अर्जेन्टिनामा हाभियर मिलेईले निर्वाचन जितेका छन् जसले परम्परागत सोच र दृष्टिकोणभन्दा निकै क्रान्तिकारी र चर्का मुद्दा उठाएका छन् । उनले विद्यमान राजनीतिक प्रणाली र सोचविरूद्ध पनि कडा अभिव्यक्ति दिएका छन् । उनले भनेका कुरामध्ये एउटा नेपालको सन्दर्भमा बढी समसामयिक लाग्ने शब्दावली ‘राजनीतिक जात’ हो । उनले राजनीतिमा राजनीतिक जातले निर्वाचनमा पराजय बेहोर्ने बताएका छन् ।
राजनीतिक जात भनेको कुनै पनि व्यक्ति विद्यार्थी कालदेखि वा लामो समयदेखि राजनीति गरेर आउने व्यक्ति हो । यस्तो राजनीतिक जातको व्यक्तिले परम्परागत सोचभन्दा बाहिर आउन नसक्ने र नयाँ सोचले काम गर्न नसक्ने उनको भनाइ छ । नेपालमा अहिले नेपाली कांगे्रस, नेकपा एमाले, माओवादी केन्द्रका सबैजसो नेता राजनीतिक जातमा स्थापित भइसकेका छन् । राजनीतिमा भर्खर
प्रवेश गरेको व्यक्तिचाहिँ राजनीतिक जात होइन । त्यसैले परिवर्तन चाहने हो भने पार्टीभित्र परम्परागत ‘जात’भन्दा फरक मान्छे आउनुपर्छ । भारतमा नरेन्द्र मोदीको उदय त्यस्तै राजनीतिक जातभन्दा फरक क्षेत्रबाट उदय भएको मान्न सकिन्छ । तर, अहिले उनी पनि जातमा परिणत भएकाले जनताले विकल्प खोज्न थालेको विश्लेषण गरिँदै छ ।
नेपालमै पनि स्थानीय तह तथा संघीय निर्वाचनमा स्वतन्त्र व्यक्ति वा नयाँ राजनीतिक दलका उम्मेदवारको विजय यस्तै हो । कुनै कालखण्डमा नेपाली कांग्रेस पनि जात थिएन । त्यसैले उसले निर्वाचनमा ठूलो विजय प्राप्त गर्यो । तर बिस्तारै त्यो पार्टी राजनीतिक जातमा परिणत भयो । पार्टी स्थापनाताका कांग्रेस भनेको परम्पराको विरूद्ध भन्ने थियो । त्यस्तै एमाले, माओवादी केन्द्र पनि राजनीतिक जात थिएनन् । तर, अहिले यी पनि राजनीतिक जात बनिसकेका छन् । २००७ सालको परिवर्तनको नेतृत्व गर्ने नेपाली कांग्रेस निकै विद्रोही थियो । तर, बिस्तारै यसका नेता राजनीतिक जातमा परिणत भए ।
अब हुँदाहुँदा नयाँ काम र कुरा नै गरेको देख्न सकिएको छैन । एमाले होस् वा माओवादी यी पनि ठूला क्रान्तिकारी थिए । तर, अहिले जातमा परिणत भएपछि यिनमा पनि नयाँपन देखिन छाडेको छ । यिनले परम्परालाई पछ्याउने कामभन्दा अरूथोक गर्दैनन् । समाज रूपान्तरण र परिवर्तन तथा प्रगतिका लागि भने नयाँपन हुनुपर्छ र त्यसका लागि नयाँ राजनीतिक शक्ति/व्यक्तिको उदय हुनुपर्छ ।
कृत्रिम बौद्धिकता र इन्टरनेटले अर्थतन्त्रका आधारभूत संरचना र क्रियाकलापमै व्यापक परिवर्तन ल्याइसकेका छन् । त्यसो हुँदा नेपालको अर्थतन्त्रमा सुधार ल्याउन यो पक्ष बुझेको व्यक्ति अर्थतन्त्र र शासनसत्तामा आउन आवश्यक छ ।
अर्जेन्टिनी नेता मिलेईका अभिव्यक्तिहरू अर्थतन्त्र, राज्यका परम्परागत संरचनामा बिलकुल नयाँ भएकाले संसारभर चर्चाको विषय बनेको छ । उनले अर्जेन्टिनाको आर्थिक संकटको समाधान क्रमश: गर्दै जाने कुराको विरोध गरेका छन् र आमूल परिवर्तनको कुरा उठाएका छन् । त्यसो त नेपालका विद्रोही दल सत्तामा पुग्नुअघि यस्तै आमूल सुधारका कुरा गर्छन् तर तिनीहरूले सुधार गर्नुभन्दा यथास्थितिवादी शक्तिसँग आत्मसमर्पण गरेको पाइन्छ । मिलेई क्रान्तिकारी विचारमा कति अडिग हुन्छन्, त्यो हेर्न बाँकी छ । उनले केन्द्रीय बैंक नचाहिने मात्र होइन, आफ्नो देशको मुद्रा नै अमेरिकी डलरलाई बनाउनेसम्मका अभिव्यक्ति दिएका छन् । परम्परागत व्यापार, अर्थतन्त्र, राजनीतिक स्वतन्त्रता आदिका बारेमा उनका विचार भिन्न खालका छन् ।
नेपालमा पनि यस्तै ठूलो सुधार ल्याउन सक्ने नेतृत्व आवश्यक हुन्छ जुन अहिलेका राजनीतिक दलको नेतृत्वबाट सम्भव छैन । जति बेला महेश आचार्य, रामशरण महत युवा थिए तिनले अर्थतन्त्रको संरचनामा ठूलो परिवर्तन ल्याए । त्यही परिवर्तनको जगमा यतिका समयसम्म अर्थतन्त्र चलिरहेको छ । तर, अब व्यापार र उद्योगको परिभाषा र शैली परिवर्तन भइसकेको छ । अर्थतन्त्रको संरचना र धरातलमा निकै ठूलो अन्तर आइसकेको छ ।
कृत्रिम बौद्धिकता र इन्टरनेटले अर्थतन्त्रका आधारभूत संरचना र क्रियाकलापमै व्यापक परिवर्तन ल्याइसकेका छन् । त्यसो हुँदा नेपालको अर्थतन्त्रमा सुधार ल्याउन यो पक्ष बुझेको व्यक्ति अर्थतन्त्र र शासनसत्तामा आउन आवश्यक छ । २०८४ सालमा हुने आगामी निर्वाचनमा सफलता पाउने दलहरूले यस्तो पक्षलाई विश्लेषण गरेर तयारी गर्दा लाभदायी हुने देखिन्छ । राजनीतिक जात दलभन्दा पनि व्यक्ति हो । त्यसैले दलभित्र पनि नयाँ व्यक्ति आउन सक्छ । मिलेईका अभिव्यक्ति धेरै नेपालीले पढेका छैनन् तर पनि राजनीतिक रूझान भने उनले भनेजस्तै देखिएको छ । मिलेईको अभिव्यक्तिलाई पुष्टि गर्ने कुनै नेतृत्व नेपालमा आउला त ?