धरान (अस) । प्रदेश १ का कलाकारले गौरवको आयोजनाको रूपमा अघि बढाएको नाटकघर निर्माण बजेट सुनिश्चित नहुँदा अन्योलमा परेको छ । स्थानीय तथा प्रदेश सरकारले अपनत्व नलिँदा धरानमा नाटकघर निर्माणले गति लिन सकेको छैन ।
धरानको सभागृह परिसरमा दुई कट्ठा क्षेत्रफलमा नाटकघर निर्माण अघि बढाइएको थियो । अहिले कुनै पनि सरकारी निकायबाट बजेट सुनिश्चित नभएपछि निर्माण ठप्प बनेको नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ का संयोजक एवं नाटकघर निर्माण उपभोक्ता समितिका सचिव अरुण प्रधानले बताए । ‘नगरपालिकाले अपनत्व महसूस गरेको छैन,’ उनले भने, रंगकर्मीका लागि व्यक्तिगत घर बनाएको जस्तो सोच जनप्रतिनिधिको छ, कसैको पनि चासो छैन ।’
धरानका रंगकर्मीको पहलमा आर्थिक वर्ष २०७६/७७ मा संघीय सांसद जयकुमार राईको निर्वाचन क्षेत्र विकास कोषबाट ४० लाख रुपैयाँ विनियोजन गरिएपछि नाटकघर निर्माण अघि बढेको थियो । नाटकघरको भौतिक संरचना निर्माणमा ५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा निर्वाचन क्षेत्र विकास कोषबाट ४० लाख विनियोजन गरिएपछि दोस्रो चरणमा धरान उपमहानगरपालिकाले १८ लाख र पुनः कोषबाट १५ लाख रुपैयाँ विनियोजन भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा धरान उपमहानगरपालिकाले यसमा बजेट विनियोजन नगरेको प्रधानको गुनासो छ ।
निर्माण शुरू गर्दा सबैतिरबाट बजेट आउने प्रतिबद्धता गरिए पनि कोरोनाको प्रभाव देखाउँदै स्थानीय निकायले बजेट कटौती गरिदिएको प्रधानले बताए । धरानबाटै प्रदेश सभामुख भएका प्रदीपकुमार भण्डारीले बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे पनि कोरोना कारण छुटेको बताएको प्रधानको भनाइ छ । केही दिनअघि संघीय सांसद जयकुमार राईले नाटकघरको अनुगमन गरेका थिए । बजेट सुनिश्चित नभएपछि ठप्प रहेको नाटकघर निर्माणका लागि सम्भावित स्रोतका लागि पहल गरिदिने प्रतिबद्धता उनको छ ।
कोभिडको कारण विदेशबाट आउने सहयोग पनि रोकिएकाले थप समस्या भएको प्रधानले बताए । ३ वर्षमा निर्माण सम्पन्न गर्ने योजना अनुसार अघि बढेको नाटकघर निर्माणमा स्रोत नजुट्दा वर्षौं लाग्ने देखिएको उनको भनाइ छ ।