कुनै पनि देशको अर्थतन्त्रको अधिकांश अंश कम्पनीहरूले तिर्ने कर, भन्सार र अन्त:शुल्कबाट चलेको हुन्छ । यो एक कृत्रिम व्यक्ति हो र प्राकृतिक व्यक्तिहरूलाई कानूनी रूपमा आफ्नो पासोमा यसरी अठ्याएर राखेको हुन्छ जसले गर्दा मानिस काम गर्न बाध्य हुन्छ वा अर्को शब्दमा उत्प्रेरित हुन्छ । यस्ता कम्पनीले विधिसम्मत कर बुझाउनाले देशको अर्थतन्त्र धानिएको हुन्छ ।
शुरूमा कम्पनीको परिकल्पना चिया र पाउरोटीबाट भएको हो । चिया एक्लाएक्लै खान सकिने तर ठूलो पाउरोटी एक्लै खान र तिर्न नसकिने भएपछि, उपस्थित धेरैले थोरै पैसा तिरेर आफ्नो भोक र पैसाअनुसार एउटा ठूलो पाउरोटी बाँडेर खाने गर्दथे । यसै अवधारणाबाट कसैले आजका कम्पनीको शुरुआत गरेको हो । ठूलाठूला कम्पनी एक्लै खोल्न सम्भव नहुने भएकाले आफ्नो इच्छा र क्षमताअनुसार लगानी गरेर कानूनको आधारमा यसलाई सञ्चालन गरौं र त्यसबाट नाफा कमाऊँ भन्ने सोचका साथ कम्पनीको शुरुआत भएको हो ।
कम्पनी र राज्यमा केही भिन्नता छन् । राज्य सिमानाबाहिर जान पाउँदैन । तर, कम्पनी विश्वव्यापी बन्न सक्छ । राज्यले सीधै नाफा कमाउन पाउँदैन, कम्पनीले नाफा कमाउन पाउँछ । राज्यले जनताप्रति अनेक दायित्व वहन गर्नुपर्छ । तर, कम्पनीले सामाजिक उत्तरदायित्वबाहेक अन्य दायित्व वहन गर्नु पर्दैन । यिनै कारणले गर्दा कम्पनीहरू ज्यादै शक्तिशाली हुन्छन् । कम्पनी राज्यभन्दा शक्तिशाली नहोलान् तर कमाइको दृष्टिकोणमा कम्पनीलाई राज्यलाई भन्दा बढी स्वतन्त्रता प्राप्त हुने भएकाले विश्वव्यापी रूपमा शेयरबजारमार्फत युवा आकर्षण बढ्न गएको हो ।
आधुनिक कम्पनीको जग बेलायतबाट भएको हो । अहिले विश्वको अर्थतन्त्र विशेष गरी औपचारिक अर्थतन्त्र कम्पनीबाट नै सञ्चालन भएको पाइन्छ । कम्पनीकै सोचको वरिपरि बसेर सहकारीहरू स्थापना गरिन्छ । तर, सहकारीहरू कम्पनी जति कहिल्यै पनि उचाइमा पुग्न सक्दैनन् । आज नेपालका सबै बैंक, वित्तीय संस्था, बीमा कम्पनी, टेलिकम सेवाप्रदायक निकाय, उद्योगहरू, सबै कम्पनी ऐन २०६३ अन्तर्गत सञ्चालन भएका छन् र धेरै कर तिर्नेमा पनि कम्पनी नै हुन् ।
कम्पनीले धेरै कमाउँदछ, धेरै कर तिर्छ, धेरैलाई रोजगारी दिन्छ र संस्थापकहरूलाई पनि मनग्गे कमाइ दिन्छ । नेपालमै रहेका २७ ओटा वाणिज्य बैंकहरूका कति संस्थापकहरूको मृत्यु भइसकेको होला । तर, ती बैंकले अहिले पनि बोनस, लाभांश लगानीकर्ता र अंशियारहरूलाई प्रदान गरी रहेका हुन्छन् । यसरी कम्पनी कृत्रिम व्यक्ति हो । बन्दीप्रत्यक्षीकरणबाहेक परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकारपृच्छाजस्ता रिट हाल्ने अधिकार पनि दिएको हुन्छ । यसको अर्थ सामान्य कानून (जनरल ल) का धेरै अधिकार कम्पनीले प्राप्त गर्न सक्छ । तर, विशेष कानूनका अधिकारको बारेमा कम्पनीले सुविधा पाउँदैन ।
