माघ ४ काठमाडौं । तपाईं भाडामा बसिरहेको कोठाको मासिक भाडा कति तिर्नुहुन्छ ? ४ हजार ? ५ हजार ? वा ६/७ हजार ?
तर कलंकीमा सञ्चालनमा रहेको नेशनल बिजनेश ट्रेड सेन्टर (एनबीटीसी) सपिङ कम्पलेक्समा भने मासिक ३ हजार रुपैयाँ देखिनै सटर लिन पाइन्छ । त्यो पनि १/२ महिनाको लागि होइन, पूरा २ वर्षको लागि ।
कम्पलेक्स रहेको ठाउँ कलंकी वरपर सामान्य कोठाको भाडा नै ५ हजार रुपैयाँ भन्दा बढी छ ।
तर कोभिड महामारीका कारण व्यावसायमा असर परेपनि व्यापारीलाई अफ्ठेरो नपरोस भनेर २ वर्षसम्म ७० प्रतिशत भाडा छुट दिएका कारण एनबीटीसीको सटर भाडा भने वरपर पाइने कोठाको भाडा भन्दा पनि सस्तो भएको हो ।
दुई वर्षपछि पनि सटरको भाडा धेरै महँगोपर्ने देखिन्न । प्रतिवर्गफिटर १२० रुपैयाँ देखि २०० रुपैयाँसम्म मात्रै भाडा रहेकोले १०० वर्गफिटको सटरको भाडा १२ देखि २० हजार रुपैयाँ सम्म मात्रै पर्छ ।
सञ्चालनमा रहेका मध्ये नेपालकै सबैभन्दा ठूलो लसेल कम्पलेक्समा एक हजार सटर छन् । त्यो मध्ये करीब तीन सय सटर खाली रहेको कम्पलेक्सको भनाई छ ।
न्युरोडका होलसेल व्यवसायीहरु मिलेर बनाएको उक्त कम्पलेक्स सञ्चालनमा आइसकेको छ । सिनेमा हल सहितको कम्पलेक्समा खुद्रा व्यवसाय भने गर्न पाइदैन ।
कोभिडका विभिन्न भेरियन्टका कारण व्यावसाय विस्तारमा समस्या रहेको र तत्काल व्यावसाय नभएपनि व्यापारीलाई आर्थिक भार नपरोस भनेर २ वर्षसम्म कूल भाडाको ७० प्रतिशत छुट दिने निर्णय भएको एनबीटीसीका सञ्चालक चिरञ्जीवी पौडेलले बताए ।
यो बीचमा सबैकुरा ठिकठाक भएर राम्रै व्यापार भयो भने पनि कम्पनीले २ वर्षसम्म थप भाडा माग्दैन । पौडेलले भने, २ वर्षपछि भने सम्झौता गरिएको भाडामा ५ देखि १० प्रतिशतका दरले बढ्दै जान्छ ।
अहिले कम्पलेक्समा प्रतिवर्गफिट २०० रुपैयाँ पर्ने सटरको भाडा पनि जम्मा ६ हजार रुपैयाँ मात्रै पर्छ । २ वर्षसम्म मासिक ६ हजार रुपैयाँमा काठमाडौंका कुनैपनि ठाउँमा सटर नपाउने एनबीटीसीका व्यवस्थापक शैलेश चित्रकारले दावी गरे ।
नयाँ व्यवसाय गर्ने साथीहरुलाई पनि व्यवसाय गर्ने हिम्मत आओस भनेर २ वर्षसम्म ७० प्रतिशत छुट दिएको चित्रकारको भनाई छ ।
‘कोभिडको बेलामा धेरै ठाउँमा घरबेटीले कोठाबाट निकालेको, सटर खाली गराएको समाचार सुनेका थियौं ।’ चित्रकारले भने, ‘महामारी कहिले सकिन्छ भनेर एकिन नभएको बेलामा नयाँ व्यवसाय शुरु गर्ने साथीहरु डराएका पनि हुन सक्छन् । त्यसकारण २ वर्षसम्म कोठाभाडा भन्दा सस्तो दरमा सपिङ कम्पलेक्सका सटर भाडामा दिएका छौ ।’