काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ६ अर्ब १७ करोडभन्दा बढीको विद्युत् विक्री गरेको छ । गत वर्षको यस अवधिसम्मको तुलनामा कम्पनीको विद्युत् विक्री आम्दानी करीब २० प्रतिशत वृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५ अर्ब १६ करोडभन्दा बढीको विद्युत् विक्री गरेको थियो ।
विद्युत विक्री आम्दानीसँगै कम्पनीको वित्तीय आम्दानी पनि यो वर्ष बढेको छ । गत वर्ष रू. १९ लाखभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३ करोड ६८ लाखभन्दा बढी वित्तीय आम्दानी गरेको हो । यो वर्ष कम्पनीको वित्तीय खर्च करीब ४४ प्रतिशत बढेको छ । गत वर्ष रू. ३ अर्ब ५५ करोडभन्दा बढी भएको वित्तीय खर्च यस वर्ष रू. ५ अर्ब ११ करोडभन्दा बढी भएको छ ।
कम्पनीको खुद नाफा गत वर्षभन्दा साढे २२ प्रतिशत बढी रू. २ अर्ब २ करोडभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । कम्पनीको जगेडा कोष रकम रू. ५ अर्ब १८ करोडभन्दा बढी रहेको छ । गत वर्ष रू. २ अर्ब ७१ करोडभन्दा बढी कम्पनीको जगेडा कोष रकम ऋणात्मक रहेको थियो । रू. १९ दशमलव ११ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ५१ दशमलव शून्य ६ रहेको छ ।