आसन्न दसैं–तिहार अगाडि सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ । सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दसैंअगाडि सावर्जनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
व्यवसायीहरूले लामो समयदेखि भाडा वृद्धिको माग गर्दै आए पनि विभागसँगको छलफलमा दसैंअगाडि भाडा नबढाउने तर त्यसपछि भाडा निर्धारण गर्ने सहमति भएको हो । “विगतभन्दा अहिले यातायात व्यावसायी धेरै जिम्मेवार देखिनुभयो,” विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “दसैं अगाडि भाडा वृद्धि हुँदैन ।”