पैसा यस्तो चीज हो जीवनको हरेक परिस्थितिमा, मोडमा आवश्यक छ । त्यसैले बच्चालाई होश सम्हाल्न शुरू गरेपछि पैसा कमाउने र त्यो कमाइलाई लगानी गर्ने बारेमा सिकाउनुपर्छ । कहाँ लगानी गर्ने भन्ने कुरा परिस्थितिमा भर पर्छ र त्यो स्वयं लगानीकर्ताले तय गर्ने विषय हो यो सिकाउन सकिँदैन । पैसा कमाउन लगानी बीना सम्भव छैन भन्ने कुरा सानो उमेरबाट नै सिकाउनु र सिक्नु आजको मूलभूत वित्तीय शिक्षा हो । अधिकांश सफलतामा पैसाको भूमिका सर्वोपरि छ ।
जन्मेको दिनदेखि मर्दासम्म यस्तो दिन विरलै भेटिएला, जसमा मानिसलाई पैसा वा सम्पत्तिको आवश्यकता नपरेको होस् । घरको खुशीमा, इष्टमित्रको सम्मानमा, राम्रो पढाइमा, स्वस्थखानामा हरेक ठाउँमा पैसाको खाँचो युगाैंदेखि रहेको थियो र अब पनि यो बढ्दै छ त्यसैले पैसाको सम्मानमा कहिल्यै कन्जुस्याइँ नगरौं ।
पैसा कमाउने हजार उपायहरू छन् तर खर्च गर्ने निकै सीमित ठाउँहरू हुन्छन् । हजारौं उपायको माझमा एउटामात्र उपायमा सफल हुनसके जति पनि कमाइ हुन्छ । जहिले पनि आधारभूत आवश्यकता पूरा गर्न गरिने कमाइले हामी सबैलाई औसत मानिस बनाउँछ भने त्यसपछिको प्रत्येक सीमान्त आम्दानीले मानिसलाई धनी बन्ने बाटो खोल्छ । त्यसैले सीमान्त आम्दानी बढाउन दिनमा गुणा र रातमा चौगुणाको दरले कमाउनका लागि लगानीका सूत्रहरू सोचौं । अनुशासित बनाैं, हरेक समय उचित लगानीका ठाउँहरू खोजाैं, पैसालाई आम्दानीको मुल ठाउँमा रोप्न सिकौं, प्रत्येक सोंचलाई उद्यमी सोच बनाऔं, प्रत्येक निर्णयलाई सार्थक बनाऔं ।
विगतको धरातल वा औकातलाई आधार मानेर आफूलाई संकीर्ण तथा निम्छरो नबनाउनु हुँदैन । लगानीको अर्को नाम जोखिम हो । त्यसैले जोखिम लिने काममा कहिल्यै पछाडि नहटाैं तर परिस्थितिको विश्लेषण गरेर लगानी गराैं । व्यवसाय, उद्यमशीलता, सेवाक्षेत्र, शेयरबजार, म्युचुअलफन्ड, परामर्श, सेवा अनेक लगानीका क्षेत्र छन् । यसबाहेक उद्यमशीलता, सृजनशीलता, पहल गर्ने क्षमता यस्ता क्षेत्र हुन जसको परिधि अपरिमेय छ । नवसृजनाका लागि अरूको विचार खोज्न जरुरी नै छैन बाटो आफै खोज्ने हो । पैसाको पछिपछि भाग्ने होइन, यस्तो क्षमता आफूमा विकास गर्ने हो बाध्य भएर पैसा यहाँको समीपमा आओस् ।
यसका लागि राम्रो पढाइ, नामी विश्वविद्यालय, राम्रो खानदान, राजनीतिमा पँहुच, उँचो परिवार वा कुल घरानमा जन्म हुनु आदि मात्र केही सहयोगी तत्त्व हुन् । वास्तवमा कमाउनका लागि मुख्य कुरा त हाम्रो सोच र प्रवृत्ति हो । लगानी शिक्षामा पनि आवश्यक छ, स्वास्थ्य र समृद्धि हरेक ठाउँमा आवश्यक छ तर समयअनुसार कुन ठाउँमा कति लगानी गर्ने भन्नेबारेमा सोच्नुपर्छ ।
