जेठ ४, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले विक्री गरेकोे अवितरित हकप्रद शेयरमा प्राप्त गोप्य शिलबन्दी बोलपत्र जेठ ५ गते खोलिने भएको छ ।
विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा बिहान १० बजे बोलपत्र खोलिने कार्यक्रम तय भएको हो ।
कम्पनीले वैशाख १९ गतेदेखि वैशाख २७ गतेसम्म ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर विक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र माग गरेको थियो ।
कम्पनीले यस अघि चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गरेको हो । यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म खरीद माग गर्न सकिने व्यवस्था थियो ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोडको आधारमा १:०.३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गरेको हो । अवितरित बाँकी हकप्रद शेयर विक्री तथा बाँडफाँट पश्चात यो पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ ।