महोत्तरी । जयनगर–जनकपुर–बर्दिवास र पूर्व–पश्चिम रेल्वे विस्तारमा अधिग्रहण गरिएका जग्गाको मुआब्जा रकम पुनरवलोकन नहुने भएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई पत्राचार गरी गत भदौ २ गते प्रकाशित मुआब्जा निर्धारणसम्बन्धी निर्णय न्यायोचित रहेको भन्दै पुनरवलोकनको आवश्यकता नरहेको बताएको हो ।
यसअघि गत भदौ २ गते गोरखापत्रमा प्रकाशित मुआब्जा निर्धारणसम्बन्धी मूल्यमा चित्त नबुझेको भन्दै महोत्तरी बर्दिवासका जग्गाधनीले भदौ १३ गते गृहमन्त्रीसँग पुनरवलोकनको लिखित माग गरेका थिए । जिल्ला प्रशासन कार्यालय महोत्तरीले गृह मन्त्रालयले पुनरवलोकन नहुने जानकारी पठाएको पुष्टि गरेको छ ।
जयनगर–जनकपुर–बर्दिवास रेल्वे र मेची महाकाली विद्युतीय रेल्वे रेखांकन तथा स्टेशन क्षेत्रमा परेको जग्गाको अधिग्रहण गर्ने सम्बन्धमा जिल्ला मुआब्जा निर्धारण समितिले भदौ २ गते सूचना प्रकाशित गरेर मुआब्जा निर्धारण गरेको थियो । ‘हामीले मूल्य निर्धारण गरेर सूचना प्रकाशित गरेका थियौं,’ महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले भने, ‘त्यसपछि गृहमन्त्रीसमक्ष पुनरवलोकनका लागि माग भएको सुनिएको थियो, अब पुनरवलोकन हुन नसक्ने जानकारी गृह मन्त्रालयबाट आएको छ ।’ अब यसबारे आवश्यक कार्य अघि बढाउन रेल विभागलाई खबर गरी सकिएको न्यौपानेले स्पष्ट पारे ।
सरकारले दुवैतर्फ (जयनगर–जनकपुर–बर्दिवास रेल्वे र मेची महाकाली विद्युतीय रेल्वे)को रेल्वे सेवा विस्तारका लागि बर्दिवासका १५३ परिवारको ५९ बिघा जग्गा अधिग्रहण गरेको छ । जिल्ला मुआव्जा निर्धारण समितिले रेल्वेले रोक्का राखेको बर्दिवास १, २ र १४ का जग्गाको न्यूनतम सात लाखदेखि अधिकतम ८१ लाखसम्म प्रतिकट्ठा मूल्य निर्धारण गरेको छ । बर्दिवास नगरपालिका १, २ र १४ मा रेल्वे लिक र स्टेशन निर्माणका लागि सरकारले किसानकोे ५९ बिघा जग्गा सात वर्षदेखि रोक्का राखेको छ । महोत्तरीको बर्दिवासमा मुआब्जा विवादको कारण स्टेशन र रेल ट्र्याकका निर्माण अघि बढ्न सकेको छैन ।
यसअघि जयनगर–जनकपुर–बर्दिवास रेल्वेमा पर्ने महोत्तरीका भंगाहा नगरपालिका–४ र बर्दिवास नगरपालिका–६ र ७ को मुआब्जा निर्धारण गतवर्ष २०७७ मा भएको थियो । यद्यपि हालसम्म मुआब्जा माग गरी कसैले कानूनअनुसार दाबी भने नगरेका जिल्ला प्रशासन कार्यालय महोत्तरीले बताएको छ ।
भारतको जयनगरबाट जनकपुर हुँदै बर्दिवाससम्मको ६९ किलोमिटर अन्तर्गत दोस्रो खण्ड धनुषाको कुर्थादेखि महोत्तरीको भंगाहा नगरपालिका–५ बिजलपुरा स्टेशनसम्म लिक बिच्छ्याउने र स्टेशन भवन तयार गर्ने काम सम्पन्न भइसकेको छ । तेस्रो खण्ड (बिजलपुरा स्टेसनदेखि बर्दिवाससम्म) १८ किलोमिटर दूरीमा भने अझै काम शुरू भएको छैन ।
मुआब्जा पुनरवलोकन नहुने भएपछि बर्दिवासका जग्गाधनीले भने आफूहरूमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् ।
भारतको जयनगरबाट जनकपुर हुँदै बर्दिवाससम्मको ६९ किलोमिटरमध्ये ५१ किलोमिटरमा सबै निर्माण सम्पन्न भएर रेल डिब्बा र इञ्जिन पनि खरिद भई नेपाल ल्याई सकिए पनि दक्ष जनशक्तिको परिपूर्ति हुन नसक्दा र त्यससम्बन्धी कानून बनिनसक्दा सेवा भने सञ्चालन हुन सकेको छैन । रासस