बैंक वित्तीय संस्थाका सीईओको तलब कति ?

हालै वर्तमान सरकारका पर्यटन तथा संस्कृति मन्त्रीले नेपाल वायुसेवा निगमका प्रमुख कार्यकारी अधिकृतको तलबबारे खुलासा गरेको समाचार टेलिभिजनबाट सुन्न र हेर्न पाइएपछि यो पंक्तिकारलाई एउटा कुराले झस्कायो । त्यो के हो भने एनएसीका हालका सीईओले मासिक १ लाख मात्र तलब खाँदा रहेछन्, त्यो पनि पूर्ववर्तीहरूले खाँदै गरेको ४ लाखलाई कम गरेर वर्तमान मन्त्रीकै पहलमा मासिक १ लाख गरिएको खुलासा पनि सुन्न पाइयो । कुनै पनि सीईओ वा कर्मचारीहरूको सेवा र सुविधाका बारेमा बोल्ने र निर्णय गर्ने भनेको तिनका सञ्चालक समितिले नै हो । अब त्यसबारेमा केकेलाई आधार मान्ने भन्ने कुरा पनि तिनकै वासलात, वित्तीय अबस्था र लिइने रणनीतिमाथि नै निर्भर रहने कुरा हो । यो राम्रै कुराको थालनी हो भन्नुपर्छ यदि सीईओको तलब भत्ता नै संस्थाको दिगोपनाका लागि कुनै कारक रहेको छ भन्ने हो भने र संस्थागत सुशासनका लागिको हो भने । तर, यसखाले प्रयत्नको स्थायित्व कत्तिको हुन्छ भन्ने कुराले पनि उत्तिकै महत्ता राख्छ । चर्चाका लागि मात्र हो भने कुनै अमुक व्यक्तिको आगमन र बहिर्गमनसितै त्यस्ता कुराहरू सेलाउँछन् । मूल कुरा नीति र त्यसको स्थायित्वचाहिँ प्रमुख हो । म वायुसेवा क्षेत्रको विज्ञ नभएकाले त्यहाँको तलबभत्ताबारे यो नै उपयुक्त हो वा होइन भन्ने विषयमा दक्षता राख्न सक्तिन । मात्र के भने यस समाचारले मलाई बैंक तथा वित्तीय क्षेत्रका सीईओहरूको तलबभत्ताबारे केही लेख्न प्रेरितले गर्‍यो । एनएसीका सीईओका तुलनामा नेपालका बैंक तथा वित्तीय संस्थाका सीईओहरूको तलबभत्ता कतिपयका लागि भने निकै आश्चर्यलाग्दो कुरा पनि होला । सरकारी क्षेत्रका बैंकहरूबाहेकका कतिपय बैंकका सीईओहरूको तलबभत्ता एनएसीका तुलनामा १५/१६ गुणाले बढी देखिन्छ । अर्थात् मासिक १५ लाखभन्दा पनि बढी खानेहरू छन् । त्यो कुरा बैंकको वार्षिक प्रतिवेदनहरूमा पनि आएकै हुन्छन् । कुनै कुनै विदेशी लगानी रहेका बैंकहरूका सीईओ विदेशी लगानीकर्ताकै पक्षबाट आएका हुन्छन्, तिनको तलबभत्ता र सुविधाहरू उतैबाट निर्धारित हुँदा यहाँको सञ्चालक समितिले त्यसको समर्थन गर्नुबाहेक आर्को विकल्प हुँदैन । त्यसरी आउने सीईओहरूलाई त त्योबाहेक अन्य सुविधाहरू पनि उतैबाट निर्धारण भई आउने गर्छन् । यसमा कर सुविधा, आवासलगायत पारिवारका आश्रित खर्चहरूसमेत देखिन्छन्, जसमा उल्लेख्य रकम खर्चिनुपर्ने हुन्छ । एकताका नेपाली बैंकका सीईओहरूको तलबभत्ताले निकै चर्चा पनि कमाएको हो । त्यसैका कारण केन्द्रीय बैंकले केही नियमन पनि ल्याएको हो । अहिले पनि तल्लोस्तरको कर्मचारी र उपल्लो तहको कर्मचारीको अन्तर कुनै निश्चित सीमाभन्दा बढी हुनु हुँदैन भन्ने नियमन भए पनि विदेशी बैंकका सीईओहरूको हकमा त्यसले काम गरेको पाइन्न । यसैगरी सीईओ भनेका केही थोरै काल (४ वर्षदेखि पुनः नियुक्ति गरिएमा अर्को ४ वर्ष गरी बढीमा ४ वर्षका लागि मात्र) का लागि नियुक्ति हुने पद भएकाले तिनका तलबभत्तामा अन्य कर्मचारीसरहको लगाम हुनु हुँदैन भन्ने तर्क पनि प्रबल रहेको छ । यसैगरी सीईओको जिम्मेवारी र उसले दिने जोखिमका कारण पनि उसका सुविधाहरू विशेष खाले हुनु कुनै आश्चर्य मान्नु हुँदैन भन्ने तर्क पनि स्वाभाविक छ । बैंकको व्यवस्थापनको टिम लिडर र बैंकको रणनीतिक प्रयोगका लागि उसलाई दिइएको जिम्मेदारी निर्वाहका हिसाबले कुनै बैंकका सिईओले मासीक पन्द्रह बीस लाख तलब खानुलाई कुनै आश्चर्य मान्नु हुँदैन, मानिँदैन भन्ने विचार पनि उत्तिकै प्रबल रहेको देखिन्छ । वार्षिक १ अर्बभन्दा बढीको खुद मुनाफा गर्ने बैंकका सीईओले वर्षको डेढ करोड तलबभत्ता बुभ्mछ भने त्यसलाई ठूलो आश्चर्य मान्नु हुँदैन भन्ने वित्तीय क्षेत्रका विज्ञहरूको मत छ, जुन अन्यथा होइन पनि । त्यसैले सीईओको तलब यति नै हुनुपर्छ भन्ने कुराले भन्दा पनि सम्बद्ध संस्थाको वित्तीय सबलता र त्यसको जोखिमी जिम्मेवारीमा पनि भर पर्ने कुरा हो । थोरै तलब लिएर कुनै जोखिमै नलिने हो भने सीईओको पदीय दक्षतामाथि पनि प्रश्न उठ्छ । त्यसो त कतिचाहिँ तलब आदर्शको तलब हुन्छ भन्ने आधार कोहीसित पनि हुँदैन । यसैले कुनै पनि सीईओ वा कर्मचारीहरूको सेवासुविधाबारे बोल्ने र निर्णय गर्ने भनेको तिनका सञ्चालक समितिले नै हो । अब त्यसबारेमा केके लाई आधार मान्ने भन्ने कुरा पनि तिनकै वासलात, वित्तीय अबस्था र लिइने रणनीतिमाथि नै निर्भर रहने कुरा हो । अहिले नेपली वित्तीय संस्थाहरूले सीईओलाई मासिक १०/१५ लाख तिर्ने क्षमता राखेका छन्, वित्तीय क्षेत्रमा त्यसलाई नराम्रो भनिहाल्न नमिल्ला । यत्ति हो, सीईओले १५ लाख खाइरहँदा तिनकै सहायकस्तरका कर्मचारीले मासिक १५ हजार पनि नपाउनुचाहिँ विकृति हुन्छ । त्यहाँनेर नै हो, नियमनको आवश्यक पर्ने भन्ने कुरा । लघुवित्तीय बैंकहरूले समेत अहिले सीईओलाई मासिक लाखभन्दा बढी नै तलब दिएका छन् । ती संस्थामा लगानीकर्ताको पनि राम्रै भरोसा नभएको भए सम्भवतः अहिले पूँजीबजारमा तिनका शेयरमाथि यति धेरै मागको चाप हुन्थेन कि ? यसलाई राम्रै मान्नुपर्छ । कुनैबेला (एक दशकअघि) तिनै सीईओलाई मासिक ५० हजार तलब तोकिँदा धेरै भन्नुपर्ने अवस्था पनि थियो । अहिले पनि नेपाली बैंक तथा वित्तीय क्षेत्रमा सीईओहरूको तलब धेरै भयो र तिनका संस्थाका कर्मचारीहरूको भने तलबमा धेरै असमान भयो भन्ने कुराहरू नआएका होइनन् । यो कुरामा सत्यता छैन भन्न मिल्दैन । कोरोनाकालीन समयले बैंकहरूको नाफामा केही धक्का लागे पनि र अतिरिक्त प्रोभिजनिङका कारण बैंकहरूको त्यस्तो मुनाफामा कमी आए पनि बैंक वित्तीय संस्थाहरू घाटामै चाहिँ गएनन् । लाभांश केही कम बाँडे, तर कोषमा असर परेन । नगद लाभांशमा केही कडाइ गरिए पनि बोनसका माध्यमले बैंकको पूँजी झनै सबल बनाइएको छ । यसका कारण प्रतिफलमा तत्काल कमी आए पनि तिनले राम्रै भविष्यको जोगाड भने गरेको मान्नुपर्छ । हाल बजारमा तरलताको अभाव (संकटचाहिँ होइन) अहिलेकै कारण (हठात्) मात्रले आएको होइन, त्यो विगतमा बैंकहरूकै निक्षेप परिचालनका गलत नीतिको परिणाम हो । अहिले साढे १० प्रतिशतको ब्याज दरमा पनि बैंकमा निक्षेप किन आउन सकेको छैन भन्ने कुरामा अन्य धेरै कारणमध्ये वैंकहरूकै विगतको निक्षेप परिचालनका गलत नीति पनि उत्तिकै जिम्मेवार देखिन्छ । सीईओहरूलाई कतै धेरै तलब र कतै थोरै तलबको तुलना गर्दा भने यस कुरालाई भने खासै महत्त्व दिएको पाइएन । न थोरै तलबले मात्र संस्था उँभो लाग्ने हुन्छ न त धेरै तलब दिँदा मात्र संस्थाको कायापलटै हुन्छ । मूल कुरो संस्थामा हुने विचलन र विकृतिलाई रोकेर संस्थालाई दिगो गति दिने कुरामा जिम्मेवार र उत्तरदायी बनाउने गरी कुनै पनि सीईओको तलबभत्ता निर्धारण हुने कुराको चैतन्य भने नेपालमा अझै विकसित भएको देखिएन । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

