काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले यस वर्षको नगद लाभांश वितरण शुरू गरेको छ ।
कम्पनीले गत पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले करसमेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । उक्त लाभांश बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको बैंक खातामा माघ ५ गतेदेखि जम्मा गर्न शुरू गरिएको कम्पनीको भनाइ छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गरेका हुन् । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ४० करोडको आधारमा नगद लाभांश वितरण गरेको हो ।
नगद लाभांश शेयरधनीहरूले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूलाई यथाशीघ्र अद्यावधिक गराउन कम्पनीले अनुरोध गरेको छ ।
साथै आफ्नो शेयर धितो राखेका शेयरधनीहरूको हकमा भने नगद लाभांश प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र शेयर रजिष्ट्रारको कार्यालयमा पेश गर्न कम्पनीले भनेको छ । शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।