बैंकरलाई अर्थमन्त्रीको प्रश्न : बैंक र व्यवसायमा एउटै समूह कति ठीक ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योग, व्यापार र बैंक एउटै व्यक्ति वा समूहले सञ्चालन गर्नु उचित हो वा होइन भन्नेमा बैंकरहरूसँग सल्लाह मागेका छन् ।  सोमवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा उनले बैंकर र उद्योगी, व्यवसायी एउटै हुनु अर्थतन्त्रका लागि कति लाभदायक हो भनेर सोधेका हुन् । ‘बैंक र व्यवसायमा एउटै व्यक्ति वा समूह देखिन्छ, यो कति ठीक हो ?’ अर्थमन्त्री शर्माले भने, ‘ठीक हो भने मेरो भन्नु केही छैन । मैले केही गर्न खोजेको पनि होइन । तर, यसमा केही संशोधन आवश्यक छ भने कसो गर्दा ठीक हुन्छ, सुझाव दिनुहोला ।’  मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० को नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा सुझाव लिन बैंक, वित्तीय संस्था र बीमा क्षेत्रका सरोकारवालासँग छलफल आयोजना गरेको हो । मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि कृषि, वित्तीय संघीयता, शिक्षाबारे र निजी क्षेत्रसँग छलफल सकिएको र बैंक, वित्तीय तथा बीमा क्षेत्रबारे सुझाव लिने उद्देश्यले छलफल राखेको जानकारी दिए ।  उनले बजेटमा लघुवित्त कोष बनाउनेबारे सोचेको पनि जानकारी दिए । ‘लघुवित्त कोष बनाउने कि भनेर सोच्दै छु । तर, चर्को ब्याज लिएर सर्वसाधारणलाई मर्का पार्न होइन,’ अर्थमन्त्री शर्माले भने, ‘सहुलियतपूर्ण ब्याजदरमा सर्वसाधारणले लघुवित्तबाट ऋण पाउन सक्ने गरी कोष ल्याउने सोचमा छु ।’ उनले बैंकिङ प्रणालीमा पैसा राख्ने र झिक्ने अहिलेको व्यवस्थाप्रति पनि असन्तुष्टि व्यक्त गरे ।  ‘आफूसँग भएको पैसा बैंकमा राख्न पनि समस्या छ, झिक्न पनि समस्या छ,’ उनले भने, ‘त्यसैले धेरै पैसा घरमै थन्किएको मेरो अध्ययनले देखाएको छ ।’ उनले प्रणालीबाट गएको पैसा पुन: नफर्कनु चिन्ताको विषय भएको भन्दै सबै बैंक तथा वित्तीय संस्थालाई पारदर्शी ढंगले गतिविधि सञ्चालन गर्न आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले बताएको छ । छलफलमा  सहभागी योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले प्रत्यक्ष वैदेशिक लगानी, शेयरमा विदेशी लगानी लगायतलाई आकर्षित गर्नुपर्ने बताए । कृषि क्षेत्रको बीमामा सरकारले ठूलो लगानी गरे पनि प्रतिफल दिन नसकेको धारणा राखे । त्यस्तै, हाइपर फन्ड, क्रिप्टोकरेन्सी, ब्याजदर लगायतलाई नियन्त्रण गरी अर्थतन्त्रमा सुधार गर्न सुझाए ।  योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले उद्योग र कृषिजन्य वस्तुको आयात हुने क्षेत्रमा कृषि कर्जा लगानी भएको भन्दै वास्तविक किसानको पहुँचमा पुर्‍याउनुपर्ने बताए । उनले तरलता समस्या समाधान गर्न नोटबन्दी गर्ने हल्ला सुनेको भन्दै बजारमा ५ सय दरको नोट २१ प्रतिशत र हजार दरको नोट ७० प्रतिशत रहेकाले त्यसको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए ।  छलफलमा बैंकर एसोसिएशनका पूर्वअध्यक्ष अनिल साहले रेमिट्यान्स आप्रवाह बढाउन वैदेशिक रोजगारीमा जाने श्रमिकको पुन: श्रम स्वीकृतिमा नयाँ व्यवस्था गर्नुपर्ने सुझाए । ‘वैदेशिक रोजगारीमा जाने श्रमिकले कति तलब, सुविधा पाउँछ पहिले नै यकिन हुने भएकाले सरकारले तथ्यांक लिएर राख्न सक्छ । यस्ता श्रमिकलाई आम्दानीको निश्चित प्रतिशत रेमिट वा बैंकिङ प्रणालीबाट अनिवार्य पठाउनैपर्ने व्यवस्था गरिनुपर्छ । सरकारले तोकेको सीमा अनुसार पैसा आधिकारिक माध्यमबाट पठाएको नपाए पुन: श्रमस्वीकृति नदिनेसम्मको व्यवस्था भयो भने हुन्डी कम हुन्छ र रेमिट्यान्स बढ्छ,’ शाहले भने । उनले भुक्तान सन्तुलन सुधार गर्ने विषयमा सबैले चिन्ता गर्नुपर्ने पनि बताए ।  बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले कुनै शर्तविना महिलाको नाममा १५ लाख रूपैयाँसम्म बैंकमा निक्षेप राख्न वा झिक्न सक्ने व्यवस्था गरे महिला सशक्तीकरण हुने बताए । छलफलमा उपस्थित बैंक तथा बीमा क्षेत्रका अन्य प्रतिनिधिले बैंकासुरेन्स लागू गर्नुपर्ने, बीमा कोष बनाउनुपर्ने, सातै प्रदेशमा बैंकको सेवा सहज बनाउन ‘सपोर्ट सेन्टर’ बनाउनुपर्ने, विकास बैंक र अन्य संस्थालाई साना लगानीमा केन्द्रित गरी वाणिज्य बैंकलाई ठूला परियोजनामा मात्रै लगानी गर्ने वातावरण बनाउनुपर्ने लगायत सुझाव दिएका छन् ।  

सम्बन्धित सामग्री

चालू पूँजी कर्जा मार्गदर्शनमा असन्तुष्टि

नेपालको निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले राष्ट्र बैंकद्वारा जारी चालू पूँजी कर्जा मार्गदर्शनको दोस्रो संशोधन तथा एकीकृत निर्देशनले संकटमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन नसक्ने प्रतिक्रिया दिएका छन् । यद्यपि राष्ट्र बैंकले व्यवसायीको मागअनुसार उत्पादनमूलक क्षेत्रलाई चलायमान बनाउने गरी केही लचकता अपनाएको भने छ । खासगरी उद्योगी व्यवसायीेले लगातार ७ दिन १० प्रतिशतभन्दा कम बक्यौता कायम भएको हुनुपर्नेगरी गरिएको संशोधनले समस्याको पूर्ण समाधान नगर्ने निजीक्षेत्रको ठहर छ । यद्यपि यो संशोधनले विद्यमान समस्यालाई केही मात्रामा सम्बोधन गर्छ । तैपनि निजी क्षेत्रको असन्तुष्टिलाई सकेसम्म सम्बोधन गर्ने प्रयास हुनुपर्छ । चालू पूँजी कर्जा मार्ग दर्शनबाट परेको प्रभावलाई विश्लेषण गरेर राष्ट्र बैंकले त्यसलाई सच्याउन सक्छ । त्यसैले निजीक्षेत्रको माग पूरा गर्न सकिन्छ भने राष्ट्र बैंकले त्यसलाई सम्बोधन गर्नुपर्छ ।  यदि अर्थतन्त्र चलायमान हुन्छ र त्यसले अर्थतन्त्र र व्यवसायमा सकारात्मक सन्देश प्रवाह गर्छ भने राष्ट्र बैंक लचिलो हुँदा मुलुकलाई केही पनि घाटा देखिँदैन ।  राष्ट्र बैंकले मार्ग दर्शन जारी गर्दा अर्थतन्त्रमा आएको संकुचनलाई ध्यान दिन नसकेको देखिन्छ । अहिले अर्थतन्त्र मन्दीमा छ भन्न सकिन्छ । त्यसको प्रमाण बजारमा माग नहुनु नै हो । बजारमा सामानको विक्री हुन सकेको छैन । घरजग्गा कारोबार मन्दीमा छ । शेयरबजार ओरालो लागिरहेको छ । त्यही कारण प्राथमिक शेयर आवेदन भर्नेको संख्यासमेत घटिरहेको छ । अर्थतन्त्रमा देखिएको यो निराशाले गर्दा अहिले युवावर्ग राज्यप्रति नै निराश हुन थालेको छ । यहाँ भविष्य नदेखेर युवावर्ग विदेश पलायन रोजिरहेको छ । कुनै पनि देशमा अवसरको खोजीमा अर्को देशमा जानु सामान्य नै मानिन्छ तर नेपालबाट अहिले जसरी दैनिक २५ सयको हाराहारी वा त्योभन्दा बढी संख्यामा विदेशिइरहेका छन् त्यसले युवावर्गले यो मुलुुकमा भविष्य देखेको छैन र उनीहरू निराश छन् भन्ने पुष्टि गर्छ । यस्तो अवस्थामा अर्थतन्त्रको नेतृत्वको जिम्मेवारीमा बसेका निकायहरूले व्यवसाय विस्तार गर्ने नीति लिनुपथ्र्यो । अहिले व्यवसायीहरूमा आशा सञ्चार भयो भने त्यसले अर्थतन्त्रलाई गति दिन्छ र युवाहरूमा केही मात्रामा आशाको सञ्चार गर्न सक्छ । त्यसैले यसमा राष्ट्र बैंकको ध्यान जानुपर्छ । राष्ट्र बैंकले बैंकहरूले कुन क्षेत्रमा कति कर्जा प्रवाह गर्न सक्छन् भनेर नीतिगत व्यवस्था गरिदिएको छ । तर, यो निर्णय वास्तवमा बैंक आफैले गर्न पाउनुपर्ने हो । आफूले दिएको कर्जा कुन क्षेत्रमा लगानी भएको छ, त्यसको सदुपयोग भएको छ कि छैन, त्यसले उत्पादनको काम गरेको छ कि छैन र ऋणीले कर्जा तिर्न सक्छ कि सक्दैन भनेर बेलाबेला अनुगमन र निरीक्षण गर्ने काम कर्जादाता बैंकको हो । जोखिम देखेमा सहयोग गर्नु वा सचेत पार्नु बैंकको काम हो । तर, बैंकहरूले सही ढंगले काम नगर्दा नै यस्तो निर्देशन जारी गर्नु परेको हो ।  राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउने र अनुत्पादक क्षेत्रमा जाने कर्जालाई निरुत्साह गर्ने नीतिअनुसार निर्देशन दिएको देखिन्छ । कतिपय बैंकले बैंकिङ मान्यताविपरीत कर्जा प्रवाह गरेको थाहा पाएर पनि राष्ट्र बैंकले तिनलाई केही नगर्दा समस्या बढेको हो । कर्जा प्रवाह सही ढंगले नहुनुमा केन्द्रीय बैंक पनि दोषी देखिन्छ । उद्योग, व्यापार तथा व्यवसाय र सेवाक्षेत्रमा आवश्यक पर्ने विभिन्न कच्चा पदार्थको जोहो गर्न, उधारो विक्रीको भुक्तानी पाउन्जेलको अवधिमा आइपर्ने खर्च जुटाउन चालू पूँजी कर्जा प्रदान गर्ने गरिन्छ । तर, यस्तो कर्जा दुरुपयोग भएको आशंकामा राष्ट्र बैंकले निर्देशन दिएको देखिन्छ । यसो भन्नुको अर्थ चालू पूँजी कर्जा दुरुपयोग भएको छ भनेर स्वीकार्नु हो । अर्थतन्त्रमा संकुचन आइरहेका बेला लचिलो चालू पूँजी कर्जा नीति आवश्यक हुन्छ । यो तथ्य बुझेर पनि राष्ट्र बैंकले निजीक्षेत्रले माग गरे अनुसारको नीति लिएको देखिँदैन । यदि अर्थतन्त्र चलायमान हुन्छ र त्यसले अर्थतन्त्र र व्यवसायमा सकारात्मक सन्देश प्रवाह गर्छ भने राष्ट्र बैंक लचिलो हुँदा मुलुकलाई केही पनि घाटा देखिँदैन । यसले व्यवसायी र सर्वसाधारणमा समेत आशा प्रवाह गर्दा अर्थतन्त्र चलायमान बन्न सक्छ ।

एउटै व्यापारिक घरानाले बैंकिङ कर्जा सुविधा लिँदा अर्थतन्त्रमा जोखिम : गभर्नर

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटै व्यापारिक घरानाले बैंकिङ कर्जा सुविधा लिँदा अर्थतन्त्रमा जोखिम बढेको बताउनुभएकाे छ ।  आज सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आउँदाे मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले विगतदेखि व्यवसायी र बैंकर्स छुट्याउने प्रयास गरे पनि सफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटै व्यावसायिक घराना बैंक, इन्स्योरेन्स, धितोपत्र र अन्य व्यवसायमा सहभागी भएको हुन्छ । यसरी व्यापार...

घरजग्गामा लगानी गर्न बीमा कम्पनी अनिच्छुक

काठमाडौं । बैंक, वित्तीय संस्थाले आकर्षक मान्ने गरेको घरजग्गा व्यवसायमा लगानी गर्न बीमा कम्पनीहरू भने अनिच्छुक देखिएका छन् । नियामक निकाय बीमा समितिले २०७५ सालमा लगानीसम्बन्धी नयाँ निर्देशिका जारी गरेर बीमा कम्पनीहरूलाई घरजग्गा (रियल इस्टेट) व्यवसायमा लगानी गर्न बाटो खोलिदिएको थियो । त्यस्तो व्यवस्था गरेको ४ वर्ष बितिसक्दा पनि बीमा कम्पनीले घरजग्गा व्यवसायमा लगानी गर्न चासो देखाएका छैनन् । हालसम्ममा एउटा कम्पनीले मात्र घरजग्गा कारोबारमा लगानी गरेको देखिएको छ । हाल नेपालमा २० निर्जीवन, १९ जीवन र २ पुनर्बीमा गरी ४१ बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये नेशनल लाइफ इन्स्योरेन्सले मात्र घरजग्गा कारोबारमा लगानी गरेको छ । बीमा समितिबाट प्राप्त तथ्यांकअनुसार उक्त कम्पनीले चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्ममा घरजग्गामा ३६ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ । नेशनल लाइफबाहेक अन्य कम्पनीले घरजग्गा व्यवसायमा लगानी गरेका छैनन् । गत पुससम्ममा सबै बीमा कम्पनीले गरी विभिन्न क्षेत्रमा ५ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । उक्त लगानीमा सबैभन्दा बढी अंश जीवन बीमा कम्पनीको छ । १९ ओटा जीवन बीमा कम्पनीले ४ खर्ब ३३ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेका छन् । गत पुससम्ममा २० निर्जीवन बीमा कम्पनीले ५२ अर्ब २५ करोड र २ पुनर्बीमा कम्पनीले २५ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेका छन् । बीमा कम्पनीले अधिकांश रकम बैंकको मुद्दती निक्षेपमा लगानी गरेका छन् । अन्यको तुलनामा छोटो समयमा बढी प्रतिफल दिने घरजग्गा कारोबारमा भने बीमा कम्पनीहरूको आकर्षण देखिएको छैन । बीमा कम्पनीहरूको मुख्य आम्दानीको स्रोत नै बीमितबाट संकलित रकम लगानीबाट प्राप्त हुने प्रतिफल हो । बीमितबाट संकलित बीमाशुल्क कम्पनीहरूले उद्योग, व्यवसाय, बैंक निक्षेपलगायत क्षेत्रमा लगानी गर्छन् । त्यसबाट हुने प्रतिफल नै बीमा कम्पनीहरूको मुख्य आम्दानी हो । तसर्थ, कस्तो क्षेत्रमा लगानी गरिएको छ भन्ने कुराले आम्दानीमा ठूलो अर्थ राख्छ । बीमा समितिले २०७५ सालमा लगानी नयाँ निर्देशिका ल्याएर बीमा कम्पनीहरूले लगानी गर्न पाउने क्षेत्र फराकिलो बनाएको थियो । निर्देशिकामार्फत बीमा कम्पनीहरूले आफ्नो कुल लगानीयोग्य रकम (टेक्निकल रिजर्भ) को ५ प्रतिशतसम्म घरजग्गामा लगानी गर्न पाउने व्यवस्था गरिएको हो । यो प्रावधान बाध्यकारी भने होइन । कम्पनीहरूलाई घरजग्गामा लगानी गर्ने बाटो खोल्न समितिले नीतिगत व्यवस्था गरेको हो । बीमा कम्पनीका उच्च अधिकारीहरू भने घरजग्गामा लगानी गर्न इच्छुक नै नभएको भन्न नमिल्ने बताउँछन् । प्राविधिक समस्याले गर्दा घरजग्गामा लगानी नगरेको उनीहरूको तर्क छ । ‘समितिको नयाँ निर्देशिका कार्यान्वयन गर्ने तयारीको क्रममा कोरोना महामारी आयो । कोरोनापछि विभिन्न कारणले अर्थतन्त्र थप समस्यामा पर्‍यो,’ एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्त भन्छन्, ‘त्यसमाथि नेपालको घरजग्गा मूल्य र कारोबार भोलाटाइल छ । त्यसकारण तत्काल घरजग्गा लगानी नबढाइएको हो ।’ समितिले तोकेको अनुपातमा लगानी गर्दा रकम नै कम हुने पनि कम्पनीहरूको भनाइ छ । अहिले जीवन बीमा कम्पनीसँग लगानीयोग्य रकम ७ खर्ब ६० अर्ब रुपैयाँ छ । त्यसअनुसार औसतमा एक कम्पनीसँग टेक्निकल रिजर्भ २३ अर्ब रुपैयाँ हाराहारी छ । २३ अर्बको ५ प्रतिशत रकम भनेको १ अर्ब १५ करोड हुन्छ । यता निर्जीवन बीमा कम्पनीहरूको टेक्निकल रिजर्भ १ अर्ब ५० करोड रुपैयाँ हाराहारी छ । त्यसको ५ प्रतिशत भनेको ७ करोड ५० लाख रुपैयाँ हो । त्यो रकम घरजग्गाका लागि न्यून हुने हुँदा बीमा कम्पनीहरूले लगानी गर्न नसकेको पन्त बताउँछन् । ‘त्यसमाथि नयाँ कम्पनीसँग असाध्यै थोरै लगानीयोग्य पूँजी छ । त्यसकारण घरजग्गामा लगानी गर्न समस्या छ,’ उनले भने, ‘हामी घरजग्गामा लगानी गर्न इच्छुक छौं । यो हाम्रा लागि ठूलो अवसर पनि हो । किनकि घरजग्गामा लगानीबाट बढी प्रतिफल पाइने सम्भावना पनि हुन्छ । तर, जम्मा ५/६ करोड रुपैयाँ लगेर कहाँ लगानी गर्ने ?’ पर्याप्त पूँजी नभएकाले बीमा कम्पनीहरूले घरजग्गामा लगानी गर्न नसकेको पन्तले थप स्पष्ट पारे । केही नीतिगत कुरा खुकुलो बनाए कम्पनीहरू लगानी गर्न तयारी अवस्थामा रहेको पनि उनले बताए । प्राइमलाइफ इस्योरेन्सका सीईओ मनोजकुमार भट्टराई पनि बीमा कम्पनी एक्लैले घरजग्गामा लगानी गर्ने अवस्था नभएको बताउँछन् । ‘पूँजीको आधारमा जीवन बीमाको हकमा केही कम्पनी एक्लै लगानी गर्न सक्ने अवस्थामा छन् । तर, यो क्षेत्रमा लगानी गरे पनि नियमित आम्दानी हुँदैन । घरजग्गा विक्री गरेपछि मात्र आम्दानी हुने हो । त्रैमासिक रूपमा ब्यालेन्स सिटमा देखाउने गरी हुँदैन । त्यसले गर्दा कम्पनीलाई नाफा कमाउन पनि चुनौती हुन्छ ।’ भट्टराई पनि यो अवस्थामा समितिले केही नीतिगत विषयलाई सम्बोधन गरिदिनुपर्ने बताउँछन् । ‘त्यसपछि हामी लगानी गर्न तयार छौं,’ उनले भने । घरजग्गामा टेक्निकल रिजर्भको ५ प्रतिशत नभएर रकमको आधारमा लगानी गर्न दिनुपर्ने उनको भनाइ छ । ‘त्यसपछि कम्पनीहरूले आफ्नो क्षमताअनुसार लगानी गर्न सक्छन्,’ सीईओ भट्टराईले भने, ‘साथै, धेरै पूँजी भएका कम्पनीलाई पनि घरजग्गामा लगानी गर्न अनिवार्य गर्नुपर्छ ।’ यस्तै, कन्सोर्टियम (सहलगानी) मार्फत कम्पनीहरूले संयुक्त रूपमा घरजग्गामा लगानी गर्न पाउनुपर्ने उनको भनाइ छ । ‘लगानीकै विषयमा कुरा गर्ने हो भने त सरकारले बीमाका लागि छुट्टै बोन्ड जारी गर्नुपर्छ । त्यस्तो व्यवस्था गरे बीमा कम्पनीहरूको प्रतिफल पनि राम्रो हुन्थ्यो,’ उनले भने, ‘सरकारले पनि समयसम्म पूँजी परिचालन गर्न पाउने थियो ।’