सम्बन्धित सामग्री

मीटरब्याजमा विद्यमान विवादको आन्तर्य

मीटरब्याजीमाथि कडा कारबाही गर्नुपर्ने भन्दै काठमाडौं आइपुगेको एउटा पीडित समूह वार्ता गरेर घर फर्किएको छ भने अर्को समूह फेरि काठमाडौं आइपुगेको छ । सरकार मीटरब्याजबारे अथ्र्याउन नसकेर अलमलमा परेको जस्तो देखिन्छ । मीटरब्याज आर्थिक अपराध नियन्त्रण सिफारिश कार्यदलले चाहिँ मीटरब्याजलाई आर्थिक अपराध भनेर विश्लेषण गर्न खोजेको छ । एकाथरीले गाउँमा चर्को ब्याजमा ऋण दिनेहरूलाई मीटरब्याजी मान्ने गरेका छन् तर यसको विवाद ब्याजभन्दा पनि जालसाझीको कारोबार हो । माइतीघर तथा वीर अस्पताल क्षेत्रमा पीडितहरू नुन चिउरा खाएर विरोध प्रदर्शनमा छन् । केहीको खुट्टामा सामान्य चप्पल पनि छैन । उनीहरूको माग नै मीटरब्याजीलाई कारबाही, मीटरब्याजविरुद्ध कानून निर्माण, तमसुक व्यवस्था खारेज, झूटा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर्नुपर्ने छ । उनीहरूका यस्ता माग अनुपयुक्त पनि छैनन् । ब्याज र साँवा तिर्न उनीहरूले भएको बाँकी जग्गाजमीन बेचेका छन् । पीडकहरूले पीडितसँग मीटरब्याज पैसा मात्रै असुलेका छैनन्, उल्टै जग्गा पनि हड्पेका छन् । सबै ऋण चुक्ता गर्दा पनि उनीहरूको दृष्टिबन्धक फुकुवा भएको छैन । मानौं, कुनै किसानले एउटा बैंकबाट ३० हजार रुपैयाँ ऋण लिएको थियो । पाँच वर्षमा १० लाख रुपैयाँ पुगेछ । ३० हजार साँवाको १० लाख लिनु मीटरब्याज हो कि होइन ? यसको स्पष्ट व्याख्या कसैले गरेको देखिँदैन । मासिक रूपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि विवाद बढेर ठगी मुद्दाका रूपमा प्रहरी तथा अदालत पुग्ने गरेको छ । अहिलेसम्म यससम्बन्धी जति पनि मुद्दा दायर भएका छन्, त्यसमा अदालतले पनि मीटरब्याजीबारे स्पष्ट व्याख्या नभएकैले गर्दा दोषीलाई ठगी तथा अपराधी विश्वासघात मुद्दामा पुर्पक्षमा पठाउने गरेको छ । निरक्षर, गरीब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनदेनभन्दा बढीको तमसुक कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुश्चक्रमा फसाइ विभिन्न ढङ्गले शोषण गर्ने कार्य निश्चय पनि आर्थिक अपराध हो । सरसर्ती हेर्दा मीटरब्याजको कारोबारमा तीनओटा समूहको संलग्नता रहेको देखिन्छ । जस्तो पहिलो समूहले बढी ब्याजको लोभमा आफूसँग भएको पैसा दोस्रो समूहमा पर्ने मध्यस्थकर्ताको काम गर्नेलाई दिन्छन् । दोस्रो पक्षले पनि पहिलो पक्षबाट लिएको भन्दा बढी ब्याजदरमा तेस्रो पक्षलाई ऋण दिन्छन् । मध्यस्थकर्ताको भूमिका खेल्ने व्यक्ति सीमित छन् । पहिलो पक्ष लगानी डुबेर र तेस्रो पक्ष बढी ब्याजदरको ऋण लिँदा ठगिएर पीडित भएका छन् । मासिक २ देखि ५ प्रतिशत ब्याजदरमा सापटीका रूपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भूमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रिम २० प्रतिशत रकम कटौती गरेर दिने र हरेक महीना पूरै साँवा रकमको १० देखि २३ प्रतिशतसम्म ब्याज असुली गर्ने गरिन्छ । बैंक, वित्तीय संस्था र सहकारी संस्थाले भन्दा बढी ब्याज दिने तथा पाउने प्रलोभनमा पैसा भएका तर आर्थिक कारोबारसम्बन्धी ज्ञान नभएका मानिसहरू फस्नु स्वाभाविक नै हो । सामान्य मजदूरदेखि सम्पन्न व्यक्ति पनि यस्तो कारोबारमा छन् । विदेशबाट आएको विप्रेषण, घरजग्गा धितो राखेर मीटरब्याजमा लगाउने पनि छन् । ढुकुटी खेल्ने व्यक्तिहरू पनि यसमा संलग्न छन् । यस्तो अवैध कारोबारको नेतृत्व गर्ने र ठगिनेमा पुरुषभन्दा बढी महिला देखिएका छन् । यतिमात्र नभई वैदेशिक रोजगारीमा गएका, घरजग्गा कारोबारी र व्यापारीले पनि मीटरब्याजमा ऋण लिने र दिने गरेको पाइन्छ । बढी ब्याज पाउने लोभमा मीटरब्याजमा लगानी गर्दा बैंक, वित्तीय संस्था र सहकारी संस्थाको निक्षेप संकलनमा असर परिरहेको छ । यसैगरी कर्जा लिएर मीटरब्याजमा लगाएका व्यक्तिहरूले समयमै ब्याज र किस्ता तिर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रको खराब कर्जा बढेको छ । विविध कारणले गर्दा अहिले कर्जा असुली गर्न गाह्रो छ । नेपालमा अभ्यासरत संघीयता व्यावहारिक रूपमा कार्यान्वयनमा आएको भए पीडितहरू पैदल हिँडेर काठमाडौं आउनुपर्ने थिएन । जबसम्म संघीयता सबै अधिकार दिने खालको हुँदैन तबसम्म संघीयतामार्फत दिने भनिएको न्याय पनि आम जनताको निम्ति हुँदैन, हुनै सक्दैन । नीति नै नभएपछि त पहुँचको सवाल त पछिको कुरा भयो । हाम्रो नीति नै न्यायतिर फर्कन नसक्ने खालको छ । सरकारद्वारा गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित उच्चस्तरीय आयोगले यी सबै समस्याको समाधान दिन अब ढिला नगरीकन काम गर्नुपर्छ । जनकपुरधाम मुकाम हुने गरी यो आयोगले त्यहीँबाट वस्तुस्थितिको सूक्ष्म अनुगमन तथा विश्लेषण गरी काम शुरू गर्नुपर्छ । यो समस्यालाई स्थायी रूपमा हल गर्न सरकारले आयोग गठन गरेर मात्र हुँदैन तत्काल यससम्बन्धी कानून संसद्बाटै पारित गराउनुपर्छ । सरकारले दोषीलाई कारबाहीको दायरामा ल्याउने वातावरण बनाउनुपर्छ । पीडकहरूलाई यो या त्यो बहानामा उम्कन दिन हुँदैन । कति ब्याज लियो भने मीटरब्याज हुन्छ भन्ने कुराको स्पष्ट व्याख्या भएको भए आज उनीहरू न्यायका लागि संघीय राजधानी पटकपटक हिँडेर आउनुपर्ने थिएन । यद्यपि ऐनअनुसार १० प्रतिशतभन्दा बढी ब्याज लिन पाइँदैन । त्यसैले कानूनी छिद्र प्रयोग गरेर मीटरब्याजको कारोबार भइरहेको देखिएकाले त्यसलाई रोक्नुपर्छ । यस्ता आर्थिक अपराधहरू रोक्न भएका कानूनको सही पालना गर्नुपर्छ । अर्को यसका छिद्र प्रयोग गरेर दुरुपयोग भएको छ भने त्यसमा सुधार गर्नु पनि पर्छ । मीटरब्याजलाई सम्बोधन गर्ने स्पष्ट कानून निर्माण भयो भने बारम्बार यस्ता गुनासो संघीय राजधानीले सुन्नुपर्ने छैन । रहरले कसैले पनि आँसु चुहाउँदैन भन्ने कुरालाई सरकारले बुझ्न आवश्यक छ । समस्याको वस्तुस्थिति राम्ररी विश्लेषण गरी उनीहरूको समस्या स्थायी रूपमा समाधान गर्नु आवश्यक छ । यसलाई राजनीतिक मुद्दा बनाइनु हुँदैन ।

