जेठ ३०, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी र एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न जेठ २५ गते र र एक्सेल डेभलपमेण्ट बैंकले पनि ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न जेठ २७ गते निवेदन दिएका हुन् । शिखर इन्स्योरेन्स कम्पनीले ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्न निवेदन दिएको हो ।
त्यसैगरी एक्सेल डेभलपमेण्ट बैंकले २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्न निवेदन दिएको हो ।ती दुबै कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल लिमिटेड रहेको छ ।
शिखर इन्स्योरेन्सले आव २०७६/ ७७ को २७ दशमलव ७६ प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराइसकेको छ ।इक्रा नेपालले कम्पनीको हकप्रद शेयरलाई इक्रा एपी आर ए रेटिङ प्रदान गरेको छ ।यस्तो रेटिङले कमपनीले समयमा आफ्नो दायित्व पुरा गर्न सक्ने जनाउँछ । कम्पनीको क्रेडिट रिस्क कम रहेको उल्लेख गरेको छ ।
कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पनि पारित गरिसेकको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । ३० प्रतिशत हकप्रद शेयर निष्कासन पछि पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ ।
त्यसैगरी एक्सेल डेभलपमेण्ट बैंकको चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजार रहेको छ ।३० प्रतिशत हकप्रद शेयर निष्कासनपछि पूँजी रू. १ अर्ब ५ करोड ४४ लाखभन्दा बढी पुग्नेछ । ती दुबै कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछन् ।