न्यू बिजनेश एज २१औं वार्षिकोत्सव विशेष, वित्तीय क्षेत्र : हिजो, आज र भोलि

पछिल्लो समय नेपालमा तीव्र विकास भएकामध्ये वित्तीय क्षेत्र पनि एक हो । यस अवधिमा संख्यात्मक तथा गुणात्मक दुवै किसिमबाट वित्तीय क्षेत्रको विकास भएको छ । राज्यले बैंक तथा वित्तीय संस्थाको संख्या वृद्धि गर्दै वित्तीय पहुँच बढाउने नीति लिएको पाइन्छ । नेपालमा बैंकिङ क्षेत्र सरकारी र अर्धसरकारी संस्थाका रूपमा मात्र शुरू भएको हो । सरकारीस्तरमा सञ्चालनमा रहेका बैंकहरूले दिएको सेवा एक प्रकारले ठीकै छ, चलिरहेको छ भन्ने पनि थियो भने अर्कोतर्फ आवश्यक मात्रामा सेवा पुगेको छैन भन्ने पनि महसूस हुन थाल्यो । सँगसँगै बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्र्याउनु र बैंकिङ सेवालाई सेवाग्राही उन्मुख बनाउनुपर्छ भनेर निजीक्षेत्रको लगानीमा बैंक स्थापना गर्न लाइसेन्स दिन शुरू गरिएको हो । नेपालमा निजीक्षेत्रबाट बैंक स्थापना शुरूमा विदेशीको समेत संयुक्त लगानीमा भएको पाइन्छ । संयुक्त लगानीमा नबिल, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश र एभरेष्ट स्थापना भएका हुन् । बैंकिङ सेवामा विदेशी लगानी र निजीक्षेत्रको प्रवेशसँगै परम्परागत बैंकिङभन्दा छिटो छरितो रूपमा सेवाग्राहीलाई सेवा दिनुपर्छ भन्ने अवधारणा आएको हो । यसबाट पुराना बैंकलाई आफ्नो सेवालाई आधुनिक बनाउन दबाबको वातावरण सृजना भयो । निजी बैंक आएपछि पूर्ण सरकारी बैंकहरू सेवामा भद्दा देखिए । यिनीहरूको कर्जाको दुरुपयोग भएका कारण खराब कर्जा पनि उच्च भयो । फेरि विदेशी लगानी भएका बैंकहरूबाट पनि क्रमश: विदेशी लगानी फिर्ता भयो । सरकारले सरकारी र अर्धसरकारी बैंकहरूलाई पनि पुन:संरचना गर्नुपर्छ भनेपछि विश्व बैंकको आर्थिक सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम शुरू भयो । त्यही कार्यक्रमका दौरान एकजना गभर्नर भ्रष्टाचारको मुद्दामा पनि मुछिए । तत्कालीन गभर्नर विजयनाथ भट्टराईले वित्तीय सुधार कार्यक्रममा कन्सल्ट्यान्ट नियुक्त गर्दा भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेप्नुपर्‍यो । पछि उहाँले अदालतबाट सफाइ पाउनुभयो । त्यो समयमा वित्तीय पहुँच बढाउन बैंक तथा वित्तीय संस्थालाई भकाभक लाइसेन्स दिन थालियो । यसबाट शहरमा बैंकको उपस्थिति ‘ओभर क्राउडेड’ भयो । शहरमा एउटै घरमा धेरैओटा बैंकका बोर्ड देखिने थाले तर, गाउँघर र दुर्गममा वित्तीय सेवा पुग्न सकेन । त्यसपछि गाउँमा बैंक पुर्‍याउन केन्द्रीय बैंकले बैंक खोल्न र शाखा विस्तार गर्न शर्तहरू तोक्न थाल्यो । एकजिल्ले, तीनजिल्ले, १० जिल्लेका रूपमा पनि बैंकलाई अनुमति दिन थालियो । बैंकहरूले ग्रामीण क्षेत्रमा शाखा खोलेमा मात्र शहरमा शाखा खोल्न पाउने व्यवस्था भयो । गाउँमा जान प्रोत्साहन गर्नकै निम्ति निर्ब्याजी सापटी दिनेसम्मको नीति आयो । विदेशबाट आयात गरिएको भटमास तेलको कारोबारलाई समेत जोडेर कृषिको लगानी सुधारात्मक छ भनेर देखाउने चेष्टा गरिएको छ । अहिले पनि कुनै बैंकको शाखामा गएर चेक भुक्तानी लिनुपर्‍यो भने १०–१५ मिनेट कुर्नुपर्ने अवस्था छ । ग्राहकको अपेक्षाअनुसार सेवा प्रवाह चुस्त हुन नसकेको गुनासो छ । पछि बैंकहरू संख्यात्मक रूपमा धेरै भएको अनुभव भयो । हामीलाई आवश्यक बैंकको संख्या कति हो, कति भए उपयुक्त हुन्छ भन्ने विषयमा अध्ययन, अनुसन्धान त भएन तर मनोगत रूपले नै संख्या बढी भयो भनेर मर्जरको नीति अघि सारियो । संख्या घटाउन २/३ ओटा नीति अघि सारियो । एउटा नीति बैंकहरूको पूँजी वृद्धि गरेर त्यो गर्न नसक्नेलाई विकल्पका रूपमा मर्जर रोज्नुपर्छ भनेर कतिपय बैंक मर्जरमा गए । हिजो ३० हजार जनसंख्या बराबर एउटा बैंक शाखा रहेकोमा अहिले १२–१३ हजार जनसंख्या बराबर एउटा शाखा पुगेको छ । बैंकको सेवा विस्तार भए पनि अझै बैंकहरू नाफामुखी भए, तल्लो वर्गसम्म सेवा पुगेन भन्ने गुनासो छ । यो अवस्था तथ्यांकले पनि देखाउँछ । किनकि बैंकहरूले कुल लगानीको १३ प्रतिशत कृषिमा गर्नुपर्ने भए पनि उनीहरूले ११ दशमलव १५ प्रतिशत मात्र गरेका छन् । विदेशबाट आयात गरिएको भटमास तेलको कारोबारलाई समेत जोडेर कृषिको लगानी सुधारात्मक छ भनेर देखाउने चेष्टा गरिएको छ । अहिले पनि कुनै बैंकको शाखामा गएर चेक भुक्तानी लिनुपर्‍यो भने १०–१५ मिनेट कुर्नुपर्ने अवस्था छ । ग्राहकको अपेक्षाअनुसार सेवा प्रवाह चुस्त हुन नसकेको गुनासो छ । तर, २०४६/४७ सालको तुलनामा प्रविधिको प्रयोग, सेवा प्रवाहको चुस्त, दुरुस्तपन, वित्तीय पहुँच, बैंक तथा वित्तीय संस्थाको पूँजी, नाफाको हिसाबले धेरै प्रगति भएको छ । तर, अहिले बैंकिङ क्षेत्रले तरलताको समस्यामा छौं भनेको छ । कोभिड–१९ महामारीले बैंकको व्यवसायमा असर पर्‍यो भने पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमै आधा खर्बभन्दा बढी नाफा भएको विवरण प्रकाशित भएको छ । अहिले पनि बैंकहरूको खराब कर्जा औसतमा १ दशमलव ३६ प्रतिशत छ । यसले एउटै दिशामा नतिजा देखाउँदैन । उनीहरूले भने नियामक निकायले पूँजी वृद्धि गर्न बाध्य बनायो, हकप्रद शेयर जारी गरेर भए पनि पूँजी बढाएपछि प्रतिफल धेरै घटेर गएकाले लगानी बढाउन दबाब भएको बताउने गरेका छन् । यसले गर्दा पनि बैंकिङ क्षेत्र दबाबमा देखिन्छ । नेपालमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त संस्थाहरू फरकफरक उद्देश्यले स्थापित भएका संस्था हुन् । नेपालमा बैंक तथा वित्तीय संस्थालाई बजारको आधारमा ब्याजदर निर्धारण गर्न स्वतन्त्र छोडिएको छ । केन्द्रीय बैंकले ब्याजदर व्यवस्थित गर्न केही नीतिका आधारमा गाइड गर्दै आएको छ । पछिल्लो समय ब्याजदरसम्बन्धी विवाद पनि ठूलो बनेको छ । विगतमा बैंकहरूले मिलेमतोबाटै भद्र सहमति भनेर ब्याजदरलाई एउटा सीमाभित्र राख्ने प्रयास गरे । तर, ठूला संस्थागत बचतकर्ताले फिर्ता लिन थालेपछि बैंकहरूलाई अप्ठ्यारो पर्‍यो । एउटा बैंकले त ११ दशमलव ०६ प्रतिशतसम्म ब्याजदर पुर्‍यायो भन्ने पनि सार्वजनिक भयो । अहिले बैंकहरूले एकपटकमा औसत ब्याजदर १० प्रतिशतले मात्र घटबढ गर्न पाउने केन्द्रीय बैंकले व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाको संख्या, दायरा विस्तारसँगै बैंकको पूँजी र कारोबारको आकार वृद्धि भए पनि त्यसअनुसार देशको आर्थिक विकासमा बैंकिङ क्षेत्रको योगदान भएन कि भनेर पनि आलोचना हुने गरेको छ । कोभिडको दुष्प्रभाव कम गर्न केन्द्रीय बैंकले १ खर्ब ५८ अर्ब ३८ करोड पुनर्कर्जा शीर्षकमा र सहुलियत कर्जा शीर्षकमा २ खर्ब १३ अर्ब १८ करोड बजारमा पठाए पनि त्यो अन्यत्र लगानी भएको हो कि भनेर मौद्रिक नीतिमै परिवर्तन ल्याएको अवस्था छ । व्यापारघाटा ९ महीनामै १३ खर्ब ६ अर्ब नाघेको छ । यो अवस्था हेर्ने हो भने व्यापारघाटाले देशको बजेटलाई नाघ्ने देखिएको छ । बैंकको कर्जा लगानी बढिरहने तर त्यसअनुसार उत्पादन वृद्धि नहुने, आर्थिक वृद्धि नहुने हुँदा कहीँ न कहीँ हाम्रो कर्जा नीति ठिक छैन कि भन्ने परेको छ । बैंकको कर्जालाई उचित किसिमले परिचालन गर्न निगरानी नपुगेको देखिन्छ । बैंकहरूले पनि नाफा कमाउने क्षेत्रमा लगानी केन्द्रित गरे, जसको कारण शेयरबजार, अटोमोबाइल, घरजग्गा, व्यापार, आयातमा कर्जा बढी गएको देखिन्छ । नेपालमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त संस्थाहरू फरकफरक उद्देश्यले स्थापित भएका संस्था हुन् । बैंक तथा वित्तीय संस्था ऐन २०५८ अनुसार यिनीहरूको भूमिका फरक छ । वाणिज्य कारोबार वाणिज्य बैंकमार्फत, त्योभन्दा सानो रकमको कारोबार र विकाससम्बन्धी काममा विकास बैंक र हायर पर्चेजलगायत काममा फाइनान्स कम्पनीको भूमिका हो । फरक संस्था भए पनि यसका प्रवर्द्धक एकै भएपछि सबै नाफा कमाउने काममा केन्द्रित भए । विकास बैंकले पनि एलसी खोल्न अनुमति पाउनुपर्छ, ठेक्कापट्टाको ग्यारेन्टी जारी गर्न पाउनुपर्छ भनेर माग भयो । नीति निर्माताहरू प्रभावित हुँदा प्रावधानहरू पनि खुकुला बनाइए र सबैको काम एकै प्रकारको जस्तो देखिएको छ । शुरूशुरूमा बजेटजस्तो गरी मौद्रिक नीति सार्वजनिक गर्ने प्रचलन थिएन । नेपाल राष्ट्र बैंक ऐन आएपछि मौद्रिक नीति जारी गर्ने चलन शुरू भयो । लघुवित्त गरीबसँग काम गर्ने संस्था हुन् । तर, यिनीहरूसँग आफ्नै स्रोत साधन नहुँदा ब्याजदर माथि गयो । गरीबका लागि खोलिएका संस्थाको ब्याजदर महँगो भयो । एउटै ऋणीले धेरैओटाबाट कर्जा लिँदा समस्या पनि सृजना भएको छ । शुरूशुरूमा बजेटजस्तो गरी मौद्रिक नीति सार्वजनिक गर्ने प्रचलन थिएन । नेपाल राष्ट्र बैंक ऐन आएपछि मौद्रिक नीति जारी गर्ने चलन शुरू भयो । पछि देशको आर्थिक अवस्थाबारे रिपोर्ट तयार गरेर सरकारलाई बुझाउन थालियो । बैंक तथा वित्तीय संस्था अनुगमन गरेको रिपोर्ट पनि सार्वजनिक गरियो । अन्तरराष्ट्रिय रूपमा प्रचलनमा आएका नयाँनयाँ आयामलाई सँगै लिएर बैंकिङ क्षेत्रलाई अघि बढाइएको छ । विगतमा विभिन्न संस्थामा राष्ट्र बैंकको शेयर लगानी भए पनि त्यसबाट हट्दै जानुपर्छ भनेर शेयर विक्री गरिएको छ । आफूले अनुगमन गर्ने संस्थामा आफै लगानीकर्ता हुँदा स्वार्थको द्वन्द्व हुन्छ । बैंकिङ क्षेत्रलाई पुन:संरचना गर्दै जाँदा केही विषयमा ग्याप पनि देखिएको छ । कर्मचारीको संख्या कम हुँदै जाँदा कतिपय अवस्थामा बैंक तथा वित्तीय संस्थामा निगरानी पुग्न नसकेको हो कि जस्तो पनि देखिन्छ । किनकि केन्द्रीय बैंकले २ महीनाअघि अनुगमन गरेर राम्रो भनेको संस्था २ महीनामै समस्याग्रस्त भएको उदाहरण पनि छ । कर्मचारीको संख्या कम भएकाले निरीक्षण कमजोर पनि भएको छ । वा, कर्मचारीको बदनियत पनि हुन सक्छ । अहिले केन्द्रीय बैंकबाट अफसाइट र अनसाइट निरीक्षण हुन्छ । जोखिममा आधारित अनुगमन पनि हुन्छ । वित्तीय क्षेत्रमा सुशासन कायम गर्न केन्द्रीय बैंक प्रयासरत छ । प्रविधिको विकाससँगै वित्तीय क्षेत्रमा जोखिम पनि बढेर गएका छन् । पछिल्लोपटक गभर्नर महाप्रसाद अधिकारीको निलम्बनले राष्ट्र बैंकको स्वायत्तताको विषय पनि सतहमा आएको छ । ऐनअनुसार गभर्नर, सञ्चालकको नियुक्ति अर्थ मन्त्रालयको सिफारिशमा मन्त्रिपरिषद्बाट गर्ने हो । केन्द्रीय बैंक स्वायत्त हुनुपर्छ भनेर हिजैबाट भन्दै आएका हौं । तर, विगतमा कल्याणविक्रम अधिकारी गभर्नर हुँदा पनि सरकारसँग विवाद भयो । गणेशबहादुर थापा गभर्नर हुँदा पनि राजीनामा गर्न बाध्य पारियो । राष्ट्र बैंक ऐनले केन्द्रीय बैंकलाई प्रोटेक्शन दिन खोजेको छ भने बैंक, वित्तीय संस्थाको व्यवस्थापनमा सक्षमता देखाउन नसकेको खण्डमा, ठूलो जोखिम निम्त्याएमा, बेइमानी गरेमा, कारवाही गर्नसक्ने अधिकार पनि छ । प्रविधिको विकाससँगै वित्तीय क्षेत्रमा जोखिम पनि बढेर गएका छन् । यसैगरी, केन्द्रीय बैंकको ब्याकिङ नभएका क्रिप्टोकरेन्सी जस्ता भर्चुअल मुद्राको विषय पनि अगाडि आएका छन् । हाम्रा छिमेकी मुलुकमै यसलाई वैधानिकता दिन लागिएको छ भनेर हामीलाई दबाब छ । तर, अँध्यारोमा हाम्फाल्दा इनार वा खाल्टोमा पनि पर्न सकिन्छ । यस विषयमा अध्ययन, अनुसन्धान गरेर अघि बढ्नुपर्छ । बैंक तथा वित्तीय क्षेत्रका व्यवस्थापक र लगानीकर्ताले बैंक मेरो हो भन्ने ढंगले हेरेका हुन्छन् । त्यसैले यहाँ भएको स्रोतसाधनको अधिकतम उपभोग गर्छन् । तर, बैंकहरूले व्यवसाय गर्दा जिम्मेवार बन्नुपर्छ । भरखरै मात्र पनि राष्ट्र बैंकले दिशा दिने क्रममा एलसी खोल्न निरुत्साहित गर्नुहोस् भन्दा बैंकहरू जिम्मेवार भए र एलसी खोल्न बन्द गरेका छन् । उत्पादन क्षेत्रतर्फ बैंकको कर्जा प्रवाह बढाउन आवश्यक छ । किनकि कृषिप्रधान देशमा हामी खर्बौं कृषिजन्य उपज आयात गर्छौं । बैंकको कर्जासँगै सरकारी नीति पनि त्यसतर्फ केन्द्रित गर्नुपर्छ । राज्यले पनि आन्तरिक स्रोतसाधन परिचालन गर्न व्यावहारिक नीति र हाम्रो जनशक्तिलाई यहीँ नै खपत गर्ने हुनुपर्छ । हाम्रो शिक्षानीति पनि प्राविधिक तथा व्यावहारिक विषय केन्द्रित हुनुपर्छ । यसबाट देशभित्र रोजगारी विकास, सेवामूलक र उत्पादनमूलक व्यवसाय बढ्दै गयो भने आयात गर्नुपर्ने अवस्था हुँदैन । अर्थतन्त्रलाई यस दिशामा उन्मुख गराउन वित्तीय क्षेत्रलाई पनि त्यसैअनुसार परिचालन गर्नुपर्ने अबको आवश्यकता हो । (यादव हुमागाईसँगको कुराकानीमा आधारित)

महिला उद्यमशीलता बढाउन इकोसिस्टमकै विकास हुनुपर्छ: प्रनु सिंह

बैशाख १६, काठमाडौं। कोरोना महामारी महिलालाई मात्रै नभई सबै उद्यमीलाई सिकाइ स्रोत भएको छ । यसबीचमा महिला उद्यमीकै लागि लक्षित फरक नीति नियम पनि आएका छन्, जुन हामी नेपालमा भएका बैंकहरूले पनि अवलम्बन गर्छौं । यद्यपि यस्ता कतिपय योजना तथा कार्यक्रममा महिलाको पहुँच नपुगेको पनि देखिन्छ ।   अहिले महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने व्यवस्था छ । त्यसको कार्यान्वयन हामीले गरेका छौं । यस्तै अहिले वित्तीय साक्षरताको जुन फ्रेमवर्क निकालिएको छ, त्यो एकदमै राम्रो छ । हामीहरू पनि धेरै उत्साहित छौं । हामीले त्यसमा पहिले नै काम थालिसकेका छौं । अरू बंैकले पनि गरिरहेका छन् । यसले प्रभावकारी उपलब्धि हासिल हुनेमा विश्वस्त छौं । महिला उद्यमीलाई जागरुक बनाउन, व्यवसायमा प्रोत्साहन गर्न, माथि उकास्न एउटा इकोसिस्टमकै विकास हुनुपर्छ जस्तो लाग्छ । उद्यमशीलता, शीप तथा क्षमता विकास र बजारीकरणमा रहेको पहुँचको अन्तर कम गर्न पनि त्यसको आवश्यकता छ । कोभिड महामारीले व्यवसाय गर्ने परम्परागत शैलीमा ठूलो परिवर्तन ल्याएको छ । प्रविधिमैत्री र समयसापेक्ष भएर काम गर्न महिलाहरूलाई तुलनात्मक रूपमा चुनौती पनि छन् । तर केही समय लाग्ला, यसमा देखिएका चुनौती र समस्याको समाधान पक्कै हुनेछ । पछिल्लो समय महिला उद्यमशीलता प्रवर्द्धनका लागि सरकार र नियामक निकायबाट जति पनि नीतिगत व्यवस्था, निर्देशनहरू आउँदै छन्, (मन्त्रालयहरूबाट होस्, राष्ट्र बैंकबाट) ती स्वागतयोग्य छन् । तर तिनको प्रभावकारी कार्यान्वयनको पाटो महत्त्वपूर्ण हुन्छ । सरकारले ल्याएका वा ल्याउने यस्ता नीतिगत व्यवस्थाको व्यावहारिक तहमा देखिएका समस्याको समाधान भए मात्र सार्थक नतीजा हासिल हुन सक्छ ।  पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू डिजिटल बन्दै गएका छन् । मेरै संस्थाको कुरा गर्दा पनि हामीले डिजिटलाइजेशनमा चरणबद्ध रूपमा गर्ने कामको तीनवर्षे योजना बनाएका थियौं । तर महामारीले यो काममा एकैपटक गति बढाउनुपर्‍यो । महामारीजन्य विषम परिस्थिति र आवश्यकताले तीन वर्षको काम तत्कालै गर्नुपर्‍यो । किनकि त्यो ग्राहक वर्गको माग समेत थियो । ‘होम बैैंकिङ’को अवधारणा आयो । घरमै बसीबसी कर्जाका लागि आवेदन, एलसी खोल्ने लगायत सुविधा दियौं । ‘वर्क फ्रम होम’ सम्भव होला र भन्ने लाग्थ्यो । तर तत्कालीन आवश्यकता र बाध्यताले यसलाई सफल रूपमा कार्यान्वयन गर्न सकियो । महिला उद्यमशीलताको क्षेत्रमा अझै पनि धेरै चुनौती छन् कुरा आए, जुन यथार्थ पनि हो । किनकि कुनै पनि पेशा, व्यवसायको थालनीमा परिवार र समुदायले हेर्ने दृष्टिकोणले पनि फरक पार्छ । एउटा महिला उद्यमीले उद्यम गर्छु भन्दा त्यसलाई घरपरिवारले कसरी लिन्छ, साथ/सहयोग पाइन्छ कि पाइँदैन भन्ने कुराले ठूलो अर्थ राख्छ । त्यसैले महिलालाई उद्यम व्यवसायमा अघि बढ्न परिवार र समुदायको समेत प्रोत्साहनको खाँचो पर्छ । यसमा मुख्य कुरा त सोच नै परिवर्तन हुनुपर्छ । हाम्रो समाजमा अझै पनि ‘महिलाले घर चलाउने, पुरुषले बाहिर काम गर्ने’ भन्ने पुरातन मान्यता छ । महिलालाई स्वतन्त्र भएर काम गर्न, उद्यम व्यवसाय शुरू गर्न यस्ता कुरा पनि बाधक देखिन्छन् । यसको परिवर्तन एउटा लामो प्रक्रिया हो । अहिले भइरहेका प्रयास, पहल र अभियान सकारात्मक छन् । यससँगै परिवार र समुदायस्तरमै चेतना जगाउन पनि आवश्यक छ ।

