पछिल्लो नौ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट पूर्वाधार विकास करबापत झन्डै डेढ खर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७२/७३ देखि आव २०८०/८१ सम्म बुढीगण्डकी आयोजना र पूर्वाधार विकासबापत एक खर्ब ३७ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ । आव २०७२/७३ को बजेटमार्फत बहुचर्चित एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना निर्माण गर्ने भन्दै सरकारले पेट्रोलियम पदार्थ आयात हुने भन्सार विन्दुमै पेट्रोलियम पदार्थमार्फत कर उठाउन थालेको थियो । आव २०७२/७३ मा सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना आफैँ बनाउने घोषणा गरेपछि लगानी जुटाउन पेट्रोलियम पदार्थ आयात गर्दा प्रतिलिटर पाँच रुपियाँ भन्सार कर उठाउन सुरु गरेको हो ।