कम्पनी एक कृत्रिम व्यक्ति हो, यसले अर्को कृत्रिम व्यक्ति जन्माउन सक्छ । अर्थात् सात ओटा प्राइभेट लिमिटेड मिलेर आठांै पब्लिक लिमिटेडको जन्म दिन सक्छ, जहाँ एकजना पनि प्राकृतिक व्यक्ति नहुन सक्छ । लगानी, सदस्य संख्या र नाफाको बाँडफाँटलाई हेर्दा कम्पनीहरू तीन प्रकारका छन् । प्राइभेट कम्पनी, सार्वजनिक कम्पनी र मुनाफा वितरण नगर्ने कम्पनी । कम्पनीमा व्यक्तिभन्दा विधि प्रमुख हुन्छ राज्यले तोकेको ऐनभित्र बसेर आफ्नो काम राम्रोसँग परिचालन गर्न स्वतन्त्र हुन्छ ।
यहि कम्पनीको अवधारणाले गर्दा नबिल बैंक, ग्लोबल आईएमई बैंक, पञ्चकन्या ग्रूप, एसआर स्टिल आदिको सञ्चालन भएका छन् । सबै कम्पनीहरू सफल हुन्छन् भन्ने छैन । नेपालमा अनुमानित ३ लाख ५० हजारभन्दा धेरै कम्पनी स्थापना भएका छन् तर हामीले केहीको मात्र नाम सुनेका छौं । विधिसम्मत काम गर्ने सबै नाफामै छन् भन्ने पनि छैन । कम्पनी घाटामा पनि जान्छन तैपनि कानूनले तोकेका प्रावधानहरूलाई राम्रोसँग परिचालन गर्ने कम्पनीहरूले आफ्नो व्यवसायिकतालाई विस्तारै बढाउँदै लगेर फेरी जाग्न सक्छन् । कम्पनी धेरै मानिस मिलेर व्यापक क्षेत्रमा काम गर्न अधिकारप्राप्त निकाय हो । यसले आफै पूँजी संकलन गर्न सक्छ, ऋणपत्र जारी गर्न सक्छ र आवश्यक पूँजी संकलन गर्न सक्छ । एउटै व्यक्तिले ठूला फर्महरू चलाएका छन् तर अन्ततोगत्वा फर्महरू कम्पनीमा नगएसम्म जनविश्वासको स्तर कम हुन्छ ।
फर्महरूको पछाडि कानून त्यति हात धोएर लाग्न सक्दैन । त्यसले गर्दा एकलौटी साझेदारी दुवै फर्म जतिबेला पनि बन्द हुन सक्छन् । यिनको हिसाबकिताब सार्वजनिक गर्ने बाध्यता नभएपछि कतै गडबडी हुन सक्छ । यी र यस्तै कारणले फर्मको स्थायित्व, जनविश्वास आदि कमजोर हुनुको साथै यो मालिकबाट ठगिन सक्छ । फर्मको पैसा मालिकले जतिबेला पनि आफ्नो काममा प्रयोग गर्न सक्ने तर कम्पनीको रकम कसैले पनि तोकिएको नियमविना चलाउन नपाउने भएकाले पनि कम्पनीमा दिगो पन हुन्छ ।
प्राइभेट लिमिटेड कम्पनीमा १ जनामात्र मालिक भए पनि एकलौटी फर्मको मालिकले झैं मनपरी गर्न नपाउने भएकाले, प्रबन्धपत्र र नियमावलीअनुसार चल्नुपर्ने भएकाले प्राइभेट लिमिटेट नै भए पनि त्यसमा जन विश्वास बढी हुन्छ । नेपालको कम्पनी ऐनमा प्रालिमा १०१ र भारतको कम्पनी ऐन २०१३ अनुसार २०० जनासम्म व्यक्ति प्रालिमा अट्न सक्छन् तर चुक्ता पूँजी १ करोडभन्दा बढी भएमा वा वार्षिक नाफा ५ करोडभन्दा बढी भएमा पछिल्लो संशोधनअनुसार प्रालिलाई पब्लिकमा लैजानैपर्छ । यो प्रावधानले पनि कम्पनीलाई बढी लोकप्रिय र शक्तिशाली बनाएको छ । अन्यथा अर्बौं कमाउने एनसेल, सूर्य टोबाको, सिजिफूड्स, नर्भिक, ग्रान्डी अस्पताल, ग्लोबल, प्रसादी, ट्रिनिटी, उलेन्स, प्रिमियम जस्ता स्कूलहरू पनि या त गुठीमा जानुपर्छ या पब्लिक लिमिटेडमा आउनुपर्छ ।
शुरूमा विशेष ऐनबाट बनेका, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक अहिले रजिस्ट्रर्ड कम्पनीमा परिणत भए र तीनओटैले अथाह नाफामा गएका छन् । भन्न खोजेको के भने बढी भावनात्मक हुने र तत्काल कमाउने सोच राख्नुभन्दा धेरै मिलेर कम्पनी स्थापना गर्ने लेभलमा पुग्ने हो भने त्यसको आयु, आरोग्य र अर्थिक अवस्था बढी राम्रो हुन्छ ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।