फूलको आयात बढ्दो निर्यात घट्दो

काठमाडौं । उत्पादनमा करीब ९० प्रतिशत आत्मनिर्भर भएको भनिएको फूलको आयात पछिल्ला वर्षमा ह्वात्तै बढेको पाइएको छ । निर्यात क्रमश: घट्दै गएको तथ्यांकले देखाउँछ । फ्लोरिकल्चर एशोसिएशन नेपालका अनुसार आर्थिक वर्ष (आव) २०७७/७८ मा मुलुकमा ३८ करोड ५३ लाख रुपैयाँ बराबरको फूल आयात भएको छ । निर्यात ४८ लाख रुपैयाँमा सीमित छ । कोरोना महामारीको प्रभावसँगै पुष्प व्यवसायमा लगानी घट्दा निर्यात खस्केको व्यवसायी बताउँछन् । आव २०७३/७४ मा फूल आयात ११ करोड ३६ लाख र निर्यात ३ करोड ६५ लाख रुपैयाँ बराबर थियो । त्यसपछि आयात क्रमश: बढ्दै र निर्यात खुम्चिँदै गएको देखिन्छ । चालू आवको ८ महीना (साउन–फागुन) को तथ्यांक हेर्दा १७ करोड ८४ लाख ६९ हजार रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएको देखिन्छ । उक्त अवधिमा ३३ लाख ७८ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । एशोसिएशनका अध्यक्ष मीनबहादुर तामाङ पछिल्ला वर्ष निर्यात घट्दै जानुमा पुष्प व्यवसायीले निर्यातयोग्य फूल उत्पादन गर्न नसक्नु र कोरोना महामारीको प्रभावलाई कारण मान्छन् । ९/१० वर्षअघि नेपालले अमेरिका, अस्ट्रेलियालगायत यूरोपेली मुलुकमा वार्षिक १९ करोड रुपैयाँसम्मको फूल निर्यात गरेको उनले बताए । पछिल्ला वर्ष पुष्प व्यवसायमा ठूलो मात्रामा लगानी हुन नसक्दा अन्तरराष्ट्रिय स्तरमा माग हुने फूल उत्पादन गर्न नसकिएको उनले बताए । उनका अनुसार केही वर्ष अघिसम्म नेपालमा उत्पादन हुने गुलाफको फूलको माग विश्व बजारमा ठूलो मात्रामा हुने गथ्र्यो । अहिले महामारीको प्रभाव र मागअनुसार गुणस्तरीय फूल दिन नसकदा निर्यात घटेको उनको भनाइ छ । निर्यात बढाउन पुष्प व्यवसायमा ठूलो लगानी गर्ने वातावरण बनाउन राज्य जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ छ । ‘राष्ट्र बैंकको नीतिले कृषिमा ५ करोड रुपैयाँसम्म ऋण दिने भनेको छ । तर, निर्यातयोग्य फूल उत्पादन गर्न यो लगानी निकै थोरै हुन्छ । त्यसैले राज्यले यस्ता कुरातर्फमा पनि ध्यान दिनु जरुरी छ,’ उनले भने । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेल पनि तामाङको भनाइमा सहमत छन् । कृषिक्षेत्रमा ठूलो लगानी गरी निर्यातयोग्य फूल उत्पादन गर्न राष्ट्र बैंकले दिने एकीकृत सहुलियत कर्जा अपर्याप्त भएको उनले बताए । व्यवसायको प्रकृति हेरेर यस्तो कर्जा ५ देखि ५० करोडसम्म पुर्‍याउनुपर्ने सुझावसहित कार्यविधि बनाएर मन्त्रालयले सहमतिका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालय पठाएको उनले जानकारी दिए । सञ्जेल त निर्यात बढाउन सरकारले पुष्प व्यवसाय हेर्ने छुट्टै निकाय नै स्थापना गर्नुपर्ने बताउँछन् । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट मन्त्रालयको सिफारिश कार्यान्वयन गर्न कार्यविधि संशोधन गर्नुपर्ने बताउँछन् । सरकारले सहुलियतपूर्ण कर्जा दिने कार्यविधि संशोधन गरे त्यस्तो अवस्था आउन सक्छ । सरकारले कार्यविधि संशोधन नगरी राष्ट्र बैंक एक्लैले केही गर्न नसक्ने उनको तर्क छ । ६ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको र ४३ जिल्लामा फैलिएको पुष्प व्यवसायमा महामारी अघिसम्म उद्यमी, व्यवसायी र किसान गरी करीब ७ सय जना आबद्ध थिए । महामारीपछि करीब १० प्रतिशत किसान तथा व्यवसायी घटेको एशोसिएशनको भनाइ छ । त्यसैगरी, पुष्पखेतीमा प्रयोग भइरहेको ३० हजार वर्गकिलोमीटरभन्दा बढी जमीन बाँझो रहेको र अन्य जमीनमा पनि पूर्ण क्षमतामा उत्पादन हुन नसकेको एशोसिएशनको बुझाइ छ ।

संकट सम्बोधनमा मौद्रिक नीति

चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि व्यावसायिक क्षेत्रबाट विभिन्न अपेक्षासहित सुझाव दिने क्रम जारी छ । निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले अहिले अर्थतन्त्रमा देखिएका समस्याको निकास निस्कोस् भनी दिइएका सुझावहरू मुख्यतया कर्जायोग्य रकमको अभावका कारण ब्याजदर वृद्धिले भोग्नु परेको समस्या र घट्दो विदेशी विनिमय सञ्चितिका कारण राष्ट्र बैंकले विभिन्न क्षेत्रमा गरेको कडाइसँग सम्बद्ध छन् । अर्थतन्त्र संकटाभिमुख देखिइरहेको सन्दर्भमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा मुख्यतया कर्जायोग्य रकमको कमी र विदेशी विनिमय सञ्चितिसँग सम्बद्ध कुरा प्राथमिकतामा पर्नुपर्ने देखिन्छ । मुलुकमा अहिले कर्जायोग्य रकमको कमी देखिएको छ, जसले अर्थतन्त्रको विस्तारमा अवरोध पुर्‍याउन सक्छ । कर्जाको माग बढ्नुको अर्थ अर्थतन्त्र विस्तार हुँदै छ भन्ने कुराको संकेत हो । बैंकहरूमा देखिएको यो समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले विभिन्न नीतिगत सहजीकरण नगरेको पनि होइन । तर, ती पर्याप्त भएनन् अथवा व्यावहारिक भएनन् भन्ने देखिन्छ । त्यसैले अर्धवार्षिक समीक्षामा यस्ता नीतिको पुनरवलोकन जरुरी देखिएको छ । निजीक्षेत्रका संघसंस्थाका सुझावलाई समेट्नेतर्फ केन्द्रीय बैंक सकारात्मक हुनुपर्छ । खासगरी कोरोनाबाट प्रभावितहरूलाई दिएका विभिन्न छूटलाई निरन्तरता दिने पक्षमा राष्ट्र बैंक तयार भएको देखिँदैन । तर, थलिएका व्यवसाय माथि उठ्न अझै केही समय त्यस्तो सुविधालाई निरन्तरता दिनु जरुरी छ । मुलुकभित्रै ठूलो रकम छ, जुन अनौपचारिक क्षेत्रमा छ । यस्तो रकम घरजग्गा व्यवसायमा लगानी भइरहेको अनुमान छ । घरजग्गाको मूल्य अकाशिएको र मानिसहरूले यसमा लगानी धेरै गरिरहेको अवस्था छ । तर, यसको कारोबार बैंकिङ प्रणालीमार्फत भइरहेको छैन । तरलताको समस्या सम्बोधनका लागि विदेशबाट ऋण ल्याउन बैंकहरूलाई राष्ट्र बैंकले बाटो खोलिदिए पनि एकाध बैंकले बाहेक अन्यले यस्तो ऋण ल्याउन सकेका छैनन् । के कारणले यस्तो भएको हो त्यसलाई सम्बोधन गरिदिनु उपयुक्त हुन्छ । बैंकहरूमा लगानीयोग्य रकमको अभाव कम गर्न केही काम गर्नैपर्ने हुन्छ । तर, त्यो काम उसको नियन्त्रणबाहिर छ । सरकारले पूँजीगत खर्च गर्न नसक्दा राजस्वजति सरकारी ढुकुटीमा थन्किएर बस्ने गरेको छ । यस्तो खर्च बढाउन राष्ट्र बैंकले केही पनि गर्न सक्दैन । त्यस्तै विकास साझेदारहरूसँग लिइएको विभिन्न सहयोग र कर्जाको शोधभर्ना हुन सकेको छैन किनभने सरकारले यसका लागि न काम गर्न सकेको  छ न सम्झौताअनुसार शर्त नै पूरा गरेको छ । राष्ट्र बैंकको अर्को टाउको दुखाइको विषय भनेको घट्दो विनिमय सञ्चिति हो । सञ्चिति घट्न नदिन उसले विभिन्न क्षेत्रमा कडाइ गरेको छ । खासगरी विलासिताका वस्तु आयात निरुत्साहित गर्न एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले भेदभाव भएको केही व्यवसायीको गुनासो रहेको छ भने केहीले यस्तो व्यवस्थाले अर्थतन्त्रको विकासका लागि आवश्यक वस्तुको आयात कठिन भएको भन्दै विरोध गरेका छन् । सरकारले कच्चा वस्तुका रूपमा प्रयोग हुने कतिपय वस्तुलाई विलासिताको भनेर आयातमा कडाइ गरेको छ । विनिमय सञ्चिति कम हुनुमा राष्ट्र बैंककै नीति कारण रहेको समेत पाइन्छ । उसले रेमिट्यान्स (विप्रेषण) कम्पनीहरूलाई विप्रेषण भित्रिनुपूर्व नै वैदेशिक रोजगारीमा गएका आफन्तलाई रू. १ लाखसम्म रकम भुक्तानी दिन सक्ने व्यवस्था गरेको छ । यस्तो भुक्तानी दिए पनि त्यस्ता कम्पनीले विप्रेषण भने लामो समयसम्म नल्याई बाहिरै राखेको समेत पाइएको छ । यस्ता छिद्रहरू अन्य पनि छन् । समीक्षमा यस्ता मसिना कुराहरूमा समेत ध्यान जानु जरुरी छ । मुलुकभित्रै ठूलो रकम छ जुन अनौपचारिक क्षेत्रमा छ । यस्तो रकम घरजग्गा व्यवसायमा लगानी भइरहेको अनुमान छ । घरजग्गाको मूल्य अकाशिएको र मानिसहरूले यसमा लगानी धेरै गरिरहेको अवस्था छ । तर, यसको कारोबार बैंकिङ प्रणालीमार्फत भइरहेको छैन । यसलाई बैंकिङ प्रणालीमा ल्याउन सके कर्जायोग्य रकम ठूलै परिमाणमा आउन सक्छ । अहिले घरजग्ग्गामा देखिएको ‘बबल’ ले कतै अर्थतन्त्र नै समस्यामा पर्ने हो कि भन्ने देखिएको छ । बैंकहरूले तोकिएको सीमाभन्दा बढी कर्जा यस क्षेत्रमा प्रवाह गरेका छन् । राष्ट्र बैंकले प्राथमिकता तोकेका क्षेत्रमा कर्जा प्रवाह सुस्ता भइरहँदा घरजग्गामा ठूलो परिमाणमा कर्जा प्रवाह हुनु र घरजग्गाको कारोबारले अनौपचारिक अर्थतन्त्रलाई नै गति दिनुले समस्या चाँडै नै विकराल नहोला भन्न सकिँदैन । अत: यी पक्षमा मौद्रिक समीक्षाले सम्बोधन गर्नैपर्ने देखिन्छ ।