आप्रवासी कामदार पुन:एकीकरण कार्यक्रम : पुन:एकीकरण निर्देशिकाका कमीकमजोरी

२१ लाखभन्दा बढी नेपाली कामदार विदेशमा रहेको भए पनि कति कामदार फर्किए र फर्किएका कति कामदार विदेश गए भन्ने तथ्याङ्क नेपालसँग छैन । कोभिड–१९ को परिस्थितिमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको २०७८ भदौ ३० सम्मको तथ्याङ्कअनुसार कोभिड–१९ का कारण असहज परिस्थितिमा विदेशमा अलपत्र ५ लाख ७२ हजार ५७१ नेपाली नागरिक स्वदेश फर्किएका थिए । वैदेशिक रोजगार ऐन, २०६४ ले विदेशबाट फर्केका कामदारको पुन:एकीकरणबारे व्यवस्था गरे पनि कोभिड–१९ का कारण ठूलो संख्यामा कामदार उत्पत्तिको मुलुक फर्किएकाले पुन:एकीकरणको मुद्दा प्रबल भएको हो । स्वदेशमा नै विदेशी आप्रवासी कामदारको स्थानमा समायोजन, पुन:रोजगारी तथा कामदारको लगानीको सुनिश्चितता, संगठनको अधिकार र उनीहरूको नीति निर्माणमा पृष्ठपोषणजस्ता पक्षलाई निर्देशिकाले राम्ररी सम्बोधन गर्न सकेको छैन । नेपाल सरकारले बहुप्रतीक्षित वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुन: एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिकामा २०७९ जारी गरी पुन:एकीकरणको बहस अघि बढाए पनि निर्देशिकाको व्यवस्था हेर्दा यसले पुन: एकीकरणको मागलाई सम्बोधन गर्न सक्ने अवस्था छैन । पुन:एकीकरण निर्देशिकाले समेट्ने कार्यक्रमहरू निर्देशिकाले पुन:एकीकरण कार्यक्रमलाई तीन प्रकारमा उल्लेख गरेको छ । ती हुन् : सामाजिकीकरण, रोजगारीमा आबद्धता र उद्यमशीलता प्रवर्द्धन । यसअन्तर्गत सामाजिक मेलमिलाप, मनोसामाजिक परामर्श, नेतृत्व विकास, सामाजिक सञ्जाल निर्माण, स्वयंसेवक परिचालन, शीप परीक्षण, व्यावसायिक तालीम, रोजगारी सहजीकरण, वित्तीय साक्षरता, स्वउद्यम कार्यक्रम, अनुदान तथा सहुलियतपूर्ण कर्जा र बजार व्यवस्थापन समावेश छन् । कार्यक्रम सञ्चालन तरीका वैदेशिक रोजगारीबाट फर्केका कामदारले पुन:एकीकरण कार्यक्रममा सहभागी हुन लाभग्राही सूचीमा सूचीकृत हुनुपर्छ । लाभग्राही सूचीमा सूचीकृत हुन नगरपालिका वा गाउँपालिकामा रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्छ । रोजगार सेवा केन्द्रले निवेदनउपर जाँचबुझ गरी लाभग्राहीको सूची अद्यावधिक गर्न र पुन:एकीकरण कार्यक्रम सञ्चालन गर्न सूचीकृत लाभग्राहीको अभिलेखलाई आधार मान्नुपर्छ । कार्यक्रम सञ्चालनका लागि वैदेशिक रोजगार बोर्डले प्रस्ताव आह्वान गर्छ । त्यसबमोजिम स्थानीय तहले बोर्डमा प्रस्ताव पेश गर्नुपर्छ । आवश्यक जाँचबुझ गरी बोर्डमा रहेको कार्यक्रम कार्यान्वयन समितिले स्वीकृत गरेपछि कार्यक्रम कार्यान्वयन गरिन्छ । गाउँपालिकाको उपाध्यक्ष वा नगरपालिकाको उपप्रमुख रहेको कार्यक्रम कार्यान्वयन समिति स्थानीय तहमा रहनेछ । कार्यक्रमको अनुगमन मूल्याङ्कन बोर्डले गर्ने व्यवस्था रहेको छ । निर्देशिकाअनुसार बोर्डले आप्रवासी कामदारको प्रोफाइल तयार गर्ने, कार्यक्रमबारे सूचना र परामर्शका लागि केन्द्र स्थापना गर्ने, अन्तरराष्ट्रिय आवागमन विन्दुमा सहायता कक्ष रहने, बोर्डले कार्यक्रम सञ्चालनका लागि राष्ट्र बैंक, वित्तीय संस्था तथा निजीक्षेत्रसँग समन्वय गर्ने व्यवस्था गरिएको छ । निर्देशिकाको अनुसरण गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाले पुन:एकीकरण कार्यक्रम सञ्चालन गर्न सक्ने व्यवस्थासमेत निर्देशिकाले गरेको छ । कार्यक्रम सञ्चालनका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम उपयोग गर्न सकिने व्यवस्था रहेको छ । पुन:एकीकरण निर्देशिकाका कमजोरी निर्देशिका देशको समग्र कामदारको पुन:एकीकरण मागलाई सम्बोधन गर्नेभन्दा पनि वैदेशिक रोजगार बोर्डको परियोजना सञ्चालन गर्ने निर्देशिकाका रूपमा आएको छ । यसमा निम्न कानूनी, सैद्धान्तिक, कार्यान्वयात्मक र व्यावहारिक कमजोरी छन् : (क) निर्देशिकाअनुसारका पुन:एकीकरण कामदारको कार्यक्रमको नभई नगरपालिका वा गाउँपालिकाले गर्ने कार्यक्रमका रूपमा आएको छ । यदि सम्बद्ध गाउँपालिका वा नगरपालिकाले बोर्डमा निवेदन नहालेमा वा कार्यक्रम पेश भए पनि बोर्डमा रहेको