असार २९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलवार साँझ आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिनुभएको हो । सर्वोच्च अदालतको सोमवारको फैसलापछि राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।
सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।यसैबीच नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।
नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुईदुई जना मन्त्री नियुक्त गर्नुभएको हो ।
नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला, जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिंचाइ रहेका छन् । नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।रासस
*प्रस्तुत समाचारको तस्वीर असावधानीबस अर्को पर्न गएकोले सच्याइएको छ ।