पछिल्ला दिनमा शेयरबजारमा लगानी गर्नु पनि ठूलो अवसरका रूपमा हेरिएको छ । बितेको १२ महीनामा लाखौं मानिसले शेयरबजारबाट पक्कै पर्याप्त कमाए किनभने पोहोर साल १४०० को हाराहारीबाट बढ्न थालेको बजार अहिले ३१०० माथि गएको छ । यो बजारमा कसैले पनि निरपेक्ष कमाउन सक्दैन किनकी १० प्रतिशत लगानीकर्ताले राम्रोसँग कमाए भने ९० प्रतिशतले गुमाएका पनि हुन्छन् । शेयरबजारमा पनि कमाउनका लागि होशियारी र समय विश्लेषण आवश्यक हुन्छ । यसमा पनि व्यापक जोखिम छ, त्यसैले राम्रोसँग बजार बिश्लेषण गरेरमात्र यसमा हात हाल्नुपर्ने हुन्छ । शेयरबजारमा कमाउनका लागि कम्पनीहरूको प्राविधिक विश्लेषण गर्न जरुरी छ । प्राविधिक विश्लेषण गरेर नेप्सेको उतार चढावको ग्राफ हेरेर छोटो अवधिमा नाफा कमाउनका लागि लगानी गर्न सकिन्छ । जसको शेयर किन्ने वा बेच्ने गरिँदै छ त्यसको वित्तीय विवरण, वासलात, ख्याति, नेतृत्व, पीई रेसियो, प्रतिशेयर आम्दानी, कुल शेयर संख्या, पूरा गर्नुपर्ने कुल पूँजी आदि सबैको विश्लेषण गरेर दीर्घकालका लागि लगानी गरिन्छ ।
शेयरबजारमा कमाउन पनि लगानी त आवश्यक छ, जोखिम त्यहाँ पनि छ, विश्लेषण त्यहाँ पनि आवश्यक छ । परन्तु पोखरीमा हाम नफाली पौड्न सकिँदैन । त्यसैले लगानीको आदतको उद्घाटन गर्न र यसको उपलब्धि महसूस गन शुरूमा शेयरबजारमा जानु उपयुक्त मानिन्छ । त्यसैले नाफा भएमा कमाइको खुशी महसूस हुन्छ भने घाटा भएमा काम गर्दा सोच्नुपर्ने रहेछ भन्ने रणनीति सिकाउँछ । खाली बस्नुभन्दा लगानी, घाटा भए पनि राम्रो र नाफा भए पनि राम्रो ।
टोनी रब्बिन्सका अनुसार ‘कुनै पनि प्रयासमा ८० प्रतिशत सफलता तपाईंको मनोविज्ञानमा र २० प्रतिशत सफलता शीपमा निर्भर हुन्छ ।’ यसर्थ कुनै पनि क्षेत्रमा सफलताका लागि मनोविज्ञानले ठूलो भूमिका खेल्छ । कमाउनका लागि मानिसमा जोश जाँगर र हौसला आउने पर्छ । यसैबाट निरन्तर सफलता मिल्दै गयो भने ठीकै छ । असफल भैयो भने अव बुद्धिमत्ताको खोजी गर्नुपर्छ, ट्रेन्डहरू हेर्दै जानुपर्छ, आधारभूत कुराहरूमा कहाँ कमजोरी भयो, अनुसन्धान गर्दै जानुपर्छ । जेजस्तो जहाँ जति सम्भव हुन्छ, लगानी कमाइका लागि आवश्यक छ ।
अलि लामो समय सुरक्षित कमाइ गर्नु छ भने भाडामा लगाउन मिल्ने भवन बनाउनु होस्, शैक्षिक संस्था, बैंक वित्तीय संस्था वा लघुवित्त खोल्नुहोस् । हरेक पाइलामा लगानीका अवसर छन् । ती अवसरमा यति धेरै चर छन् तिनको विश्लेषण गर्ने जिम्मा लगानीकर्ताको हो । कुनै पनि विश्वविद्यालयले अहिलेसम्म यो घोषणा गर्न सकेको छैन कि यो नै लगानीको सबैभन्दा राम्रो विकल्प हो ।
त्यो गर्नु पनि हुँदैन आजभन्दा ५० वर्ष अगाडि कपाडा, तथा खुद्रा व्यापारीहरू विश्वमा सबैभन्दा धनी हुने गर्थे । ३० वर्ष अगाडिबाट कम्प्युटर, मोबाइल, सफ्टवेयरका व्यापारीहरू अगाडि आए । शेयरबजारले पनि विश्वका धनी जन्माएको छ । आजको मितिमा सूचनाप्रविधि, डिजिटलको व्यापार र टेस्लाको गाडीहरू अगाडि छन् । भविष्यका लागि फेरि अर्को नयाँ चिजहरूको खोजी भइरहेको छ । यो सबै परिस्थितिअनुसार लगानीकर्ताले सोच्ने खोच्ने विषय हो । तर, लगानी विना हातमा आफै केही प्राप्त हुन सम्भव छैन ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।