समितिले स्वीकृत नगरेमा सम्बद्ध क्षेत्रको कामदार उक्त कार्यक्रमबाट वञ्चित हुन्छन् । देशभरिका कामदारलाई समेट्ने गरी सबै प्रकारका कर्ता र कार्यक्रम समेट्ने गरी निर्देशिका नआएर केवल बोर्डको एक परियोजना कार्यान्वयनका लागि निर्देशिका बनेको देखिन्छ । (ख) निर्देशिका संघीयताको भावनाविपरीत आएको देखिन्छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार फर्केको कामदारको पुन:एकीकरण नगरपालिका र गाउँपालिकाको दायित्व हो । यस्तोमा संघीय सरकारको बोर्डले केन्द्रमा समन्वय समिति राखी, समन्वय समितिले कार्यक्रम स्वीकृति गर्ने कुरा संघीयताको भावनाअनुरूप छैन । देशभरको कार्यक्रम अनुगमन गर्ने बोर्डको क्षमता पनि छैन । संघीयताको कार्यादेशअनुसार स्वायत्त स्थानीय सरकारले संघीय सरकारमा निवेदन हाली कार्यक्रम लिने कुरा तर्कसंगत र व्यावहारिक लाग्दैन । स्थानीय सरकार आफैले जति पनि बजेट विनियोजन गर्न सक्ने विषयमा निश्चित रकम माग्न स्थानीय सरकारलाई चासो नहुन पनि सक्छ । (ग) नाममा समन्वय समिति भने पनि बोर्डको नेतृत्वमा रहने समन्वय (केन्द्रमा) समितिमा सबै अधिकार रहेको देखिन्छ । यसले समन्वय समिति र कार्यान्वयन समितिबीच द्वन्द्व वा अस्पष्टता ल्याउन सक्छ । घ) राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाले कुन स्रोतको प्रयोग गरी कार्यक्रम गर्न सक्नेछन्, निर्देशिकामा व्यवस्था छैन । निर्देशिकाको भाव हेर्दा वैदेशिक रोजगार कल्याणकारी कोषबाट गैरसरकारी संस्थाले परियोजना (बजेट) पाउने वा बोर्डको समन्वयमा रकम पाउने भन्ने छैन । आफूले खोजेर ल्याएको स्रोत, कानूनअनुसार स्थानीय सरकार, समाज कल्याण परिषद्, प्रमुख जिल्ला अधिकारी आदिबाट स्वीकृत गराएर फेरि किन बोर्डको अनुमति लिने तेहोरो झन्झट गैरसरकारी संस्थालाई थोपरिएको हो स्पष्ट छैन । बोर्डलाई जानकारी दिए पुग्ने विषयमा कानूनबमोजिम स्वीकृति लिइसकेको संस्था फेरि किन स्वीकृति लिन बोर्डमा आउलान् प्रश्नहरू खडा भएका छन् । ङ) वैदेशिक रोजगारबाट फर्केका कामदारको पुन: एकीकरणका अरू आयामहरूलाई निर्देशिकाले सम्बोधन गरेको छैन । कार्यक्रमको स्रोत र दिगोपनाको कुनै योजना छैन । बोर्डको यो परियोजना कल्याणकारी कोषबाट खर्च गरेर सञ्चालन गर्दा कार्यक्रममा समावेश हुन नपाएको कामदार (जसले कोषमा योगदान गरेको छ) ले प्रश्न उठाउने ठाउँहरू छन् । च) बोर्डको कार्यादेशमा वैदेशिक रोजगार ऐन, २०६४ बाट नै उल्लेख भएका परामर्श केन्द्रहरू स्थापना गर्ने, कार्यक्रम अनुगमन गर्ने, रिटर्नी प्रोफाइल तयार गर्नेजस्ता कार्य राजधानीमा रहेको बोर्डले गर्न सक्दैन भन्ने स्पष्ट हुँदाहुँदै र २०७४ को ऐनमा स्थानीय सरकारलाई अधिकार दिइसकेको विषय पुन: केन्द्रीकरण गर्नु व्यावहारिक छैन । छ) निर्देशिकाले कामदारको पुन: एकीकरणका अन्य आयाम र पक्षहरूलाई सम्बोधन गरेको छैन । विदेश गई सफल भई फर्केका र समस्यामा परेर फर्केका कामदारका फरकफरक अवस्था र आवश्यकता हुन्छन् । महिला र पुरुष कामदारको पुन:एकीकरणको आवश्यकता फरक हुन सक्छन् । पुन:एकीकरण कार्यक्रमले शिक्षा र शीपको स्तर उच्च भएका र न्यून भएका बीचमा पनि फरक आवश्यकता झल्काउँछ । पुन:एकीकरण कार्यक्रमभित्र उनीहरूलाई स्वदेशमा नै विदेशी आप्रवासी कामदारको स्थानमा समायोजन गर्ने, पुन:रोजगारीमा जाने तथा कमाएका कामदारको लगानीको सुनिश्चितता, संगठनको अधिकार र उनीहरूको नीति निर्माणमा पृष्ठपोषणजस्ता पक्षलाई निर्देशिकाले राम्ररी सम्बोधन गर्न सकेको छैन । सरकारले ल्याएको पुन:एकीकरण निर्देशिकामा संशोधन गरी यसलाई परियोजना आधारित होइन, पुन:एकीकरणको सबल खाका दिने निर्देशिका बनाउनुपर्छ । संयुक्त राष्ट्रसंघको आप्रवासन घोषणापत्रको भावनाअनुसार निर्देशिकाको परिमार्जन गर्दा विज्ञ र सरोकारवालाको राय लिनुपर्छ । अहिले भइरहेको निर्देशिकाको राम्रा व्यवस्थाको प्रचारप्रसार गरी पुन:एकीकरण कार्यक्रम कार्यान्वयन गर्नुपर्छ । लेखक अधिवक्ता र श्रम तथा आप्रवासन विज्ञ हुन् ।

सुरु भयो नयाँ आर्थिक वर्ष, अब कस्ता निकायले कति तिर्नु पर्छ कर ? (सूचीसहित)

