जेठ ३१, काठमाडौं । मुलुकको कुल वस्तु निर्यात १ खर्ब रुपैयाँ माथि पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महीनाको विवरणमा कुल वस्तु निर्यात १ खर्ब ८ अर्ब ४८ करोड रुपैयाँ बराबर पुगेको उल्लेख छ । यसले क्रमशः नेपालको वस्तु निर्यात बढ्दै गएको देखिएको छ ।
यो गत आवको सोही अवधिको तुलनामा ३२ दशमलव २ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४ दशमलव ५ प्रतिशतले मात्रै वृद्धि भएको थियो ।
बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ ३५ दशमलव ८ प्रतिशतले र अन्य मुलुकतर्फ २५ दशमलव ३ प्रतिशतले निर्यात वृद्धि भएको छ । यस्तै, चीनतर्फ निर्यातमा भने १८ दशमलव ४ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको बैंकको विवरणमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/ ७८ को १० महीनामा कुल वस्तु आयात २२ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । बैंकका अनुसार १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट २९ दशमलव ८ प्रतिशत, चीनबाट १७ दशमलव २ प्रतिशत र अन्य मुलुकबाट ६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपूर्जा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।निर्याततर्फ तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ ।
आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । चालू आवको १० महीनामा कुल वस्तु व्यापार घाटा २१ दशमलव ५ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४ दशमलव २ प्रतिशतले घटेको थियो ।रासस