार भने कम्पनीको शेयरमूल्य मंगलवारको भन्दा प्रतिकित्ता रू. ३७ दशमलव ८० ले घटेको हो । यस दिन कम्पनीको रू. ७ करोड ८१ लाख ४५ हजार बराबरको ४० हजार ३११ कित्ता शेयर कारोबार भएको छ ।