आज साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष अर्थात २०७९/०८० सुरु भएको छ । नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक ऐन र बजेटले गरेको ब्यबस्था बमोजिम आज साउन १ गतेदेखि करको नयाँ दरहरु लागु हुने छ ।  सोहि अनुसार आन्तरिक राजश्व विभागले  आर्थिक वर्ष २०७९÷८० मा निकायको लागि लागू हुने करको दर सार्वजनिक गरेको छ ।  जसअनुसार सामान्य व्यवसाय गर्ने निकायलाई २५ प्रतिशत दरले कर लाग्ने छ ।  यस्तै बैंक, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय वा दूर सञ्चार र इन्टरनेट सेवा, मुद्रा हरुतान्तरण (मनि ट्रान्सफर), पूँजी बजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ्ग व्यवसाय, कमोडिटी फ्युचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसाय, चुरोट, वीँडी, सिगार, खानेसूर्ति, खैनी, गुट्खा, पान मसला, मदिरा र वियरको कारोबार गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायलाई ३० प्रतिशत दरले कर लाग्ने छ । यस्तै सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा नगरपालिका क्षेत्रभित्र सञ्चालन भएको भए ७.५  प्रतिशत, उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएको भए १० प्रतिशत र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएको भए १५ प्रतिशतका दरले कर लाग्ने छ ।यस्तै सार्वजनिक गुठी अन्र्तगत दर्ता भई सञ्चालित विद्यालय महाविद्यालयको करयोग्य आयमा २० प्रतिशत कार लाग्ने छ भने कुनै आय वर्षमा कुनै गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा ५ प्रतिशतको दरले कर लाग्ने छ । कुनै आय वर्षमा ऐनको दफा ७० मा उल्लिखित आयको सम्बन्धमा कुनै गैर बासिन्दा व्यक्तिको करयोग्य आयमा ५ प्रतिशत कर लाग्ने तर नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने जल यातायात, हवाई यातायात वा दूरसञ्चार सेवा उपलब्ध गराउने गैर बासिन्दा व्यक्तिको हकमा २ प्रतिशत कर लाग्ने छ । त्यस्तै आय वर्ष २०७९/८० मा बिजनेश प्रोसेस आउटसोर्सिंग, सफ्टवेयर प्रोग्रमिंग, क्लाउड कम्प्युटिंग लगायतका सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्ने कारोबार गरि सो वापत विदेशी मुद्रा आर्जन गर्ने वासिन्दा व्यक्तिको हकमा १ प्रतिशत कर लाग्ने छ ।

सरकारका लागि १५ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, ब्याजदर कति ?

सरकारको वित्तीय सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले सरकारका लागि आज १५ अर्ब बराबरको आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले असार १४  गते १५ अर्बको ५ वर्षे विकास ऋणपत्र २०८४ 'ज' बोलकबोल गर्न लागेको हो ।१४ गते बोलकबोल सकेर १५  गते ऋणपत्र निष्काशन हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको अनलाईन विडिंग सिस्टम सफ्टवेयर मार्फत ऋणपत्र बोलकबोल हुने छ । यसको ब्याजदर पनि बोलकबोल कै माध्यमबाट निर्धारण हुने छ । उक्त ऋणपत्रको बोलकबोलमा बैंक त्तहा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरु ले भाग लिन सक्ने छन् । राष्ट्र बैंकले यस अघि असार ७ गते पनि १५ अर्बको ५ वर्षे विकास ऋणपत्र २०८४  'छ' बोलकबोल गरेको थियो । विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् । विकास ऋणपत्रको दोस्रोबजार कारोबार नेपाल धितोपत्र विनिमय बजार लिमिटेड (NEPSE) मार्फत मात्र हुने व्यवस्था रहेको छ ।सरकारी ऋणपत्र बजारयोग्य उपकरण हो जसमा लगानीकर्ताले ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित ब्याज प्राप्त हुने गरी लगानी गर्दछन् । देश विकासका लागिसरकारी खर्च गर्न आवश्यक साधन जुटाउन सरकारले विभिन्न किसिमको ऋणपत्रहरु जारी गर्ने गर्दछ । नेपाल राष्ट्र बैंकले जारी गर्ने सरकारी ऋणपत्रहरू मुख्यतया ४ प्रकारका छन् । ती ऋणपत्रहरूः ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र हुन् ।

साउन १ देखि कस्ता निकायले कति तिर्नु पर्छ कर ? (सूचीसहित)

आन्तरिक राजश्व विभागले आगामी आर्थिक वर्ष २०७९÷८० मा निकायको लागि लागू हुने करको दर सार्वजनिक गरेको छ । नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक ऐन र बजेटले गरेको ब्यबस्था बमोजिम विभागले २०७९ साउन १ गतेदेखि लागु हुने करको दर सार्वजनिक गरेको हो ।जसअनुसार सामान्य व्यवसाय गर्ने निकायलाई २५ प्रतिशत दरले कर लाग्ने छ ।  यस्तै बैंक, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय वा दूर सञ्चार र इन्टरनेट सेवा, मुद्रा हरुतान्तरण (मनि ट्रान्सफर), पूँजी बजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ्ग व्यवसाय, कमोडिटी फ्युचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसाय, चुरोट, वीँडी, सिगार, खानेसूर्ति, खैनी, गुट्खा, पान मसला, मदिरा र वियरको कारोबार गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायलाई ३० प्रतिशत दरले कर लाग्ने छ । यस्तै सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा नगरपालिका क्षेत्रभित्र सञ्चालन भएको भए ७.५  प्रतिशत, उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएको भए १० प्रतिशत र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएको भए १५ प्रतिशतका दरले कर लाग्ने छ ।यस्तै सार्वजनिक गुठी अन्र्तगत दर्ता भई सञ्चालित विद्यालय महाविद्यालयको करयोग्य आयमा २० प्रतिशत कार लाग्ने छ भने कुनै आय वर्षमा कुनै गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा ५ प्रतिशतको दरले कर लाग्ने छ । कुनै आय वर्षमा ऐनको दफा ७० मा उल्लिखित आयको सम्बन्धमा कुनै गैर बासिन्दा व्यक्तिको करयोग्य आयमा ५ प्रतिशत कर लाग्ने तर नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने जल यातायात, हवाई यातायात वा दूरसञ्चार सेवा उपलब्ध गराउने गैर बासिन्दा व्यक्तिको हकमा २ प्रतिशत कर लाग्ने छ । त्यस्तै आय वर्ष २०७९/८० मा बिजनेश प्रोसेस आउटसोर्सिंग, सफ्टवेयर प्रोग्रमिंग, क्लाउड कम्प्युटिंग लगायतका सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्ने कारोबार गरि सो वापत विदेशी मुद्रा आर्जन गर्ने वासिन्दा व्यक्तिको हकमा १ प्रतिशत कर लाग्ने छ ।