कमाइ दिन सक्ने सरल व्यवसायहरू

ज्यादै धनी बन्ने लोभमा दौडनुभन्दा ठिक्क धनी बन्ने उपाय खोज्नुलाई व्यवसायको सरल तरीका भनिन्छ । यस्ता व्यवसायीले जीवनका आधारभूत चीजसँग सम्बद्ध व्यापारलाई ध्यान दिन्छन् । यसबाट चामत्कारिक आम्दानी नभए पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था आउँदैन । जस्तै राजमार्गका होटेलमा कोही न कोही खान, वास बस्न वा चिया पिउन आउँछ नै । त्यसैले मानिस हिँडडुल गर्ने ठाउँमा होटेलहरू खोलेका मानिसहरू अर्बपति नहोलान् तर आनन्दसँग जीवन बिताउन सक्छन् । त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालको बाहिर बूढानीलकण्ठ जाने सडकको सटरमा एकजना पाल्पाका व्यवसायीले होटेल राखेका छन् । मुख्य सडक छ तर अस्पतालबाट अलि टाढै छ । उनले त्यो त्यहाँ महीनामा ६५ हजार भाडा तिर्ने रहेछन् । बिहानदेखि रातिसम्म उनी व्यस्त रहेको देखिन्छ । मानिसहरू रोटी, भात, माछामासु, जाडोमा हल्का मदिरासमेत खान आइरहने उनको व्यापार चलिरहेको देखिन्छ । यसरी सडक, अस्पताल, बैंक, क्याम्पस नजिकका खाजा पसलेहरूले ठूलो परिवर्तन गर्न नसके पनि पैसा ठीकै कमाएका रहेछन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । अस्पतालभित्रको पसलमा नभएको औषधि बेच्ने त्यहाँ वरिपरिका अन्य निजी पसलमा धेरै ग्राहक झुम्मिएको देखिन्छ । त्यसैले जुन ठाउँमा जुन प्रकृतिका ग्राहक आउँछन् त्यस ठाउँमा सोही प्रकृतिको व्यापारमा हात हालेर त्यस क्षेत्रमा बढी ग्राहकमुखी भएर लाग्न सक्ने लगानीकर्ता असफल नहुने देखिन्छ । व्यावसायिक सोच बनाउँदा सरल र परम्परागत रूपमा चलिरहेका व्यवसायमा जीवन निर्वाह सहज देखिन्छ । उतारचढाव त व्यापारमा हुँदै हुँदैन भन्न सकिँदैन । केही वर्ष अगाडिसम्म हात खाली नहुने ओम अस्पताल अगाडिका औषधि, फलफूल र होटेलजस्ता पसलहरू यही मङ्सिर १३ गते साँझ सुनसान देखिए, त्यसैगरी पुलको साइडमा टेक्सीको लाइन बाक्लो हुन्थ्यो अहिले हेर्दा ज्यादै नै पातलो छ । त्यहाँका एक जना फलफूल पसलेलाई अहिले पहिलाजस्तो चमक छैन नि भनी सोध्दा, जवाफ आयो अहिले व्यापार घटेको छ । यसको कारण बारेमा अलि गहिरिएर सोधखोज गर्दा एक जना अलि बढी नाम चलेका डाक्टरले ओम छोडेपछि अन्य सहायक व्यवसायमा पनि ग्राहक घटेको बुझियो । बाह्य वातावरणले अवसर सृजना गर्दा चल्ने वा चुनौती थपिएमा नचल्ने अवस्था नआओस् भन्ने चाहने हो भने आफ्नै क्षमताले ग्राहक तान्न सकिने व्यवसायमा ध्यान दिनुपर्छ । आफ्नै कला, शीप, व्यावहारिकताको माध्यमबाट ग्राहक तान्ने गरी व्यवसाय सञ्चालन गर्नु ज्यादै राम्रो हो । सकेसम्म स्थान राम्रो भयो र आफ्नै तरीकाबाट ग्राहक तान्न सकियो भने, यो नै दिगो र ख्याति कमाउनलायक तरीका हो । थोरै पैसा हुनेले सकेसम्म स्थिर प्रकृतिका व्यापारमा लगानी गरौँ । जस्तै, दाल चामल, तेल, इन्धन आदि । यस्तो सामानको मोडल छिटोछिटो परिवर्तन हुँदैन । मानिसलाई त्यो चिज आवश्यक भइरहन्छ । जस्तै हामी सानो हुँदा कोकाकोला जस्तो थियो, अहिले पनि उस्तै छ र त्यत्तिकै बिकेको छ, मोटर–साइकल र हेलमेट पनि । यस्तै परिवर्तनको दर कम भएका व्यवसायहरूमा कमाउन र टिक्न सकिन्छ । इँटाहरू युगौंदेखि चारपाटे छन् र व्यापारीहरूले मज्जाले घर ठड्याएकै छन् । त्यसैले छिटोछिटो फेशन नफेरिने व्यवसायको खोजी गराैं । अनेक सत्तोसराप गरिए तापनि विश्वमा मदिरा र बियरको व्यापार घटेको छैन, वेदमा समेत मुक्तकण्ठले वाचन गरिने सोमरस बेचेर नेपालले गएको वर्ष २०७७÷७८ मदिराबाट रू. २५ अर्ब ३२ करोड, बियरबाट रू. २१ अर्ब र सिगरेट बिँडी (टोबाको)बाट रू. २० अर्ब अन्तःशुल्क उठाएको कुरा आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा लेखिएको छ औद्योगिक उत्पादनबाट रू. १५ अर्ब ८० करोडमात्र अन्तःशुल्क उठेको छ । यसको अर्थ मदिराको व्यापारमा फेशन परिवर्तनको मार कम देखिएको छ र व्यापार पनि बढेकै छ । शेयरबजारमा जसरी नेप्से घटेका बेलामा शेयर किन्ने गरिन्छ त्यसैगरी अन्य व्यवसाय गर्नेले पनि सकेसम्म चलिरहेको व्यवसाय खरीद गरेर त्यसलाई अलिकति फरक व्यवस्थापनका साथ चलाउने तरीका अपनाउनु पनि व्यवसायको सरल तरीका हो । कहिलेकाहीँ धैर्य गुमाएका कारोबारीले सस्तोमा विक्री गर्न लागेका व्यवसाय खरीद गरी नयाँ तरीकाले सञ्चालन गर्ने सोच पनि व्यवसायमा अगाडि बढ्ने उपाय हो । शीपमूलक काम जससँग प्रतिस्पर्धा गर्ने तागत अरू कसैसँग नहोस् वा निकै कमसँग होस् त्यस्तो व्यवसाय छान्नु बढी सहज हुन्छ । मर्मतमूलक कार्य जस्तै मोबाइल, ल्यापटप, टिभी, मोटरसाइकल आदिको विक्री पनि हुन्छ र मर्मतबाट दैनिक घरखर्च, बच्चाबच्चीको विद्यालय शुल्क पनि उठाउन सकिन्छ । यी सबै क्षेत्र चमत्कारका क्षेत्र नभए पनि उद्यमीलाई टिकाउने व्यावसायिक क्षेत्र हुन् । व्यवसाय जागीर होइन, जसमा निश्चित तलब होस् । यो भाग्यको खेल पनि होइन, जसमा अकस्मात् चिट्ठा ( लटरी) परोस् । त्यसैले यसमा सफल हुनका लागि निरन्तर मेहनत र ग्राहकसँग एकनासको व्यवहार गर्नुपर्छ । ग्राहक बढाउनु भनेको विश्वासको वातावरण कायम गर्दै मूल्य र गुणस्तरमा सन्तुलन बनाउनु हो । बजार बनाउने हो, ग्राहक सृजना गर्ने हो । बनीबनाउ सफलताका सूत्रहरू कतै पनि भेटिँदैन । अवसर खोज्दै र चुनौतीलाई परास्त गर्दै अगाडि बढ्ने हो । जुन व्यवसायमा सरलता छ, त्यहाँ टिकाउपन हुन्छ । त्यसैले सरल र सम्भावना भएका व्यवसाय रोजाैं । धेरै ठूला सपनामा रम्नुभन्दा टिक्ने र बिक्ने व्यवसायलाई बिस्तारै वृद्धि र विविधीकरण गर्ने उपायबाट प्रगति गर्दै जानुपर्छ । नेपालमा व्यवसायको वातावरण छैन, बजार सानो छ भन्नेजस्ता बहानाबाजी बनाउनुभन्दा हुने र सक्ने काममा लगानी गर्दै जानुपर्छ । शेयरबजार र अन्य व्यवसायमा फरक छ । त्यो के भने शेयरमा लगानीकर्ताको नियन्त्रण हँुदैन । तर, अन्य उद्यम, व्यवसायमा लगानीकर्ताकै नियन्त्रण हुन्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

