नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाउनु र सेयर बजार तीव्र गतिमा बढ्नु संयोगमात्र हुन सक्दैन । केही दिनअघि अर्थमन्त्री डा. युवराज खतिवडा बहिर्गमनको हल्ला गरेर बढाइएको सेयर बजारमा अहिले भने पुँजी बजारप्रति जानकार र सकारात्मक मानिएका भीष्म ढुंगाना नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका रुपमा चयन भएसँगै बजारको उकालो यात्रा रोकिएको छैन । बिहीबारमात्र बजारले १३ सय अंक नाघेको छ र एकैदिन १ अर्ब ७० करोडको कारोबार भएर उत्साह जगाएको छ । यसले लामो समयदेखि निराश लगानीकर्ताको मुहारमा खुसी त ल्याएको छ तर यो कति दीर्घकालीन हुन्छ भन्नेमा चाहिँ अन्योल नै छ ।