बैंकरलाई अर्थमन्त्रीको प्रश्न : बैंक र व्यवसायमा एउटै समूह कति ठीक ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योग, व्यापार र बैंक एउटै व्यक्ति वा समूहले सञ्चालन गर्नु उचित हो वा होइन भन्नेमा बैंकरहरूसँग सल्लाह मागेका छन् ।  सोमवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा उनले बैंकर र उद्योगी, व्यवसायी एउटै हुनु अर्थतन्त्रका लागि कति लाभदायक हो भनेर सोधेका हुन् । ‘बैंक र व्यवसायमा एउटै व्यक्ति वा समूह देखिन्छ, यो कति ठीक हो ?’ अर्थमन्त्री शर्माले भने, ‘ठीक हो भने मेरो भन्नु केही छैन । मैले केही गर्न खोजेको पनि होइन । तर, यसमा केही संशोधन आवश्यक छ भने कसो गर्दा ठीक हुन्छ, सुझाव दिनुहोला ।’  मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० को नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा सुझाव लिन बैंक, वित्तीय संस्था र बीमा क्षेत्रका सरोकारवालासँग छलफल आयोजना गरेको हो । मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि कृषि, वित्तीय संघीयता, शिक्षाबारे र निजी क्षेत्रसँग छलफल सकिएको र बैंक, वित्तीय तथा बीमा क्षेत्रबारे सुझाव लिने उद्देश्यले छलफल राखेको जानकारी दिए ।  उनले बजेटमा लघुवित्त कोष बनाउनेबारे सोचेको पनि जानकारी दिए । ‘लघुवित्त कोष बनाउने कि भनेर सोच्दै छु । तर, चर्को ब्याज लिएर सर्वसाधारणलाई मर्का पार्न होइन,’ अर्थमन्त्री शर्माले भने, ‘सहुलियतपूर्ण ब्याजदरमा सर्वसाधारणले लघुवित्तबाट ऋण पाउन सक्ने गरी कोष ल्याउने सोचमा छु ।’ उनले बैंकिङ प्रणालीमा पैसा राख्ने र झिक्ने अहिलेको व्यवस्थाप्रति पनि असन्तुष्टि व्यक्त गरे ।  ‘आफूसँग भएको पैसा बैंकमा राख्न पनि समस्या छ, झिक्न पनि समस्या छ,’ उनले भने, ‘त्यसैले धेरै पैसा घरमै थन्किएको मेरो अध्ययनले देखाएको छ ।’ उनले प्रणालीबाट गएको पैसा पुन: नफर्कनु चिन्ताको विषय भएको भन्दै सबै बैंक तथा वित्तीय संस्थालाई पारदर्शी ढंगले गतिविधि सञ्चालन गर्न आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले बताएको छ । छलफलमा  सहभागी योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले प्रत्यक्ष वैदेशिक लगानी, शेयरमा विदेशी लगानी लगायतलाई आकर्षित गर्नुपर्ने बताए । कृषि क्षेत्रको बीमामा सरकारले ठूलो लगानी गरे पनि प्रतिफल दिन नसकेको धारणा राखे । त्यस्तै, हाइपर फन्ड, क्रिप्टोकरेन्सी, ब्याजदर लगायतलाई नियन्त्रण गरी अर्थतन्त्रमा सुधार गर्न सुझाए ।  योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले उद्योग र कृषिजन्य वस्तुको आयात हुने क्षेत्रमा कृषि कर्जा लगानी भएको भन्दै वास्तविक किसानको पहुँचमा पुर्‍याउनुपर्ने बताए । उनले तरलता समस्या समाधान गर्न नोटबन्दी गर्ने हल्ला सुनेको भन्दै बजारमा ५ सय दरको नोट २१ प्रतिशत र हजार दरको नोट ७० प्रतिशत रहेकाले त्यसको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए ।  छलफलमा बैंकर एसोसिएशनका पूर्वअध्यक्ष अनिल साहले रेमिट्यान्स आप्रवाह बढाउन वैदेशिक रोजगारीमा जाने श्रमिकको पुन: श्रम स्वीकृतिमा नयाँ व्यवस्था गर्नुपर्ने सुझाए । ‘वैदेशिक रोजगारीमा जाने श्रमिकले कति तलब, सुविधा पाउँछ पहिले नै यकिन हुने भएकाले सरकारले तथ्यांक लिएर राख्न सक्छ । यस्ता श्रमिकलाई आम्दानीको निश्चित प्रतिशत रेमिट वा बैंकिङ प्रणालीबाट अनिवार्य पठाउनैपर्ने व्यवस्था गरिनुपर्छ । सरकारले तोकेको सीमा अनुसार पैसा आधिकारिक माध्यमबाट पठाएको नपाए पुन: श्रमस्वीकृति नदिनेसम्मको व्यवस्था भयो भने हुन्डी कम हुन्छ र रेमिट्यान्स बढ्छ,’ शाहले भने । उनले भुक्तान सन्तुलन सुधार गर्ने विषयमा सबैले चिन्ता गर्नुपर्ने पनि बताए ।  बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले कुनै शर्तविना महिलाको नाममा १५ लाख रूपैयाँसम्म बैंकमा निक्षेप राख्न वा झिक्न सक्ने व्यवस्था गरे महिला सशक्तीकरण हुने बताए । छलफलमा उपस्थित बैंक तथा बीमा क्षेत्रका अन्य प्रतिनिधिले बैंकासुरेन्स लागू गर्नुपर्ने, बीमा कोष बनाउनुपर्ने, सातै प्रदेशमा बैंकको सेवा सहज बनाउन ‘सपोर्ट सेन्टर’ बनाउनुपर्ने, विकास बैंक र अन्य संस्थालाई साना लगानीमा केन्द्रित गरी वाणिज्य बैंकलाई ठूला परियोजनामा मात्रै लगानी गर्ने वातावरण बनाउनुपर्ने लगायत सुझाव दिएका छन् ।