नेपाली बैंकहरुले किन पाउँदैनन् अन्तरराष्ट्रिय अवार्ड ?

मंसिर १४, काठमाडौं । नेपालका बैंकहरुले नेपालमै विभिन्न शीर्षकमा अवार्ड पाउँदै आएका छन् ।   विभिन्न अन्तरराष्ट्रिय तथा विदेशी संस्थाहरुबाट पनि विभिन्न अवार्ड पाउँदै आएका छन् । विदेशी अवार्ड कार्यक्रममा सहभागी हुँदा पनि यहाँका बैंकहरुले नेपाल भित्रकै उत्कृष्ट बैंकको रुपमा मात्र अवार्ड पाएका छन् । तर, नेपालका बैंकहरुले दक्षिण एशिया, एशिया लगायतका क्षेत्रमा उत्कृष्ट बैंक भनेर अवार्ड पाएको इतिहास अझै छैन । आठ दशकभन्दा लामो इतिहास रहेको नेपाली बैंकिङ क्षेत्रले यस्तो अवार्ड किन पाएनन् त ? सरोकारवालाहरु के भन्छन् त ?  बिशेषगरी लण्डनको ‘द बैंकर’ म्यागजिनले हरेक वर्ष यस्तो अवार्ड प्रदान गर्दै आएको छ । त्यसमा नेपाली बैंकहरु सहभागी हुन्छन् । त्यसमा उनीहरूले नेपालको बैंकहरुमा उत्कृष्ट अर्थात् ‘बैंक अफ द इयर’ भनेर अवार्ड पाएका छन् । तर दक्षिण एशियाकै वा एशिया प्यासिफिक क्षेत्रको राम्रो बैंक भनेर अवार्ड पाउन अझै सकेका छैनन् ।  अहिलेसम्म विभिन्न वर्षहरुमा नेपालका एनएमबि, इभेष्टमेन्ट, मेगा, ग्लोबल तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ‘द बैंकर’ बाट नेपालको ‘बैंक अफ द इयर’ को अवार्ड पाईसकेका छन् । तर, दक्षिण एशिया वा एशियाको उत्कृष्ट बैंक भनेर, अथवा डिजिटलाइजेसनमा अगाडि भएको भनेर, दिगो बैंकिङ, वातावरण तथा सामाजिक व्यवस्थापन आदि क्षेत्रमा काम गरेको वा योगदान गरेको भनेर यहाँका बैंकहरुले अवार्ड पाउन सकेका छैनन् ।  नेपाली बैंकरहरुलाई सोध्दा केहीले यस्ता अवार्डमा शुल्क तिर्नु पर्ने र विभिन्न जानकारी दिनुपर्ने भएर पनि झन्झटिलो हुनाले यस्ता अवार्ड लिन खासै इच्छा नगरेको वताएका छन् । कोही भने दक्षिण एशिया स्तरमा नेपाली बैंकहरुभन्दा धेरै ओटा उत्कृष्ट बैंकहरु रहेको बताउँछन् । *ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यको विचारमा ती देशहरुको बजार ठूलो भएर पनि त्यहाँका बैंकहरु द बैंकरका कतिपय मापदण्डमा नेपाली बैंकभन्दा राम्रा देखिएका हुन् । ‘नेपाली बैंकहरुले अझै धेरै गर्न बाँकी छ’, उनले भने । यसको अर्थ नेपाली बैंकहरु पछाडि पर्नुको कारण आयोजक संस्थाले राखेको मापदण्ड रहेको देखिन्छ । आयोजक संस्थाहरुले यस्तो मापदण्ड राखेका छन् जसमा नेपाली बैंकहरु कमै मात्रामा अभ्यास गरिरहेका हुन्छन् ।  स्ट्याण्डर्ड चार्टर्ड बैंक अफ नेपालकी कर्पोरेट अफेयर्स, ब्रान्ड एन्ड मार्केटिंग प्रमुख प्रनु सिंहका अनुसार नेपालका बैंकहरुले क्षेत्रिय पुरस्कारका लागि क्षेत्रिय स्तरमै कुनै काम गरेको हुनुपर्छ । अनि बल्ल क्षेत्रिय पुरस्कारका लागि दावी गर्न पाईन्छ । यसरी कुनै अन्तरराष्ट्रिय पहल गरेको देखाउन नसकेर पनि नेपाली बैंकहरुले द बैंकरलगायतको जस्तो अन्तरराष्ट्रिय स्तरको पुरस्कारका लागि दावी नै गर्न मिल्ने अवस्था छैन ।  द बैंकरले बैंकहरुको रणनीतिक पहल, डिजिटल पहल, दिगो बैंकिङ पहल, दिगो बैंकिङ अभ्यास, संस्थागत सुशासन तथा पर्यावरण र सामाजिक व्यवस्थापन प्रणालीलाई मापदण्ड बनाएर त्यस्तो अवार्ड दिदैं आएको छ । यस मध्ये नेपाली बैंकहरु केही मापदण्डमा त्यति योग्य नरहेको बताइन्छ ।  बिशेषगरी नेपाली बैंकहरुले पर्यावरण र सामाजिक व्यवस्थापन प्रणालीमा त्यति काम गरेको पाइदैन । साथै, इन्टरनेशनल पार्टनरसिपमा पनि नेपाली बैंकहरु त्यति अग्रसर छैनन् । फलस्वरुप नेपाली बैंकहरुले त्यस्तो अवार्ड पाउन नसकेको जानकारवालाहरु बताउँछन् । त्यस्तै रणनीतिक अग्रसरतामा पनि नेपाली बैंकहरु पछि नै परेको पाइन्छ । उक्त बुँदामा द बैंकरले स्थानीय वण्ड तथा अन्तरराष्ट्रिय कर्जा बजारबाट रकम जुटाएर फन्डको विविधीकरण गरेको तथा साना व्यवसायमा लगानी गरेको तथा हरित कर्जा प्रवाह गरेको मूल्यांकन गर्ने गर्दछ ।  यसैगरी दिगो बैंकिङ पहल अन्तर्गत पनि हरित लगानीमै जोड दिइएको छ । यसै शीर्षकमा द बैंकरले देशलाई हरित उर्जामा आत्मनिर्भर बनाउने खालका परियोजनामा गरेको लगानीलाई हेर्छ । नेपाली बैंकहरुले जलविद्युत् र सौर्य उर्जामा लगानी गर्न थालेको धेरै नभइसकेकोले पनि उक्त मापदण्डमा नेपाली बैंकहरु पछि परेको हुनसक्छ । तर यसमा विस्तारै सुधार हुने अपेक्षा गर्न सकिन्छ ।  अर्को मापदण्डले उत्पादनमूलक तथा रियल सेक्टरमा लगानीको मूल्यांकन गर्छ । नेपाली बैंकहरुको प्रमुख लगानी आयात व्यापारमै भएर पनि नेपाली बैंकहरु पछि परेको हुनसक्छ । झन् अहिले कोभिड माहामारीपछि यस्ता अन्तरराष्ट्रिय अवार्डहरुमा कुन बैंकले आफ्नो बैंकलाई कसरी चुस्त राख्न सक्यो, कसरी ग्राहकहरुलाई अझ बढी सेवा दिन सक्यो भन्ने कुराहरु पनि हेर्ने गरिएको जानकारहरु बताउँछन् ।  *रत्नराज बज्राचार्य, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।