‘कृत्रिम व्यक्ति’ र ‘शेयर’ नै कम्पनीको शक्ति

कुनै पनि देशको अर्थतन्त्रको अधिकांश अंश कम्पनीहरूले तिर्ने कर, भन्सार र अन्त:शुल्कबाट चलेको हुन्छ । यो एक कृत्रिम व्यक्ति हो र प्राकृतिक व्यक्तिहरूलाई कानूनी रूपमा आफ्नो पासोमा यसरी अठ्याएर राखेको हुन्छ जसले गर्दा मानिस काम गर्न बाध्य हुन्छ वा अर्को शब्दमा उत्प्रेरित हुन्छ । यस्ता कम्पनीले विधिसम्मत कर बुझाउनाले देशको अर्थतन्त्र धानिएको हुन्छ । शुरूमा कम्पनीको परिकल्पना चिया र पाउरोटीबाट भएको हो । चिया एक्लाएक्लै खान सकिने तर ठूलो पाउरोटी एक्लै खान र तिर्न नसकिने भएपछि, उपस्थित धेरैले थोरै पैसा तिरेर आफ्नो भोक र पैसाअनुसार एउटा ठूलो पाउरोटी बाँडेर खाने गर्दथे । यसै अवधारणाबाट कसैले आजका कम्पनीको शुरुआत गरेको हो । ठूलाठूला कम्पनी एक्लै खोल्न सम्भव नहुने भएकाले आफ्नो इच्छा र क्षमताअनुसार लगानी गरेर कानूनको आधारमा यसलाई सञ्चालन गरौं र त्यसबाट नाफा कमाऊँ भन्ने सोचका साथ कम्पनीको शुरुआत भएको हो । कम्पनी र राज्यमा केही भिन्नता छन् । राज्य सिमानाबाहिर जान पाउँदैन । तर, कम्पनी विश्वव्यापी बन्न सक्छ । राज्यले सीधै नाफा कमाउन पाउँदैन, कम्पनीले नाफा कमाउन पाउँछ । राज्यले जनताप्रति अनेक दायित्व वहन गर्नुपर्छ । तर, कम्पनीले सामाजिक उत्तरदायित्वबाहेक अन्य दायित्व वहन गर्नु पर्दैन । यिनै कारणले गर्दा कम्पनीहरू ज्यादै शक्तिशाली हुन्छन् । कम्पनी राज्यभन्दा शक्तिशाली नहोलान् तर कमाइको दृष्टिकोणमा कम्पनीलाई राज्यलाई भन्दा बढी स्वतन्त्रता प्राप्त हुने भएकाले विश्वव्यापी रूपमा शेयरबजारमार्फत युवा आकर्षण बढ्न गएको हो । आधुनिक कम्पनीको जग बेलायतबाट भएको हो । अहिले विश्वको अर्थतन्त्र विशेष गरी औपचारिक अर्थतन्त्र कम्पनीबाट नै सञ्चालन भएको पाइन्छ । कम्पनीकै सोचको वरिपरि बसेर सहकारीहरू स्थापना गरिन्छ । तर, सहकारीहरू कम्पनी जति कहिल्यै पनि उचाइमा पुग्न सक्दैनन् । आज नेपालका सबै बैंक, वित्तीय संस्था, बीमा कम्पनी, टेलिकम सेवाप्रदायक निकाय, उद्योगहरू, सबै कम्पनी ऐन २०६३ अन्तर्गत सञ्चालन भएका छन् र धेरै कर तिर्नेमा पनि कम्पनी नै हुन् । कम्पनीले धेरै कमाउँदछ, धेरै कर तिर्छ, धेरैलाई रोजगारी दिन्छ र संस्थापकहरूलाई पनि मनग्गे कमाइ दिन्छ । नेपालमै रहेका २७ ओटा वाणिज्य बैंकहरूका कति संस्थापकहरूको मृत्यु भइसकेको होला । तर, ती बैंकले अहिले पनि बोनस, लाभांश लगानीकर्ता र अंशियारहरूलाई प्रदान गरी रहेका हुन्छन् । यसरी कम्पनी कृत्रिम व्यक्ति हो । बन्दीप्रत्यक्षीकरणबाहेक परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकारपृच्छाजस्ता रिट हाल्ने अधिकार पनि दिएको हुन्छ । यसको अर्थ सामान्य कानून (जनरल ल) का धेरै अधिकार कम्पनीले प्राप्त गर्न सक्छ । तर, विशेष कानूनका अधिकारको बारेमा कम्पनीले सुविधा पाउँदैन । कम्पनी एक कृत्रिम व्यक्ति हो, यसले अर्को कृत्रिम व्यक्ति जन्माउन सक्छ । अर्थात् सात ओटा प्राइभेट लिमिटेड मिलेर आठांै पब्लिक लिमिटेडको जन्म दिन सक्छ, जहाँ एकजना पनि प्राकृतिक व्यक्ति नहुन सक्छ । लगानी, सदस्य संख्या र नाफाको बाँडफाँटलाई हेर्दा कम्पनीहरू तीन प्रकारका छन् । प्राइभेट कम्पनी, सार्वजनिक कम्पनी र मुनाफा वितरण नगर्ने कम्पनी । कम्पनीमा व्यक्तिभन्दा विधि प्रमुख हुन्छ राज्यले तोकेको ऐनभित्र बसेर आफ्नो काम राम्रोसँग परिचालन गर्न स्वतन्त्र हुन्छ । यहि कम्पनीको अवधारणाले गर्दा नबिल बैंक, ग्लोबल आईएमई बैंक, पञ्चकन्या ग्रूप, एसआर स्टिल आदिको सञ्चालन भएका छन् । सबै कम्पनीहरू सफल हुन्छन् भन्ने छैन । नेपालमा अनुमानित ३ लाख ५० हजारभन्दा धेरै कम्पनी स्थापना भएका छन् तर हामीले केहीको मात्र नाम सुनेका छौं । विधिसम्मत काम गर्ने सबै नाफामै छन् भन्ने पनि छैन । कम्पनी घाटामा पनि जान्छन तैपनि कानूनले तोकेका प्रावधानहरूलाई राम्रोसँग परिचालन गर्ने कम्पनीहरूले आफ्नो व्यवसायिकतालाई विस्तारै बढाउँदै लगेर फेरी जाग्न सक्छन् । कम्पनी धेरै मानिस मिलेर व्यापक क्षेत्रमा काम गर्न अधिकारप्राप्त निकाय हो । यसले आफै पूँजी संकलन गर्न सक्छ, ऋणपत्र जारी गर्न सक्छ र आवश्यक पूँजी संकलन गर्न सक्छ । एउटै व्यक्तिले ठूला फर्महरू चलाएका छन् तर अन्ततोगत्वा फर्महरू कम्पनीमा नगएसम्म जनविश्वासको स्तर कम हुन्छ । फर्महरूको पछाडि कानून त्यति हात धोएर लाग्न सक्दैन । त्यसले गर्दा एकलौटी साझेदारी दुवै फर्म जतिबेला पनि बन्द हुन सक्छन् । यिनको हिसाबकिताब सार्वजनिक गर्ने बाध्यता नभएपछि कतै गडबडी हुन सक्छ । यी र यस्तै कारणले फर्मको स्थायित्व, जनविश्वास आदि कमजोर हुनुको साथै यो मालिकबाट ठगिन सक्छ । फर्मको पैसा मालिकले जतिबेला पनि आफ्नो काममा प्रयोग गर्न सक्ने तर कम्पनीको रकम कसैले पनि तोकिएको नियमविना चलाउन नपाउने भएकाले पनि कम्पनीमा दिगो पन हुन्छ । प्राइभेट लिमिटेड कम्पनीमा १ जनामात्र मालिक भए पनि एकलौटी फर्मको मालिकले झैं मनपरी गर्न नपाउने भएकाले, प्रबन्धपत्र र नियमावलीअनुसार चल्नुपर्ने भएकाले प्राइभेट लिमिटेट नै भए पनि त्यसमा जन विश्वास बढी हुन्छ । नेपालको कम्पनी ऐनमा प्रालिमा १०१ र भारतको कम्पनी ऐन २०१३ अनुसार २०० जनासम्म व्यक्ति प्रालिमा अट्न सक्छन् तर चुक्ता पूँजी १ करोडभन्दा बढी भएमा वा वार्षिक नाफा ५ करोडभन्दा बढी भएमा पछिल्लो संशोधनअनुसार प्रालिलाई पब्लिकमा लैजानैपर्छ । यो प्रावधानले पनि कम्पनीलाई बढी लोकप्रिय र शक्तिशाली बनाएको छ । अन्यथा अर्बौं कमाउने एनसेल, सूर्य टोबाको, सिजिफूड्स, नर्भिक, ग्रान्डी अस्पताल, ग्लोबल, प्रसादी, ट्रिनिटी, उलेन्स, प्रिमियम जस्ता स्कूलहरू पनि या त गुठीमा जानुपर्छ या पब्लिक लिमिटेडमा आउनुपर्छ । शुरूमा विशेष ऐनबाट बनेका, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक अहिले रजिस्ट्रर्ड कम्पनीमा परिणत भए र तीनओटैले अथाह नाफामा गएका छन् । भन्न खोजेको के भने बढी भावनात्मक हुने र तत्काल कमाउने सोच राख्नुभन्दा धेरै मिलेर कम्पनी स्थापना गर्ने लेभलमा पुग्ने हो भने त्यसको आयु, आरोग्य र अर्थिक अवस्था बढी राम्रो हुन्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

पैसा किन र कसरी कमाउने

पैसा यस्तो चीज हो जीवनको हरेक परिस्थितिमा, मोडमा आवश्यक छ । त्यसैले बच्चालाई होश सम्हाल्न शुरू गरेपछि पैसा कमाउने र त्यो कमाइलाई लगानी गर्ने बारेमा सिकाउनुपर्छ । कहाँ लगानी गर्ने भन्ने कुरा परिस्थितिमा भर पर्छ र त्यो स्वयं लगानीकर्ताले तय गर्ने विषय हो यो सिकाउन सकिँदैन । पैसा कमाउन लगानी बीना सम्भव छैन भन्ने कुरा सानो उमेरबाट नै सिकाउनु र सिक्नु आजको मूलभूत वित्तीय शिक्षा हो । अधिकांश सफलतामा पैसाको भूमिका सर्वोपरि छ । जन्मेको दिनदेखि मर्दासम्म यस्तो दिन विरलै भेटिएला, जसमा मानिसलाई पैसा वा सम्पत्तिको आवश्यकता नपरेको होस् । घरको खुशीमा, इष्टमित्रको सम्मानमा, राम्रो पढाइमा, स्वस्थखानामा हरेक ठाउँमा पैसाको खाँचो युगाैंदेखि रहेको थियो र अब पनि यो बढ्दै छ त्यसैले पैसाको सम्मानमा कहिल्यै कन्जुस्याइँ नगरौं । पैसा कमाउने हजार उपायहरू छन् तर खर्च गर्ने निकै सीमित ठाउँहरू हुन्छन् । हजारौं उपायको माझमा एउटामात्र उपायमा सफल हुनसके जति पनि कमाइ हुन्छ । जहिले पनि आधारभूत आवश्यकता पूरा गर्न गरिने कमाइले हामी सबैलाई औसत मानिस बनाउँछ भने त्यसपछिको प्रत्येक सीमान्त आम्दानीले मानिसलाई धनी बन्ने बाटो खोल्छ । त्यसैले सीमान्त आम्दानी बढाउन दिनमा गुणा र रातमा चौगुणाको दरले कमाउनका लागि लगानीका सूत्रहरू सोचौं । अनुशासित बनाैं, हरेक समय उचित लगानीका ठाउँहरू खोजाैं, पैसालाई आम्दानीको मुल ठाउँमा रोप्न सिकौं, प्रत्येक सोंचलाई उद्यमी सोच बनाऔं, प्रत्येक निर्णयलाई सार्थक बनाऔं । विगतको धरातल वा औकातलाई आधार मानेर आफूलाई संकीर्ण तथा निम्छरो नबनाउनु हुँदैन । लगानीको अर्को नाम जोखिम हो । त्यसैले जोखिम लिने काममा कहिल्यै पछाडि नहटाैं तर परिस्थितिको विश्लेषण गरेर लगानी गराैं । व्यवसाय, उद्यमशीलता, सेवाक्षेत्र, शेयरबजार, म्युचुअलफन्ड, परामर्श, सेवा अनेक लगानीका क्षेत्र छन् । यसबाहेक उद्यमशीलता, सृजनशीलता, पहल गर्ने क्षमता यस्ता क्षेत्र हुन जसको परिधि अपरिमेय छ । नवसृजनाका लागि अरूको विचार खोज्न जरुरी नै छैन बाटो आफै खोज्ने हो । पैसाको पछिपछि भाग्ने होइन, यस्तो क्षमता आफूमा विकास गर्ने हो बाध्य भएर पैसा यहाँको समीपमा आओस् । यसका लागि राम्रो पढाइ, नामी विश्वविद्यालय, राम्रो खानदान, राजनीतिमा पँहुच, उँचो परिवार वा कुल घरानमा जन्म हुनु आदि मात्र केही सहयोगी तत्त्व हुन् । वास्तवमा कमाउनका लागि मुख्य कुरा त हाम्रो सोच र प्रवृत्ति हो । लगानी शिक्षामा पनि आवश्यक छ, स्वास्थ्य र समृद्धि हरेक ठाउँमा आवश्यक छ तर समयअनुसार कुन ठाउँमा कति लगानी गर्ने भन्नेबारेमा सोच्नुपर्छ । पछिल्ला दिनमा शेयरबजारमा लगानी गर्नु पनि ठूलो अवसरका रूपमा हेरिएको छ । बितेको १२ महीनामा लाखौं मानिसले शेयरबजारबाट पक्कै पर्याप्त कमाए किनभने पोहोर साल १४०० को हाराहारीबाट बढ्न थालेको बजार अहिले ३१०० माथि गएको छ । यो बजारमा कसैले पनि निरपेक्ष कमाउन सक्दैन किनकी १० प्रतिशत लगानीकर्ताले राम्रोसँग कमाए भने ९० प्रतिशतले गुमाएका पनि हुन्छन् । शेयरबजारमा पनि कमाउनका लागि होशियारी र समय विश्लेषण आवश्यक हुन्छ । यसमा पनि व्यापक जोखिम छ, त्यसैले राम्रोसँग बजार बिश्लेषण गरेरमात्र यसमा हात हाल्नुपर्ने हुन्छ । शेयरबजारमा कमाउनका लागि कम्पनीहरूको प्राविधिक विश्लेषण गर्न जरुरी छ । प्राविधिक विश्लेषण गरेर नेप्सेको उतार चढावको ग्राफ हेरेर छोटो अवधिमा नाफा कमाउनका लागि लगानी गर्न सकिन्छ । जसको शेयर किन्ने वा बेच्ने गरिँदै छ त्यसको वित्तीय विवरण, वासलात, ख्याति, नेतृत्व, पीई रेसियो, प्रतिशेयर आम्दानी, कुल शेयर संख्या, पूरा गर्नुपर्ने कुल पूँजी आदि सबैको विश्लेषण गरेर दीर्घकालका लागि लगानी गरिन्छ । शेयरबजारमा कमाउन पनि लगानी त आवश्यक छ, जोखिम त्यहाँ पनि छ, विश्लेषण त्यहाँ पनि आवश्यक छ । परन्तु पोखरीमा हाम नफाली पौड्न सकिँदैन । त्यसैले लगानीको आदतको उद्घाटन गर्न र यसको उपलब्धि महसूस गन शुरूमा शेयरबजारमा जानु उपयुक्त मानिन्छ । त्यसैले नाफा भएमा कमाइको खुशी महसूस हुन्छ भने घाटा भएमा काम गर्दा सोच्नुपर्ने रहेछ भन्ने रणनीति सिकाउँछ । खाली बस्नुभन्दा लगानी, घाटा भए पनि राम्रो र नाफा भए पनि राम्रो । टोनी रब्बिन्सका अनुसार ‘कुनै पनि प्रयासमा ८० प्रतिशत सफलता तपाईंको मनोविज्ञानमा र २० प्रतिशत सफलता शीपमा निर्भर हुन्छ ।’ यसर्थ कुनै पनि क्षेत्रमा सफलताका लागि मनोविज्ञानले ठूलो भूमिका खेल्छ । कमाउनका लागि मानिसमा जोश जाँगर र हौसला आउने पर्छ । यसैबाट निरन्तर सफलता मिल्दै गयो भने ठीकै छ । असफल भैयो भने अव बुद्धिमत्ताको खोजी गर्नुपर्छ, ट्रेन्डहरू हेर्दै जानुपर्छ, आधारभूत कुराहरूमा कहाँ कमजोरी भयो, अनुसन्धान गर्दै जानुपर्छ । जेजस्तो जहाँ जति सम्भव हुन्छ, लगानी कमाइका लागि आवश्यक छ । अलि लामो समय सुरक्षित कमाइ गर्नु छ भने भाडामा लगाउन मिल्ने भवन बनाउनु होस्, शैक्षिक संस्था, बैंक वित्तीय संस्था वा लघुवित्त खोल्नुहोस् । हरेक पाइलामा लगानीका अवसर छन् । ती अवसरमा यति धेरै चर छन् तिनको विश्लेषण गर्ने जिम्मा लगानीकर्ताको हो । कुनै पनि विश्वविद्यालयले अहिलेसम्म यो घोषणा गर्न सकेको छैन कि यो नै लगानीको सबैभन्दा राम्रो विकल्प हो । त्यो गर्नु पनि हुँदैन आजभन्दा ५० वर्ष अगाडि कपाडा, तथा खुद्रा व्यापारीहरू विश्वमा सबैभन्दा धनी हुने गर्थे । ३० वर्ष अगाडिबाट कम्प्युटर, मोबाइल, सफ्टवेयरका व्यापारीहरू अगाडि आए । शेयरबजारले पनि विश्वका धनी जन्माएको छ । आजको मितिमा सूचनाप्रविधि, डिजिटलको व्यापार र टेस्लाको गाडीहरू अगाडि छन् । भविष्यका लागि फेरि अर्को नयाँ चिजहरूको खोजी भइरहेको छ । यो सबै परिस्थितिअनुसार लगानीकर्ताले सोच्ने खोच्ने विषय हो । तर, लगानी विना हातमा आफै केही प्राप्त हुन सम्भव छैन । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

कति पुग्यो एनसीएचएलमार्फत नगदरहित भुक्तानी कारोबारको रकम ?

एनसीएचएलका विभिन्न प्रणालीहरू मार्फत आ. व. २०७७÷७८ मा फर्छ्यौट गरिएको नगद रहित भुक्तानी कारोबार नेपालको कुल ग्राहस्थ उत्पादन भन्दा तीन गुणाले बढी रहेको छ । एनसीएचएलले एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस लगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तीय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने च्यानलहरू संचालन […]